IMG-LOGO

२०१९ पहिलो नाकाबन्दीको कारण

 मंगल, कार्तिक १२, २०८२  – आर. एल. श्रमजीवी, प्रधान सम्पादक नेपाल–भारत सम्बन्ध – २७

भारतले अहिलेसम्म चार पल्ट नेपाल माथि नाकाबन्दी लगायो । एउटा स्वतन्त्र, स्वाधीन मुलुक माथि भारतले नाकाबन्दी लगाउनु अन्तर्राष्ट्रिय कानुन विपरित हो । भारतको यो हेपाह प्रवृत्ति र नेपालका समय समयका शासक वर्गको उपयुक्त परराष्ट्र नीतिमा कमजोरी र एक रुपताको बलियो परराष्ट्रनीति नहुनुका कारण देश र जनता प्रताडित हुनु पा¥यो । भारतका शासक वर्गले सधैं ठूल्दाइ हुने मानसिकताका कारण दक्षिण एशियाली मुलुकहरु मर्कामा परेका हुन् । भारतको छिमेकी कुनै पनि मुलुकहरूसँग राम्रो सम्बन्ध छैन । २०१९ सालको पहिलो नाकाबन्दी भारतीय प्रधानमन्त्री जवहराल नेहरुको पालामा भएको थियो । त्यतिबेला नेपालमा पञ्चायती व्यवस्था आइसकेको थियो । राजा महेन्द्रको सक्रिय शासन थियो । हामीले नाकाबन्दी लाग्नु पूर्वको पृष्ठभूमि हामीले हेर्नुपर्छ, राम्रोसँग बुझ्न र विश्लेषण गर्न आवश्यक छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला र जनवादी गणतन्त्र चीनका संस्थापक अध्यक्ष माओ बीचमा नेपाल–चीन जोड्ने राजमार्गको बारेमा कुराकानी भएको थियो । सन् १९६० मार्च १८ (२०१६ चैत ५) मा कोइरालाको चीन भ्रमणताका भएको संवाद यस्तो थियो । माओः हामीले सुनेका छौँ कि तपाईंहरूले हाम्रो देशलाई सीधै जोड्ने राजमार्ग बनाइरहनु भएको छ । वीपीः होइन । हामीले दुई वर्षअगाडि एक राजमार्ग बनाउन खोजेका थियौँ । आर्थिक अभावले अगाडि बढ्न सकेन । अहिले पूर्व(पश्चिम राजमार्ग बनाउनको लागि सोभियत संघका प्राविधिकहरूले सर्भेमा सहयोग गरिरहेका छन् । माओः हाम्रो देश (चीन) आउन तपाईं अर्काको देश भएर आउनुपर्छ ? वीपीः होइन । हिमालयन भन्ज्याङ हुँदै नेपाल र तिब्बत जान सकिन्छ । तर, यो औपचारिक सडक भने हैन । माओः एक वर्षमा, १० वर्षमा वा २० वर्षमा, ढिलो वा चाँडो हाम्रो सीधा सडक हुनुपर्छ । वीपीः हामी हाम्रो देशमा आर्थिकरूपमा राम्रो सम्भावना भएका क्षेत्रहरूमा सडक बनाउदै छौँ । हामी देशभर पुग्ने १३०० किलोमिटरको सडक निर्माण गर्दैछौँ । यसरी पहिलोपटक नेपाल(चीन सडक जोड्ने परियोजनालाई वीपीले कूटनीतिकरूपले ’नो’ भनेका थिए । सूचना भारत नपुगोस् भनेर वीपी तर्केका हुन पनि सक्छन् । खैर, ’माओ जेदुङ अन डिप्लोमेसी’ पुस्तकमा उल्लेखित यो संवादबाटै नेपाल–चीन सडक निर्माणको उच्चस्तरीय छलफल आरम्भ भएको बुझ्न सकिन्छ । वीपी चीन जाँदा सन् १९६० मा सीधा सडकको प्रस्ताव गरेको चीनले अर्को वर्ष वीपीलाई अपदस्थ गरेर आफ्नो हातमा सत्ता लिएका महेन्द्र चीन पुग्दा सम्झौता नै ग¥यो ।महेन्द्रको सन् १९६१ सेप्टेम्बर २६ देखि अक्टोबर १९ सम्म भएको चीन भ्रमणको समयमा अक्टोबर १ मा नेपाल र चीनबीचमा सीधा सडक बनाउने सहमति भयो । सन् १९६२ मार्चबाट चिनियाँ प्राविधिकहरूले सर्भे थाले । सन् १९६७ को मेबाट सडक सञ्चालन भयो । यो सडक नेपाल–चीन जोड्ने प्रथम सडक मात्रै थिएन, चीनको दक्षिण एसिया छिर्ने हिमाली सीमापार प्रथम सडक पनि भएको नेपाल (चीन सम्बन्ध बारेमा हालसालै बजारमा आएको पुस्तक ’अल रोड्स लिड नर्थ’मा लेखक अमिसराज मुल्मीले लेखेका छन् । मुल्मीले पुस्तकमा सन् १९६१ डिसेम्बरमा राज्यसभामा बोल्दै जवाहरलाल नेहरूले रोडबारेमा सुन्दा आफूले मन नपराएको बताएको लेखेका छन् । २०१९ सालको नाकाबन्दी कुन मितिबाट सुरू भएको भन्ने यकिन तथ्यांक भेटिन्न । क्याम्ब्रिज युनिभर्सिटी प्रेसले छापेको ’अ हिस्ट्री अफ नेपाल’ पुस्तकमा जोन ह्लेप्टनले सन् १९६२ को सेप्टेम्बरबाट नाकाबन्दी सुरू भएको भनेका छन् । त्यो भनेको २०१९ को भदौरअसोज हुन आउँछ । कतिपयले भने वैशाखबाटै सुरू भएको पनि भन्ने गर्छन् । नाकाबन्दीको कारण नेपालले चीनसँग बनाएको सीधा सडकलाई नै मानिएको छ । तर, कतिपयले २०१९ सालको नाकाबन्दी महेन्द्रले कांग्रेसको जननिर्वाचित सरकार अपदस्त गरेकोले भन्ने गर्छन् त कसैले भने ऋषिकेश शाहलाई परराष्ट्रमन्त्रीबाट हटाइएकोले समेत भन्छन् । तर, स्वयं वीपी र शाहले त्यस बारेमा स्विकार नगरेकोले त्यो तर्क कमजोर हुन आउँछ । २०१९ मा भारतले लाएको नाकाबन्दी भारत–चीन युद्ध सुरू भएपछि सकिएको थियो । भारत र चीन सन् १९६२ अक्टोबर २० देखी नोभेम्बर २१ (२०१९ कात्र्तिक ४ देखी मंसिर ६) सम्म लडेका थिए । युद्धमा भारत नराम्रोसँग पराजित भएको थियो । २०१९ सालको भारतीय नाकाबन्दीताका चिनियाँ विदेशमन्त्री चेन यिले नेपालको पक्षमा बलियो आश्वासन दिएका थिए । सरदार भीमबहादुर पाण्डेको पुस्तक ’महेन्द्र र नेपालको असंलग्न परराष्ट्रनीति’ का अनुसार नाकाबन्दी भएको एक महिना पुगेपछि उनले २०१९ असोज १३ भनेका थिए, ’नेपालमाथि कसैले आक्रमण गर्छ भने चीन हेरेर बस्दैन ।’ चिनियाँ बोलीले पनि नेपाललाई धेरै भूराजनीतिक आडभरोसा प्राप्त भएको थियो । स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले न नेपाललाई नाकाबन्दी बढाएर हेप्न सके, न त चीनको युद्ध नै जिते । उनलाई सन् १९६२ बिर्सनलायक वर्ष बन्यो । त्यसबेला भारतीय अखबारहरुले (नेपालमा अब कम्युनिस्ट शासन आउँछ भनेर लेखेका थिए । त्यसको प्रति उत्तरमा राजा महेन्द्रले भनेका थिए –कम्युनिस्ट ट्याक्सी चढेर आउँदैन ।      

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्