देश जलेको देखेर रमाइरहेका नेपालीहरूका भिडियो क्लिप्स हेर्दा यस्तो लाग्यो हामीमा आफू नेपाली हुनुको गौरवबोध रहेनछ । देशको संसदभवन, सिंहदरबार र सर्वोच्च अदालत जल्नु भनेको एउटा ईंटा, सिमेन्टले बनाएको भवन मात्र जलेको नभई देशको अस्मिता, स्वाधीनता र अक्षुण्णता जलेको हो भन्ने बोध हुुन नसक्नु अत्यन्त पीडादायी कुरा हो । विभिन्न राज्यका इतिहासहरू पल्टाएर हेरौं । त्यसबेला शत्रुराज्यमा आक्रमण गर्नेहरूले राजाको किल्लालाई कब्जा गरेपछि पुरै राज्य जितेको मानिन्थ्यो । त्यसबेलाको राज्यको किल्ला भन्नु र अहिलेको सिंहदरबार भन्नु उस्तै हो । वीर बलभद्र कुँवरले ढुङ्गा, माटोले चिनेर बनाएको नालापानी किल्लालाई अङ्ग्रेजहरुबाट बचाउन एक हप्तासम्म लडाइँ लडेका थिए । त्यो किल्ला एउटा भौतिक वस्तु नभएर देशको अस्मिताको प्रतीक थियो । अङ्ग्रेजले त्यो किल्ला फतह गरेपछि नेपालराज्य नै जितेसरह हर्षबढाइँ गरेका थिए । देशका प्रशासनिक, व्यवस्थापकीय तथा न्यायिक भवनहरूमा विभिन्न कालखण्डमा विभिन्न व्यक्तिहरूले जनताको प्रतिनिधिका रूपमा बसेर काम गरे । कोही असल साबित भए, कोही भ्रष्ट र अराजक निस्किए । भ्रष्ट शासक बसेको हो भनेर देशका धरोहरहरू जलाउदा रमाउनु भनेको मन्दिरको पुजारी भ्रष्ट भयो भनेर मन्दिरलाई नै विध्वंस गरेर रमाए झैं हो । रूखका हाँगाहरूमा चराहरू मात्र बस्दैनन्, सर्प र बिच्छी पनि आएर बस्छन् । अरिङ्गालले पनि गुँड बनाउँछ । तर रूखलाई सर्प, बिच्छी र अरिङ्गालको बाँसस्थानका रूपमा हामी चिन्दैनौ, परिभाषित गर्दैनौं । रूखलाई हामी सबै प्राणीमात्रको सहारा र मानव जीवनलाई सुचारु गर्ने जीवनबुटीका रूपमा शिरोपर गर्छौं । कुनै पनि राज्यका राष्ट्रिय धरोहरहरू त्यो देशका सार्वभौम नागरिकका जीवन स्पन्दन हुन् । त्यो देशका मुटु हुन् । राज्य हुनुका प्रमाण हुन् । राज्यको लिखित इतिहासका जिउँदा अभिलेख हुन् । कुनै व्यक्ति आफूलाई नेपाली भन्छ र आफै स्वयं राष्ट्रका धरोहरहरू जलेकोमा रमाउछ, खुसी हुन्छ भने मलाई शंका लाग्छ कि उसलाई देश के हो ? भन्ने थाहा छैन । यो थाहा नहुनुको एक मुख्यकारण हामीले उपनिवेशको पीडा नव्यहोर्नु हो । नेपाल कुनै देशको उपनिवेश भएर उपनिवेशकालीन देशको पीडालाई हामीले भोगेको भए हामीलाई देशको महत्व थाहा हुन्थ्यो, देशका धरोहरहरूको गौरवबोध हुन्थ्यो । तर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले त्यो दिन देख्नबाट हामीलाई बञ्चित गर्नु नै उनको ठूलो भूल भयो । यहीँ कुरालाई अर्को पाटोबाट हेर्दा जसरी शासकहरूले यी राष्ट्रिय धरोहरहरूलाई आफ्नो निजी सम्पतिजस्तो गरि दुरुपयोग गरे, यी स्थानहरूमा आमनागरिकहरूलाई सहज प्रवेशबाट बन्चित गरे, जसलेगर्दा नागरिकलाई यी राष्ट्रिय धरोहरहरू मेरा आफ्ना हुन् भन्ने अनुभूति जाग्न सकेन । जीवनमा कहिल्यै सिंहदरबार नछिरेको नागरिकलाई सिंहदरवार राष्ट्रको मुटु हो ? वा राष्ट्रको अस्मिता हो ? वा के हो ? के मतलब ? के सरोकार ? वास्तवमा भन्ने हो भने संसदभवन र सिंहदरबारलाई शासकहरूले सधैं आम नागरिकको नजरबाट टाढा राखे । जीवनमा सिंहदरबारको गेटभित्र छिर्न पाउने कति नागरिक होलान्? अत्यन्त न्यून ११ अनि नागरिकको हृदयमा त्यो संरचनाप्रति किन आस्था जाग्छ ? किन अपनत्व जागृत हुन्छ ? ‘श्रीलंकामा सुन छ, मेरा कान बुच्चै’ अवस्थामा रहेका नागरिकलाई सुनप्रति माया हुन्छ वा घृणा ? हामीले गम्भीर भएर सोच्नुपर्ने विषय हो । हामीहरूले अनुभव गरेको कुरा हो, विदेशमा राष्ट्रका धरोहरहरूमा आमनागरिकहरूको सहज पहुँच हुन्छ । आमाबाबुहरू आफ्ना बच्चालाई लगेर राष्ट्रका महत्वपूर्ण संरचनाहरू घुमाउछन्, परिचय गराउँछन् । ती संरचनाहरू हाम्रालागि किन महत्त्वपूर्ण छन् ? बच्चालाई शिक्षा दिन्छन् । बिदाका दिनहरूमा त्यहाँ भींड हुन्छ । हाम्रो नेपालमा कति बाबुआमाहरूले आफ्ना बच्चालाई सिंहदरबार, राष्ट्रपतिभवन र संसदभवन घुमाउन पाए होलान् ? के सम्भव छ ?? अनि कसरी हाम्रा जेन–जी पुस्ताका भाइबहिनीहरूमा सिंहदरबार मेरो धरोहर हो, संसद मेरो आस्था हो, राष्ट्रपतिभवन हाम्रो लोकतन्त्रको प्रतीक हो भन्ने भावना आउँछ ? पहिलेका स्कुल, कलेजका पाठ्यक्रममा सिंहदरबारको बारेमा तस्बिरसहित परिचय हुन्थ्यो । सिंहदरबार प्रत्यक्ष नदेखे पनि किताबबाट नै विद्यार्थीहरूलाई सिंहदरबार के हो ? भन्ने कुराको ज्ञान हुन्थ्यो । अहिले त्यो पनि छैन । न हाम्रा राष्ट्रिय धरोहरको परिचय छ न त हाम्रा विभूतिहरूका बारेमा नै उल्लेख्य चर्चा गरेको देखिन्छ । यीनै हुन् । राज्य र नागरिकबीच अदृश्य गहिरो खाडल बन्नुका प्रमुख कारणहरू । जेन–जी आन्दोलनपश्चात् हुनगइरहेको आमनिर्वाचनवाट निर्वाचित भएर आउने जनप्रतिनिधिहरूले राष्ट्रिय धरोहरहरूमा हरेक नागरिकको पहुँच सुनिश्चित गरुन् । सरकारको ब्यवहार यस्तो होस् कि नागरिकले देशका राष्ट्रिय सम्पत्तिलाई आफ्नो सम्पत्ति ठानुन् । र देशका प्रत्येक बच्चाहरू बिदाका बेला सिंहदरबार, संसदभवन, राष्ट्रपतिभवन र सर्वोच्च अदालतमा आफ्ना बाआमासंग घुम्नजाँदा रमाउन् । आफ्नो देशका यी धरोहरहरू देख्दा यीनका हृदयमा असीम श्रद्धा जागोस् । आजलाई यत्ति ।।
