अझै समय छ, हिम्मत गर्नुहोस् । १ दाइ–भाउजू, बा’ र नानीका बा’ का प्रशंसक साथीहरू । तपाईंहरू कसैको दास होइन । सचेत, पढेलेखेको, विचारले निर्देशित, सिद्धान्तबाट प्रशिक्षित, सिङ्गै देश र समाजलाई अगाडि लैजान्छु, माथि उचाल्छु भनेर जीवन नै समर्पित गरेका देशभक्त, सक्रिय र जिम्मेवार नागरिक हो । आफूलाई चिन्नोस् र अन्तरात्माको विवेक जगाई पार्टीलाई विचारले पुर्नसंगठित गर्न नेतृत्वदायी पहल लिनोस् । दलीय व्यवस्थामा दल र इमानदार नेता कार्यकर्ताको भविष्य सधैं रहन्छ । पुराना नेतृत्वहरूको छवि समाजमा अहिले निकै खराब रहेको टड्कारो सत्य हो । तपाईं नेताको होइन दलको प्रतिबद्ध कार्यकर्ता हो । फेरि त्यस्तैलाई बोक्ने गल्ती गर्नुभयो भने खस्किसकेको पार्टी फेरी उठ्ने हैन, थप सकिने बाटो हो र यही अहिलेको कटु सत्य हो । लोकले नरुचाहेको बाटो हिंड्दा सफलता त होइन, कुनैदिन धोका र पश्चाताप मात्र हुनेछ र उल्टै तपाईंको सोसल इमेज र राजनैतिक करियर बिग्रिने खतरा हुन्छ । २. सम्पत्तिमाथि आगो झोस्नु गम्भीर अपराध थियो, यसमा कसैको अर्को कुरा छैन । दोषी उपर अनुसन्धान र कारबाहीको चौतर्फी माग हुनु बिल्कुल ठिक छ र हुनुपर्छ । तर सोचौं त, के बाँकी थियो त्यहाँ ? सुगौली सन्धि देखि हालसम्मका सबैजसो महत्वपूर्ण दस्तावेज र नेपालका पुराना नक्सा, ऐतिहासिक लिखत उहिल्यै विदेश पु¥याइएका छन् । राष्ट्रिय महत्वका सबैजसो निर्णयका फाइल गायब पारिएको छ । जे थिए त्यहाँ दैनिक प्रशासन र कामकाजका कागज मात्र हुन् । गुम्यो के कति ? केही भवन र फर्निसिङ्ग नष्ट भए जो ढिलोचाँडो रङ्गरोगन र निर्माण पनि हुन सक्नेकुरा हुन् । तर सबैकुरा चटक्क भुलेर षडयन्त्रकारी घुसपैठीहरूद्वारा सार्वजनिक भवन जलाइएको यही एउटा पक्षमात्रै सबैतिरबाट घनघोर रूपमा उठाइनु र नरशंहारको त्यत्रो घटना सर्लक्क ओझेलमा पारिनु भने रहश्यमय लाग्दै छ । यस्तो किन गरिंदै छ, थाह छैन । गत भदौ २३ गते जनताको आँखा अगाडीबाटै सोझै छाती र टाउको ताकीताकी गोली हानियो र २२ जना कल्कलाउँदा युवाहरूको अनमोल जीवन एकैछिनमा लुटियो । कैयौंका सिन्दुर पुछिए, कोख शून्य भए । हो, यो त्यो क्षति हो जसको अब कहिल्यै क्षतिपूर्ति हुन सक्नेछैन । यो पो हो अपूरणीय क्षति भनेको । घटनामा ४०० बढी गोलीले घायल र कैयौँ सधैंका लागि अपाङ्ग र अशक्त भए । हो, यो हो कुनै मूल्यमा नफर्किने कुरा । आज मेचीदेखि कालीसम्म सिङ्गै देश गहन शोक र आँशुमा डुबेको छ । सबैले भन्दैछन् ती दुई दिनमा १,३०० भन्दा बढी राउण्ड सिसाका गोली चलेका छन् । निहत्था युवा प्रदर्शनकारी माथि लोकतन्त्रमा यति क्रूर दमनको उदाहरण आजको सभ्य र मानवाधिकारको पक्ष कुनै राष्ट्रमा देखिन्न र यो अत्यन्तै दःुखद र पीडादायी पक्ष हो । म मान्छु, दोषी हामीले सोचेको भन्दा फरक पनि हुन सक्छन् । यसमा सत्य–तथ्यको अनुसन्धान गरी दोषीहरू उपर कडा कारबाहीको माग उठ्दै छ र यो उठ्नु पनि पर्छ । सार्वजनिक भवन र सम्पत्तिको क्षति अवश्य गम्भीर हो र यसका दोषीहरू कारबाहीको दायरामा आउनै पर्छ तर त्यो भन्दा निकै गम्भीर र डरलाग्दो कुरा त्यत्रा युवाहरूको नरहत्या र नरसंहार हो । हामी सबैले अब आगो झोस्ने कुरालाई उठाउँदा अझ बढ्ता जोड ७८ अमूल्य जिन्दगी माटो मुनि पुग्ने घटनालाई पनि उठाउन नबिर्सौं । एउटा छोडेर अर्कोलाई मात्र उठाइयो भने हामी फेरी बहकावमा पर्ने र्छौं । हामी दलको सदस्य भन्दा देशका जिम्मेवार नागरिक हौँ, देश र जनता प्रतिको हाम्रो जिम्मेवारी नेता र दलभन्दा माथि हुनुपर्छ । हाम्रो आवाजले देश, समाज र सार्वजनिक मन बोल्नुपर्छ । ३. भारतीय सेना प्रमुख फिल्ड मार्सल सामु मानेक्साले सन् १९७० तिर भनेका थिए, “यदि कसैले म मृत्यु देखि डराउन्न भन्छ भने, बुझ्नु, कि उ झुट बोल्दैछ कि भने उ गोर्खाली सिपाही हुनुपर्छ ।” झन्डै यस्तै आशयका अभिव्यक्ति विश्वभर दर्जनौं अन्य प्रतिष्ठित व्यक्तिले दिएका छन् । अब विचार गर्नोस् त, त्यस्ता गोर्खेका युवा जोशले कुटकुट भरिएका जेनजी पुस्ता कति हिम्मती, साहसी र जोखिम मोल्न तत्पर होलान् ? अनि त्यस्ता डेअर डेविललाई हामीले कम आँक्न थाल्यौं भने हामीले अर्को ठूलो समस्या जन्माउने छौं । यो मेरो निवेदन हो । आगे, तपाईंको विचार । चौतर्फी अन्योल र अविश्वास भदौ २३ र २४ गतेको जेन्जी बिद्रोह पछि मुलुक अध्यारो सुरुङ्ग भित्र फसेको छ । आधिकारिक र संगठित जेन्जी नेतृत्व नहुँदा त्यति ठूलो विद्रोहका उपलब्धि एउटा अन्तरिम सरकार र छ महिनापछि त्यसले गराउने चुनाव मात्रै हो त ? के चुनाव पछि सबै कुराको समाधान हुन्छ यि र यस्ता यावत कुराका प्रश्न अनगिन्ती छन् । मुलुकमा चौतर्फी अन्योल र अबिश्वास छाएको छ । सामाजिक संजालमा छरिएका भ्रमले मानिसका मन मस्तिष्क दिग्भ्रमित भएका छन् । आफ्नै नेपाली दाजुभाइ दिदीबहिनीलाई यो फलानोको एजेन्ट त्यो तिलानोको एजेन्ट भनिदैंछ । साधारण जनतालाई को के हो ? कस्का कुरा पत्याउने कस्का कुरा नपत्याउने मुस्किल भएको छ । यस्तो परिस्थिति जबसम्म रहन्छ मुलुक उज्यालो खोज्ने नाममा झन झन अध्यारो सुरुङ्ग तर्फ गएको आभास हुन्छ । हामीले कस्ता कुरा पत्याउने र कस्ता कुरा नपत्याउने स्वंयम आफैंले बुझ्ने हो । यो संक्रमणकालमा सबै आफ्नो स्वार्थसिद्ध गर्न धमिलो पानीमा माछा मार्न चाहन्छन् । यो अन्तरिम सरकारले भटाभट राम्रा गर्दै गए सबै अन्योल र अविश्वास समाप्त हुनेछन् । नेपाली जनताको एकता र देश संविधानको हितका लागि नयाँ पुस्तालाई महत्व दिदै सबै वर्ग जात क्षेत्रलाई मान्य हुने निर्णय गर्दै सरकार अघि बढ्नु पर्छ । निर्वाचनको विकल्प छैन त्यसैले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न दलहरुलाई विश्वासमा लिएर अघि बढ्नुपर्छ ।
