IMG-LOGO

जेन–जी विद्रोहपछि असरल्ल राजनीति

 मंगल, असोज २८, २०८२  – किशोर नेपाल

आजका कुनै पनि नेता आफ्ना अग्रजहरूको आदर्शबाट परिचालित छैनन् । उनीहरू राजनीतिमा छन्, फरक उद्देश्यका लागि । त्यो उद्देश्य हो– सत्ता प्राप्त गर्ने र समाजमा रवाफ देखाउने । नेपालका तीन राजनीतिक पार्टीहरू जेन–जी आन्दोलनको समानान्तर चलाइएको विध्वंसक आक्रमणको सिकार बनेका छन् । विघटित प्रतिनिधिसभामा सबैभन्दा ठूलो पार्टीको हैसियत राख्ने नेपाली कांग्रेस र दोस्रो ठूलो पार्टीका रूपमा स्थापित नेकपा एमालेको भवन क्षतविक्षत तुल्याइएको छ। तेस्रो ठूलो पार्टी माओवादी केन्द्रको अवस्था पनि फरक छैन । यी तीनवटै पार्टीका सुरक्षित किल्लाका रूपमा रहेका पार्टी ‘हेडक्वाटर’ माथि गरिएको हिंसात्मक आक्रमण सुनियोजित रूपले गरिएको थियो भन्न हिचकिचाउनु पर्दैन । यस पटकको आन्दोलनले हिंसाका सबै सीमाहरू पार ग¥यो। सामान्य मानिस आतंकित भए । तर, विध्वंसक आक्रमणको सर्वाधिक प्रहारमा देशको सबैभन्दा पुरानो र ऐतिहासिक राजनीतिक दल नेपाली कांग्रेस प¥यो । उमेरका हिसाबले सम्भवतः समकालीन नेपाली राजनीतिका सबैभन्दा ‘पाका’ (निष्क्रिय जीवन बिताइरहनुभएका कम्युनिस्ट नेता मोहनविक्रम सिंहपछि) पात्र तथा कांग्रेसका ‘सर्वोच्च’ नेताका रूपमा रहनुभएका सभापति शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी तथा परराष्ट्रमन्त्री आरजु राणा देउवा आन्दोलनकारीहरूको हिंसात्मक आक्रमणको सिकार हुनुभयो । देउवा दम्पतीलाई उपचारका लागि सैनिक अस्पताल पु¥याउनुप¥यो । देउवाको निवासमा आन्दोलनकारीहरूले ‘गाडधन’ को थुप्रो फेला पारेका समाचारहरू सामाजिक सञ्जालमा ओइरिन थाले । देउवा दम्पतीको ‘राक्षसीकरण’ अभियान सुरु भयो । प्रधानमन्त्री आवासको ‘सुरक्षा घेरा’ मा रहनुभएका कारण प्रधानमन्त्री तथा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली मारपिटबाट जोगिनुभयो। उहाँलाई सेनाले आफ्नो शिवपुरी शिविरमा आराम र सुरक्षा दिएर राख्यो। ‘जनयुद्ध र साना–ठूला आन्दोलन हाँक्दै सत्ताको शिखरमा पुग्नुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ समयमा नै ‘भूमिगत’ हुनुभयो । युद्ध र आन्दोलन दुवैको पर्याप्त अनुभव कमाउनु भएका प्रचण्डले सम्भावित दुर्घटनाको ‘पूर्व आंकलन’ गरिसक्नुभएको हुनुपर्दछ । विध्वंसक आन्दोलनको एक महिनापछि एमाले र माओवादी पार्टीका नेताहरू आ–आफ्नो दलभित्र अन्तक्र्रियात्मक अभियानमा लागेका छन् । एमालेका कतिपय नेताहरू अध्यक्ष केपी शर्मा ओलीको सरल र सम्मानजनक निर्गमको खोजीमा लागेका छन् । पार्टीको सर्वोच्च पदमा पुग्ने हतारमा छन्, सबै नेताहरू । तर, अध्यक्ष ओली त्यसका लागि तयार देखिनुहुन्न । पूर्वराष्ट्रपति विद्या भण्डारी भत्ता, सुविधा र सम्मान त्यागेर पार्टीमा सक्रिय हुन खोजिरहनुभएको छ । सुरेन्द्र पाण्डे, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल लगायतका नेताहरूको पनि आ–आफ्नै रणनीति छ । तैपनि, एमालेमा युवा नेतृत्वको चाहना र वर्चस्व बढ्दो अवस्थामा रहेको देखिन्छ । माओवादी पार्टीका नेताहरूमा पनि परिवर्तनको चाहना तीव्र गतिले बढेको देखिन्छ । जनार्दन शर्मा ‘प्रभाकर’ को अभियानमा पार्टीका प्रमुख नेताहरू पनि जोडिन थालेका छन्, जसमा नारायणकाजी श्रेष्ठ र राम कार्की प्रमुख रहेका छन् । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन र समायोजनको बाटो कम्युनिस्ट पार्टीहरूमा जस्तो सुगम देखिँदैन । पार्टीका संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र कृष्णप्रसाद भट्टराईले आफ्नो उत्तराधिकार कसैलाई सुम्पिनु भएन । २०३३ सालमा निर्वासनबाट फर्किनु अगाडि बीपीले कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापतिको अभिभारा सुम्पिनुभयो । उहाँको यो चयनमा गणेशमान सिंहको सहमति थियो । बीपीले चाहनुभएको भए आफ्ना भाइ तथा क्रान्तिकारी नेता गिरिजाप्रसाद कोइराला, पुत्र प्रकाश कोइराला, भान्जी शैलजा आचार्य– कसैलाई पनि नेतृत्व हस्तान्तरण गर्न सक्नुहुन्थ्यो । उहाँमा आफ्ना साथीहरूको योग्यताको सम्मान गर्ने शक्ति थियो । उहाँले आफ्नो शक्तिको कहिल्यै दुरुपयोग गर्नु भएन । आजका कुनै पनि नेता आफ्ना अग्रजहरूको आदर्शबाट परिचालित छैनन् । उनीहरू राजनीतिमा छन् , फरक उद्देश्यका लागि । त्यो उद्देश्य हो– सत्ता प्राप्त गर्ने र समाजमा रवाफ देखाउने । अहिलेको जेन–जी विद्रोहले पनि मानिस अधिकारको रोब देखाउन कति लालायित हुन्छ भन्ने देखाएको छ । एउटा गैरसरकारी संघमा काम गर्ने मानिस सरकारी अफिसमा प्रवेश गर्दछ र अनधिकार हस्तक्षेप गर्न थाल्दछ । यो राम्रो लक्षण होइन । खास गरेर, २०४६ को जनआन्दोलनपछि चुनावमा जनताको बहुमत पाएर सत्तामा आएको नेपाली कांग्रेसमा राजनीतिक विचलन नआएको भए देशको अवस्था यति खराब हुने थिएन । सत्ताले ल्याएको यो विचलन पूरै एक दशकसम्म कायम मात्र रहेन, यसले पार्टीमा समेत ठूलो विग्रह निम्त्यायो । २०५६ को संसदीय निर्वाचन अभियानको नेतृत्व गरेर कांग्रेसलाई बहुमत दिलाउने नेताका रूपमा कृष्णप्रसाद भट्टराईले सुनाम कमाउनु भयो । तर, पार्टीभित्रको अन्तरसंघर्षका कारण उहाँले पदत्याग गर्नु भयो । उहाँको जीवनकालमा नेपाली कांग्रेस पार्टी विभाजनमा गयो । शेरबहादुर देउवा ‘रुख’ बाट ओर्लिएर कलश समात्न पुग्नुभयो। पछि, राजा ज्ञानेन्द्रले उहाँलाई हटाए र जेलमा थुने । त्यसपछि कलश कांग्रेस मूल कांग्रेससँग एकीकरणको बाटोमा लाग्यो । पार्टी नेता र प्रधानमन्त्री दुवै हिसाबले गिरिजाप्रसाद कोइरालाका देश विकासका महत्वाकांक्षा थुप्रै थिए । पछिल्लो समयको प्रधानमन्त्रीकालमा राजा ज्ञानेन्द्रसँग उहाँको द्वन्द्व चर्कियो । उहाँ प्रधानमन्त्री पद त्यागेर माओवादी जनयुद्धलाई निर्णायक टुंगोमा पु¥याउन लाग्नुभयो । नेपाललाई संवैधानिक राजतन्त्रबाट संघीय गणतन्त्रमा परिणत गर्ने अभियानका नायक उहाँ नै हुनुहुन्थ्यो । अहिले संघीय गणतन्त्र स्थापनाको दूई दशक बितिसकेको छ । यसबीच अनेकन नाटकीय राजनीतिक घटनाहरू भइसकेका छन्, जसको उल्लेख यहाँ गरी रहनु आवश्यक छैन । नेपाली कांग्रेसको संयोजनमा संघीय गणतन्त्र नेपालको संविधान तयार गर्ने काममा प्रधानमन्त्री सुशील कोइराला संयोजकको भूमिकामा हुनुहुन्थ्यो । उहाँकै प्रधानमन्त्रित्वकालमा संविधान जारी भयो। सुशील कोइरालाको निधनपछि शेरबहादुर देउवाको हातमा आयो, नेतृत्व । उहाँको नेतृत्वसँगै गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, कृष्ण सिटौला, शशांक कोइराला, प्रकाशमान सिंह, प्रकाशशरण महत, एनपी साउद लगायतका नेताहरू शक्ति र सत्ताको केन्द्रमा देखा परे । द्वन्द्वकालीन समयमा राजनीतिमा सक्रिय हुनुभएका डा.शेखर कोइरालाले माओवादीसँगको वार्तामा सभापति गिरिजाप्रसाद कोइरालालाई सघाउनु भएको थियो । २०६२ पछि २०७२ सम्म– एक दशकको उथलपुथलपछि संघीय गणतन्त्र नेपालको संविधान जारी भएको थियो। अहिले नेपाली कांग्रेसमा देखिएका र नदेखिएका सबै नेताहरूको दायित्व बढेको छ । तर, स्थानीय तहदेखि केन्द्रीय तहसम्मका अधिकांश नेताहरू संरक्षकको खोजीमा देखिन्छन्। बरु प्रतिस्पर्धी दलका नेताहरूको स्वभाव त्यस्तो देखिँदैंन । अहिलेको संविधानमाथि गैरसंवैधानिक क्षेत्रबाट अन्तर्घात भएको छ । यस्तो घात प्रतिघातले देशको भलो गर्दैन। तर, यो संविधानको चरित्र पनि त्यस्तै खालको छ । संविधानका बारेमा नेपाली कांग्रेसका सांसद तथा प्रखर बौद्धिक व्यक्तित्व स्वर्गीय प्रदीप गिरिले यो पंक्ति लेखकसँगको वार्तामा बताउनुभएको थियो ः ‘अहिलेको संवैधानिक व्यवस्थालाई सबैले बुझेका छन् । यो संसदीय व्यवस्थाकै एउटा अर्को संस्करण हो । सुरुमा माओवादीले यसमा चित्त बुझाएका थिएनन् । उनीहरूले विभिन्न उपाधि र विशेषण अथवा प्रत्यय र उपसर्ग लगाएर यो संसदीय व्यवस्थालाई ‘होइन, हामी संसदीय व्यवस्थामा कहाँ आएको हो र ?’ जस्ता कुरा गर्ने गरेका थिए ।’ अहिलेको अवस्थामा हामीकहाँ अहिले जुन व्यवस्था जसरी चलेको छ, त्यो संसदीय व्यवस्थाकै एउटा अर्को संस्करण हो । मानिसका लागि सबभन्दा प्रिय वस्तु उसको ज्यान नै हो । मनुष्य मात्रै होइन, प्राणी मात्रको सामान्य भोक र तृष्णा कुकुर, बिरालो सबैको उही हो । प्राणीहरू आफ्नो ज्यान बचाउन जुनसुकै संघर्ष, प्रतिकार गर्न तयार हुन्छन् । हो, उनीहरूमा चेतनाको अभाव हुन सक्छ । राज्य र सञ्चारमाध्यमले चेतनाको ज्ञान दिने हो । चेतना नदिई ज्यानको जिम्मा लिनु भनेको राज्यले चालेको हाँस्यास्पद कदम हो । वास्तविक कुरा के हो भने अहिले देशको प्रमुख समस्या कसैले पनि बुझ्न सकेको छैन । एउटा क्रान्ति भयो । संसदीय लोकतन्त्र आयो । अर्को क्रान्ति भयो, गणतन्त्र आयो । तैपनि, राज्यको संरचनामा कुनै रूपान्तरण भएको छैन । चलनचल्तीको शब्दमा भन्ने हो भने राज्यसत्ताको हस्तान्तरण भए पनि राज्यको रूपान्तरण भएको छैन । किन भएन । बारम्बार संघर्ष, क्रान्ति, विद्रोह भइसक्दा पनि किन हुन सकेको छैन ? बजारमा सीमित उपभोग्य सामग्री पाइन्छन् । जसरी उपभोक्ता ती सामान किन्न बाध्य छ, त्यसरी नै हामी पनि राजनीतिक स्वतन्त्रताको नाममा दुईटा वा तीनवटा पार्टीमध्ये एउटालाई रोज्न अभिशप्त छौं । यो लन्डनमा पनि देखिएको छ । त्यहाँ कि लेबर छ कि कन्जरभेटिभ छ । यो अमेरिकामा पनि देखिएको छ । भारतमा पनि देखिएको छ । प्रायः सबै मुलुकमा बेलाबेलामा झिनो स्वरमा आवाज उठ्ने गरेको छ कि जनप्रतिनिधिलाई फिर्ता बोलाइदिनु पर्छ । तर, जनप्रतिनिधिलाई फिर्ता बोलाउने अभिक्रम कहीं सुरु हुँदैन । नेपालले अहिले जनप्रतिनिधिलाई फिर्ता बोलाउने कानुनमा संविधान संशोधन गराउन सक्ने हो भने विश्वलाई यो एउटा सबक हुनेछ । अहिले नेपालमा स्थानीय सत्ता आएको छ । स्थानीय सत्तालाई थोरबहुत अधिकार दिइएको पनि छ । तर, स्थानीय जनप्रतिनिधिले ती अधिकारको सन्तोषजनक सदुपयोग गरेका छैनन् । कारण स्पष्ट छ । ठूला मान्छेले जुन व्यवहार गर्छन्, सानाले पनि त्यही गर्छन् । प्रधानमन्त्री पदमा रहँदासम्म ओलीको जुन रवाफ र फुर्ती थियो, त्यो अहिले छैन । ओलीकै जस्तो रवाफ र फुर्तीको प्रदर्शन गाउँ र नगरपालिकाका मेयर र वडा अध्यक्ष पनि गर्न चाहन्छन् । उनीहरू आफूलाई जनताको मालिक ठान्दछन् । त्यसैले चुनावको माध्यमबाट आउने मालिकवादको अन्त्य नगरी नयाँ नेपाल बन्न सक्दैन । एउटा कुरा स्पष्ट छ । नेपालमा आजसम्म जति पनि विद्रोह र संघर्ष भएका छन्, तीभन्दा झन् ठूलो, झन् व्यापक र झन् बहुआयामिक संघर्षको पूर्वसन्ध्या हो अहिलेको समय । यतिबेला फुर्सदमा बसिरहेका जेन–जीहरू आए। संघर्ष त सकियो । अबको बाटो के त ? बहुआयामिक क्रान्ति कुनै एक जना महापुरुषले ल्याउने होइन। यसका लागि प्रत्येक व्यक्ति जिम्मेवार हुनुपर्छ । कमसेकम नेपाल जस्तो मुलुकमा प्रत्येक पालिकाको वडामा ८÷१० युवाहरू निस्केर त्यहीं किल्ला गाडेर नबसेसम्म समस्याको समाधान हुँदैन । यो देश हाम्रो हो । हामीले देश–विदेशमा गएर भाँडा माझ्ने र भारतमा चौकिदार गर्ने होइन भन्ने एक प्रकारको प्रच्छन्न राष्ट्रवादको भावना नआएसम्म समस्या सुल्झिन सक्दैन ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्