उपत्यकाका प्रमुख सहर काठमाडौँ , भक्तपुर र ललितपुरमा पौराणिककाल देखी धर्म , कला संस्कूती मठ मन्दिरहरूले प्रख्यात छ । मन्दिरै मन्दिरको देश भनेर चिनिने नेपालमा बिशेषत नेवारी समुदायमा विभिन्न जात्राहरू मान्ने गर्दछन् । नेवार बस्तीहरू विभिन्न ठाउँहरूमा फैलिएर बसेका छन् । जहाँ जुन शैलीमा बसोबास गरी बसे पनि नेवार समुदायको आ आफ्नो किसिमका कला शैलीहरू विकास गरेका छन् । सहर र बस्ती अनुसारको विभिन्न देव देवीको नाममा अनेकौँ जात्राहरू संन्चालन गर्दै आएका छन् । यसरी नेवारहरू ठाउँ अनुसारको आफ्नै पहिचानको नेवारी भाषा भेष भूषा र छुट्टै किसिमको वातावरण तयार गरेको हुन्छ । यसरी विभिन्न समयमा ठाउँ ठाउँमा नेवारीहरूको आ आफ्नै जात्रा संन्चालन भएको पाउँछौ । काठमाण्डौमा घोडे जात्रा, इन्द्र जात्रा , ललितपुरमा मछेन्द्रनाथको जात्रा र भक्तपुरमा बिस्काः जात्रा मनाउने चलन चल्दै आएको छ । यसै गरी काभ्रेको बनेपामा चण्डेश्वरी जात्रा , पनौतीमा ईन्द्रेश्वरी जात्रा , नालामा नाला भगवतीको जात्रा गरिन्छ भने अरू गाउँ ठाउँमा पनि आ आफ्नै किसिमका जात्राहरू गर्ने गरेका छन् । आज भने साँगामा र श्रीखण्डपुरमा हुने बिस्काः जात्राको चर्चा गर्दै छौ । नव वर्षको सुरुवाट सँगै सुरु हुने बिस्काः जात्रा भक्तपुर समेत सात गाउँमा मनाउने गर्दछ । काभ्रे जिल्लामा श्री खण्डपुर र साँगामा पनि आफ्नै किसिमको मौलिक बिस्केट जात्रा मनाउने चलन धेरैलाई थाहा नहुन सक्छ ।साँगामा बिस्केट जात्रा मनाउनु कारण र यो जात्रा कसरी संन्चालन हुने गर्दछ भनेर कतै लिखित अभिलेख , श्रोत छैन ! तर पनि साँगामा बिस्केट जात्रा परापूर्व काल देखी मनाउँदै आएको छ । बिस्केट जात्रा मनाउनुको कारण के हो ? भन्ने सन्दर्भमा बिस्केट जात्रा मनाउने चलन परापूर्व कालमा एक दिने राजाको किम्बदन्ती कथामा आधारित छ । जस अनुसार रानीको लागी हरेक दिन नयाँ राजाको खोजी गर्नु पर्ने रानीसँग सुतेको राजा भोलि पल्ट मृत्यु हुने हुँदा सहरमा युवा केटाहरू खोज्नु पर्ने अवस्था आई पुग्यो । राजा बनेका एक वीर पुरुष युवाले सधैँ राजाको मृत्युको कारण पत्ता लगाउन नसुती जाग्राम बस्दछ । राती रानीको नाक बाट सानो ( बि ) सर्प निस्कने गर्दछ। त्यो सर्प ठुलो भएर राजालाई डसेर मार्ने गर्दथ्यो । सो युवाले त्यो सर्पलाई तरबारले टुक्रा टुक्रा पारेर मार्दछ । बि सित ( सर्प रम्यो ) यसरी सधैको राजा छान्ने काम र राजाको मृत्युको परिस्थितिबाट मुक्त भएर सधैको राजा भएको हुँदा , राजा र प्रजाहरू खुसी भएर बिस्काः जात्रा चलेको हो भन्ने किम्बदन्ती पाइन्छ । साँगामा पनि बिस्काः जात्रा आफ्नै परम्पराबाट छुट्टै पहिचान बोकेर जात्रा संन्चालन गर्दै आएका छ । परापुर्वकाल देखी चल्दै आएको जात्रालाई निरन्तरता दिँदै आएको मात्र पाइन्छ । गुठी संस्थान बाट जात्राको लागी व्यवस्थापन हुँदै आएको यस जात्रामा सरकारी दायित्व निर्वाहमा ठेकदारी प्रथा लागु भएको छ । जात्रा संन्चालनको लागी ठेकेदार र द्वारे सँग समन्वय गरेर जात्राको व्यवस्थापन गर्ने गर्दछ । स्थानीय व्यक्तिहरू सक्रियतामा नै जात्रा संन्चालन हुने गर्दछ । स्थानीय बाजागाजा बजाएर रथहरू सिगारेर साँगामा आफ्नै किसिमको मौलिक जात्रा मनाउने गर्दछ । समय परिस्थिति अनुसार मानिसहरूको व्यस्तता गर्दा जात्रा गर्ने तरिका र समय फरक हुन थालेका देखिन्छ । बिशेषत साँगामा बिस्काः जात्रा मनाउने तरिका विक्रम सम्बतको अन्तिम दिन (चैत्र मसान्त )लिङ्गो उभ्याउने गर्दछ । वैशाख १ गते बिहान ईताचामा श्वेत गणेशलाई प्रतिस्थापन गर्दछ । बिहान साँगावासीले पूजा आजा गर्दछ । सोही गणेशलाई बेलुकी पख खुल्चाखुसीमा खतमा राखिन्छ र त्यहाँ ब्रतबस्ने श्रद्धालुहरूले लाइन बसेर पूजा गर्ने गर्दछन् । गहिरो ठाउँ सानो खोलो खुल्चाखुसीमा बाजागाजा बजाएर नाचगान हुने गर्दछ । वरिपरिबाट मानिसहरूले आफ्नो भएको श्रद्धाबाट रथमा प्रसाद चढाउने चलन , आजभोलि बिस्कुटका पुरिया , चाउचाउ अन्य खाद्यान्न सामानहरू चढाउने गर्दछन् । पछि सोही रथ बजारबाट पूजाआजा गरेर गणेश विश्राम स्थलमा सटलमा राख्ने गर्दछ । भोलि पल्ट २ गते बिहान सबेर भैरव , कुमारी र गणेशको रथ तयारी अवस्थामा बजारको मध्य भाग भिमसेन स्थानमा राखिन्छ । सोही रथहरूलाई लाइनले माथि बजार पाखण्डाली परिक्रमा गर्नेक्रममा दबुहरुमा सिन्दूर जात्रा गर्ने गर्दछ । तिन वटा दबुहरुमा सिन्दूर जात्रा सकेर पहिलेकै ठाउँमा ल्याएर राखिन्छ । गणेशको रथलाई छेउमा मुख छोपेर राखेर भीमसेनको मन्दिरलाई घुमाउँदै भैरव र कुमारीको रथ जुढाउने गर्दछ । सानो रथहरूलाई बोकेर जुढाउने रथ जात्रा निकै मनमोहक रमाइलो हुने गर्दछ । ठाउँ अनुसारको आफ्नै तौ तरिकाबाट संन्चालन हुँदै आएको बिस्केट जात्रामा स्थानीय बाजा गाजाको छुट्टै पहिचान बोकेको छ । साँगामा बजाइने बाजा र अन्य ठाउँमा बजाउने तरिकाहरू फरक छन् । बिशेषत जुगी बाजा , नाय खिं बाजा र धिमे बाजाहरू बजाइन्छ । स्मरण रहोस् साँगाको धिमे बाजा काभ्रे जिल्ला व्यापी धिमे बाजा प्रतियोगितामा सागाकै दुई ग्रुप बाजा टोली प्रथम र द्धितिय भएको थियो । भने यसपालि राष्ट्रव्यापी ढिमेबाजामा पनि पहिलो स्थान ओगटन सफल भएको छ । यसरी जात्राको अर्को दिन ३ गते द्यो सगुन दिने भनेर तिनै वटा रथहरू बजार घुमाउने चलन छ । जात्राको अन्तिम दिन ૪ गते लिङ्गो ढाले पछि आ आफ्नो ठाँउमा रथका देवतालाई पहिले कै स्थान घर भित्राउने गरे पछि जात्रा समापन हुने गर्दछ । श्री खण्डपुरमा पनि लिङ्गो उठाउने रथ घुमाउने आफ्नै चलन छ । यसरी नेवारी समुदायमा जात्रा संन्चालन सँगै आफ्ना नातेदार, आफन्त, शुभेच्छुकहरूलाई आफ्नो जात्रामा बोलाएर आफ्ना ठाउँ अनुसारको रिती रिवाजका जात्राहरू देखाएर पाहुनाहरूलाई भोज खुवाएर सम्मान सत्कार गर्दछन् । यसरी नेवारी समुदायले आफ्नो ठाउँ बस्तीहरूमा आ आफ्नो स्तर अनुसारको जात्रा संन्चालन गरेर आफ्नो कला संस्कूतीको जगेर्ना गर्दै आई रहेका छन् ।
