प्लास्टिक सर्जरी, जसलाई प्रायः सौन्दर्य वा पुनस्र्थापनाका लागि गरिने शल्यक्रिया मानिन्छ, वास्तवमा मानव सभ्यताको प्राचीनतम चिकित्सा अभ्यासमध्ये एक हो । यो शब्द ग्रीक शब्द ’प्लास्टिकोस’ बाट आएको हो, जसको अर्थ ’आकार दिनु’ वा ’ढाल्नु’ हुन्छ, न कि कुनै कृत्रिम सामग्रीसँग सम्बन्धित । आधुनिक विज्ञानले यसलाई उन्नत प्रविधिसँग जोडे पनि, यसको जरा प्राचीन सनातन हिन्दू सभ्यतासंग जोडिन्छ । छैटौं शताब्दी ईसापूर्वमा सुश्रुत संहितामा वर्णित नाक पुनर्निर्माण (राइनोप्लास्टी) विधिले प्लास्टिक सर्जरीको आधार तयार पारेको थियो । यो विधि पछि अरब हुँदै युरोप र आधुनिक विश्वमा फैलियो । यस लेखमा सुश्रुतको योगदान, आधुनिक प्लास्टिक सर्जन सर हेरोल्ड गिलीजको योगदानको बारेमा छोटो चर्चा गरिनेछ । प्राचीन समयमा प्लास्टिक सर्जरीको उदय कसरी भयो भन्ने जान्न सुश्रुत संहिताको अध्ययन गर्नुपर्ने हुन्छ । सुश्रुतको युगलाई भारतीय उमहाद्वीपमा चिकित्सा विज्ञानको स्वर्ण युग भनेर चिनिन्छ । सुश्रुत संहिता, सुश्रुत (सन् ६०० ईसापूर्वमा वाराणसी वरपर बसोबास गर्ने प्रख्यात शल्य चिकित्सक) द्वारा रचित ग्रन्थ हो । सुश्रुतलाई ’शल्य चिकित्साको जनक’ भनिन्छ । सुश्रुत संहितामा सयौं प्रकारका रोगहरू, तिनका निदानका विधिहरू, हजारौं किसिमाका औषधिको वर्णन, चिकित्सकीय उपकरणहरूको बारेमा व्याख्याभरिएको छ । संहिताको सबैभन्दा चर्चित भाग नाक पुनर्निर्माण (राइनोप्लास्टी) हो । प्राचीन समयमा व्यभिचार वा अपराधका सजायस्वरूप नाक काट्ने प्रथा प्रचलित थियो, जसले सामाजिक कलङ्क र शारीरिक विकृति निम्त्याउँथ्यो । सुश्रुतले यसलाई सम्बोधन गर्दै ’नासिका संधन’ विधि विकास गरे । ग्रन्थमा यसरी उल्लेखित गरिएको छ, “यत्र नासिकां निकुञ्ज्याद्यांते सुत्राधारां समारोप्य तद्वत् स्वग्रहं द्विगुणं तन्मूलच्छेदेन कुर्यात् । द्विगुणं सादृश्यघ्राणां गृह्णात्संयोगमेव च ।। “यसको अर्थ होः नाकको घाउमा पातको टेम्प्लेट प्रयोग गरी गालाको छालाको फ्ल्याप (पेडिकल फ्ल्याप) लाई जोडेर, दुई गुणा लम्बाइको छालालाई काटेर नाकको आकार दिने । यसपछि घाउलाई घाम, कीटपतङ्ग, मासु र मज्जाले भरिएका औषधीय लेपले बाँध्ने । यो विधि चिकित्सकीय रूपमा आधुनिक छ, किनकि यसले रक्तसञ्चार र संक्रमण नियन्त्रणको सिद्धान्त अपनाएको छ । सुश्रुतले कानको पुनर्निर्माण, छाला प्रत्यारोपण, जलनको वर्गीकरण र मदिरालाई बेहोशीको लागि प्रयोग जस्ता अन्य प्लास्टिक सर्जरीका प्रक्रियाहरू पनि वर्णन गरेका छन् । यो ग्रन्थ अरबी भाषामा अनुवाद भई (८औं शताब्दीमा) सनातन हिन्दू प्रविधिको’ नामले युरोप पुग्यो । १४ औं शताब्दीमा इटालीका ब्रान्का परिवारले यसलाई संशोधन गरे । १७९४ मा लन्डनको ’जेन्टलम्यान्स म्यागजिन’ ले हिन्दू सनातनी वैद्यहरूले गरेको राइनोप्लास्टीको वर्णन प्रकाशित गरेपछि पश्चिमी विश्वमा यसले व्यापकता पायो । ऊता पश्चिमाहरुले आधुनिक प्लास्टिक सर्जरीको जनक भनेर सर हेरोल्ड गिलीज लाई भन्न थाले । प्रथम विश्वयुद्ध (१९१४–१८) ले प्लास्टिक सर्जरीलाई आधुनिक रूप दियो । युद्धमा मेसिन गन र तोपका कारण हजारौं सिपाहीहरूको अनुहार विकृत भयो । नाक, कान, मुख, अनुहार र छाला च्यातिए । यस संकटमा सर हेरोल्ड डेल्फ गिलीज (१८८२–१९६०), न्यूजिल्यान्डका चिकित्सकले क्रान्तिकारी भूमिका खेले । गिलीजले लन्डनको क्वीन मेरी अस्पतालमा १९१७ मा विशेष युनिट स्थापना गरे, जसमा १००० भन्दा बढी बेड थिए । यहाँ उनले ५००० भन्दा बढी सिपाहीहरूमा ११,००० शल्यक्रियाहरू गरे । उनको प्रमुख योगदान ’ट्युब्ड पेडिकल फ्ल्याप’ विधि थियो, जसमा छालालाई ट्युब आकारमा जोडेर रक्तसञ्चार सुनिश्चित गर्दै विकृत भागमा प्रत्यारोपण गर्ने । यो सुश्रुतको फ्ल्याप सिद्धान्तको आधुनिक संस्करण हो । गिलीजले बहुविषयक टोली (शल्य चिकित्सक, नर्स, कलाकारहरू) गठन गरे, जसले फोटो, एक्स–रे र कलर पोट्र्रेट प्रयोग गरी सर्जरी योजना बनाउँथे । उनले लिङ्ग परिवर्तन शल्यक्रिया (१९४६ मा माइकल डिलनमा पहिलो) र स्तन पुनस्र्थापना जस्ता प्रक्रियाहरू पनि विकास गरे । १९३० मा उनको काकाका छोरा आर्किबाल्ड म्याकइन्डोले व्यापक बनाए र दोस्रो विश्वयुद्धमा यसलाई अझ उन्नत बनाए । गिलीजको पुस्तक ’प्लास्टिक सर्जरी अफ द फेस’ (१९२०) ले यो क्षेत्रलाई औपचारिकता दियो । एंटिबायोटिक र बेहोश बनाएर गरिने शल्यक्रियाको खोजले उनको कामलाई सहज बनायो । यसरी भन्नुपर्दा सुश्रुतको राइनोप्लास्टीको अनुशरण गरेर गिलीजको फ्ल्याप प्रक्रिया विधि अगाडि बढ्यो । दुवैको छाला प्रत्यारोपणको सिद्धान्त ठ्याक्कै समान छ । यहाँ सुश्रुतको सिद्धान्तले गिलीजलाई प्रेरित गर्यो, जसले यो प्रविधिलाई युद्धजन्य विकृतिका लागि जीवनदायी बन्यो । यो सम्बन्धले प्राचीन ज्ञानले आधुनिक विज्ञानलाई आधार दिएको देखाएको छ । १९औं शताब्दीमा जोसेफ काप्र्युले हाम्रै धर्तीबाट सिकेर युरोपमा पहिलो आधुनिक राइनोप्लास्टी गरे। आधुनिक जर्नलहरूमा उल्लेख गरिएको आधुनिक अनुसन्धानहरूले सुश्रुतको प्रासङ्गिकतालाई पुष्टि गर्छन् । ’एनल्स अफ प्लास्टिक सर्जरी’ (२०१३) मा प्रकाशित ’सुश्रुतः फादर अफ प्लास्टिक सर्जरी’ ले उनको एनाटोमी र थेराप्यूटिक रणनीतिहरूको प्रशंसा गरेको छ । ’करन्ट ओपिनियन इन ओटोलारिङ्गोलोजी एन्ड हेड एन्ड नेक सर्जरी’ (२०२१) मा ’द हिस्ट्री अफ नेजल रिकन्स्ट्रक्सन’ ले सुश्रुतको चिक फ्ल्यापलाई आधुनिक फोरहेड फ्ल्यापसँग तुलना गरेको छ । ’इन्टर्नेसनल जर्नल अफ प्लास्टिक सर्जरी’ (२००६) ले सुश्रुतको राइनोप्लास्टीलाई २६०० वर्ष पुरानो सफल प्रक्रियाको रूपमा वर्णन गरेको छ । गिलीजबारे ’प्लास्टिक एन्ड रिकन्स्ट्रक्टिभ सर्जरी’ (२०२३) ले उनलाई ’मास्टर प्रब्लम–सोल्भर’ भनेको छ । यी जर्नलहरूमा प्रकाशित लेख र अनुसन्धानहरुले देखाउँछन् कि सुश्रुतको विधि आज पनि सर्जरीमा प्रयोग हुन्छ । सुश्रुतदेखि गिलीजसम्मको यात्राले प्लास्टिक सर्जरीलाई प्राचीन आवश्यकताबाट आधुनिक विज्ञानमा रूपान्तरण गरेको देखाउँछ । सुश्रुतको संहिताले सामाजिक सम्मान फर्काउने अभियान चलायो भने गिलीजले युद्धका पीडितहरूलाई नयाँ जीवन दिए । आज, यो क्षेत्रले क्यान्सर, जलन र जन्मजात विकृतिका लागि लाखौंलाई सहयोग गर्छ । प्राचीन सनातन हिन्दू ग्रन्थ्को यो विरासतले आधुनिक चिकित्सालाई प्रेरित गरीरहन्छ, प्रमाणित गरेको छ कि ज्ञानको स्रोत सीमाहीन छ । सबैको जय होस् ।
