IMG-LOGO

तपाईको परिवारमा झिनिक्क रिसाउने मानिस छन् ?

 मंगल, असोज ७, २०८२  – लक्ष्मीप्रसाद आचार्य

  मानव स्वभाव अचम्म र विविध रंगले भरिएको हुन्छ । कोही मौन भएर पनि गहिरो समुद्र जस्तै रहस्यमय लाग्छन्, कोही हाँसोले बिहानको घाम झैँ सबैलाई उज्यालो पार्छन्, कोही उदासीमा चन्द्रमाको एकान्तझैँ एक्लो लाग्छन् । तर यिनै भीडभाडबीच कोही प्रायः “झिनिक्क रिसाउने” स्वभावका पनि हुन्छन् । सतहमा हेर्दा उनीहरू तिव्र प्रतिक्रिया दिने, सजिलै रिसाउने देखिन्छन् । तर वास्तविकता के हो भने, उनीहरूको भित्री आत्मा अत्यन्तै भावुक, आत्मीय र असाधारण रूपमा सहानुभूति पूर्ण हुन्छ—जुन सबै मानिसमा नहुन सक्छ । यी मानिसहरूको रिस कुहिरो जस्तै क्षणिक हुन्छ । बिहानको घाम लाग्नेबित्तिकै कुहिरो हराए झैँ, उनीहरूको रिस पनि भित्रै बगिरहेको ममताको उज्यालोले तुरुन्तै हराउँछ । अनि मुटुमा करुणा, माया र आत्मीयताको शीतल बासना फैलिन्छ । उनीहरूको हृदय अत्यन्त संवेदनशील हुन्छ । साथीको मुस्कानमा उनीहरूको आत्मा आनन्दित हुन्छ, परिवारको खुशीमा आफ्नै प्राण रमाउँछ, र अरूको पीडाले उनीहरूको आँखामा सजिलै आँसु ल्याउँछ । अझ गहिरोमा हेर्दा, यस्ता व्यक्तिमा असामान्य सहानुभूति पाइन्छ । उनीहरूले अरूको पीडा तुरुन्त महसुस गर्छन्, अरूको खुशीमा तुरुन्त रमाउँछन् । जहाँ अरूको दुःखलाई आफ्नै दुःख जस्तो ठानिन्छ, अरूको खुशीलाई आफ्नै जीवनको उत्सव सम्झिन्छ । छिटो रिस उठे पनि त्यो क्षणिक हुन्छ । त्यसपछि तुरुन्तै उनीहरूको आत्मा दयामा परिणत हुन्छ । माफी, करुणा, र आत्मीयताको नदी उनीहरूको मुटुमा अविरल बगिरहेको हुन्छ । आबेगमा चोट दिने शब्द मुखमा आउन सक्छन्, तर मनमा कहिल्यै कसैलाई दुखाउने चाहना हुँदैन। ग्लासको पानीजस्तै—पोखिए पछि तुरुन्तै खाली हुन्छ । तुरुन्तै रिस मारिहाल्छ र उनीहरू नै हात थाप्छन्, आँखा भिजाउँछन् र भन्छन्—“तिमी दुखी नबन, मेरो मनले तिमीलाई बुझ्छ ।” तुरुन्तै पहिले जस्तो बन्न सक्ने क्षमता र आत्मीयता नै उनीहरूको वास्तविक परिचय हो । सामाजिक सम्बन्धमा उनीहरूको स्थान विशेष हुन्छ । मित्रता, परिवार र समुदायसँगको गहिरो नाता ,उनीहरूले प्रेम, ममता र सकारात्मक ऊर्जाले भरि दिन्छन् । विवाद वा आलोचना भन्दा सान्त्वना दिन, प्रोत्साहन जगाउन, र सहयोग गर्न उनीहरू सधैं तयार हुन्छन् । आफूलाई भन्दा अरूलाई प्राथमिकता दिन उनीहरू पछि पर्दैनन् । उनीहरूको बोलीमा कठोरता भन्दा बढी जीवनप्रतिको उत्साह र मानवीयता झल्किन्छ । बरु आफू दःुख सहन तयार हुन्छन्, तर आफ्नै कारण अरूलाई दुःख नहोस् भन्ने चाहना राख्छन् । जीवनका कठिनाई र दुखाईलाई पनि उनीहरूले भावनासँगै भोग्छन् । तर त्यो पीडाले उनीहरूको मनलाई कठोर बनाउँदैन । बरु अझ नरम, अझ मृदु, अझ समझदार बनाउँछ । अरू पीडामा परेका बेला उनीहरू मात्र अघि बढेर आँसु पुछ्ने, हात थाप्ने, सान्त्वना दिने र तिमिसँग म छु भनें हिम्मत राख्छन् । समाजलाई यिनै संवेदनशील आत्माहरूले वास्तविक प्रेरणा दिन्छन् । कहिलेकाहीँ उनीहरूको रिसलाई गलत बुझिन्छ, तर त्यस रिसको गहिराइमा अथाह माया, करुणा, र सहानुभूतिको समुद्र लुकेको हुन्छ । उनीहरूको उपस्थितिले मात्र समाजमा आत्मीयता र प्रेमको उज्यालो फैलिन्छ । निष्कर्षमा भन्नुपर्दा, छिट्टै रिसाउने तर भावुक मानिसहरू वास्तवमै अनमोल सम्पत्ति हुन् । उनीहरूको रिस केवल सतहमा देखिने क्षणिक छाया हो, तर उनको भित्री उज्यालो भने समाजलाई जीवन्त र मानवीय बनाउने सूर्य हो । यदि हाम्रो जीवनमा यस्ता मानिसहरू छन् भने, उनीहरूको मूल्य समयमै बुझ्नुपर्छ—किनभने उनीहरूले आफ्ना आँसुमा करुणा, आफ्ना शब्दमा प्रेरणा, र आफ्ना कर्ममा मानवताको उज्यालो बोकेर संसारलाई अझ न्यानो, अझ उज्यालो बनाइरहेका हुन्छन् । त्यस्तो हृदयमा स्वार्थको गाँठो हुँदैन, घृणाको कालो छाँया हुँदैन, बदलाबको भावना हुँदैन । उनीहरूको माया सधैं निःस्वार्थ हुन्छ—जसरी आकाशले हरेक प्राणीलाई समान रूपमा घाम, पानी र हावा दिन्छ । यही कारण, उनीहरूको संवेदनशीलता, सहानुभूति र इमानदारी जीवनको साँचो मानवताको उज्यालो हो । कृपया यो लेखलाई एकपटक सबैले सियर गरौँ र यस्तो स्वभाव भएका व्यक्तिहरूलाई बुझ्ने अवसर दिऔं ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्