शिक्षा बालबालिकाको बौद्धिक, सामाजिक र भावनात्मक विकासको मेरुदण्ड हो । शिक्षाले नै उनीहरूलाई जीवनयात्राका लागि तयार बनाउँछ । तर, हाम्रो शिक्षाप्रणाली र सामाजिक सोचाइले भने शिक्षालाई साँगुरो बनाइदिएको छ । प्रत्येक बालबालिकाको आफ्नै गति, रुचि र क्षमता हुन्छ । हामी भने उनीहरूलाई एउटै तराजुमा तौलन खोज्छौँ । फलस्वरूप, उनीहरूको मौलिक प्रतिभा ओझेलमा पर्छ । शिक्षकले पाठ्यक्रम पूरा गर्नुपर्ने दबाब, अभिभावकको अत्यधिक अपेक्षा र समाजको तुलनात्मक प्रतिस्पर्धाको संस्कृतिले गर्दा धेरै बालबालिकाले आफूलाई अक्षम ठान्न थाल्छन् । त्यसबाट उनीहरूको आत्मसम्मानमा ठेस पर्न जान्छ र स्वतन्त्रता कमजोर हुँदै जान्छ । आजका अभिभावकहरूले सन्तानलाई हरेक कदममा मार्गदर्शन र सुरक्षा दिइरहेका हुन्छन् । सधैं वरिपरि घुम्ने हेलिकप्टर प्यारेन्टिङ (ज्भष्अियउतभच एबचभलतष्लन)ले तत्कालीन अवस्थामा सहज त बनाउँछ तर बालबालिकाले आफ्नै गल्तीबाट सिक्ने र निर्णय लिन सक्ने क्षमताको विकास भने कमजोर हुन्छ । यसले दीर्घकालीनरूपमा आत्मविश्वास र आत्मनिर्भरतामा नै गम्भीर असर पार्छ । त्यसमाथि, सन्तानसँग अत्यधिक अपेक्षा राख्दा उनीहरूको आत्मविश्वास घट्दै जान्छ र सिकाइप्रतिको उत्साह पनि कम हुँदै जान्छ । आत्मनिर्भरताको पाठ धेरैजसो अभिभावक आफ्ना बालबालिकाको दैनिक शिक्षण प्रक्रियामा खासै सक्रिय हुँदैनन् तर नतिजा कमजोर भयो, गृहकार्य अधुरो भयो भने शिक्षकलाई दोष दिन पनि हिचकिचाउँदैनन् । यसैबीच, मोबाइल, ट्याब्लेट, कम्प्युटरजस्ता आधुनिक ग्याजेटहरू बालबालिकाको हातमा सजिलै पुगिरहेका छन् । अभिभावकहरूले सुविधा र मनोरञ्जनका लागि दिएका यी साधनले उनीहरूको समय, ध्यान र सम्बन्धमै हस्तक्षेप गरिरहेका छन् । अत्यधिक प्रयोगले सन्तानको मानसिक विकास, कल्पनाशक्ति र जीवनसँग जुध्ने क्षमता कमजोर पारिरहेको सत्य धेरै अभिभावकलाई थाहा नहुन सक्छ । यसैगरी, अत्यधिक माया र नियन्त्रणले बालबालिकालाई आफ्नै समस्या हल गर्ने मौका दिँदैन । नतिजास्वरूप उनीहरू कठिनाइसँग जुध्न सिक्दैनन् र आत्मनिर्भरताको गुण क्रमशः कमजोर हुँदै जान्छ । प्रकृतिको नियम पनि स्पष्ट छ – आँधीहुरी, घामपानी, असिनापानी खपेरमात्रै रूख बलिय। बन्छ । त्यसैले बालबालिकालाई सधैँ सजिलो बाटो देखाउनु उनीहरूलाई वास्तविक जीवनका हुरीबताससँग जुध्न नदिनु हो । त्यसो गर्दा तत्कालीन समस्या टरे पनि भविष्यको यात्रामा आत्मनिर्भरताको बाटो थुनिन्छ । सानोतिनो गल्ती गर्न र त्यसबाट सिक्न दिनु नै उनीहरूलाई जीवनका लागि तयार बनाउनु हो । तर, धेरै अभिभावक अझै पनि सन्तानलाई हातसमातेरै हिँडाउँदामात्र सफल हुन्छन् भन्ने भ्रममा छन् । यस्तो ‘हातसमात्ने’ बानीले आत्मनिर्भरतालाई बन्दी बनाइदिन्छ । आत्मनिर्भरता भनेको आत्मसम्मानमात्र होइन यो त जीवनलाई धान्ने अदृश्य शक्ति हो जसले व्यक्तिलाई भोलिका दिनमा दृढ, सबल र सक्षम बनाउँछ । सबल भविष्यको दिशामा आजको विश्व सिर्जनात्मकता, आलोचनात्मक दृष्टि र सहकार्यात्मक संस्कृतामै टिकेको छ । फिनल्यान्ड र सिंगापुरले देखाएको बाटो यही हो । त्यहाँ शिक्षा प्रतियोगिता होइन सहकार्यमा टिकेको छ । घोकाइमा नभएर बुझाइमा आधारित छ । शिक्षकलाई सम्मान र पारिश्रमिक दिइन्छ भने त्यसको प्रत्यक्ष प्रतिफल विद्यार्थीमा देखिन्छ । त्यहाँका अभिभावकहरूले पनि विकल्प र स्वतन्त्रताको मूल्य बुझेका छन् । नेपालमा पनि भविष्यका जिम्मेवार र सृजनशील नागरिक तयार गर्न शिक्षा प्रणालीमा ठोस सुधार आवश्यक छ । अभिभावकलाई सचेत बनाउन, सक्षम बनाउन र उनीहरूलाई सही दिशामा मार्गदर्शन गर्ने कार्यक्रम चलाउनु जरुरी छ । यसले विद्यार्थीको शैक्षिक नतिजामात्र नभई सामाजिक, नैतिक र सांस्कृतिक मूल्यबोध पनि सुदृढ बनाउँछ । निष्कर्ष सन्तानलाई निरन्तर सजिलो बाटो देखाइदिनुभन्दा आफ्नै प्रयासले अघि बढ्न सिकाउनु नै वास्तविक माया हो । शैक्षिक प्रमाणपत्रको अंकभन्दा महत्त्वपूर्ण दीर्घकालीन सफलता, दृढ आत्मविश्वास र आत्मनिर्भरता हो । सन्तानलाई स्वतन्त्रता दिनु, गल्तीबाट सिक्न दिनु र आफ्नै बाटो बनाउन सहयोग गर्नु नै भविष्यमा सक्षम नागरिक तयार गर्ने सबैभन्दा ठोस आधार हो । (प्रधानाध्यापक, मेरिडियन इन्टरनेसनल स्कुल) श्रोत ः बाह्रखरीबाट
