२०२४ साल भाद्रको अन्तिम महिना तिर म काठमाण्डौमा बसेर अध्ययन गर्न नसकेर घर फर्केको थिए । त्यस वेला मैले एस.एल.सी. मात्र पास गरेको थिए । यस चैतन्य राष्ट्रिय प्राइमरी स्कूल पनि कोला टोलको श्री हर्ष उलकको घरबाट आफ्नै भवनमा सरि सकेको थियो । स्कूल भवन बनेपाको आठ गणेश मध्य मूख्य गणेश भनेर चिनिने तुकम्पो गणेशको दाँया पट्टी थियो । स्कूल भवनको ६ वटा कोठा थियो । स्कूल भवन पछाडि लाग्ने मान्छेहरुको दिसा पिसाव गर्ने सार्वजनिक चर्पि थियो । यस सार्वजनिक चर्पिमा टोलका मानिसहरु मात्र होइन । देश भरका लोग्ने मान्छेहरु दिशा पिसाव गर्न आउथे । स्कूलमा विद्यार्थीहरु पनि पहिले भन्दा धेरै थिएन् । पहिले पहिले सधै अफिसमा देखिने हेडसर देवेन्द्र दुवाल पनि कहिले देखिएनन् न त सहायक मास्टर नरेन्द्र श्रेष्ठलाई देखे । खाली श्याम सर एक जनालाई मात्र स्कूलमा आइ रहेको देखे । भवनको ६ कोठा मध्ये माथिल्लो तल्लाको ३ कोठामा मात्र विद्यार्थी राखेर पढाइन्थ्यो । २०२४ सालको दशैँ पनि नजिक थियो । दशैँलाई अलिकति भए पनि खर्च जुटिन्छ कि भनेर श्याम सरलाई भेटेर कुरा गरे र म पहिला पनि यस स्कूलमा थिए र अहिले यो स्कूललाई यसरी भद्रगोल गरेर राख्न भए न भनेर हामी दुईजना मिलि राम्रोसँग स्कूल चलाउँ भनि मैले यति भने पछि श्याम सर ज्यादै खुसी हुनुभयो र भोलि देखि नै स्कूल आउन अनुरोध पनि गर्नुभयो । २०२४ साल आश्विन ३ गते शुक्रबारको दिन म ठिक १० वजे नै चैतन्य राष्ट्रिय प्राइमरी स्कूल गए । श्याम सर पनि आउनु भयो । माथिल्लो तल्लाको ३ कोठामा विद्यार्थीहरु कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई मिलाएर राखेको पाए । भवनको भुइ तल्लाको तीन कोठामा गएर हेरे । तीन वटै कोठाहरु खुल्ला थिए । ढोका बन्द गरेर साँचो लाएको थिएन् । कोठाहरु ज्याँदै फोहोर देखिन्थे । कतै कतै त दिशा बसेर पनि सुकि सकेका देखिन्थ्यो । शुक्रबारको दिन भएकोले के गर्न र कसो गर्न भनेर सोच्दैमा १ः१५ बज्यो । स्कूल छुट्टी पनि भयो । श्याम सर र म भोलि दूईजना मिलि तलको ३ कोठा सफा गर्न भनि माथिल्लो ३ कोठामा ताल्चा लगाइ घर गयौँ । शनिबारको दिन अर्थात २०२४ साल आश्विन ४ गते श्याम सर र म ठिक १० बजे स्कूल सफा गर्न स्कूल पुग्यौँ । हामी दुबैजना स्कूल सफा गर्न तलको कोठामा मात्र पुगेका थियौँ । विद्यालयका सञ्चालक समितिका अध्यक्ष श्री कृष्णप्रसाद दुवाल र कोषाध्यक्ष हरिनारां भकू मानन्धर विद्यालय अफिसमा आउनुभयो । अध्यक्ष कृष्णप्रसाद दुवाल, कोषाध्यक्ष हरिनारां भकू मानन्धर र शिक्षक श्याम कृष्ण कायष्थ तीन जनाको संयुक्त बैठकले म र पञ्चलाल रंजितलाई शिक्षक नियुक्ति गरे । मलाई एस.एल.सी. पास भनेर रु १०५।– र हेडमास्टर भत्ता भनेर २०।– गरी जम्मा १२५ रुपैया तलब तोक्नु भयो भने पञ्चलाल रंजित लाई ७५ रुपैँया तलब दिने पनि निर्णय गरियो । फेरि अध्यक्ष कृष्णप्रसाद दुवाले पुरानो हेडमास्टरसँग राजिनामा लिन रर दराजको साँचो लिन २०० रुपैँया जम्मा गरी दिनु पनि भनियो । तर मलाई यो २०० रुपौँया कसरी जम्मा गर्नु भनेर पिर प¥यो । श्याम सरले २४ दिन पछि जम्मा गरेर दिउँला भन्नु भयो भने कोषाध्यक्ष हरिनारां भकू मानन्धरले विद्यार्थीहरुबाट उठेको रुपैयाले पुगेन भने म सापट दिउला भन्नु भए पछि हामीलाई आनन्द भयो । स्कूल वैधक पछि अध्यक्ष र कोषाध्यक्ष आ–आफ्नो घरमा जानु भयो भने हामी तीन शिक्षक पनि तलको तीन कोठाहरु सफा नै नगरी आ–आफ्नै घर गयौँ । २०२४ साल आश्विन ५ गते आइतबार हामी तीनै जना शिक्षकहरु विहान १० वजे अगाडि नै विद्यालय पुग्यौँ । विद्यार्थीहरुलाई एउटै कोठामा राखेर हामी दुई नयाँ शिक्षकहरुलाई श्याम सरले परिचय गराइ दिनुभयो । र वहाँले पुनः विद्यार्थीहरुलई भन्नु भयो अब यस चैतन्य स्कूलको शिक्षक हामी तीन जना मात्रै हौँ अरु शिक्षक अब आउँदैन । त्यसैले वाहिर कसैले तिमीहरुको फि माग्यो भने अब नदिनु अफिसमै आएर दिनु, त्यति मात्र हो झन श्याम सरले हाम्रो हाजिर कामी सबै दराजमा राखेर साँचो लानु हुने पुरानो हेड सरलाई अति कति पैसा दिएर दराजको साँचो लिनु पर्छ । त्यसैले भाइ बहिनीहरुले यस विद्यालयलाई तिर्नु पर्ने फि आज या भोली ल्याई दिनु होला भनेर पनि सूचना गर्नुभयो । यसरी हामी तीन जना शिक्षकहरु विद्यार्थीहरुसँग परिचय गरि रहदा विद्यालय सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद दुवाल पुर्व हेग मास्टर देवेन्द्र दुवालको राजिनामा समेत लिएर आउनु भयो । मेरो र पञ्चलाल रंजितको नियुक्ति पत्र लिएर हामी अध्यक्ष र म दुबै जिल्ला शिक्षा कार्यालय धुलिखेल गयौँ । सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद दुवाल पूर्व हेड मास्टर देवेन्द्र दुवालको राजिनामा पत्र दिएर हामी दुई अर्थात् पञ्चलाल रंजित र मेरो शिक्षक नियुक्ति पत्र पेस गर्नुभयो । यसरी पूर्व हेडमा स्टरको राजिनामा र मेरो नियुक्ति पत्र पेस गरे पछि शिक्षा अधिकारी ज्यूले नेपाल बाणिज्य बैँक धुलिखेलमा रहेको विद्यालयको खाता पनि हामी दुई अर्थात विद्यालयका अध्यक्ष कृष्ण प्रसाद दुवाल र हेड मास्टर म दुवैको नामबाट सञ्चालन हुने गरी पत्र लेखाइ हामी दुवै राष्ट्रिय वाणिज्य बैँक गई समपूर्ण काम सकि म पुनः विद्यालय फर्के । विद्यार्थीहरुको सहयोगमा भुई तल्लाका तीन कोठा सफा गरि सकेको पाएँ र केही विद्यार्थीहरुको शुल्क पनि उठाइ सेकेको पाएँ । भुई तल्लाका तीन कोठाहरु सफा त भयो तर ढोकाको खापामा साँचो लगाउने अन्तराप थिएन् । त्यसैले सिकर्मी हाम्रो वाज्ये पर्ने विलबहादुर व्या मानन्धरको सहयोगमा तीन वटै कोठाको खापामा अन्तराप राखी ताल्चा समेत लगाई दिए । यसरी विद्यार्थीहरुबाट उठेको शुल्क अन्तराप र ताल्चा किनेर बाकी नगर १०० रुपैँया समेत मलार्य दिनुभयो र आश्विन ५ गते पनि पठन पाठन गर्न सकिएन । साँझ ४ वजे पछि हामी सबै अफिसमा ताल्चा लगाई आ–आफ्नो घर गयौँ । भाली पल्ट अर्थात आश्विन ६ गते हामी विद्यालयमा उपस्थित भएकै थिएनैँ एक जना विद्यार्थी आएर स्कुलमा देवेन्द्र सरले डाक्नु भएको छ भनेर बोलाउन आयो । देवेन्द्र सरले भने पछि स्वःत थाहाँ भयो वहाँले दराजको साँचो बुझाउन आउनु भएको भनेर । त्यसैले म एकै चोटि देवेन्द्र सरलाई नभेटी कोषाध्यक्ष हरि नारायण भकू मानन्धर कहाँ पुगेर नगद रु १०० सापट लिइ विद्यालय गए । पूर्व हेड सर देवेन्द्र दुवाल गणेष मन्दिर अगाडि उभिराख्नु भएको थियो । मलाई देख्ने वित्तिकै वहाँल दराजको साँचो दिनुभयो र मैले पनि वहाँलाई अध्यक्षले भन्नु् भएको नगद रु २०० दिए । नगद हातमा लिई सकेपछि अपशब्द बोल्लाकि भनेर सोचेको त “विद्यालयलाई राम्रोसँग सञ्चालन गर । यो स्कूल मैले नै स्वीकृति लिएको र म नै यस स्कूलको संस्थापक हेड मास्टर हुँ” भनेर आफ्नो घर तिर लाग्नुभयो । पूर्व हेड मास्टर देवेन्द्र दुवालसँग दराजको साँचो लिए पछि म विद्यालय गएँ । विद्यालयको अफिसमा बस्नै पाएको छैन स्याम सर पनि विद्यालय आउनु भयो । वहाँले पनि बाटोमा पूर्व हेड मास्टर देवेन्द्र दुवाललाई भेट्नु भएको रहेछ । स्याम सरलाई पनि वहाँले विद्यालय राम्रोसँग सञ्चालन गर भनेर भन्नु भएको रहेछ । मैले स्याम सरलाई दराजको साँचो दिए । स्याम सरले दराज खोलेर शिक्षक र विद्यार्थीहरुको हाजिर कापी निकाल्नु भयो । मैले पहिले शिक्षक र विद्यार्थीहरुको हाजिर कापी पल्टाएर हेरे । शिक्षक हाजिर कापीमा नाम भने चार जनाको मात्र थियो । प.अ. श्री देवेन्द्र दुवाल, सहायक शिक्षक नरेन्द्रराज श्रेष्ठ, शिक्षक स्याम कृष्ण कायष्थट र शिक्षक वद्रिलाल नापित । शिक्षक हाजिर कापीमा शिक्षकहरुको हाजिर फागुन २०२३ देखि २०२४ जेठ महिना सम्म थियो । त्यस्तै विद्यार्थीहरुको हाजिर कापी पन िकक्षा १ देखि कक्षा ५ सम्मै थियो । विद्यार्थीहरुको हाजिर भने त्यस्तै २०२४ जेष्ठ महिना सम्म थियो । त्यसैले विद्यालय असार महिना देखि राम्रोसँग सञ्चालन नभएको जस्तो लाग्यो । विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई पनि २ वटा कोठामा मात्र राखेर पढाएको पाएँ । एउटा कोठामा ४ र ५ कक्षा राखेको पाएँ भने अर्को कोठामा कक्षा १ देखि कक्षा ३ सम्मको विद्यार्थीहरु राखेका थिए । त्यसमा पनि स्याम सर एक जनाले मात्र पठन पाठन गर्थे । अर्को विद्यार्थीहरुबाट शुल्क उठाएको हिसाब किताब पनि छैन । विद्यार्थीहरुले जति पैसा दिए पनि शिक्षकहरुले हात थापेर लिने गर्नुप¥थ्यो किनभने मैले स्याम सरसँग विद्यार्थीहरुको शुल्क कति लिने गरेको छ भने र सोधेँ तर श्याम सरलाई पनि थाहा भएन । त्यसैले हामी शिक्षकहरु ३ र कोषाध्यक्ष हरिनारां भकू मानन्धरको समेत अनुमतिमा विद्यार्थीहरुलाई निम्म लिखित शुल्क लिने निर्णय ग¥यौँ । कक्षा १ रु १।– कक्षा २ रु २।– कक्षा ३ रु ३।– कक्षा ४ रु ४।– कक्षा ५ रु ५।– यसरी विद्यार्थीहरुको शुल्क तोकेको स्याम सरले कोषाध्यक्ष हरिनारां भकू मानन्धर अगाडि नै विद्यार्थीहरुलाई सुनाउनु भयो । त्यस पछि हामीले तलको तीन कोठामा पनि सुकुल ओछ्याई कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई अलग अलग राखि पठन पाठन सुरु ग¥यौँ । मलाई पूर्व हेड मास्टर देवेन्द्र दुवालले २०१९ सालमै विद्यार्थीहरुलाई पढाउने शिक्षकको रुटिङ बनाउन सिकाएका थिए । त्यहि अनुसार हामी तीन शिक्षकहरुको विहान १० बजे देखि दिउसो ३ः३० बजे सम्म विषयगत कार्य तालिका बनाइ अफिसमा टासे । त्यसै अनुसार हामीले आश्विन महिना देखि मंसिर दोश्रो हप्ता सम्म पठन पाठन गरी मंसिर तेश्रो हप्तामा सम्पूर्ण विद्यार्थीहरुको वार्षिक परिक्षा सकेर रिजल्ट समेत गरी विद्यार्थीहरुलाई पुस र माघ दुई महिना छुट्टि दिइ म किर्तिपुरमा नर्मल तालिम गएँ । मलाई नर्मल तालिमको लागि जिल्ला शिक्षा कार्यालयबाट पहिला नै पत्र पठएका थिए । २०२४ सालको पुष र माघ दुई महिना नर्मल तालिममा नेपालका विभिन्न जिल्लाका शिक्षकहरु पनि थिए । प्राथमिक विद्यालयमा कसरी पठन पाठन गर्ने देखि प्राथमिक विद्यालयका विद्यार्थीहरुको विषयमा प्रथम चरणको तालिम दिई हामी विभिन्न जिल्लाका सम्पूर्ण शिक्षकहरुलाई २०२४ साल माघ १६ गते नै आ–आफ्नो विद्यालय फिर्ता पठाएको थियो । यो नर्मल तालिम पुष, माघ दुई महिना तीन वर्षको थियो । म पनि २०२४ साल माघ १६ गते नै विद्यालय गएँ । स्याम सर र पञ्चलाल सरलाई डाकि हामीले हातैले विद्यार्थी भर्ना खुल्योको पाम्पेल्ट लेख्यौँ । माघ २० गते तिर हामी तीनै जना शिक्षकहरु बनेपा बजारमा नयाँ भर्ना खुल्योको पम्पेल्ट टाँस्न गयौँ । बनेपाको कुनै पनि विद्यालयमा नयाँ भर्ना नखोलिएको र चौतन्य रा.प्रा. स्कुलमा मात्र छिट्टै नयाँ भर्ना खोलिएकोले बनेपाका सिनागालको एउटा विद्यालयको अपवाद बाहेक सम्पुर्ण विद्यार्थीहरु कक्षा १ देखि कक्षा ५ सम्मका झण्डै झण्डै ४०÷५० विद्यार्थीहरु भर्ना हुन आएका थिए । किन भने सिनागालमा खोलिएका विद्यालयका शिक्षकरु नआएर त्यस बेला विद्यालय बन्द भएको थियो । यसरी हामीले माघ महिना भर भर्ना लिदै झण्डै एक सय जना नयाँ विद्यार्थीहरु भर्ना लियौँ । नयाँ विद्यार्थीहरु थपे पछि शिक्षकहरुलाई पनि हौसला बढ्यो । फगुन महिनामा कृष्ण सर पर्ने गाउँको विद्यालय छोडेर मसँग सम्पर्क गर्नु भई वहाँ पनि यस चैतन्य स्कूलको शिक्षकमा नियुक्ति हुनुभयो । वहाँ नर्मल तालिम पास भएको हुनाले महिनाको रु ९० तलब दिने गरी नियुक्ति दियौँ ।
