एउटा क्षेत्रीय सुरक्षा शिखर बैठकका लागि चीन पुगेका २० जना विश्वनेताहरूमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि छन् । चिनियाँ बन्दरगाह शहर तिआन्जिनमा साङ्घाई कोअपरेसन अर्गनाइजेशन (एससीओ) को वार्षिक बैठकअघि मोदीले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग वार्ता गरेका छन् । विगत सात वर्षयता मोदी चीन भ्रमणमा पुगेको यो पहिलो पटक हो। चीनका एक निकट साझेदार पुटिन आइतवार तिआन्जिन पुगेका छन् । दिल्लीले रुसबाट तेल खरिद जारी राखेकोमा दण्ड स्वरूप अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय सामानहरूमा चर्को ट्यारिफ लगाएको र युक्रेन युद्धलाई लिएर पुटिनले प्रतिबन्धहरूबारे चेतावनी झेलिरहेका बेला शिखर बैठक हुन लागेको हो । भारतीय सामानहरूमा अमेरिकाले लगाएको ५० प्रतिशत आयात शुल्क यसै साताबाट कार्यान्वयनमा आइसकेको छ । ठूलो जमघट यो शिखर बैठक आफैँमा धेरै हदसम्म प्रतीकात्मक छ, तर त्यसमा नेताहरूले साझा गुनासा एवं हितबारे कुरा गर्न पाउने छन् । यो वर्षको शिखर बैठकमा अमेरिकासँगको व्यापार युद्धको विषय हावी हुने छ । उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटो जस्ता पश्चिमा गठबन्धनहरूको प्रभावलाई सीमित पार्ने कदम स्वरूप सन् २००१ मा चीन, रुस र मध्ये एशियाका चार देशहरूले एससीओ गठन गरेका हुन् । यो वर्षको शिखर बैठक उक्त सङ्गठन निर्माण भएयताकै सबैभन्दा ठूलो रहेको छ । शिखर सम्मेलनका निम्ति उत्तरी बन्दरगाह शहर तिआन्जिन ब्यानर लगायतका सामग्रीले सज्जिएको छ । शिखर बैठकका लागि विश्वनेताहरू भेला भइरहँदा नदी किनार क्षेत्रस्थित टावर ब्लकहरूमा प्रदर्शित ‘लाइट शो’ हेर्नका लागि रातिको समयमा हजारौँ स्थानीय बासिन्दाहरूको भिड लाग्ने गरेको छ । ऐतिहासिक जिफाङ पुलमा र त्यसको आसपास भइरहेका भिडले मानिसहरूलाई हलचल गर्न पनि मुस्किल हुने गरेको छ । दिनको समयमा विश्व नेताहरूका मोटरकेडहरूको सहज आवागमनका निम्ति व्यवस्था मिलाइँदा पैदलयात्रीहरूले प्रतीक्षा पनि गर्नुपरेको छ । शहरको मुख्य क्षेत्रमा ट्याक्सी तथा भाडाका अरू कारहरू सञ्चालनमा रोक लगाइएको छ, तर त्यसले उक्त ऐतिहासिक बैठक हेर्न चाहने मानिसहरूको उत्साहमा कमी देखिएको छैन । यद्यपि प्रहरीले तिआन्जिनका एक करोड ३० लाखभन्दा बढी बासिन्दालाई सम्भव भएसम्म बिहानको ट्राफिकमा नपर्न र सकेसम्म नजिककै पसलहरूबाट अत्यावश्क सामानहरू खरिद गर्न आग्रह गरेको छ । द्वितीय विश्वयुद्ध अन्त्य भएको ८० वर्ष पुगेको अवसरमा विशाल सैनिक परेड हुनुभन्दा केही दिनअगाडि शिखर बैठक हुन लागेको हो ।
