गाउँका सुक्खा टाकुराहरूमा तह–तहमा सयौँ संख्यामा रिचार्जेबल पोखरीहरू बनाइएका हुन् । हरेक घरका छेउछाउमा वर्षाको पानी भण्डारण गर्ने व्यवस्था गरिएको होस् । संचित जलभण्डार स्थल नजिकै कृषि र पशुपालन गरिएको होस् । सबैका खेतबारीहरू बनालीले भरिएका हुन् । खोरिया पाखाहरू फलफूलजन्य बालिनालीले ढाकिएका हुन् । खेतका गहराहरूमा धान–गहुँका बालाहरू झुल्न थालेका हुन् । गोठमा उत्पादित दूधबाट चिज, छुर्पी, पनिर, दही, मह र घ्यू प्रशस्त उत्पादन गरियोस् । गोबर–गहुँत संकलन गर्दै रासायनिक मलको साटो जैविक मल बनाइयोस् । भर्मीकम्पोस्ट, पाङ्र्गिक, हरित र मूत्रमल उत्पादन गरियोस् । रुखा–सुखा पाखामा रुद्राक्ष, बुद्धचित्त र रक्तचन्दन रोपिउन् । आयातित हाइब्रिड बीउ हटाई माटोको पहिचान गरेर आफ्नै मौलिक बीउद्वारा खेती गरिएको होस् । विषादीलाई विदा गर्दै, औषधिजन्य बिरुवाको झोल छरेर बोटबिरुवा स्वस्थ देखिउन् । विशुद्ध जैविक चिया, कफी, मह, फलफूल, तरकारी र अन्न उत्पादन गरेर विशिष्ट गुणस्तर सावित गर्दै ‘सोच्छ नेपालको, स्वस्थ नेपाली’ भन्ने पहिचान बनाइयोस् । पहाडका अग्ला चुचुराहरू औषधि खेतीले भरिउन् । आकासे खर्कहरू हजारौँ चौरीका चरन बनून् । गगनचुम्बी शिखरहरूमा आरोहीहरूको लर्को बढोस् । अथाह जलस्रोतलाई ऊर्जामा रूपान्तरण गरी विश्वको चौथाई भागलाई जगमग पार्न सकियोस् । टाकुराका पोखरीहरूलाई पाँच पोखरी, सात पोखरी, अर्थात् नौ वा एघार पोखरीका उपनाम दिइयोस् । ठाउँ–ठाउँमा विभिन्न धार्मिक र सांस्कृतिक आस्थासहितका सम्पदाहरू बनून्, तिनमा हाम्रो धर्म, संस्कृति र संस्कार जोडिएका हुन् । सम्पदा हेर्न आउने पर्यटकहरू लाखौँको संख्यामा आएर हाम्रो डाँडाकाँडामा रमाउन सकून् । उनीहरूको आगमनले गाउँघरका सयौँ पाहुनाघरहरू भरिभराउ हुन सकून् । गाउँलेहरूले सुरु गरेका व्यवसायहरूमा हजारौँले रोजगारी पाउन र व्यवसायीहरूले पैसा कमाएर कर बुझाउने अवसर पाउन सकून् । आन्तरिक रोजगारी बढेपछि रोजगारीका लागि वैदेशिक भूमिमा भौतारिँदै कष्ट भोगिरहेका नेपालीहरू फर्किन सकून् । फर्कने युवाहरू बोक्न संसारका वायुयानहरू व्यस्त हुनुपरोस् । कसैले होटल चलाओस्, कसैले मोटल चलाओस्, कसैले फलफूलका बोट रोपून्, कसैले घ्यू–दूध–मोही र मह बेचून् । विदेशी मदिरा घटाउँदै राज्यको स्वीकृति लिएर गर्वसाथ तिनपाने बेचियोस् । हिमनदीको माछा होस् वा चौरीको चिज, भिर मौरीको मह होस् वा पहराको शिलाजीत, औषधीय स्रोत यार्सा होस् वा देशमै उत्पादित फलको वाइन वा जुस, सोलार ड्रायरमा सुकाइएको हरित सुकुटी, गुन्द्रुक–सिन्की वा अचार, यी सबैले संसारका मार्टका सोकेसहरू सजिऊन् । ज्ञानी–मुनि उत्पादन गर्न ध्यानकेन्द्रहरू बनून्, योगीहरूका लागि योगशालाहरू बनून् । दक्ष सीपहरूलाई परिष्कृत गर्न यन्त्रशालाहरू बनून् । ज्ञान–गुण साट्ने बोधशाला र सुविधाजनक वृद्धाश्रमहरू बनून् । देशका विद्यालयहरूमा आयातित शिक्षा नभई आफ्नै माटोसँग जोडिएका कृषि, पर्यटन र विद्युत् सम्बन्धी विषय पढाइयोस्, साथै आवश्यक सान्सारिक ज्ञान लिन नबिर्सिऊँ । सबैले आफ्ना भाषा–संस्कृति जिवन्त राख्न मातृभाषा समेत पढ्न पाउन । परिस्थितिवश कोही अनाथ भए पनि असहाय नहोस्, राज्य नै उसको सहारा बनोस । वृद्ध–वृद्धा बेसहारा सबैको छहारी राज्य होस् । शिक्षा र स्वास्थ्य सबैका लागि निःशुल्क व्यवस्था होस् । पर्यटकहरूको सहजता र आफ्नो स्वाभिमानका लागि बाटा–केरेसा सफा राखौं । लामो समय फुल्ने फूल रोप्ने अभियान चलाऔं । गाउँका सडक–बाटा स्वच्छ, सुन्दर र सानदार बनाऔं । सबै सडक किनारलाई फलफूलका बोट लगाएर आम्दानीमुखी बनाऔं । नदी, नाला, वन–जंगल, छाँगाछहरा, भिर–पहरा सबैलाई दिव्य संरचना बनाई पाहुनालाई आकर्षित गराऔं । सहजताको लागि पदयात्रादेखि साइकल, मोटरसाइकल, घोडा, गाडी, झुलागाडी सबै माध्यमसँग हिमाल–पहाड–तराईको रसास्वादन गराऔं । त्यसबाट आर्जेको धनले राष्ट्रलाई समुन्नत बनाऔं । हिमालदेखि पहाड चिर्दै समतल छिचलिँदै बहने करोडौँ खर्ब ब्यारेल जीवनजल (हिम जल)लाई अरबबाट आयातित तेलसँग साटेर खडेरीग्रस्त खाडीवासीहरूको तिर्खा मेटाउन सकियोस् । त्यहाँको खाद्य अभावलाई समाधान गर्न यहाँ उत्पादन भएको जैविक दुध, मह, खाद्यान्न र तरकारी त्यहाँका बजारसम्म पुर्याउन सकियोस् । पक्कैपनि हरेक पार्टीका आफ्ना विधान, विधि र पद्धति हुन्छन्, सबै नै मननयोग्य छन् । राज्यले अँगालेका सिद्धान्तलाई विधिसम्मत चलाउन प्रत्येक पार्टीबीच सहकार्य होस्। विपक्षी पार्टीहरूले सरकारका गुण र दोषका आधारमा विरोध वा समर्थन गर्न पाउने अधिकारलाई बाधा नभई विधिको लागि प्रयोग गरियोस् । सबै पार्टीका मार्गचित्र भएजस्तै कार्यकर्ताहरू पनि हुन्छन् र हुनु पनि पर्छ । तर कसैले आफैँलाई उचो देखाउन अरुलाई होच्याउन जरुरी छैन । कार्यकर्ताको अनुशासनमा पार्टीको ओज जोडिएको हुन्छ र उनीहरूको आचरणमा राष्ट्रको भविष्य जोडिएको हुन्छ । राज्यले राजस्व पाओस्, जनताले जन–स्व पाउन । कोही कसैको विरोध नगरी आपसी अन्तरसम्बन्ध बढाऔं । हरेक जात–धर्मका आफ्ना परम्परा, संस्कार र संस्कृति हुन्छन्, त्यसैले सबैले सबैको सम्मान गरौं । आवाजविहीनका आवाज सबै निकायले सुनून् । वास्तवमै राज्य सञ्चालक व्यक्तिवादी नभई विधिसम्मत अगाडि बढोस् । प्रत्येक नागरिकले कुनै पनि सरकारी कार्यालयमा जाँदा ‘यहाँ भ्रष्टाचार हुन्छ’ भनेर खिन्न बन्नु नपरोस्। नेपालको सु(शासन प्रति गर्व गर्दै सबैले ‘म नेपालमै छु, म नेपाली हुँ’ भनेर छाती फुलाउन सक्ने दिन आओस् । अस्तु ।।
