नेपाल–भारत सम्बन्ध – २१ गतांक मै लेखेको छु कि प्राचीनकाल कै निरन्तरता हो मध्यकालमा पनि भारतसँगको सम्बन्ध । आजको आधुनिक भारत वा नेपाल भन्ने मुलुक अस्तित्वमा नरहे पनि हिन्दू धर्मका प्राचीन ग्रन्थ पुराण, रामायण र महाभारतमा अहिलेको नेपाल र भारतले चर्चेको भूखण्ड र त्यस सरहदभित्रका पात्रहरूका अनगिन्ती प्रसङ्ग समेटिएका छन् । नेपाल–भारत सम्बन्ध इतिहासका पुस्तकमा मात्र नभएर धार्मिक ग्रन्थ र मिथसम्ममा समेटिएका छन् । नेपाल–भारत सम्बन्धमा उपमा र अलङ्कारको जुन प्रकारको प्रयोग हुन्छ, त्यो शायदै अन्य कुनै दुई देशको हकमा देख्न सकिन्न होला । इतिहासमा सधैं राम्रा सम्बन्ध मात्र हुदैनन् । त्यही क्रम थियो बिक्रम सम्बत १३८१ अर्थात सन् १३२४ का दिल्लीका सुल्तान गयासमसुद्दिन तुगलकले बङ्गालको बिद्रोह दमन गरेर सिम्रनगढमा आक्रमण गरे । त्यसबेला सिम्रनगढका राजा हरिसिहदेव र देवलदेवी भागेर मन्त्रीहरू चणेश्वर जगतसिह कमहरका साथमा सिन्धुली तर्फ लागे । रानी देवलदेवीको माइती भक्तपुर थियो । भक्तपुर तत्कालीन नेपालको राजधानी थियो । राजाको ससुरालीसङ्ग राम्रो सम्बन्ध थिएन राजा मरेपछि मात्रै रानी देवलदेवी भक्तपुर माइती आएकी थिइन् । सिम्रनगढ ध्वस्त गरेर फर्किएका सुल्तान गयासमसुद्दिनलाई आफ्नै छोरा महम्मद तुगलकले पासो थापेर मारेका थिए । बिक्रम सम्बत १४०६ मङ्सिर ९ मा बङ्गालका सुल्तान समसुद्दिन इतियासले काठमाडौं उपत्यका माथि आक्रमण गरेका थिए । हाम्रा मठमन्दिर भत्काइदिए । स्वयम्भू पनि भत्काइदिए । पशुपतिनाथको लिङ्गलाई तीन टुक्रा पारे । उपत्यका भित्र लुटपाट मच्चाए । उपत्यकाबाट सुनचाँदी लुटे । बुद्ध बिहार बाहल किल्ला र धेरै मन्दिर तोडफोड गरे । अहिलेसम्म टुक्रा र फुटेका देखिने मुर्ति त्यतिबेला मुस्लिम आक्रमणको कारणले हो । यद्यपि ति कारण बाहेक विभिन्न समयमा आएको भुकम्पको कारणले पनि हो । मध्यकालमा भारतका उत्तर तिरका राज्यमा सम्बन्ध नराम्रो भए पनि दक्षिणतिरका राज्यमा समधुर सम्बन्ध थियो । यक्ष मल्लको शासनकालमा दक्षिणबाट आएका नारायण भट्टले पशुपतिमा उन्मुक्त भैरवको स्थापना गरेका थिए । यक्ष मल्लको शासनकालमा नेपालको सिमाना हालको पुर्वी बाङ्गलादेश दक्षिणमा गयाको गङ्गासम्म पश्चिममा गोर्खा र पाल्पा उत्तरमा सातदिनको हिडेर जानेबाटोसम्म फैलिएको थियो । यक्ष मल्लले विजयको खुसीमा गङ्गामा पिण्डदान पनि गरेका थिए । सन्दर्भ श्रोत ः हिमाल खबरपत्रिका २०७७ साउन १७ शेखर खरेल । प्रा डा. श्री रामप्रसाद उपाध्याय न्यौपाने नेपाल भारत चीन सम्बन्ध पुस्तकबाट
