IMG-LOGO

रक्षाबन्धनको आध्यात्मिक, सांस्कृतिक र वैज्ञानिक महत्व

 सोम, सावन २७, २०८२  – माधव रेग्मी

     जनै पूर्णिमा अर्थात ऋषि तर्पणी यसलाई रक्षाबन्धन पनि भनिन्छ, हिन्दू धर्मावलम्बीहरूको एक महत्त्वपूर्ण चाड । यो दिन केवल जनै फेर्ने वा रक्षाबन्धन बाँध्ने पर्व मात्र होइन, यसको गहिरो आध्यात्मिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व छ । जनै पूर्णिमाक दिन ऋषि र पितृ तर्पण गरिन्छ । “तर्पण” को शाब्दिक अर्थ हो ’तृप्त पार्नु’ वा ’सन्तुष्ट पार्नु’ । जनै पूर्णिमाको दिन जल, तिल, कुश आदिले आफ्ना पितृ (दिवंगत पुर्खाहरू) र ऋषिहरूलाई तर्पण दिने विधान छ । यसका पछाडि मुख्य दुई कारणहरू छन् ः      पहिलो कारण हो ऋषि ऋणबाट मुक्ति पाउनु। हिन्दू दर्शन अनुसार मनुष्यमाथि तीन प्रकारका ऋण हुन्छन् – देव ऋण, ऋषि ऋण र पितृ ऋण । ऋषिहरूले हामीलाई ज्ञान, विज्ञान, धर्म र संस्कृतिको मार्ग देखाएका छन्। उनीहरूले नै वेदका मन्त्रहरूलाई देखे (द्रष्टा) र मानवतासम्म पुरÞ्याए । यस दिन उनीहरूले प्रदान गरेको अमूल्य ज्ञानप्रति कृतज्ञता व्यक्त गर्दै र उनीहरूको योगदानलाई सम्मान गर्दै तर्पण दिइन्छ । यसलाई ’ऋषि तर्पणी’ भनिनुको कारण नै यही हो । यस दिन कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ लगायतका सप्तर्षिहरूको विशेष पूजा र स्मरण गरिन्छ ।      अर्को कारण हो पितृ ऋणबाट मुक्ति पाउनु । पितृहरूले हामीलाई जन्म र वंश दिएका छन् । उनीहरूप्रति श्रद्धा र सम्मान व्यक्त गर्नु हाम्रो कर्तव्य हो । जनै पूर्णिमाको दिन पितृहरूलाई तर्पण दिँदा उनीहरूको आत्माले शान्ति पाउँछ र उनीहरू तृप्त हुन्छन् भन्ने विश्वास छ । यसले गर्दा वंशमा सुख, शान्ति र समृद्धि कायम रहन्छ भन्ने मान्यता छ।संक्षेपमा यसो भन्न सकिन्छ की यो दिन ज्ञानको स्रोत (ऋषि) र जीवनको स्रोत (पितृ) प्रति आफ्नो श्रद्धा र कृतज्ञता प्रकट गर्ने विशेष अवसर हो ।      अब अर्को चर्चा पनि गरौं । हामी सबैलाई थाहा होला जनैमा दुईवटा शिखा (ग्रन्थि) र छ वटा सरा हुन्छ । यसलाई पवित्रता, जिम्मेवारी र आध्यात्मिक जागरणको प्रतीक मानिन्छ । दुई वटा शिखामध्य एउटामा तीन वटा ग्रन्थि र अर्को शिखामा दुईवटा ग्रन्थि अर्थात् ब्रह्म ग्रन्थि हुन्छन् । तीन ग्रन्थि भएको शिखाले ब्रह्म (परमात्मा), विष्णु (संसारको पालनकर्ता) र महेश (संहारकर्ता) अर्थात् त्रिदेवको एकताको प्रतीकलाई दर्शाउँछ भने अर्को शिखामा भएको दुई ग्रन्थीले प्रकृति र पुरुषलाई दर्शाउँछ । पाँचवटा ग्रन्थिको समग्र रूपलाई पञ्च महाभूत पृथ्वी पानी हावा अग्नि र आकाशलाई पनि जनाउँछ । यो समग्र ग्रन्थिले निर्गुण, निराकार ब्रह्मको समेत प्रतिनिधित्व गर्दछ जो सम्पूर्ण सृष्टिको मूल आधार हो । यसले यो पनि संकेत गर्दछ कि जीवन र जगतका सबै विविधताहरू अन्ततः त्यही एउटै परम तत्वमा गएर मिल्दछन् ।      अर्को हामीले लगाउने जनैमा मुख्यतया तीनवटा धागाका सरा हुन्छन्, जसलाई बटारेर ६ सरा बनाइन्छ । यी प्रत्येक सराको आफ्नै प्रतीकात्मक अर्थ छ ः मुख्य तीन सराले तीन ऋणको प्रतिनिधित्व गर्दछ ः देव ऋणः देवताहरूप्रति हाम्रो कर्तव्य । ऋषि ऋणः ऋषिमुनि र गुरुहरूप्रति हाम्रो कर्तव्य । पितृ ऋणः पुर्खाहरूप्रति हाम्रो कर्तव्य । यी तीन सराले तीन महादेवीको पनि प्रतिनिधित्व गर्दछन् ः सरस्वतीः ज्ञान र विवेककी देवी । लक्ष्मीः धन र समृद्धिकी देवी । पार्वती (काली)ः शक्ति र सामथ्र्यकी देवी ।      जब यी तीन सरालाई दोब्बर पारेर ६ सरा बनाइन्छ, यसले व्यक्तिले आफ्नो जीवनमा नियन्त्रण गर्नुपर्ने ६ कुराहरूलाई संकेत गर्दछ ः कामः अनावश्यक इच्छा र वासना । क्रोधः रिस र आवेग । लोभः लोभ, लालच र भौतिक आसक्ति । मोहः भ्रम र अज्ञानता । मदः अहंकार र घमण्ड । मात्सर्यः ईष्र्या र द्वेष ।      यसर्थ, जनै धारण गर्नु भनेको यी ६ अवगुणहरूलाई नियन्त्रणमा राखी मन, वचन र कर्मले शुद्ध भई आफ्नो कर्तव्यपथमा अघि बढ्ने प्रतिज्ञा गर्नु पनि हो ।      जनैको महत्त्व केवल आध्यात्मिक मात्र छैन, यसका केही वैज्ञानिक पक्षहरू पनि छन् जसलाई आधुनिक विज्ञान र योग विज्ञानसँग जोडेर हेर्न सकिन्छ । जनै धारण गर्नाले रक्तसञ्चार र मुटुको स्वास्थ्यमा सन्तुलन ल्याउँछ भन्ने अवधारणा छ । जनै शरीरको देब्रे काँधबाट दाहिने कम्मरसम्म लगाइन्छ, जुन मुटुको नजिकबाट जान्छ । यसले मुटुको वरिपरि रक्तसञ्चारलाई सन्तुलित गर्न मद्दत पुग्ने विश्वास गरिन्छ । यहाँहरुलाई थाहा पनि होला, शौच (दिसा–पिसाब) गर्दा जनैलाई कानमा बेर्ने चलन छ । कानको पछाडिको भागमा विशेष स्नायुहरू हुन्छन् जसको सम्बन्ध अण्डकोष र वीर्यसँग हुन्छ । कानमा जनै बेर्दा ती स्नायुहरूमा दबाब पर्छ, जसले वीर्यको रक्षा गर्छ र शारीरिक बल कायम राख्न मद्दत गर्छ भन्ने मान्यता छ । यसले पेटको मांसपेशीमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ ।      त्यति मात्र होइन, जनैले व्यक्तिलाई सधैं आफ्नो कर्तव्य, अनुशासन र पवित्रताको याद दिलाइरहन्छ । यो एक मनोवैज्ञानिक ’रिमाइन्डर’ पनि हो जसले व्यक्तिलाई गलत काम गर्नबाट रोक्छ र सात्विक जीवन जिउन प्रेरणा दिन्छ ।      जनै धारण गर्दा वेदका ऋचा र मन्त्रहरु बाचन गरेको त सुन्नुभएकै होला । जनै धारण गर्दा एक विशेष वैदिक मन्त्र उच्चारण गरिन्छ, जसले यसको महत्त्वलाई स्पष्ट पार्दछ । यो मन्त्र पारस्कर गृह्यसूत्रमा उल्लेखित छ । ॐ यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात्। आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः ।।      अर्थात्, “यज्ञोपवीतं परमं पवित्रं” यो यज्ञोपवीत (जनै) परम पवित्र छ । “प्रजापतेर्यत्सहजं पुरस्तात्“ यो सृष्टिकर्ता प्रजापति (ब्रह्मा) को साथ सृष्टिको प्रारम्भमै उत्पन्न भएको हो । “आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं“ यसले श्रेष्ठ आयु प्रदान गर्दछ । म यो शुभ्र (सेतो, पवित्र) यज्ञोपवीत धारण गर्दछु ।      “यज्ञोपवीतं बलमस्तु तेज ः” हे यज्ञोपवीत ! मलाई बल (शारीरिक र आत्मिक शक्ति) र तेज (ज्ञानको चमक) प्रदान गर ।      यो ऋचाले पनि स्पष्ट पार्छ कि जनै केवल एक धागो होइन, यो सृष्टिको प्रारम्भदेखि नै पवित्रता, दीर्घायु, बल र तेजको प्रतीकको रूपमा रहेको छ । यसलाई धारण गर्नु भनेको वैदिक ज्ञानको परम्परालाई स्वीकार गरी आध्यात्मिक र सामाजिक जिम्मेवारी वहन गर्न तयार हुनु हो । यस्तो चाहना राख्ने सबै मानवजातिले धारण गर्ने हो ।      निष्कर्षमा भन्नु पर्दा जनै पूर्णिमा कृतज्ञता, आत्म–अनुशासन, र आध्यात्मिक शुद्धताको नवीकरण गर्ने पर्व हो । ऋषि र पितृहरूलाई तर्पण दिनुले हामीलाई हाम्रो जरा र ज्ञानको स्रोतसँग जोड्छ भने नयाँ जनै धारण गर्नुले पवित्र र अनुशासित जीवन जिउने प्रतिज्ञाको स्मरण गराउँछ । सबैको जयहोस्      

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्