अन्तर्वार्ता पत्रकारिताको अभिन्न अंग हो, तर अन्तर्वार्ता जान्दैमा समग्र पत्रकारिता बुझिन्छ भन्ने भ्रम पाल्नु हुँदैन । टेलिभिजन अन्तर्वार्ताको विधामा एक जमानाका ‘स्टार’ हुन्, सञ्चारकर्मी विजयकुमार । टेलिभिजनमा उनको अन्तर्वार्ता आउनुअघि नेपाल टेलिभिजनमा प्रस्तुत हुने अन्तर्वार्ता निरस र पट्यारलाग्दा हुन्थे । विजयकुमारले नै टेलिभिजनमा सक्रिय शैलीको चाखलाग्दा अन्तर्वार्ताको शृंखला शुरू गरे, जसको नाम थियो ‘दिशानिर्देश’ । उनले यस अन्तर्वार्ता कार्यक्रमलाई करीब दुई दशकसम्म विभिन्न टेलिभिजनबाट चलाए । जब २०७३ पुस १९ मा टेलिभिजनबाट यूट्यूब च्यानलमा आइपुगे ‘दिशानिर्देश टीभी’ का नाउँले, उनको जादुगरी अन्तर्वार्ताको रङ फिका लाग्न थाल्यो। हुन सक्छ, समसामयिक घटनाक्रमलाई बुझ्ने दृष्टिकोण यथार्थपरक भएन वा नयाँ मिडिया प्लेटफर्मका प्रयोगकर्ताको स्वभावलाई राम्ररी बुझ्न सकेनन् । फलतः प्रधानमन्त्री केपी शर्मा ओलीसँगको पछिल्लो वार्तालाप लगत्तै विजयकुमार हिजोका आफ्नै प्रशंसकबाट आलोचनामा परे । जर्नालिज्म स. प्रिन्सिपल एन्ड प्राक्टिसका लेखक टोनी हार्कपले भनेका छन्–अन्तर्वार्ता पत्रकारिताको आत्मा हो । पत्रकारिताको शुरू भएकै दिन अन्तर्वार्ता जन्मिएको हो र पत्रकारिता रहुन्जेल यो रहन्छ । तर अन्तर्वार्ताकार विजयकुमारले प्रधानमन्त्रीसँग लिएको पछिल्लो अन्तर्वार्ताले पत्रकारिताको पहरेदारीको भूमिकामा योगदान गर्दैन । किनभने सत्ता वा शक्तिमा रहेका व्यक्तिलाई जनताप्रति जवाफदेह बनाउनेभन्दा आफ्नो व्यक्तिगत जनसम्पर्क सृदृढ पार्न खोजे जस्तो देखिन्छ । रेडियो, टेलिभिजन हुँदै अहिले नयाँ मिडियामा आइपुग्दा कैयौं सञ्चारकर्मीले अन्तर्वार्ता लिइरहेका छन्, दिइरहेका छन् । पत्रकारिताका दृष्टिकोणले सबै अन्तर्वार्ताकार र अन्तर्वार्ता त चर्चा गर्नलायक पनि हुँदैनन्, सकिंदैन पनि । अको््र््, कुनै एक अन्तर्वार्ताकारबारे लेखै लेखेर टिप्पणी गर्नु उपयुक्त पनि हुँदैन । तर विजयकुमार फरक छन्, उनी कुनै जमानाका ‘स्टार’ अन्तर्वार्ताकार हुन् । त्यसैले यस लेखमा विजयकुमारले प्रधानमन्त्री ओलीसँग लिएको अन्तर्वार्ता, सामाजिक सञ्जालमा ओइरिएका आलोचनात्मक टिप्पणी र पत्रकारिताका प्राध्यापकलाई सिकाउने यत्न गरिएको पडकास्टमा उनले गरेका तर्क–वितर्कबारे चर्चा गरिएको छ । प्रधानमन्त्रीसँगको अन्तर्वार्ता विजयकुमारले प्रधानमन्त्री ओलीसँग लिएको एक घण्टा ४३ मिनेट ५९ सेकेन्ड लामो वार्तालाप साउन १ मा ‘दिशानिर्देश टीभी’ को यूट्यूब च्यानलमा प्रकाशित भयो । यसमा संविधान, सरकार, विदेश नीति, पूर्व राष्ट्रपति विद्या भण्डारीको नेकपा (एमाले) राजनीतिमा फिर्ती, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका विषयमा अलि बढी नै अनौपचारिक कुराकानी गरिएको छ । अन्तर्वार्ताको शुरूआतमै आफू सामान्यत ः ‘दुई किसिमका अन्तर्वार्ता गर्दिनँ’ भनेर विजयकुमार कुराकानी शुरू गर्छन्–एउटा चिथोर्ने शैलीको अन्तर्वार्ता र अर्को, हो हजुर मात्र भन्ने शैलीको अन्तर्वार्ता । त्यसपछि उनी अन्तर्वार्ता शुरू गर्छन् । यसलाई तेस्रो किसिमको अन्तर्वार्ता भन्न सकिन्छ, किनकि यसमा अति चाप्लुसी झल्किन्छ । प्रधानमन्त्रीले कुनै व्यावसायिक पत्रकारलाई अन्तर्वार्ता दिएको भन्दा पनि आफ्नै कार्यकर्तासँग गरेको कुराकानी जस्तो लाग्थो, अनावश्यक विशेषण र चाप्लुसीपूर्ण भाषाको प्रयोगले । प्रधानमन्त्रीलाई कुनै प्रश्नले बिझाउँला कि भन्नेमा प्रश्नकर्ता सचेत भए जस्तो देखिन्छ । हिजोका विजयकुमारले यस्तो अन्तर्वार्ता गर्लान् भनेर उनका अधिकांश दर्शकले सोचेकै थिएनन् होला । यस्तो अन्तर्वार्ताले पत्रकारितामा कुनै योगदान गर्दैन । अन्तर्वार्ताका बीचबीचमा असान्दर्भिक कुरा, हल्लाखल्ला, तेस्रो व्यक्तिको प्रवेश लगायतले प्रधानमन्त्रीसँगको कुराकानीकै गरिमा घटाएको महसूस हुन्छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको अन्तर्वार्ताको दुई मिनेट २१ सेकेन्डमा एक जना प्रधानमन्त्रीका लागि चिया लिएर आइपुग्छन् । त्यो गतिविधि ‘रेकर्डेड’ भिडिओमा स्पष्ट देखिन्छ । स्रोत ः हिमाल खबरबाट
