IMG-LOGO

लालगोपालको’चेतनप्रवाहलाई पूर्वीय दर्शनमा घोलेर हेर्दा

 आईत, सावन ५, २०८२  ~ आचार्य हरिप्रसाद काफ्ले”शैव”

चेतन प्रवाहमा- सा रे ग म प…”भन्ने शीर्षकले नै विवेकशीलहरूको मनमा यौटा झंकार दिन्छ । झिनिनिनन् झिनिनिनन् झंकारको यौटा तार बज्नु नै ईश्वरसंग साक्षात्कारको स्वर सुनिनु हो । साकार व्रह्मको सा, रेत मुनिहरूको प्रतिधिनिधित्व रे , गन्धर्वादिहरूको आगमनार्थ ग , महिषपाल इन्द्रादिलाई मनोरंजन गराएर दैत्य विरुद्ध तयार गराउने म , परलोकदेखि यस लोकसम्म प्रजापतिको महत्त्व दिने प , धर्म धारणबिना कर्तव्यबोध नहुने अर्थमा ध , निराकार व्रह्म सर्वेश्वर शिव स्वरुप नि ! यसरी सारेगमपधनि…को निर्माण गरिएको हो । अथाह ज्ञानले भरिएका कवि लालगोपाल सुवेदीले आफ्नो विवेकले मात्र विश्वमा नेपाल चिनाउन गाह्रो देख्छन् र कविता लेख्छन् , कविता पनि अनेक हुन्छन् तर यिनले लामो कविता किन लेख्छन् ? किनकि यिनको देशभक्ति शक्तिशाली छ , ठूलो उद्देश्यका लागि ठूलै कविता चाहिन्छ , सम्पूर्ण अटाउन चेतनाको ठूलै भार चाहिन्छ , सबै कर्मशील मौरी अटाउन ठूलै घार चाहिन्छ , त्यसैले कवि लामो कविता मार्फत् आफ्नो मनको तृष्णा सार्वजनिक गर्छन् । महाकवि देवकोटा र कविवर माधवप्रसाद घिमिरेको काव्यिक धारलाई धारण गरेका लालगोपाल यस लामो कवितामा तिनै महाकविहरूको चेतन प्रवाहलाई प्रतिनिधित्व गरेर महान कार्यमा अघि बढेका छन् । पश्चिमी साहित्यका भविष्यवेत्ता कवि वर्डस्वर्थ र सेलीले झैं नेपाली माटोको महिमा सुन्दर लयमा यहां गाएका छन् लालगोपाल । यो कृति आकारमा सानो देखिएपनि अचेतनभित्रको चेतनमन , टाढाको घाम हेर्दा त सानै देखिन्छ , परको पहाड जति सानो देखिन्छ नजिक गएपछि बल्ल त्यसको आकार थाहा हुन्छ , त्यस्तै पंचतत्वको लालगोपाल र कागजको किताबलाई टाढाबाट हेर्दा मात्र अर्को देखिन्छ तर तिनीहरूको भित्रभित्र गहिरोभने भवसागरको प्रवाह देख्न सकिन्छ - ,” पर्याप्त थियो एउटै घामको घडी , जूनको घडी तर हामी संतुष्ट हुन सकेनौं बाधेर सुनको घडी” यसरी यौटै सानो हरफमा कविको चेतना बोध अनुमान गर्न सकिन्छ।”सायद नेपाली काव्यको कखरा चौधौं शताब्दीबाट सुरु हुन्छ…! “ नेपाली साहित्यको इतिहासलाई यसरी कवितामा इंकित गर्नु गहन अध्ययनको आधार हो । क्रमश: अब गीत संगीतको खोजी गर्दै आरम्भतिर कवि जान चाहन्छन् र प्रश्न गर्छन् - “ सोध्नुपर्छ कर्णाली कोशी र गण्डकीलाई , सोध्नुपर्छ जंगल र नदी किनाराका जिन्दगीलाई “ प्रकृतिबाट नै मान्छेले गीत संगीतको पाठ सिकेर अघि बढे , त्यसैले प्रकृति नै हाम्रा गुरु हुन् भन्ने ठहर यहां कविको निचोड हो जुन् स्वच्छन्दतावादी मान्यताको मानक पनि हो । यसै सन्दर्भमा , स्वर संगीत र लयको शुरुआती भगवान शिवले सृष्टिको लागि ध्यानबाट उठेर जब डमरुको निनाद सुरु गर्नुभयो त्यसै बेला हो । कुनै कल्पको वैकल्पिक चर्चामा , तत्तत् पुराणहरूमा शिव या विष्णुले ब्रमालाई सृष्टिको माध्यम खोज्न लगाएपछि ब्रह्माले लामो समयसम्म ध्यानस्थ हुंदा पानीका थोपाहरू आफू नजिकै तप तप तप गर्दा कुनै ईश्वरीय आदेश ( तप गर्नुपर्छ ) सम्झेर अरु तप गरेपछि शव्दनादको सृष्टि हुन्छ र त्यसैबाट ओमको (ॐ) अर्थगत ध्वनिको विकास भयो भन्ने प्रशस्त प्रमाणहरू छन् पुराणहरूमा जुन अहिलेपनि वैज्ञानिकहरू उदाउंदै गरेको सूर्यमा पनि त्यस्तै संगीतमय ध्वनिको चर्चा गर्दै छन् र अन्तरिक्षयानका लागि संस्कृत भाषा सबैभन्दा बलियो हुने बताएका छन् । यस काव्यकृति ‘चेतन-प्रवाहमा सारेगमप…’ लाई धेरै दृष्टिकोणबाट अध्ययन विश्लेषण गर्नसकिन्छ । दर्शनको गहिराइ, भावको गहिराइ, संगीतको गहिराइ, लय विधानको गहिराइ, आधुनिकताको गहिराइ , साहित्यको उत्तर आधुनिकतावादको गहिराइ , ज्ञान विज्ञानको गहिराइ , मानवीयताको गहिराइ, प्रयोगवादको गहिराइ , आदि आदि , यति मात्र नभएर विभिन्न पक्ष र आयामका आधारमा पनि यस कृतिलाई अध्ययन विश्लेण तथा मूल्यांकन गर्नसकिन्छ । नेपाली इतिहास र जनजीवनको खरो चित्रण छ यहां , मलाया जानुपर्ने बाध्यता , लाहुरे जीवन विताउंदाका तीता कथाहरू , जागिरे बनेर बेलायत जांदा विश्वयुद्धमा ज्यान गुमाउने र रणभूमिमा निर्भिकतासाथ युद्ध गर्नुलाई हामी बहादुरी भन्दछौं जुन उनीहरूको तालिम र जागिरको दोसांदे कर्म हो रपनि आफ्नो कर्तव्यमा बफादार हुनु महान हो ।नकम गुरुंगको दर्दनाक कथा, गजे घलेको कथा अत्यन्त यथार्थ र वीर रसले भरिपूर्ण बनाउनुका साथै पाठकलाई विस्तारै करूण रसमा ल्याएर शान्त रस प्रदान हर्नु लालगोपालको अद्वीय कला मान्नुपर्छ । यसरी जुनसुकै पक्ष वा वादबाट केलाएपनि शुद्ध चोखो ज्ञान पाउन सकिने क्षमता छ यस काव्यमा , किनभने धरै कविहरू आधुनिकताको नाममा शव्दजाल फिजाएर मनमोहकता , सस्तो लोकप्रियता र तालीको पछाडि छन् तर यहा कवि लालगोपालले हरेक प्रसंगलाई प्रष्ट उदाहरणहरू दोहोर्याउछन् । यिनै विविध आयाम र पक्षहरू मध्ये पौराणिक दर्शन तथा अध्यात्मको कसीमा यस काव्यलाई हेर्ने प्रयास मूल अहिलेको लक्ष्य हो । चेतना भन्ने बित्तिकै अध्यात्मको आधार फेला पर्छ । गरुडपुराणका अनुसार अघिल्लो जुनीमा गरेका कर्मको भोग गर्न यो मनुष्य जीवन प्राप्त भएको हो , मनुष्यले जस्तो अरु प्राणीले दु:ख सुखको अनुभूति गर्न सक्दैन । आफूले गरेका कर्मको फल आफैले भोग नगरिक कहिल्यै सकिन्न , तिनै राम्रा नराम्रा कर्मको फल भोग गर्न घुमिफिरी मनुष्य जुनी प्राप्त भएको हो”अवश्यमेव भोक्तव्यं कृतं कर्म शुभाशुभम्।नाभुक्तं क्षीयते कर्म कल्पकोटिशतैरपि॥” जब आमाको गर्भाशयमा बच्चा हुन्छ, तब तेस्रो महिनामा पुरुष र स्त्री या अन्य कुनै लिंगी छुट्टिन्छ , चौथो महिनाको भएपछि निर्माता / विधाताले मुटुको धड्कनसंगै हुने चित्तको निर्माण गर्छन् र त्यसैमा आफू प्रवेश गरेर आत्माले जीवको विकासका लागि भोक तीर्खाको अनुभूति गराउन थाल्छ “ चतुर्भिधातव: सप्त पंचभि: क्षुत्तृडुद्भव:…” यसरी चित्तमा ईश्वरको वास हुन्छ तर तटस्थ भावमा मात्र , हामी र म भन्ने जीव वा प्राणीको कर्मको रेकर्ड गर्न आजकालको फोनमा सिमकार्डले रेकर्ड गरे झैं तटस्थभावमा रेकर्ड हुन्छ । बच्चाको जन्म हुंदा बाउआमाले फोटो या भिडियो बनाएर रेकर्ड गर्छन् तर त्यो बच्चालाई केही थाहा हुंदैन , पछि ठूलो भएपछि त्यो भिडियो या फोटो हेरेर ऊ वयस्क मान्छे छक्क परे झैं हामी पनि आफ्नो रेकर्ड हेरेर छक्क पर्छौं , पर्दैछौं । अझ कतिलाई त्यो ईश्वरको यस्तो सत्यतथ्य विश्वास लाग्दैन जबसम्म उसले भोग गरेको महसूस गर्दैन । त्यो चित्तमा बुद्दिरुपी इन्द्रिय मार्फत् विवेकको विकास हुदै गएपछि कवि लालगोपाल जस्तै त्यो चेतन प्रवाहमा परिणत हुन्छ र हरेक धुक्धुकीले सारेगमप गाउन थाल्छ , ईश्वरले कविको माध्यमबाट हरेक क्षेत्रमा विवेकशील गीत गाउन अनुरोध गर्छ, कलियुगको गीता लेख्न अनुरोध गर्छ “ फर्क फर्क हे ! जाऊ समाऊ मानिसहरू को पाउ , मलम लगाऊ आर्तहरूको चहराइरहेको घाऊ!! “ यी महाकविका हरफलाई सम्झाउने गरी हरेक क्षेत्रमा पवित्र लय शुद्ध संगीत र चोखो गीतको आह्वान गर्छन् कविले यस काव्यकृतिभरि । कविले यस कृतिमा प्रयोग गरेको ‘षडज’शब्दको कुरा गर्योभने पनि अध्यात्मसंग सीधै संबन्ध राख्छ । संगीतका सात स्वर सा रे ग म प ध नि आदिको उत्पत्ति नासिका , कंठ तालु जिह्वा छाती र दंत गरी छ: ठाउबाट हुन्छन् जसलाई संस्कृतमा षष्ट वा षड् भनिन्छ , यसरी उत्पन्न हुने स्वरहरू तालहरू लयहरू मध्ये यौटा सा हो । वास्तवमा यी छ: संगीतका स्वरलाई पूर्वीय भरत नाट्यशास्त्रले व्याख्या गरेको कुरा कविले यहां इंकित गरेका हुन् , यहींनेर के पनि हो भने भगवान श्रीकृष्णका छ: भाइलाई मामा कंशले कारागारमा जन्मनासाथ मार्दछन् ( कीर्तिमान , सुषेण , भद्रसेन , रिजु, सम्मार्तन र भद्र ) जुन अघिल्ला कुनै कल्पका जुनीमा सांगीतिक धूनका व्याख्याता थिए र आफ्नै पिताको श्रापले मानवको गर्भको दु:ख भोगका लागि मात्र देवकीको गर्भमा आएका थिए , बांकी जैविक दु:ख नभोग्ने भनेर तुरुन्तै मारिन्छन् । यी सारेगम पधनि ….जस्ता सांगीतिक अक्षरहरू अत्यन्त पवित्र हुन् , शुद्ध हृदयबाट निसृत हुनुपर्ने सस्वर वर्ण हुन् जसलाई कविले सुन्दर शैलीमा लेख्छन् “ षडज हो कि …धैवत हो कि , बिना नाम नि:सृत छन् डम्फूमा …!” हाम्रो पुरानो विद्या तन्त्रमा “ अमंत्रं अक्षरं नास्ति… नास्ति मूल नौSषधम् “ भनेर हरेक अक्षर पनि स्वर जस्तै मन्त्रवत् छन् , त्यसैले यी हरेक सा रे ग म प ध नि … मन्त्रवत् हुनाले गीतकार र संगीतकार दुवैलाई साधनाको फल प्राप्ति हुन्छ । यस कृतिमा यसरी प्रयोग गरिएका हरेक शब्दहरू प्राचीन पौराणिक व्याख्या अनुसार छानी छानी बुट्टेदार झैं बनेर झरेका छन् । यसर्थमा कविले चाहे संगीतको क्षेत्र होस् चाहे राजनीतिक क्षेत्र होस् चाहे लेखनको क्षेत्र होस् चाहे शिक्षाको क्षेत्र होस् या अरु कुनै सामाजिक क्षेत्र किन नहोस् सबैमा शुद्ध पवित्र चोखो न्याय संगत होस् , त्यस क्षेत्रको गहिराइमा पुगेर जरैदेखि सम्मान होस् , गेयात्मक आधारशीला होस् , सबैले गाउन योग्य होस् भन्ने आग्रहलाई सुन्दर गीति शैलीमा लेखिएको यो कृति शायद मुनामदन र मालतीमंगलेलाई ताजगी गर्ने सफल काव्यकृति हो , जसले जुनसुकै भाकामा गाउनसक्ने लयात्मक सरल कृति लामो समयपछि नेपाली साहित्यले पाएको छ , यसलाई ससम्मान सार्वजनिक गर्दा सबैको राम्रो हुने देखिन्छ । “ चरी लैजा समाचार , हामी भयौं बेघरबार ..” संस्कृत साहित्यका महाकवि कालीदासले आफ्नो काव्य मेघदूतमा बादललाई दूत बनाएर खबर पठाए झैं , वेदव्यासले शुकदेव( सुगा) मार्फत् भागवत् भने जस्तै कविले यहां चरीको सहायता मागेका छन् , किनभने समाचार जगत् पनि अन्य क्षेत्र जस्तै अशुद्ध भयो अपवित्र भयो , बाढीपीडित र भूकम्पले मात्र नभएर राजनीतिले पनि दु:ख पाएका नेपालीहरूका लागि प्राकृतिक/ दैविक सहायता मागिरहेछन् यहा सागीतिक संवादद्वारा , चरालाई पूर्वीय दर्शनमा चौरासी लाख जुनी( योनी) मध्येको अन्तिम जुनी मानिन्छ जसको मरण हुने बित्तिकै त्यसको आत्मा उडेर यथालोक पुगिहाल्छ , त्यसैले आत्मालाई हंस भनिन्छ र हंस भनेको हांस हो जुन चराको जाति हो , त्यसै गरी काग यमदूत पनि हो र कैसाशको मानसरोवरमा शिवको समाचारदाता काकभुशुण्डी नामले प्रसिद्ध छन् , यसरी कविले चरालाई नै समाचारदाता बनाउनु यौटा आध्यात्मिक संयोग पनि हो । अब अर्को हेरौं “ आयो खुवालुंग चेतन-प्रवाहमा …पुजे मुन्धुम” मिथकीय खुवालुंग र पुजे मुन्धुमको यो प्रसंग पनि स्पष्टरुपमा आध्यात्मिक चेतनाकै सुषुप्त प्रवाह हो । चेतन अवचेतन अर्धचेतन र अचेतनका सबै अवस्था यस काव्यमा घुम्दै आएका छन् , अचेतनले अवचेतन र अर्धचेतन हुंदै चेतनको तहमा पुगेर नेपाली घर आंगन , गाउं शहर , मेलापात , बन जंगल , जिल्ला जिल्ला किल्ला र सिंगो राष्ट्र हुंदै अन्तरराष्ट्रिय क्षेत्रमा समेत पुगेर इतिहासलाई उत्खनन् गरेको छ , सुतेकालाई उठाएको छ , सुते जस्तो गर्नेलाई पनि झक्झकाएको छ , सबैलाई ब्युंझाएर व्यक्ति व्यक्तिको बौद्धिक विकास र राजनीतिक चेतनाको सुधार गर्ने भरमज्दुर प्रयासको सुन्दरकाव्य हो यो , यस दशकको ठूलो उपलब्धि हो यो ।“ कहिले आउंछिन् योगमाया न्यौपाने कहिले आउंछन् बालागुरु षडानन…. मेरो स्मृतिकोशमा संग्रहित छ दासढुंगा… तन्द्रैतन्द्रामा अथवा एक्लै हिड्दा किनारैकिनार …” यसरी तन्द्रैतन्द्रामा र स्मृतिकोशमा सिंगो देशका सबै परिघटनाहरू आउनुको अर्थ के त ? उल्लिखित हरफहरूलाई मेलोडी मिलाएर बजाउन सकिन्न त ? जुनसुकै कलाकारले गाउन सकिन्न त ? अवश्य सकिन्छ ।नेपाली पुराना भाकादेखि अहिसेका मेयर वालेनका ह्राप लयमा समेत गाउन सकिने बन्नु बनाउनुको मतलब सबै क्षेत्रलाई सचेत गराउन खोजिएको हैन त ? अझ भनौं भैरवी रागको सन्दर्भ मिलाएर नेपालका कोतपर्व जस्तै दरवारकाण्डको घटनालाई समेत स्मरण गरेर कविको सूक्ष्मदृ्ष्टि प्रष्ट्याएका छन् । यस सारगर्वित कृतिको उठानकै क्रममा कविले लेखन शैलीलाई विस्तारै विस्तारै अगाडि सारेका छन् । नवै रसको सफल प्रयोगको निम्ति स्थायीभाव र उद्दीप्तभाव बीच तालमेल मिलाइरहेका छन् । यौटा कुशल उपन्यासकार या नाटककारले कथानकलाई सामाजिक परिवेश , भेषभूषा र बोलीचालीको शैलीमा ध्यान पुर्याए जस्तै , कुशल कालीगढले मसिनो छिनोद्वारा मूर्ति कुंदे जस्तै सानैदेखि प्रशस्तै पुरस्कार र प्रशस्ती बटुलेका कवि लालगोपालले यस कृतिलाई पनि मज्जाले आलंकारिक बनाएका छन् , अरनि र भृकुटीको प्रसंग जोडेर तिनीहरूले जस्तै म मेरो काव्य कुंदिरहेको छु भन्न चाहे जस्तै गरी बडो सजकतासाथ यस काव्यलाई कुंदेका छन् , कतै कुनै बिम्बले व्यंग्य गरेपनि अभिधार्थले नै बिम्बको धर्म पूरा गरेको छ । कविको उत्कृष्ट चेतनाले कतैकतै बिम्बहरू व्यंजनापरक भए होलान् तरपनि ती दुर्बोध्य छैनन् भन्छु म । लयात्मक र सांगीतिक यस काव्यको विशेता नै ठान्छु म जुन कविताको मूल गुण हो , मुख्य धर्म हो । यसै सन्दर्भलाई अगाडि सार्दा , कविले सीधा अर्थमा अथवा ऐतिहासिक किंवदन्तीलाई ढाकछोप नगरिकन जस्ताकोतस्तै सूचना प्रवाह गर्नका खातिर लेख्छन् - “काटियो रे कालीगढको दाहिने हात …. कुदिइन् भगवती दाहिने खुट्टाले …” यस्तो चलनको उत्खनन् गरे वापत् आफैलाई पाप लाग्ने डरले कवि बडो विस्मित् हुन्छन् र तिनै देवीको स्तुत्य मन्त्र साभार गर्छन् - “ या देवी सर्वभूतेषु मातृ रूपेण संस्थिता , नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम: ॥ “ यदि कवि अध्यात्म दर्शनमा विश्वास गर्दैनथिएभने यस्तो महामन्त्र यहां आउने थिएन । म स्वयं महाकालीको परम भक्त भएकोले यो कृति सर्ररर पल्टाउंदा यही मन्त्रमा आंखा पुगे र मन त्यहीं अडियो , फेरि सुरुदेखि किताब पढेर केही लेख्ने मन बन्यो । सर्वेश्वर शिवले यिनै माताको ध्यान गरेर शिवा नामले पुकारेपछि शिवमा शक्ति आयो , स्वयं विष्णुले वैष्णवी माताको ध्यान गरेर लक्ष्मीलाई प्राप्त गरेर शक्तिशाली बन्नुभयो , त्यसै गरी ब्रह्माले ब्राह्मी महासरस्वतीको ध्यान गरेर सृष्टि गर्ने बौद्धिक शक्ति प्राप्त गर्नुभयो , वशिष्ट तथा विश्वामित्रले पनि यिनै आद्यशक्ति गायत्रीलाई खुशी पारेर ब्रह्मर्षि बने , त्यसै गरी कविले पनि यहां केही त्रुटि भएमा माफ मागेर आफ्नो मनोकांक्षा पुर्ति गर्ने नेपाली परंपरा र संस्कृतिलाई उजागर गर्ने उद्देश्यले - “ देऊ माते आशीर्वाद हामीलाई …. तिम्रा अठारवटै हातले देऊ , हामीलाई आशीर्वाद , एउटा हातले कलम लिनेहरूलाई एउटा हातले कुची समाउनेहरूलाई ….” यसै गरी बाजा बजाउनेहरूलाई, मीठो लय गाउनेहरूलाई, बाटो पुल पुलेसा बनाउनेहरूलाई, लुगा सिउनेहरूलाई, जुत्ता बनाउनहरूलाई, कम्बर भांची भांची नाच्नेहरूलाई, पालाम गाउनेहरूलाई, समग्रमा नेपाल बनाउनेहरूलाई” यसरी सबैलाई आशीर्वाद माग्दछन् कविले । साच्चिकै कविले झैं अरुका लागि केही सोचिदिने होभने देश बन्न कति नै समय लाग्छ र !! कतै जनकपुर र मिथिलाको गाथा कतै लुम्बिनी र मस्जिदको महत्त्व त कतै गुन्बा र परंपरित मठहरूको चर्चासंगै “ ॐ मणि पद्मे हूं” भनेर यस कृतिभन्दा अघिल्ला दुवै कृति “ अनि प्रतीत्य समुत्पाद “ र “ राहुल यशोधरा संवाद” लाई सम्मान स्वरुप सिद्धार्थ गौतम बुद्धप्रति नतमस्तक हुन्छु भन्न पुग्छन् । बुझ्नेका लागि बौद्ध धर्म कुनै छुट्टै धर्म नभएर सनातन धर्मकै शाखा वा यौटा ध्यान साधनाको सम्प्रदाय नै हो यद्यपि बौद्धमार्गीहरू यही धर्मले मात्र मोक्ष दिनसक्छ अरु धर्मले मोक्ष दिन सक्दैन समेत भन्ने गरेको पाइन्छ जुन आफूलाई माथि राख्ने तर्क हो तर बुद्धले आफूलाई चिन्ने माध्यम ध्यान हो भनेको मात्र साबित हुन्छ । पश्चिम नेपाल र पूर्वी नेपाललाई कूलपूजाका भाकलले जोडेका छन् कविले -“ साक्षी छ मालिकार्जुनमाडौ साक्षी छ मेलोलीदेवीमाडौ, साक्षी छ बैतडी त्रिपुरा- सुन्दरीमाडौ ,बैतडी वासुलिंगमाडौ” यसरी कूलपरंपरा र वर पीपल समीको पूजा गर्ने पौराणिक विश्वासलाई कविताको माध्यमले सचेत गराइराखेको बुझिन्छ । काव्यका मूल पात्र त चेतनाको प्रवाह नै हो तर यो पंचेन्द्रिययुक्त नभएकोले कवि आफैं नायक बनेर बिभिन्न पात्रहरूको सामान्य साहार लिएर कथानक जस्तै गरी आफ्नो सुषुप्त स्वप्निल मनसंग संवाद गर्दै घरी त्यो अर्धचेतन मन प्रखर भएर चेतनसंग प्रवाहित हुन्छ , घरि त्यो अवचेतन मन इतिहासतिर फर्किन्छ र चेतन बन्छ र फेरि वर्तमानसंग प्रवाहित हुन्छ , जतिबेला चेतन मन सक्रिय हुन्छ त्यति नै बेला सुमधुर लयमा कालजयी कथा गाउन थाल्छ , सबैले बुझ्ने गरी ,सबैलाई ब्यूंझाउने गरी श्रीकृष्णले अर्जुनलाई गीता पढाए झैं कविले हामीलाई प्रगतिशीलताको गीता सुनाउछन् र भन्छन् चेतना चरीलाई पींजडामा नथुन नेपाली हो ! उठ जाग इतिहास पढेर आफ्नो धर्म बुझ ……. । “ हरे यता पनि तिम्री छोरीको नागरिकता छैन , उता पनि तिम्री छोरीको नागरिकता छैन …… सायद तिम्री छोरीलाई प्रीत बसाउने ठाउं छैन तिम्री छोरी चराजस्तो विश्वनागरिक पनि हैन …” - अहिको विदेशिने हावाले ल्याएको दूषित मोहको नमिठो नतिजालाई यति मीठो शैलीमा खबरदारी गर्नु कविको गद्य शैलीको उच्चतम सफलता हो । यस्तैयस्ता मार्मिक शिक्षाप्रद मानववादी कविताको संग्रहित काव्य हो यो नूतन लामो कविताकाव्य । “ वर भंज्यांगमा वर छैन , पीपलडाडामा पीपल छैन , हर्हराएको बटुवाको आंतै सुक्यो , आत भिजाउने पानी छैन ….” आदिकवि भानुभक्तको घासीलाई यसरी कविले अचम्मैसंग सम्झिन्छन् अथवा पूर्वकविहरूलाई सम्झेर कृतज्ञता प्रकट गर्छन् र आधुनिकताको नाममा बाटो बनाउने बनेर सबै पुराना कुरा भत्काइएकोप्रति सचेत गराउनछन् । यौटा सिंगो उपन्यासले आफ्नो कथावस्तु बनाउनसक्छ यही यौटा प्रसंगलाई , यस्ता सयौं विषयवस्तु र घटनाहरू यहां छन् जसबाट सयौं उपन्यास वा नाटकीय कृति बनाउन सकिन्छ । कविले यसरी आफ्नो शिल्पीद्वारा सानोमै सम्पूर्ण अटाएका छन् । गौंथली जस्ता शुभसकुनका चराहरू हराएको अपशोस नभएकालाई पनि सुन्दर शैलीमा टिप्छन् - “ अब तिम्रो घरमा गौंथली आउंदैन … अहं, अब गौंथलीले तिम्रो घरमा गुंड बनाउंदैन …” यस्ता शुभ शकुनहरू हराएकोले कविलाई ठूलै चोट परेको बुझिन्छ तर बुझ्नेले कुरा नबुझेपछि भन्ने गीतको झल्को पनि आइहाल्छ । पहिला पहिला बटुवाहरू भगवानका रुप हुन्थे , माग्नेको भेषमा शिव स्वयं आउथे , घरमा शुभ हुन्थ्यो , वटुवालाई वास र गास दिइयोभने तिनको आशीर्वाद पूरै पुग्थ्यो , तर अहिले त्यो किन हरायो किन !! अपशोष गर्दै कवि लेख्छन् “ सांझको देउता वास माग्न आउदैन “यसरी अध्यात्म दर्शनको सेरोफेरोमा कृतिलाई हेरिरहंदा यिनै परंपरित संस्कृतिलाई कविले कहा कसरी उद्धरण गरेका छन् भनेर देखाउनु समीचीन लाग्यो । वेलको रुखको पूजा , पीपल या वरको पूजा , तुलसीको पूजा , गंगा नदीको पूजा गर्नुपर्छ भनेर वेदले भनेको कुरालाई कवि सादर लेख्दैगर्दा त्रिपिटक र मुन्धुमले पूजा गर्छ भन्ने कुरालाई ध्वनित गर्छ भनेर सबै सम्प्रदायलाई कविले समेटेको स्पष्ट हुन्छ । नेवार सम्प्रदायको महत्त्व दर्शाउन “ राजामति कुमति जिके वसा पिरती” जस्ता बहुचर्चित गीतलाई काव्यमा ठाउं दिनुले कविको हृदय व्यापक रहेको बुझिन्छ । भूपरिवेष्ठित हाम्रो नेपालका सोझा नेपालीले समुद्रको लहर र प्रवाह कल्पनाको कुरा हो , त्यसैले हिमाली खोला , कोशी नारायणी त्रिशूली भेरी कर्णाली सेती काली नदीका प्रवाह त देखेकै हुन्छन् , तिनै नदीका प्रवाह जस्तै मनभित्र मुकुसमुकुस भएका विचारहरू , संचेतनाका तरल कुराहरू दिनरात चलिरहन्छन् , जन्मघर , जन्मदेश र परदेशको कर्मको धर्म चेतनशील बौद्धिक व्यक्तिले मनसंग मिलाएर बांध्न खोज्दा त्यो बीचको डोरी चुडिने डर हुन्छ , डुंगा जति डग्मगाएपनि कुशल नाउले पारि तारेरै छोड्छ , त्यस बोटेले यात्रुलाई गन्तव्यमा जान सघाएकै हुन्छ , तिनै कुशल बोटे हुन् यी कवि , तिनै भोटे हुन् यी कवि , तिनै “पढिएकै हो उतिबेलाका , देवता र राक्षसका कथा , पलाएजस्तो छ रावणमा ज्ञानको घमण्ड …प्रबुद्धहरूमै कसरी पलायो सैतानी सोच खै तोरी फुल्ने धान झुल्ने सुन जस्तै फांट!’”आहा ! कविले जुन क्षेत्रलाई छोएपनि साहित्यको कोमल मनले भावनालाई चस्स छुनेगरी समेटेका हुन्छन् । देवता र राक्षसको युद्धको कथालाई यसरी समेट्दा देवासुर संघ्रामको सबैलाई झल्को आइहाल्छ , लंकेश्वर रावणको अथाह ज्ञानको घमण्डले मति बिग्रेको र कूलको सत्यानाश भएको कथा हाम्रो मानसपटलमा ताजै छ , यति सुन्दर व्यंग्यद्वारा समाजवादको विगुल फुग्दै “भूमिपुत्रहरूलाई नै सुकुम्बासी बनाउने , यो कस्तो उपभोक्तावाद? कसरी मौलाइरहेछ यो बेमौसमी खेती?” यहां झन् कस्तो व्यंजनाशक्ति छ कविको ! कविताका हरेक हरफ र प्रसंग सर्लंक्क घोकेर गाइरहूं जस्तो लाग्छ -“ ट्वां परेर हेरिरहेछन् स्वयंभूनाथ, बौद्धनाथ मिचेर मन्दिर परिसर, नदी किनार र आर्यघाट , बित्ता बित्ता हात हातमै चलिरहेछ कित्ताकाट !…ताकिरहन्छन् प्रवास केवल प्रवास !!” “ सहकाल बोलाउने सेतो मच्छिन्द्रनाथ अनिकालबाट जोगाउने रातो मच्छिन्द्रनाथ हेरिरहन्छन् तमासा चुपचाप , चुपचाप गरिरहेछौं हामी आफ्नै भगवानहरूमाथि अन्तर्घात प्रदूषित छ देवघाट …!!” मुलुकमा सर्वत्र भैरहेको मनपरितन्त्र , अत्याचार , अधर्म, अन्यायलाई सहन नसकेको कविको हृदय फुर्सद पायो कि बल्झिहाल्छ र छट्पटाउंछ अनि यसरी सुन्दर हरफमा गीत गाउन थाल्छ एकान्तमा कोइली बनेर , गोलसिमल बनेर , बिचरा ! कवि र कविता !! कतै सन्त ज्ञानदिलदासको निर्गुण भजनको कुरा गरेर अध्यात्मकै लहरो समाएका छन् , कतै पुजारी र मलामीले बजाउने शंखध्वनिको कुरा गर्छन् , कतै भक्त भगवान मन्दिर गुम्बा मस्जिदको कुरा गर्छन् त कतै “पंचशील जोगाइदिने बर्मा “ भन्छन् कतै विश्वयुद्धको सम्झना बल्झिन्छ -“ जब जब बध भए स्वजन , ठीक त्यसै बेला भएथ्यो रौद्र रसको उद्रेक आलम्बन बैरी आलम्बन स्वयम् भाइभाइमाथि बर्सिरहेको बम् र उद्दीपन!” यसरी यो सुन्दर कोमल काव्यमा समेत रौद्र रसको प्रयोग गर्नु कविको काव्यिक चेतन प्रवाहले ज्वार निकाल्नसक्ने ताकतको पहिचान गराउंछ । “ अधुरो छ इतिहास अधुरो छ महाकाव्य छन्द , बिम्ब र भावले मात्र कविता कविता बन्दैन कोरा कल्पना होइन कविता झूटा तथ्य र कथ्यले कविता श्रुतिमधुर बन्दैन …” - व्यंग्यद्वारा व्यक्ति समाज र राष्ट्र सचेत गराइन्छ तर कविले उक्त कविता मार्फत् नेपाली सिंगो नेपाली साहित्यमा समयानुसार गुणात्मक सिर्जना हुन बाकी रहेको ईंकित गर्दै मिठो शैलीमा तालिम दिन्छन् । पूर्वीय र पाश्चात्य दुवै साहित्यको अध्ययन बढाएका कविले पूर्वीय आध्यात्मिक दर्शनको डोरो छोडेका छैनन् , त्यही डोरो खोजिरहनेक्रममा कविताका भावपूर्ण सुन्दर रहफहरूमा हराउंछु र यहां फेरि उनै झलकमान भेटाउंछु-“ आज हाम्रो आंगनमा झलकमान आउनुभएको छ , ल्याउनुभएको छ सारंगी… जर्मनको धावामा हो कि मलेसियाको जंगलमा , फोकल्याण्डमा हो कि कार्गिलमा ? “ सांगीतिक फांटमा रमाउंदै देश विदेशमा पुगेको कलमले झलकमान मात्र होइन देशका चर्चित सबैलाई स्वादिलो ढंगले सम्झिन्छन् , गायक पवित्रा गुरुंग र धन बहादुर गुरुंगलाई समेत सम्झिन्छन् ! काव्यको अन्त्यतिर नकम गुरुंगको इतिहास साह्रै सुन्दर सहृदयकासाथ चित्रण गरेर इतिहासलाई ब्युंझाएर यो जीवनको महत्त्व दर्शाएका छन्, इमानदारीपूर्ण हिम्मत , धैर्य र साहसले भाग्य बदलिन्छ भन्ने ज्वलन्त उदाहरणका साथ दोस्रो विश्वयुद्धमा नेपालीहरूको बहादुरीको प्रशंसा पनि गरेका छन् । बलि राजाको कथालाई समेत कविले कवितामा समेटेका छन् , बलिराजाको पौराणिक प्रसंगलाई मिथक मानेर स्मरण गराउने उद्देश्यले नेपाली संस्कृतिको झल्को दिंदै गीतसंग जोड्छन् -“ निकै रमाइलो छ मिथक पर्व निकै रमाइलो छ गीतको गर्भ” यसरी पूर्वीय दर्शनको डोरी खोजिरहने यो मेरो प्रयास काव्यको अन्त्यतिर आइपुग्छ जहां कविले हाम्रा पुर्खाको नाममा पितृदेवलाई सम्झिन्छन् , रुकुमको मैकोट जान्छन् , योमाखार र पेल्माखारलाई आदिम पदचिन्ह मानेर आदिदेवता वायु र झांक्री परंपरा काली र सेती गण्डकीसंगसंगै बगिरहेको सत्य सावित गर्छन् , हो मैंले खोजेको दर्शन पनि यस्तै यस्तै हो जसले आद्य परंपरा र संस्कृति समेटोस् ।यसरी कतै सुदूर पूर्व त कतै सुदूर पश्चिम पुगेर कविको आफ्नो नायकत्व पूरा गर्छन् । मलेसिया र साउदीबाट ल्याइएका मृत काजोल खातुन र प्रेमप्रसाद आचार्यसाई झलकमानको सारंगीमा बजेको सुन्ने कविले जीवन दर्शनका साथै देशको राजनीतिक गतिविधिलाई छेड गर्दै गन्दर्भको सन्दर्भ सुन्दर पार्छन् , यही हो कविको दार्शनिक चिन्तन , गहिरो भावमा डुबेको चेतन प्रवाहको ताकत । रिग्वेदको रिचालाई जस्ताको तस्तै राखेर कविले कवि र कविताको महत्त्व र कवि दर्शन बुझाउन चाहन्छन् -“ कवि: कवित्वा दिवि , रूपमासजदप्रभती वरूणो निरप: सृजत् “ यही हो कविको उत्तर आधुनिकतावादको उचाइ र सफलता , यही हो पूर्वीय र पाश्चात्य दर्शनको मिलन , कतै केही बाकी नराखेर गीतैगीतमा संगीतैसंगीतमा आफ्नो उच्चतम अध्ययनलाई तरल र सरल ढंगले कविता बुन्नु लालगोपालको निजत्व राम्ररी हेर्न सकिन्छ , बुझ्न सकिन्छ र लालगोपाललाई चिन्न सकिन्छ । “ गीतैगीतको देश मेरो म त योग गर्छु ध्यान गर्छु किसानले ध्यान दिएर धान मकै र कोदो गोडे जस्तै म ध्यान गर्छु, आंखा चिम्लनु भनेको निदाउनु होइन प्रत्येक सेकेण्ड हेर्नु हो मनलाई घण्ट बजाउनु जस्तै माने गुमाउनु जस्तै आफूले आफ्नै ऐना हेर्नु पनि अप्प दीपो भव मलाई नेपालकै बत्ती हुन मन छ सा रे ग म प ध नि सा सा नि ध प म ग रे सा “ - यसरी कविले काव्यको अन्तिम हरफ पनि बौद्ध दर्शनबाटै बीट मार्छन् , देशभक्ति र राष्ट्रवादको चरम उत्कर्षमा काव्यलाई पुर्याउंछन् , यो नै काव्यगुण हो , सुखान्त काव्यको पहिचान दिंदै अन्यत्रको दीयोभन्दा आफ्नै देशको दीयोमा विश्वास गर्छन् र व्यंजनामा आफूभित्रको ज्ञानदीपको प्रसंशा गर्छन् , सबैलाई आ-आफ्नो भित्री चक्षु उघारेर आफ्नो दीय हेर्न अनुरोध पनि गर्छन् । यतिमा सन्तोष नलिएर कविता लेख्ने अभ्यास गर्नुपर्छ भन्ने अर्थमा खाली हरफ छोडेर शीर्षक……. राखेर आफ्नो यो नवीन प्रयोगवादी काव्य जस्तै , स्वच्छन्दतावादी कवि बन्न आग्रह गर्छन् जुन अहिलेसम्म कसैले यसरी कविताद्वारा आग्रह गरेको र प्रशिक्षण गरेको भेटिन्न , भेटिन्छ त केवल प्रशिक्षण कार्यक्रम नै बनाएर गरेको भेटिन्छ । अन्तत: लालगोपाल को हो ? र उसले यस्तो कृतिको सिर्जना किन गर्यो ? पाश्चात्य साहित्यको गहिरो अध्ययन गरेका डा अभि सुवेदी र पूर्वीय तथा पाश्चात्य साहित्यका व्याख्याता प्रा डा गोविन्दराज भट्टराईले यस कृतिको विषयमा महत्त्वपूर्ण सूत्रवत् भनेका छन्-“ …… यो कृति अहिलेको नेपाली काव्यलेखनमा एउटा आवश्यक र प्रभावकारी प्रयोग हो “ - अभि सुवेदी “…यो एउटा लामो संगीत प्रस्तुति जस्तो अपूर्व लय र तानको काव्यवाचन कला हो “- गोविन्दराज भट्टराई । त्यसैगरी विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय पत्रपत्रिकाहरूमा प्रकाशित समीक्षाहरूमा समीक्षकहरूले निकालेको निचोड र स्वयं कविको हृदयले बोलेका कुराहरूलाई केलाउंदा यौटा जीवनका लागि मुटुको जति महत्त्व हुन्छ नेपाली साहित्य तथा नेपाली समाजलाई जीवन्त राख्न यस कृतिले ठूलो पाठ सिकाएको छ , वेदका रिचा जस्ता उद्गारहरू र स्मृतिका निचोडहरूले नयां पुराना सबैलाई आफ्नो देश तथा माटोप्रति सचेत गराएको छ , अझ महत्त्वपूर्ण कुरा त व्यक्ति स्वयं ईश्वरीय शक्तिको पुंज हो जसलाई हामीले सदुपयोग गर्न नसकेको यथार्य ज्ञानको बोध गराइएको छ , त्यसैले कत्ति नबढाइकन , रत्ति न तन्काइकन भन्ने हो भने यो कृति पृथ्वीको गर्भबाट बडो मिहिनेतपूर्वक जम्मा गरिएका चमकदार मणिहरूको संग्रह हो , पारिजात तुलसी पीपल विल्ववृक्ष जस्ता थुप्रै जीवनदान दिने कल्पवृक्षहरूको बगैंचा हो यो । यसर्थमा कवि लालगोपाललाई विशेष धन्यवाद दिनैपर्छ जसले आफ्नो जीवनको महत्त्वपूर्ण समय र आफ्नो मन मस्तिष्कलाई पूर्ण सचेत गराएर नेपाली साहित्यको फांटमा मूल्यवान कल्पवृक्ष सारेर हुर्काउनुभयो , यस्तो बहुगुणी वृक्ष चिन्नेलाई सुनको चस्मा नचिन्नेलाई फुटेको कर्म । अब बांकी रह्यो लालगोपालको कुरा , गीत कविता या कुनै सिर्जना गर्नेहरूको आ-आफ्नै निजत्व हुन्छ , शैली र कला फरक फरक हुन्छ , जीवन बाच्ने र कुराहरू सांच्ने पनि फरक फरक तरिकाहरू हुन्छन् , त्यस्तै फरक बिन्दुका पूर्णेन्दु हुन् लालगोपाल , अर्को शब्दमा भन्नुपर्दा जसरी चन्द्रमाले आफ्नो सोह्र कला मध्ये पूर्णिमाको कलाले तीनै लोकमा अमृतवर्षा गर्दछ, यदि यो कथन सत्य होइनभने यस कान्छो कृतिलाई आफ्नो चेतनप्रवाहकै दृष्टिबाट दोहोर्याएर हेरौं , जसरी मैंले तेहेर्याएर हेरेपछि मात्र मलाई केही लेख्ने जांगर चल्यो , ‘नपत्याउने खोललाले बगाउंछ’ भन्छन् तर यस नूतन खोलीले बगाउने होइन गंगाले जस्तै शुद्ध बनाउंछ भन्ने निर्णय निकाल्छु म , गंगा हो यो , गंगाले बगाएर मार्दैन बरू तार्छ , अशुद्ध भावना पखालेर उतार्छ ! पुन: धन्यवाद र साधुवाद कवि लालगोपाल जीलाई । - आचार्य पं.हरिप्रसाद काफ्ले”शैव”  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्