IMG-LOGO

वेद र आधुनिक विज्ञानः ब्रह्माण्डको रहस्य वेदका सूक्तको दृष्टिमा

 सोम, असार ३०, २०८२  – माधव रेग्मी

     प्राचीन ज्ञान परम्पराका आधारस्तम्भ मानिने वेदहरू केवल धार्मिक ग्रन्थ मात्र नभएर गहन दार्शनिक तथा वैज्ञानिक चिन्तनका स्रोत पनि हुन् । विशेषगरी, ऋग्वेदको दशौं मण्डलको १२९ औं सूक्त, जसलाई नासदीय सूक्त भनिन्छ, ब्रह्माण्डको उत्पत्ति, यसको आदिम अवस्था र सृष्टिको रहस्यबारे अद्भुत काव्यात्मक तथा दार्शनिक विवेचना प्रस्तुत गर्दछ । यो सूक्त आधुनिक ब्रह्माण्ड विज्ञानका केही जटिल अवधारणाहरूसँग अनौठो समानता राख्छ, जसले प्राचीन ऋषिहरूको दूरदृष्टि र गहिरो अन्तर्दृष्टि प्रमाणित गर्छ। यसले ब्रह्माण्डको उत्पत्ति सम्बन्धी आधुनिक विज्ञानको दृष्टिकोणसँग अचम्म समानता राख्दछ । आजभन्दा ५ हजार वर्ष अगाडि हाम्रा ऋषिमुनिहरूको श्रुति र स्मृतिमा समेटिएका यस्ता तथ्यहरु अहिलेको आधुनिक वैज्ञानिकहरुले तिनै ग्रन्थहरुबाट साभार गरेका हुन् भनेर भन्दा अत्युक्ति नहोला ।      नासदीय सूक्तमा सृष्टिको अनिश्चितता र आदिम अवस्थाको बारेमा सटीक वर्णन गरेको छ । नासदीय सूक्तको प्रारम्भ नै ब्रह्माण्डको सृष्टिपूर्वको अवस्थाको वर्णनबाट हुन्छ । यसले भन्छ कि त्यस समयमा न सत् थियो न असत्, न अन्तरिक्ष थियो न आकाश, न मृत्यु थियो न अमरता । सबै कुरा गहन अन्धकारमा लुप्त थियो, जहाँ केवल ’तत् एकम्’ अर्थात् ’त्यो एक’ मात्र थियो, जुन आफ्नै शक्तिले श्वास लिइरहेको थियो । “नासदासीन्नो सदासीत्तदानीं नासीद्रजो नो व्योमा परो यत् । किमावरीवः कुह कस्य शर्मन्नम्भः किमासीद्गहनं गभीरम् ।” (ऋग्वेद १०.१२९.१)      यसको अर्थ हो, “त्यसबेला न त सत् थियो न असत् न अन्तरिक्ष थियो न त्यसभन्दा माथिको आकाश । के थियो जसले सबैलाई ढाकेको थियो ? कहाँ थियो ? कसको आश्रयमा थियो ? के गहिरो, अथाहा जल थियो ?”      यो वर्णन आधुनिक ब्रह्माण्ड विज्ञानको ’बिग ब्याङ्ग (द्यष्न द्यबलन)’ सिद्धान्त भन्दा अघिको अवस्थालाई संकेत गर्दछ, जहाँ समय, स्थान र पदार्थको कुनै अस्तित्व थिएन । वैज्ञानिकहरूले ब्रह्माण्डको सुरुवात ’सिङ्गुलारिटी (क्ष्लनगबिचष्तथ)’ बाट भएको मान्छन्, जुन घनत्व र तापक्रमको चरम बिन्दु थियो । नासदीय सूक्तले यस आदिम, अज्ञेय अवस्थालाई ‘अन्धकारमा लुप्त’ र ’अज्ञात’ भनी चित्रण गर्छ, जुन आधुनिक विज्ञानको ’पूर्व–बिग ब्याङ्ग’ अवधारणासँग मेल खान्छ ।      ऊर्जा र पदार्थको उत्पत्तिको बारेमा पनि नासदिय सुक्तमा वर्णन पाइन्छ । सूक्तले भन्छ कि त्यस ’एक’ बाट ’तपस’ (तीव्र ऊर्जा वा चेतना) मार्फत संकल्पको उत्पत्ति भयो, जसबाट सृष्टिको प्रारम्भ भयो । “तम आसीत्तमसा गूकक्हमग्रेऽप्रकेतं सलिलं सर्वमा इदम् । तुच्छ्येनाभ्वपिहितं यदासीत्तपसस्तन्महिनाजायतैकम ।” (ऋग्वेद १०.१२९.३)      अर्थात् “प्रारम्भमा सबै कुरा अन्धकारले ढाकिएको थियो, जलमय र अस्पष्ट थियो । त्यस शून्यबाट, गहन तपस्याको महिमाले, त्यो एक उत्पन्न भयो ।”      यो श्लोकले ऊर्जा (तपस) बाट पदार्थको उत्पत्ति भएको संकेत गर्छ । आधुनिक भौतिक विज्ञानको आइन्स्टाइनको ऊर्जा–द्रव्यमान समतुल्यता सिद्धान्त (भ्.mअद्द) ले ऊर्जालाई पदार्थमा र पदार्थलाई ऊर्जामा रूपान्तरण गर्न सकिने कुरा बताउँछ । बिग ब्याङ्ग पछि, अत्यन्तै तातो ऊर्जाबाट क्वार्क र इलेक्ट्रोन जस्ता कणहरू बने, जुन पछि प्रोटोन र न्यूट्रोनमा परिणत भए । नासदीय सूक्तको ’तपस’ बाट ’एक’ को उत्पत्तिले ऊर्जाबाट पदार्थको प्रारम्भिक निर्माण प्रक्रियालाई दार्शनिक रूपमा प्रस्तुत गरेको देखिन्छ । अब भनौं १८ औं १९औं शताब्दीमा जन्मिएका हाम्रा आधुनिक भनिएका वैज्ञानिकहरुले प्रतिपादन गरेका सिद्धान्तहरू र सनातन धर्मको ज्ञानको भण्डारमा रहेका विषयको बीचमा के फरक रहेछ त ! ?      सूक्तको सबैभन्दा विशिष्ट पक्ष भनेको सृष्टिकर्ताको परिचय र ब्रह्माण्डको अन्तिम रहस्यबारेको गहिरो विनम्रता र अज्ञानताको स्वीकारोक्ति हो । “को अद्धा वेद क इह प्र वोचत् कुत आ जाता कुत इयं विसृष्टिः । अर्वाग्देवा अस्य विसर्जनेनाथा को वेद यत आबभूव ।।” (ऋग्वेद १०.१२९.६)      अर्थात्, “कसलाई साँच्चै थाहा छ ? कसले यहाँ यसको व्याख्या गर्न सक्छ ? यो सृष्टि कहाँबाट आयो, कहाँबाट आयो यो विस्तार? देवताहरू पनि यस सृष्टिको पछि आए। तब कसलाई थाहा छ यो कहाँबाट उत्पन्न भयो ?”      यस्ले ब्रह्माण्डको वास्तविक उत्पत्तिको बारेमा पूर्ण ज्ञान कसैलाई नभएको कुरा स्पष्ट पार्छ, यहाँसम्म कि देवताहरूलाई पनि यसको पूर्ण जानकारी छैन । यो आधुनिक विज्ञानको ’अज्ञानताको स्वीकारोक्ति’ सँग मेल खान्छ । वैज्ञानिकहरूले ब्रह्माण्डका धेरै रहस्यहरू अझै पत्ता लगाउन बाँकी रहेको स्वीकार गर्छन्, विशेषगरी बिग ब्याङ्ग भन्दा अघिको अवस्था र ’डार्क म्याटर’ तथा ’डार्क इनर्जी’ जस्ता अदृश्य अवयवहरूको प्रकृतिबारे। नासदीय सूक्तले विज्ञानको ’केही कुराहरू अझै बुझ्न बाँकी छन्’ भन्ने विनम्रतालाई हजारौं वर्षअघि नै आत्मसात् गरेको देखिन्छ । अब भनौ हाम्रा प्राचीन ज्ञान विज्ञानका भण्डार वेद र पुराणहरू महान रहेनछन् त ! ?      वेदले ब्रह्माण्डको उत्पत्ति र यसको आदिम अवस्थाबारे जुन दार्शनिक गहिराइका साथ विवेचना गरेको छ, त्यो आजको आधुनिक ब्रह्माण्ड विज्ञानका सिद्धान्तहरूसँग आश्चर्यजनक रूपमा मेल खान्छ । यसले प्राचीन ऋषिहरूको वैज्ञानिक दृष्टिकोण र गहन अन्तर्दृष्टिलाई प्रमाणित गर्छ, जसले अवलोकन, तर्क र चिन्तनका माध्यमबाट ब्रह्माण्डका जटिल प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरेका थिए । हाम्रा प्राचीन ग्रन्थहरू जस्तै वेद केवल एक काव्यिक रचना मात्र नभएर ज्ञानको एक शाश्वत स्रोत हो, जसले हामीलाई आधुनिक विज्ञानले अनुसन्धान गरेका क्षेत्र, सिर्जित परिणाम र यसका रहस्यहरूप्रति सधैं जिज्ञासा राख्न प्रेरित गर्दछ । सबैको जयहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्