IMG-LOGO

पृथ्वीनारायण शाहको पालामा भारतसँगको सम्बन्ध

 सोम, असार ३०, २०८२  आर. एल. श्रमजीवी, प्रधान सम्पादक नेपाल–भारत सम्बन्ध – १६

–       सन् १६०० को डिसेम्बरमा अङ्ग्रेजहरु भारत छिरेका थिए । बेलायतकी महारानी एलिजेथ प्रथमको निर्देशनमा भारत पसेका अङ्ग्रेजले सुरथमा इष्ट ईन्डिया कम्पनी खडा गरेका थिए । तिनीहरु सियो बनेर पसे फाली बनेर निस्किए सन् १८५८ मा पुग्दा अङ्ग्रेजले भारतलाई कब्जा गरेका थिए । शुरूवातमा कपासको खोजीमा  इष्ट ईन्डिया कम्पनी मार्फत भारत  पसेका तिनै अङ्ग्रेजलाई पृथ्वीनारायण शाहले फिरङ्गी नाम दिएका थिए । पछि जङ्गबहादुर सम्मले फिरङ्गी नै भने । फिरङ्गीको अर्थ हुन्छ अङ्ग्रेज अथवा विदेशी । फिरङ्गीलाई  घुमन्ते भनेर पनि बुझिन्छ । तिनै घुमन्ते अङ्ग्रेजले संसार कब्जा गरेर आफ्नो देशलाई कहिल्यै पनि सूर्यअस्त नहुने देश बनाए ।      जब पृथ्वीनारायण शाहले नेपाल राज्य एकीकरण गर्दै थिए भारतमा अङ्ग्रेजहरुले पनि भारत कब्जाको क्रममा थिए यो कुरा बुझेका पृथ्वीनारायण शाहले आफ्नो दिब्य उपदेशमा भनेका छ्न नेपाल दुई ढुङ्गाको तरुल जस्तै हो उनको यो कथनले स्पष्ट हुन्छ कि उनी तिब्बत र अङ्ग्रेजसँग सन्तुलनमा नेपाललाई राख्न चाहन्थे ।      नेपालमा पृथ्वीनारायण शाहले उच्चकोटीको वैदेशिक नीतिको दृष्टान्त दिएका थिए । पृथ्वीनारायण शाहले भनेजस्तै हामीले नेपाललाई दुई ढुङ्गाबीचको तरुलका रूपमा पाउँछौं । ठूला देशको बीचमा रहेको एउटा सानो देश नेपालले विगतदेखि हालसम्म असंलग्न राष्ट्रको रूपमा आफूलाई उभ्याउँदै आइरहेको छ । असंलग्न परराष्ट्र नीतिको सुरुवात पृथ्वीनारायण शाहको पालादेखि नै भएको हो भन्न कुनै संकोच छैन । सुरुमा पृथ्वीनारायण शाहले इसाईहरूलाई देश निकाला गर्ने नीति लिएका थिएनन् तर, जब पादरीहरूले गोरखा राज्यविरुद्ध अङ्ग्रेजहरूलाई गुप्त सूचना  प्रदान गरी गोरखा राज्यविरुद्ध जासुसी गरे । त्यसपछि उनले पादरीहरूलाई  देशनिकाला गर्ने नीति लिएका थिए ।      पृथ्वीनारायण शाहले एकैपटक एकभन्दा बढी ठाउँमा युद्ध सुरु गर्नु हुँदैन भन्ने नीति लिएका थिए । पृथ्वीनारायण शाहले दक्षिणको छिमेकी (अङ्ग्रेज) महाचतुर छ, त्योदेखि टाढै रहन सल्लाह दिएका थिए । दक्षिणको छिमेकीले नेपाललाई जहिले पनि आक्रमण गर्न सक्ने सम्भावना उनले औंल्याएका थिए ।      पृथ्वीनारायणले पूर्वतर्फको सीमा विस्तार गर्दा पश्चिमतर्फका राजाहरूसँग राम्रो सम्बन्ध बनाएका थिए । त्यसकारण पूर्वको एकीकरणको क्रममा पश्चिमका राज्यहरूबाट उनलाई ठूलो खतरा भएन । उनले मल्लकालमा बिग्रिएको नेपाल–तिब्बत व्यापारिक सम्बन्ध आफ्नो समयमा पूर्ववत बनाउने प्रयत्न गरे । छिमेकीसँग गहिरो सम्बन्ध राख्न र सहयोग आदान–प्रदान गर्न पनि उनले सल्लाह दिएका थिए । पृथ्वीनारायणको मत देशको अन्तर्राष्ट्रिय सम्बन्धमा व्यापार सम्बन्ध पनि जोडिन आउँछ भन्ने थियो । व्यापार घाटालाई कम गर्न स्वदेशमा उत्पादित सामानहरू विदेशमा बेचेर  पैसा लिन र अनावश्यक सामान आयात गर्नु हुँदैन भन्ने उनको विचार थियो । उनी आफ्नो राज्यलाई आर्थिक रूपमा बलियो पार्न भारत र तिब्बतबीचको व्यापारिक मार्गमा पर्ने काठमाडांै उपत्यका र नुवाकोट कब्जा गरेर त्यो व्यापार आफ्नो हातमा पार्न चाहन्थे ।      पृथ्वीनारायणले विदेशबाट सीप सिक्न, तालिम लिन, कालीगढ झिकाई कपडा बुन्न र देशलाई आर्थिक फाइदा हुने काममा पछि पर्नु हुँदैन भनेका थिए । देशका भारदारहरू विदेशी रङ्गरमितामा भुल्नु हुँदैन भन्ने उनको सोचाइ थियो । पृथ्वीनारायण शाहले आफ्नो राज्यको प्रभाव बढाउनका लागि बलिया राज्यसँग वैवाहिक सम्बन्ध गाँसेका थिए । तत्कालीन चौबीसे राज्यहरूमध्ये बलियो मकवानपुर राज्यसँग आफ्नो पहिलो तथा वनारसका राजपुत अभिमानसिंहकी छोरी नरेन्द्रलक्ष्मीसँग दोस्रो र आफ्ना भाइहरूको विवाह अभिमानसिंहका दाजु र भाइका छोरीहरूसँग गराएर अरू देशहरूसँगको सम्बन्ध बलियो बनाए । उनले भक्तपुरका राजकुमार वीरनर सिंहसँग मित लगाएर भक्तपुरमा बसी उपत्यकाका राज्यहरूको वस्तुस्थितिको गहिरो अध्ययन गरेका थिए । त्यसैगरी सल्यानी राजकुमार रणभीम शाहसँग आफ्नी छोरी विलासकुमारीको विवाह गराई सल्यानसँगको सम्बन्ध मजबुत तुल्याएका थिए । तत्कालीन लमजुङ, गोर्खा र कान्तिपुर (नेपाल) को शक्तिलाई उनले ‘लमजुङ भनेको गरुड हो, गोर्खा भनेको सर्प हो र नेपाल भनेको भ्यागुतो हो, तसर्थ गरुडको आँखा छलेमात्र सर्पले भ्यागुतो खान पाउँछ’ भनेर रोचक ढङ्गले वर्णन गरेका थिए । यस प्रकार बलियो लमजुङसँग बचेर उपत्यका आक्रमण गर्न उनले लमजुङसँग सन्धि गरेका थिए ।      नुवाकोटको पहिलो युद्धमा नराम्रो हारपछि उनलाई आफ्नो राज्यको वास्तविक तागत थाहा भयो । त्यो युद्धमा हारको मुख्य कारण कमजोर हतियार र युद्धकला तालिम नभएका सैनिक हुन् भन्ने बुझेका पृथ्वीनारायण तीर्थ गर्ने निहुँमा काँशी गए । त्यहाँ उनले पर्वत राज्यका सरदार बलिभञ्जन र जाजरकोटे राजा हरि शाहसँग मैत्रीसन्धि गरे । गोर्खा राज्यको पश्चिममा रहेका केही राज्य पृथ्वीनारायण शाहकै भाइखलक शाहहरूका अधीनमा थिए । ती राज्यमा विजय गर्न शाहहरूसँगै युद्ध गर्नुपर्ने र उनीहरूलाई मार्दा बन्धु हत्याको धार्मिक दोष लाग्ने सोचेर काँशीमा उनले आफ्नो गोत्र परिवर्तन गरी काश्यप गोत्र धारण गरे । उनले अङ्ग्रेजहरूको राज्य विस्तारको तरिका समेत अध्ययन गरे । यस यात्राका क्रममा उनले केही हतियार खरिद गर्नुका साथै गोर्खाली सेनाका हतियार मर्मत गर्न केही मुसलमान कालीगढहरूलाई आफ्नो साथमा लिएर आए ।      पृथ्वीनारायण शाहको विदेश नीति सफल रहेको थियो । समय–समयमा गोर्खा राज्यको एकीकरण अभियानमा तगारो हाल्ने तनहुँका राजा त्रिविक्रम सेनलाई संवादका लागि बिना हातहतियार ज्यामिरघाटमा बोलाएर त्यहीँ पक्रिई बन्दी बनाएर केही समयपछि छोडिदिएका थिए । आफूले आक्रमण गर्ने राज्यबाहेक अन्यसँग मैत्रीभाव राख्ने उनको नीति थियो । एकीकरण अभियान पृथ्वीनारायण शाहको सैनिक क्षमताले मात्र नभई राजनैतिक तथा कूटनैतिक सुझ्बुझ्का कारण सम्भव भएको थियो । छिमेकी राज्यहरूमाथि आक्रमण गर्नुभन्दा पहिले त्यहाँका असन्तुष्ट भाइभारदार र जनताको साथ लिने, राज्य विजयपश्चात् त्यहाँका सक्षम व्यक्तिहरूलाई आफ्नो राज्यमा जिम्मेवारी दिने जस्ता कूटनीतिक चतु¥याइँले मात्र कमजोर गोर्खा राज्य छोटो समयमा हिमालय क्षेत्रमा अङ्ग्रेजलाई चुनौती दिनसक्ने बलियो राज्यका रूपमा उदायो ।      एकातिर लडाइँ हुँदा अर्कोतिर सम्बन्ध सुधार गर्ने र दुईतर्फी युद्धबाट बच्ने उनको नीतिले गोर्खा राज्यले एकीकरणमा निराश हुनु पर्ने अवस्था आएन । पृथ्वीनारायण शाहले इतिहासको कुनै खण्डमा नेपाल अङ्ग्रेज युद्ध अवश्यम्भावी देखेका हुनाले गढी र गौंडालाई बलियो पारेर वैरी छिर्न नसक्ने तुल्याउँनु पर्छ भनेका थिए । नेपालमा विदेशी निकायहरू राखेमा नेपालको भेद विदेशीले थाहा पाउँछन् भनेर उनले काठमाडौं उपत्यकाको विजय पश्चात्् विशेषतः युरोपियनहरूलाई नेपालमा पस्न नदिने नीति अपनाएका थिए । उनले दक्षिण समुद्रको छिमेकी (अङ्ग्रेज) सँग जाइकटक नगर्नू, झिकीकटक गर्नू’ भन्ने सल्लाह दिएका थिए । आफ्ना प्रजालाई मिलाएर राखे देशको रक्षा प्रजाले नै गर्छन् । अरूका हतियार त के स्वर्गका इन्द्रै आए पनि प्रजाले सहयोग गर्ने राज्यलाई जित्न सक्दैनन् भन्ने उनको मान्यता थियो । प्रजा बलियो भए देश बलियो हुन्छ’ भन्ने उनको सोचाइ मनन्योग्य छ । आफ्नो देशको भेद कुनै विदेशीसित खोल्न हुँदैन र अनावश्यक रूपमा विदेशीको सङ्गत पनि गर्नु हुँदैन भन्ने उनको भनाइ नेपालजस्तो भूराजनीति भएको देशका लागि झनै महत्व छ ।      पृथ्वीनारायण शाहले पूर्व–पश्चिमको बाटो बन्द गरी नेपालबाट भोटको व्यापार गर्न चाहन्थे । उनले नेपालको व्यापार तिब्बतमा निर्वाध ढङ्गले चलाउनका लागि व्यापार सन्धि गर्न चाहन्थे भन्ने कुरा वि। सं। १८१२ मा उनले लेखेका पत्रहरूले प्रष्ट पार्दछन् तर, मल्लकालमा चलाइएको तामा मिश्रित चाँदीका सिक्काका कारण तिब्बतले व्यापार सन्धिमा कुनै पनि चासो दिइएन । तिब्बतमा व्यापार विस्तार गर्न चाहने उनको भारतीय महाजनहरूलाई नेपालमा व्यापार गर्न आउन दिनु हुँदैन, उनीहरूलाई आउन दिएमा दुनियाँ कङ्गाल पारी छाड्नेछन् भन्ने धारणा थियो । आफ्नो जीवनको अधिकांश समय युद्धमा बिताए तापनि पृथ्वीनारायण शाहमा स्वदेश तथा विदेशी राजनीतिको उत्तम ज्ञान थियो । उनको शासनकाल नेपालका लागि विगत बनिसकेको भए तापनि उनले लिएका नीति देशको सुदूर भविष्यसम्म मार्गदर्शक तथ्यमा हेरिनु पर्छ । सन्दर्भ श्रोत ः १० नेपाली र हिन्दी विकिपिडिया २. प्रा डा श्रीरामप्रसाद उपाध्याय न्यौपानेको पुस्तक नेपाल –भारत चीन सम्बन्ध ३. चीत्तरन्जन नेपालीको पुस्तक जनरल भिमसेन थापा र तत्कालीन नेपाल ३. डोलराज भण्डारी ब्लास्ट खबर २७ पुस २०७७    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्