IMG-LOGO

मच्छे अजी अर्थात् मच्छे माया जंगम

 सोम, असार ३०, २०८२  – प्रा.डा. सुमनराज ताम्राकार

     गत हप्ता हरिशयनी एकादशी अर्थात् तुलसी रोप्ने दिन । निकै राम्रो दिन, धार्मिक हिसाबले निकै पवित्रको दिन, हामीमाझ निकै परिचित मच्छे अजीले यस धर्तीबाट बिदा लिएर जानु भयो । अब देखि पनौती जात्रा, मेलापर्व, दशंंै, थाम्पाम भैरवकहाँ बुसाँरा पूजाका बेला ईन्द्रेश्वर मन्दिरको पूर्वी ढोकाबाट झर्ने बित्तिकै हँसिलो मुहारबाट आतिथ्यता दिनुहुन अजीको अभाव महशुश हुने भयो, सदाको लागि ।      मच्छे माया जंगमलाई पनौतीको दूरदराजसम्म मच्छे अजीको उपनामले चिनिन्थ्यो । हो, मच्छे माया जंगमले आफ्नो जीवनकालको आधा दशकभन्दा लामो समय सुत्केरी महिलालाई सेवा पु¥याउनु भयो । उहाँको यही योगदानलाई चीरकालसम्म ताजा बनाई राख्नको लागि करिब १५ वर्ष अगाडि, २०६७ सालको दशैंको नवमीको दिन उहाँसँग लामै भलाकुसारी गरेको थिएँ । पेशागत रुपमा म पनि स्त्री तथा प्रसुती रोग सम्बन्धी नै भएकोले मेरो लागि उहाँ एक आदर्श पात्र पनि हुनुहुन्थ्यो । भलाकुसारीको क्रममा उहाँ कतिपय बेला जङ्गिनुभयो, भावुक बन्नुभयो भने कतिपटक आफ्नो सफलतम कार्यका सन्तुष्टीले रौसिनुभयो । र, विगतका, ५० वर्ष अवधिमा उहाँले गर्नुभएको सुँडेनी सेवाका अन्तरकुन्तर खोतल्न पाइयो त्यो बेला ।      पिता कृष्ण बहादर र माता राममायाकी छोरीको रुपमा मच्छे माया जंगमको जन्म २००३ साल वैशाख महिना पनौतीमै भएको थियो । उहाँका तीनजना दाजु तथा पाँच जना दिदीहरु मध्ये उहाँ कान्छी हुनुहुन्थ्यो । कान्छी श्रीमतीकै हैसियतमा रणबहादुरसँग विवाह गरेपछि दुई छोरा र दुई छोरी पाईन् उहाँले ।      आफ्नो सुँडेनी सेवाका शुरुवाती दिनहरु सम्झिँदै भन्नुभएको थियो ‘मेरो आमाले यस्तो काम (सुत्केरीमा सघाउने) गर्नुहुन्थ्यो । र, मैले पनि आपूm १६ वर्ष लागेदेखि सँुडेनी कार्य गर्न थालेको हुँ । पहिलो डेलिभरीमा सघाएको अझै याद छ मलाई, त्यो केस शम्भुचरण श्रेष्ठको दाईको बुहारीको हो, जुन राम्रो पनि भयो । त्यो बेला पाठेघर के, बच्चा के भन्ने नै थाहा थिएन नि । बच्चा पाएपछि पनि सुत्केरी महिलाको पेटमा डल्लो भेटिएपछि शम्भुचरणको आमालाई अर्काे पनि बच्चा छ कि भनेर सोधें । तर यो त खुम्चेको पाठेघर हो भन्नुभयो । यसरी शुरुका दिनमा उमेरले बुढीसासुपर्नेहरुबाट सिक्दै गएँ । यसैगरी मैले सघाएको दोश्रो केस धर्म स्याउलाको आफन्तको हो । त्यो बेला हातमा लाउने पञ्जा थिएन । सुत्केरी व्यथाका बेलाको रगत फाल्नको लागि खाली हातले सोहरेर कोपरामा राख्नुपर्दथ्यो । मलाई त घिन लागेर एक महिनासम्म थला नै परें । पछि बिस्तारै तल्लो पेटलाई मिलाएर राखिदिनुपर्दछ भन्ने जानें । यसरी पाठेघर ठाउँमा राखिदियो भने पेट दुख्न कम हुन्छ र आराम पनि हुन्छ । उल्टो पाल्टो बच्चा, तेर्सो बच्चालाई तलबाटै जन्माउने तरिका अनुभवले सिक्दै गएँ ।’      आफ्नो पहिलो तालीमबारे उहाँ भन्नुहुन्छ ‘२०४२ साल तिर पनौती रेडक्रसमा डा. रत्न किशोर रोकाले दिनुभएको हो । उक्त तालीममा जुम्लाका १८ जना सहित पनौतीको म र गंगा पुतुवार गरी थप दुईजनालाई सुँडेनी तालीम दिइने भयो । पहिलो दिन गएँ पनि तर निरक्षर भएकोले लाज लाग्यो । अक्षर पढ्न जान्दिनँ मोहन (ताम्राकार) दाई, म त तालीममा आउँदिन भनें । तर पछि अनुभव र काम गर्ने तरिकामा प्रसूति गृहका सरस्वती पाध्ये डाक्टरले नि भ्याउँदैन भनेर फुक्र्याए मलाई रोका डाक्टरले । रोका डाक्टरकी श्रीमती राधिका मिसले पनि बरु पनौतीका हामी दुईजनालाई मात्र भिन्नै राखी पढाउँला भन्नुभो र जान थालें सुँडेनी तालीममा ।’ मच्छे अजी थप्नुभयो ‘त्यो तालीमपछि करीब एक वर्ष जति रेडक्रसमा स्वयंसेवीको रुपमा काम गरें । त्यसैबेला प्रौढ साक्षरता कक्षाबाट अक्षर चिन्न पनि सिकें । त्यसपछि हप्तामा एक दिन, दुई दिन बिहान काम गर्न थालें । यस वापत एकदिनको २० रुपैयाँ पारिश्रमिक पनि पाएँ ।’ मच्छे माया जंगमको कोठामा पूर्व अधिराजकुमारी हेलेन शाहको हस्ताक्षरयुक्त सुँडेनी तालीमको प्रमाणपत्र र अनौपचारिक शिक्षा केन्द्रबाट दिइएको साक्षरताको प्रमाणपत्र अभैm छ ।      ‘त्यही तालीम पश्चात् नै मेरो घरको छिँडीको भित्री कोठालाई व्यवस्थित गरि सुत्केरी गराउन थालें । त्यो बेलादेखि लिखित रेकर्ड पनि राख्न थालें । एकाध पटक मात्र होला मैले सुत्केरी सम्बन्धीको केस उहाँले नसकेर अस्पतालमा रेफर गर्नुपरेको । नत्र त प्रायः अन्यले नसकेको केस पनि मैले सफलतापूर्वक सम्हाल्थें । कुनै समय मेरो घर छिँडीमा रहेको दुईवटा बेडमा नअटाउने भएर माथी चोटामा पनि लगेर राखें ।’ भावुक हँुदै उहाँ थप्नुहुन्छ ‘तर मेरी जीवनमा एकै पटक मात्र नराम्रो घटना भयो । डेलिभरी गराएर सकुशल पठाएको सुत्केरी महिलाको अधिक रक्तश्रावको कारण निधन भयो ।’ भलाकुसारीकै क्रममा सबै रेकर्डको पोका निकालेर देखाउनु भयो । पाँच सय भन्दा बढीको रेकर्ड रहेछ । तर उहाँले पुगनपुग २००० शिशुहरुलाई उज्यालो संसार देखाइ दिनु भयो होला र ती मध्ये कोही कोही त डिग्री क्याम्पससम्म पढ्ने पनि भए । मानिसको सुत्केरी गराएर मात्र उहाँलाई पार लाग्यो र ? गाईवस्तुको पनि सुत्केरी गराउँदै हिँड्नुप¥यो ।      ‘भैेंसीको, बाख्रीको के को मात्र डेलिभरी गराइनँ मैले ?’ मच्छे अजी जङ्गिएर थप्नुभएको थियो ‘३०–३२ साल तिरको घटना हो । जेलाँपाटीका चक्रमान पुतुवारको भैंसीले पाडो पाएपछि साल अड्केको रहेछ । कसलाई भनुँ, कसको सहयोग लिउँ भन्दै म कहाँ आईपुग्नु भयो । मान्छे त के हो, के हो त्यो त पशु हो भनें । मेरो त हात भाँचिन्छ नि भनें । तर भैेंसी सोझो छ भन्नुभो । भैंसीलाई अलिकति तातो कुँडो ख्वाएँ । हेल्थपोष्टबाट ल्याएको पन्जा थियो । कुईनासम्म पन्जा लगाएँ । मुखमा खास्टो बेरें । घुँडा टेकेर नाभीलाई पछ्याउँदै गएर अलि अलि गर्दै बाहिर निकाल्न थालें । पूरै निकाल्दा त ३ धार्नी जति भयो होला । यसरी भैंसी बाँच्यो । मलाई ज्याला वापत दुईटा कुखुरा दिनुभयो ।’      ‘पछि एकपटक लक्ष्मी नारायणको कर्माचार्य पालेको बाख्री ब्याउन नसक्दा पनि गएँ । बच्चा मरेपनि आमा बचाउने कोशिश गर्छु भनें । पाठोको घाँटी बटारेकोले बाहिर आउन नसकेको रहेछ । मैले हात छिराई अनि यसक्क मिलाईदिएपछि त सालनाल सहित सबै एकै पोको भएर आयो । पछि झिल्ली यसो छुट्याइदिएको त पाठो पनि जिउँदै रहेछ । त्यसैगरी मानेश्वरीमा सहदेवको एवं मेरो घर नजिकको माकुरीदाईको बाख्रीले एकै बेटमा तीन तीन वटा पाठापाठी पाउँदा पनि सघाउन गएँ । पनौती लाय्कुनेर गाई ब्याउन लाग्दा पनि आफू एक्लैले तान्न नसकेर मलाई पछाडिबाट दुईजनाले तान्न लगाएर पनि सघाएँ मैले । यस्तो लिस्ट अभैंm लामो छ ।’      पनौतीमा थुप्रै जुम्ल्याहाको जन्ममा पनि मच्छे माया जंगमले सघाउनु भयो । उहाँ भन्नुभएको थियो ‘जुम्ल्याहा बच्चा बोकेको गर्भवती गर्भवती महिलाको पेटको गोलाई बढी हुन्छ, ढोकाको एउटा खापा बन्द गरी छिराउन लगाएमा सक्दैन, महिना पुगेपछि पेट माथि कुनै सामान राख्न मिल्ने गरि सम्म परेको हुन्छ । तर मैले तिम्ल्याहा सुत्केरी गराएको अनुभव चाहिँ छैन ।’      यी र यस्तै तथा सालनाल झिक्दाको एवं बच्चा जन्माउन लागेकी सुत्केरी महिलालाई सघाएको बेलाको मच्छे माया जंगमको अनुभवको कुरा सुन्दा कतै प्रसूती रोगको पाठ्यपुस्तक नै पढिरहेको भैंm लागेको थियो मलाई । र, उहाँको कुरा व्यवहारिक एवं वैज्ञानिक तवरले सहि पनि थिए । त्यो बेला कतिपय पनौतीवासी मच्छे अजीको हातमा है भनेर आउनुहुन्थ्यो रे । रेडक्रसबाट बच्चाको ढुकढुकी सुन्ने सामान, पेट नाप्ने फित्ता यताउती गरि सुत्केरी गराउने एक सेट सामान जोरजाम गर्नुभएको थियो उहाँले ।      २०६५ साल ताकाबाटै उहाँले सक्रियपूर्वक यो काम गर्न छाड्न थाल्नुभयो । त्यो बेला उहाँले भन्नुभएको थियो ‘अहिले ताकनतुकुन बोलाएको ठाउँमा घरमै गएर सुत्केरी गराउँछु । तर अब त भित्री मनले नै गर्छु भनेपनि नसक्ने भएँ । अचेल गाडीको, बाटोघाटोका सुविधा छ । त्यसमाथि सुत्केरी प्रोत्साहन भत्ता पनि पाउन थालेपछि अस्पतालमै गएर सुत्केरी गराउने गरेको छ । हामी त उस्तै परे दुई चार सय लिने चाहिँ प¥यौं । त्यो बेला एक कप चिया र धन्यवादको भरमा काम गर्नुपथ्र्यो । बढी पाए एक माना चामल । त्यो पनि कतिपटक त सेवाग्रही साह्रै गरीब जस्तो देखिने र माया लाग्ने क्या, सुत्केरीलाई नै ख्वाउनोस् भनेर छोडेर आउँथें ।’      तपाईंले गरेर धेरैको उद्धार भयो नि भन्दा कटाक्ष गरी प्रत्युत्तर फर्काउनु भएको थियो ‘काम त गरेको हो नि तर गरे अनुसारको फल पाए पो ? कति आए अन्तरवार्ता लिन, विदेशीहरु पनि आए तर कसैले केही लछारपाटो लाएन ।’ यस्तै चित्त दुखाई प्रत्येक पटकको भेटमा उहाँ पोख्नुहुन्थ्यो । वास्तवमा पनौती भेगमा उहाँले पु¥याउनु भएको योगदान अनुसारको कदर भने सम्बन्धित निकायबाट भने नभएकै हो । मच्छे अजी, तपाईंको वैकुण्ठबास होस् मात्र भन्न सकें, यो घडीमा ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्