प्राचीन समयमा ज्ञान, विज्ञान र प्रविधिको गहिरो जानकारी रहेको कुरा विभिन्न ग्रन्थहरूबाट स्पष्ट हुन्छ । विशेषगरी, ’यन्त्र विज्ञान’ को क्षेत्रमा त अकल्पनीय प्रगति भएको देखिन्छ, जसको प्रमाण ऋग्वेद, पुराणहरू र महर्षि भारद्वाज जस्ता ऋषिहरूका रचनाहरूमा पाइन्छ । केही अंक अघि यस्तै प्रकृतिको एक आलेख प्रस्तुत गरिसकिएको छ तर आज हामी प्राचीन यन्त्र विज्ञान, ऋग्वेद र पुराणहरूमा विमानको चर्चा, र विशेषगरी महर्षि भारद्वाजद्वारा वर्णित तीन किसिमका विमानहरूबारे हाम्रा प्राचीन शास्त्रहरूमा वर्णित प्रमाणसहित सानो चर्चा गर्नेछौं । प्राचीन समयमा ’यन्त्र’ भन्नाले केवल मेसिन वा उपकरण मात्र नभएर कुनै पनि जटिल प्रणाली वा संरचना बुझिन्थ्यो जसले निश्चित कार्य सम्पादन गर्न सक्थ्यो। यो यन्त्र विज्ञान केवल भौतिक यन्त्रहरूसम्म सीमित थिएन, बरु यसमा खगोलशास्त्र, गणित, धातु विज्ञान, र यहाँसम्म कि चेतनाको विज्ञान पनि समावेश थियो । ‘बृहत्संहिता’, ‘समराङ्गण सूत्रधार’ र ‘मानसार’ जस्ता ग्रन्थहरूले प्राचीन समयमा विभिन्न प्रकारका यन्त्रहरूको निर्माण र तिनको उपयोगबारे विस्तृत जानकारी दिन्छन् । वैदिक साहित्यमा, विशेषगरी ऋग्वेदमा, उत्कृष्ट किसिमको विमान शब्दको प्रयोग छ जसलाई ‘रथ’ भनियो जो आकाशमा उड्न सक्थे । देवताहरूले प्रयोग गर्ने यी रथहरूलाई प्रायः सुन, चाँदी वा अन्य चम्किला धातुहरूबाट बनेको र तीव्र गतिमा यात्रा गर्न सक्ने भनेर वर्णन गरिएको छ । ऋग्वेदमा अश्विन कुमारहरूले प्रयोग गर्ने ‘त्रिवृत रथ’ को वर्णन पाइन्छ। यस रथलाई तीन पाङ्ग्रे र तीव्र गतिमा उड्न सक्ने भनिएको छ । तिस्रो रथं वहन्तौ सुवीर्यं त्रिवन्धुरं सुवृत्तं सोमनस्पतिम् । अर्थात् – तीन पाङ्ग्रे, राम्रोसँग घुम्ने, शक्ति दिने सोमको स्वामीलाई बोक्ने रथ । यस श्लोकले अश्विन कुमारहरूको रथको वर्णन गर्दछ, जसलाई उनीहरूले अन्तरिक्षमा यात्रा गर्न प्रयोग गर्थे । यसको कार्य क्षमता आधुनिक भनिएको विमान भन्दा हजारौं गुणा बढी थियो । त्यसैगरी, पुराणहरूमा त विमानको वर्णन झनै स्पष्ट रूपमा पाइन्छ। रामायणमा रावणको ‘पुष्पक विमान’ सुप्रसिद्ध छ । यो विमान मनले सोचेकै ठाउँमा पुग्न सक्ने, सानो–ठूलो हुन सक्ने र आवश्यकता अनुसार विभिन्न रूप धारण गर्न सक्ने क्षमताको थियो, के त्यस्तो गुण भएको विमानको कल्पना आधुनिक भनिएको विज्ञानमा संभव छ । महाभारतमा पनि कृष्णले द्वारकाबाट स्वर्ग जानका लागि विमान प्रयोग गरेको उल्लेख छ । भागवत पुराण, गरुड पुराण लगायतका पुराणहरूमा देवता, गन्धर्व र ऋषिहरूले प्रयोग गर्ने विभिन्न प्रकारका दिव्य विमानहरूको वर्णन पाइन्छ । यी विमानहरू केवल कल्पना मात्र नभएर, प्राचीन शिल्पकारहरूको प्रविधिगत ज्ञानको प्रतीक थिए । प्राचीन विज्ञानमा महर्षि भारद्वाजको नाम विशेष रूपमा लिइन्छ, जसले ‘वैमानिक शास्त्रम्’ नामक ग्रन्थको रचना गरेका थिए । यस ग्रन्थको पूर्ण र मौलिक स्वरूप पाउन निकै कठिन छ तर श्रुति र केही अवशेषित ग्रन्थहरूमा उल्लेख भए अनुसार यसमा विमान निर्माण र सञ्चालन सम्बन्धी विस्तृत जानकारीहरू थिए । ’बृहद्विमानिका शास्त्र’ नामक ग्रन्थ, जुन महर्षि भारद्वाजको मूल कृतिमा आधारित रहेको मानिन्छ, त्यसमा विमानका प्रकार, तिनको निर्माण प्रक्रिया, आवश्यक सामग्री, चालकको योग्यता र उडानका नियमहरू समेतको वर्णन पाइन्छ । महर्षि भारद्वाजले मुख्यगरी तीन प्रकारका विमानहरूको वर्णन गरेका छन् । अग्निहोत्र विमान (अन्तरिक्ष विमान), यो विशेषगरी अन्तरिक्ष यात्राका लागि डिजाइन गरिएको थियो । यसले अग्नि ऊर्जा (सम्भवतः सौर्य ऊर्जा वा अन्य कुनै तापीय ऊर्जा) प्रयोग गरी उडान भर्ने गर्दथ्यो । यसको निर्माणमा विशेष धातु र प्रविधि प्रयोग हुने गथ्र्यो जसले यसलाई अन्तरिक्षको विषम परिस्थितिमा पनि सुरक्षित राख्न सक्थ्यो । ’बृहद्विमानिका शास्त्र’ मा अग्निविमानको सन्दर्भमा भनिएको छ, अग्निहोत्रं यत्प्रोक्तं तदन्तरिक्षगं स्मृतम् । अर्थात्, जसलाई अग्निहोत्र भनिएको छ, त्यो अन्तरिक्षमा जाने मानिन्छ । यसैगरी अर्को किसिमको विमान हो, गजवक्र विमान (वायुमण्डल विमान) । यो विमान पृथ्वीको वायुमण्डल भित्र उडान भर्नका लागि उपयुक्त थियो । यसको नाम ’गजवक्र’ (हात्तीको सुँड) हुनुबाट यसको विशेष आकार वा कार्यप्रणालीलाई संकेत गर्दछ । यसले वायुको दबाब र बहावलाई नियन्त्रण गरेर उडान भर्न सक्ने क्षमता राख्थ्यो । यस प्रकारको विमानको चर्चामा भनिएको छ – “गजवक्रं तु विज्ञानं वायोरूध्र्वगतिक्रमम् । अर्थात्, गजवक्र विज्ञान वायुमाथि जानको लागि हो । त्यसै गरी तेस्रो किसिमको विमान हो, सूर्यलोक विमान (सौर्य ऊर्जा विमान) । यो विमान सौर्य ऊर्जाको प्रयोगबाट सञ्चालित हुन्थ्यो । यसमा विशेष प्रकारका सौर्य प्यानल वा लेन्सहरू प्रयोग गरिने गर्थे जसले सूर्यको प्रकाशलाई ऊर्जामा रूपान्तरण गर्थे । यो अवधारणा आजको सौर्य ऊर्जाबाट चल्ने विमानसँग मिल्दछ । यस सन्दर्भमा ‘वैमानिक शास्त्रम्’ मा भनिएको छ, “सूर्यलोकं यत्प्रोक्तं सौरशक्त्या विनिर्मितम्। अर्थात्, जसलाई सूर्यलोक भनिएको छ, त्यो सौर्य शक्तिबाट निर्मित हुन्छ । विमान सम्बन्धी विमानिका शास्त्रमा उल्लेख भएका माथि भनिएका तथ्यहरुबाट यो प्रमाणित हुन्छ कि, प्राचीन समयमा हाम्रा पूर्वजहरूको ज्ञान, दूरदृष्टि र क्षमतालाई आजका आधुनिक भनिएको वैज्ञानिक हरुले अझै राम्रोसँग पछ्याउन सकेका छैनन् । यी विमानहरूको वर्णनले प्राचीन समयमा उडान प्रविधिमा गहिरो अनुसन्धान भएको संकेत गर्छ । यसले प्राचीन समयमा हाम्रा महर्षीहरूको कल्पनाशीलता, दार्शनिक गहिराइ र प्रविधिको सम्भावित ज्ञानलाई उजागर गर्दछ । प्राचीन यन्त्र विज्ञान, ऋग्वेद, पुराणहरू र महर्षि भारद्वाजद्वारा वर्णित विमानहरूको सन्दर्भले प्राचीन समयमा विज्ञान र प्रविधिको समृद्ध परम्परा रहेको स्पष्ट पार्छ । यी विवरणहरूले हामीलाई हाम्रो प्राचीन विरासतप्रति गर्व गर्न प्रेरित गर्छ र भविष्यमा थप अनुसन्धानका लागि नयाँ मार्गहरू खोल्दछ । यसले प्राचीन ऋषिहरूको दूरदृष्टि र उनीहरूको समयको वैज्ञानिक ज्ञानको गहिराइलाई सुक्ष्म रूपमा प्रतिबिम्बित गर्दछ । यी प्राचीन ज्ञानका स्रोतहरूले आधुनिक विज्ञानलाई पनि नयाँ दिशा प्रदान गर्न सक्छ र मानव सभ्यताको विकासमा प्राचीन समयमा हाम्रा महरशीहरुको महत्वपूर्ण योगदानलाई उजागर गर्दछ । सबैको जयहोस् ।
