ऋषि मुनिहरूले मानव समाज विकास क्रमलाई चार युगमा विभाजन गरे (सत्ययुग, त्रेतायुग, द्वापरयुग र कलियुग । उनीहरूले सत्य आदि युगको अवधि क्रमशस् ४,३,२ र १ सहस्र दिव्य वर्ष मानेका थिए । सजिलोको लागि यसलाई अनुपातमा लिऔं ।यसवाट प्रत्येक पुरानो युगभन्दा नयाँ युग छोटिन्दै जाने छ भन्ने अर्थ आउन्छ । मानव समाज विकासको इतिहासले यसलाई पुष्टि गरेको छ । सत्ययुगमा सभ्यताको विकास भइसकेको थिएन । त्यस युगमा मानिसहरूले ‘शुद्ध आचरण ‘गर्दथे । त्यस युगमा मानिसहरूले खेतिपाटी गर्न जानेका थिएनन्, आवास वनाउन जानेका थिएनन्, दुर्ग र पुर (शहर) हरू निर्माण गर्न जानेका थिएनन् । उनीहरू शिकार गरेर तथा फलफूल, च्याउ आदि खाएर जीवन निर्वाह गर्दथे । त्यस युगका मानिसहरूले यज्ञ गर्न जानेका थिएनन् । यज्ञ भनेको अपेक्षित वस्तुहरू प्राप्त गर्नका लागि मिलेर गर्ने एक प्रकारको उत्पादन प्रणाली थियो । पछि त्रेतायुगमा मात्र मानिसहरूले यज्ञ गर्न सिकेका थिए ।त्यस युगमा यज्ञलाई धेरै महत्व दिइएका थिए । सत्ययुगमा गुफा कन्दरामा जंगली जनावरहरूको आक्रमणवाट जोगिन मानिसहरू संगै मिलेर वस्दथे । त्यसवेलाको जीवन सामुहिक थियो, एकल परिवार विकसित भइसकेको थिएन । त्यसैले निजी सम्पत्ति पनि थिएन । परिवारको उत्पत्तिले अनिवार्यतः निजी सम्पत्तिलाई जन्माउँदथ्यो । त्यस युगमा राज्यसत्ताको उत्पत्ति भइसकेको थिएन । राज्यको उत्पत्ति नभइसकेकोले करप्रणाली पनि थिएन । राज्य र कर प्रणाली जुम्ल्याहा दाजु भाइ हुन् । वर्ण, वर्ग र जातिको उत्पत्ति भइसकेको थिएन ।त्यहाँ कोही पनि दास थिएनन्, सवै मिलेर शिकार र फलफूलहरू संकलन गर्दथे । त्यस युगमा वहुपति प्रथा थियो । यसको उदाहरण द्रौपदी विवाह थियो । हिमाली जिल्लाहरूमा यसको अवशेष अहिले पनि पाइन्छ । अतः मानिसहरूको पहिचान आमाको नामवाट मात्र हुन सक्थ्यो । देव, दैत्य, दानव, नाग आदिको पहिचान आमाहरू क्रमशः अदिति, दिति, दनु, कद्रु आदि नामवाट मात्र गर्न सकिन्थ्यो । पछि त्रेतायुगमा पनि यही प्रचलन अनुसार नै पुत्रहरूलाई सम्वोधन गर्ने प्रचलन रह्यो । जस्तो–रामलाई कौशल्यानन्दन, पाण्डवलाई कौन्तेय (कुन्तीका पुत्रहरू) । सत्ययुगमा आमावाट चिनिने समुदायहरू विष्णु पुराण अनुसार सत्रवटा थिए । यी समुहहरूलाई कविला वा गण भनिन्थ्यो । यिनका प्रमुख सवैभन्दा जेष्ठ आमा हुन्थे । प्राचीन नेपालमण्डलमा पनि शुरूमा सप्तमातृका र अष्टमातृकाको नेतृत्वमा मानिसहरूका विभिन्न गणहरू थिए । स्वस्थानी कथाको वर्णन अनुसार पनि पहिला महामाया देवी थिए । उनले नै पछि ब्रह्मा, विष्णु र महेश्वरलाई उत्पन्न गरे । आमाहरूको मुख्य भूमिका रहेको सत्ययुगको त्यस समाजलाई समाजशास्त्रीहरूले मातृसत्तात्मक समाज पनि भन्दछन् । सत्ययुगको सामुहिक जीवन पद्धति युथ विवाह र एकल विवाह हुँदै एकनिष्ठ परिवारसम्म विकसित भए पछि निजी सम्पत्ति, राज्यसत्ता र वर्णहरूको संगसंगै जस्तै उत्पत्ति भए । यी सवै एकापसमा जोडिएका सामाजिक अवयवहरू हुन् । यी परिवार, निजी सम्पत्ति, राज्य र वर्ण (वर्ग पनि) को विकाससँगै सत्ययुग विघटन भई नयाँयुगको रूपमा त्रेतायुगको आगमन भयो । गणेश पुराणको महादेव पुण्य कथा खण्ड अनुसार त्रेतायुगमा ब्रह्माले मानिसहरूलाई चार वर्णमा विभाजन गरे (ब्राह्मण, क्षत्रीय, वैश्य र सुद्र । यसवाट त्रेतायुगमा चार वर्णको उत्पत्ति भएको स्पष्ट हुन्छ । यी चार वर्णमा पनि शुरूमा क्षत्रीय वर्णको उत्पत्ति भयो । क्रमशः अन्य वर्णको उत्पत्ति हँुदै गएको हो । आर्यहरू भारत वर्षमा प्रवेश गर्नु भन्दा पहिले आर्यहरूमा तीनवटा वर्ण मात्र थिए । जेन्दअवेस्ता अनुसार पर्सियामा आर्यहरूका तीनवटा वर्ण मात्र थिए क्रमशः अथर्वा ( पुरोहित), रथाइस्थ (क्षत्रीय) तथा वस्तरिया फस्यूयांत र हैविस (शिल्पी र किसान) । कविला र गणहरूका वीचमा आखेट र फलफूल तथा कन्दमुलहरू संकलन गर्ने इलाकाहरू कब्जा गर्नका लागि लडाईं भइरहन्थे । स्थानीय किम्वदन्ति अनुसार बनेपाकी चण्डेश्वरी र हरिशिद्धिका वीचमा लडाईहरू भइरहन्थे । यी कविलाहरू वीचका त्यस्तै संघर्षहरू थिए । त्यस्तै कविलाहरूमा हिंस्रक जंगली जनावरहरूले आक्रमण गरिरहन्थे, ती हिंस्रक जनावरको भयमा वस्नु पर्दथ्यो । यी सवैवाट सुरक्षित रहनको लागि प्रतिरोध गर्न सुरक्षा दस्ताहरू वनाउनु पर्ने अनुभववाट उनीहरूले सिके । त्यसको लागि गणभित्रवाट शारीरिक रूपमा हट्टाकट्टा, वलियो र निडर मान्छेहरूलाई छनौट गरेर जिम्मा दिइयो । यी नै क्षत्रियको रूपमा उत्पत्ति भए । त्यस पछि गाई, भैंसी, बाख्रा, कुखुरा, हाँस, कुकूर आदि पाल्न जाने पछि गणभित्र नयाँ कार्य विभाजन हुँदै गयो । केहीले सुरक्षाको काम गरिरहे स बाँकी अन्यले पशुपालन र फलफूल संकलन गर्ने काम गरिरहे । पहिले आखेट, पशुपालन र खानेकुरा संकलन गर्ने काम सवैले मिलेर गर्दथे, त्यस युगमा गणका ती सवै मानिसहरूलाई ऋग्वेद अनुसार “विश” भनिन्थ्यो । गणभित्र क्षत्रीय वर्णको उत्पत्ति भए पछि पशुपालन आदि गर्ने बाँकी मानिसहरूलाई मात्र विश भन्न थालियो । विश शब्दवाट नै वैश्य शब्द निर्माण भयो । यसप्रकार पशुपालन आदि काम गर्ने समुह वैश्यवाट परिचित भए । यसरी क्षत्रीय वर्ण छुट्टिएर गए पछि वैश्य बाँकी रहे । यस घडीसम्म दुईवटा वर्ण – क्षत्रीय र वैश्य अस्तित्वमा आयो । (क्रमशः) श्रोत ः– १. विष्णु पुराण २. गणेश पुराण ३. महाभारत ४. दीघनिकाय
