गर्मीयाम सुरू भएसँगै लामखुट्टेको टोकाइबाट हुने डेंगी जस्ता संक्रमणहरूको जोखिम बढ्दो छ । तर के लामखुट्टेले टोक्ने बित्तिकै डेंगी हुन्छ ? अँह हुँदैन कतिपय मानिसले लामखुट्टेले टोक्ने बित्तिकै हनहन्ती ज्वरो आएको र आफूलाई डेंगी भएको आशंका गर्नुहुन्छ । तर यथार्थमा त्यो हुँदैन । किनकी डेंगीबाट संक्रमित लामखुट्टेले टोकेको चारदेखि १० दिनमा बल्ल लक्षणहरू देखिन थाल्छ । लक्षणहरूको कुरा गर्दा धेरै जसोलाई अत्यधिक ज्वरो आउने, शरीर र मांसपेशी दुख्ने गर्छ । र त्यो दुखाइ यति पीडादायी हुन्छ कि हड्डी भाँचिएको जस्तो दुख्छ । त्यसैले पहिले यसलाई ‘ब्रेक बोन फिभर’ पनि भनिन्थ्यो । अरू लक्षणको कुरा गर्दा आँखाका गेडी दुख्ने, टाउको दुख्ने, र खानामा रूचि नहुने । कतिपयलाई त खानाको नाम पनि लिन खोज्दा बान्ता आउन खोज्छ । र पछिल्लो समय केही संक्रमितहरूलाई पखाला पनि लागेको पाइएको छ । यी माथि उल्लेखित लक्षणहरू देखिएमा डेंगी संक्रमण भएको आशंका गर्न सकिन्छ र चिकित्सकको परामर्श लिन सकिन्छ । अर्को महत्वपूर्ण कुरा भनेको डेंगी संक्रमितहरूलाई आफू कुन अवस्थामा अस्पताल जाने भन्ने अन्योल हुनसक्छ । किनकि धेरैजसो संक्रमितहरू घरमै बसिरहनुभएको हुन्छ । यस्तो अवस्थामा माथि उल्लेखित लक्षणहरूलाई ख्याल गर्नुपर्छ । जस्तो कि तारन्तार बान्ता भयो वा नाक र गिजामा रगत देखिन थाल्यो अथवा असाध्यै पीडा र शरीर आलस्य भयो भने अस्पताल जाने वा चिकित्सकको परामर्श लिनुपर्छ । किनकि गत वर्ष पनि अस्पताल आएका धेरै संक्रमितहरूमा नाकबाट रगत बग्ने समस्या देखिएको थियो । अर्को कुरा भनेको कस्तो लामखुट्टेले टोकेपछि डेंगी हुन्छ ? यसका लागि हामीले लामखुट्टेको आवरणलाई ध्यान दिनुपर्छ । किनकी डेंगी संक्रमण सार्न लामखुट्टे कालो र सेतो मिसिएको छिरबिरे रङको हुन्छ । जुन एडिस जातका लामखुट्टे हुन् । यसमा मुख्य ख्याल गर्नुपर्ने भनेको यो लामखुट्टे बिहानी पख र सूर्यास्त हुनु भन्दा केही घण्टा अगाडिको समयमा बढी सक्रिय हुन्छ । र यो समय भनेको धेरैजसोको कार्यालय समय हो । त्यसैले कार्यक्षेत्रमा हुँदा यो समयमा विशेष ख्याल गर्नुपर्ने हुन्छ । अर्को भनेको गत वर्ष पनि झन्डै ४५ हजार जनामा डेंगी संक्रमण पुष्टि भएको थियो । यो वर्ष पनि बेलैमा सतर्कता अपनाइएन भने सोही नियति हुन्न भन्न सकिँदैन । त्यसैले समयमै सावधानी अपाउनुपर्ने हुन्छ । त्यसो भए संक्रमणबाट बच्न के–के गर्ने त ? आउनुस् यसबारे विस्तृतमा कुरा गरौं । मुख्यतः गर्मी याम सुरू भएपछि लामखुट्टेको गतिविधि बढ्ने गर्छ । र यो समय भनेको धेरै पानी पर्ने समय हो । जसले गर्दा हाम्रो घर वरिपरि, खाल्डाखुल्डी र पुराना सामानहरूमा पानी जम्ने गर्छ । र ती ठाउँहरू भनेको लामखुट्टेले आफ्नो जीवनचक्र चलाउने ठाउँ हो । हामी देख्छौं घर फ्यालिएका पुराना भाँडाकुडा, गमला, ड्रम, टायर लगायत विभिन्न सामग्रीमा पानी जमिरहेको हुन्छ । हामीले त्यस्ता सामग्रीमा जमेको पानी तुरून्तै सफा गर्नुपर्छ । त्यति मात्र हैन घर वरिपरि खाल्डोहरूमा जमेको पानी पनि सफा गर्नुपर्छ र आइन्दा पानी जम्न नदिन त्यस्ता खाल्डाहरू पुर्नुपर्छ । अर्को भनेको समुदाय स्तरमै सरसफाइको कार्यक्रम नियमित चलाउनुपर्छ । जसले गर्दा समुदाय सफा रहन्छ र लामखुट्टेको गतिविधि कम हुने गर्छ । श्रोत ः सेतोपाटी
