IMG-LOGO

आधुनिक हवाईजहाज हाम्रा शास्त्र र प्राचीन उध्ययनको नाता

 मंगल, असार ३, २०८२  – माधव रेग्मी

                          आजको युगमा हामीले आकाशमा उडिरहेका विशाल र तीव्र गतिका हवाइजहाजहरूलाई विज्ञान र प्रविधिको अनुपम चमत्कार मान्छौं । तर, के यहाँहरुलाई थाहा छ, यी आधुनिक विमानहरूको विकासको जग हजारौँ वर्षअगाडि नै हाम्रा वेद, पुराण र अन्य प्राचीन ग्रन्थहरूमा पाइएका उड्डयनसम्बन्धी ज्ञानमा आधारित थियो ? यो सुन्दा अचम्म लाग्न सक्छ, तर प्राचीन समयमा विकसित विमानहरूको अवधारणा र प्रविधि आधुनिक हवाइजहाजको विकासको लागि प्रेरणाको स्रोत बन्न पुग्यो भन्ने प्रशस्त प्रमाणहरू छन् ।             हाम्रा प्राचीन ग्रन्थहरूमा केवल धर्म, दर्शन र आध्यात्मिक ज्ञान मात्र हैनन्, ती त विज्ञान, प्रविधि र खगोल विज्ञान जस्ता विषयहरूको पनि अथाह भण्डार हुन्। ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद जस्ता वेदहरूमा विभिन्न देवी–देवताहरू र ऋषि–मुनिहरूले आकाशमा यात्रा गरेको प्रसङ्गहरू पाइन्छन् । यी प्रसङ्गहरूले प्राचीन समयमा उड्ने यन्त्रहरू कति उत्कृष्ट, विकशित रहेछन् भन्ने कुराको सङ्केत गर्दछ । उदाहरणका लागि, ऋग्वेदमा ’रथ’ शब्दको प्रयोग उड्ने यन्त्र अर्थात् विमानको अर्थमा गरिएको पाइन्छ । “अनाश्वो जातो अनभीशुरूध्र्वं सप्तः सारथी रथो वातः“ (ऋग्वेद) । अर्थात् “घोडा नजोडिएको, लगाम बिनाको, माथि उड्ने, सात जना सारथी भएको रथ हावामा चल्छ । “यहाँ ’रथ’ को प्रयोग स्पष्ट रूपमा जमिनमा चल्ने रथभन्दा भिन्न, आकाशमा उड्ने यन्त्रको रूपमा गरिएको हो ।             त्यसैगरी, यजुर्वेदमा पनि ’अग्निहोत्र’ का प्रसङ्गहरूमा आकाशमा यात्रा गर्ने माध्यमहरूको चर्चा गरिएको छ । विभिन्न मन्त्रहरूमा ’विमान’ र ’रथ’ शब्दको प्रयोगले त्यसबेलाका मानिसहरूले आकाशमा उड्ने यन्त्रहरूको कल्पना मात्र नभई तिनको निर्माण र प्रयोग पनि उत्कृष्ट ढङ्गले गरेका रहेछन् भन्ने देखाउँछ ।             पुराणहरूमा त अझ उड्ने विमानहरूको विस्तृत वर्णन नै पाइन्छ । रामायणमा कुबेरबाट प्राप्त सीता हरणमा प्रयोग भएको रावणको ’पुष्पक विमान’ को चर्चा सबैभन्दा प्रमुख उदाहरण हो । यो विमान आफ्नो मालिकको इच्छा अनुसार जुनसुकै ठाउँमा जान सक्थ्यो, आकार परिवर्तन गर्न सक्थ्यो र चालकविना पनि उड्न सक्थ्यो । यसको बनावट र कार्यप्रणालीको विस्तृत वर्णनले यो केवल एक सामान्य संरचना नभई प्राचीन प्रविधिको एक उत्कृष्ट नमुना भएको सङ्केत गर्छ । हाम्रा ग्रन्थहरूमा बताइए अनुसार भगवान श्रीरामले अश्व, अक्षोहिणी सेना सबैलाई विमान मै राखेर लङ्का विजय पश्चात अयोध्या फर्केका थिए । यसबाट यो प्रमाणित हुन्छ कि पुष्पक विमान कति विशाल र अत्याधुनिक थियो ।             महाभारतमा पनि ’विमान’ को उल्लेख छ । दानवराज हिरण्यकश्यपले आकाशमा उड्ने विमानको प्रयोग गरेको र कृष्णले गरुडमा चढेर यात्रा गरेको जस्ता प्रसङ्गहरूले प्राचीन समाजमा उड्डयनको अवधारणा गहिरो रूपमा जरो गाडेको देखाउँछ ।             वेद र पुराणमा वर्णित यी विमानहरु प्राचीन वैज्ञानिकहरूको अथक प्रयास र ज्ञानको प्रतिफल थिए । ’विमानिका शास्त्र’ जस्ता ग्रन्थहरूले प्राचीन विमानहरूको निर्माण, सञ्चालन र मर्मतसम्भारको बारेमा विस्तृत जानकारी दिएको छ । महर्षि भारद्वाजद्वारा रचित भनिएको यो ग्रन्थमा विभिन्न प्रकारका विमानहरू, तिनीहरूका निर्माण सामग्री, उडान सिद्धान्त र सुरक्षा उपायहरूको बारेमा वर्णन गरिएको छ । यसमा ’त्रिपुर विमान’ (तीन शहरहरूमा यात्रा गर्न सक्ने), ’शकुन विमान’ (पक्षीजस्तै उड्न सक्ने) जस्ता विभिन्न विमानहरूको उल्लेख छ ।             ’विमानिका शास्त्र’ मा विमानहरूलाई सूर्यको प्रकाश, वायु ऊर्जा, वा अन्य अज्ञात ऊर्जा स्रोतहरूबाट सञ्चालन गर्ने प्रविधिको चर्चा गरिएको छ । यस ग्रन्थमा विमानका पाङ्ग्रा, इन्जिन, पखेटा, नियन्त्रण प्रणाली र सुरक्षा उपकरणहरूका बारेमा पनि विस्तृत जानकारी दिइएको छ । यो शास्त्रमा दिईएको विवरणबाट के कुराको ज्ञात हुन्छ भने प्राचीन हाम्रो पूर्वीय सनातन समाजमा उड्डयनसम्बन्धी गहिरो चासो र ज्ञान रहेको कुरालाई प्रस्ट पार्छ ।             यस प्राचीन उड्डयन प्रविधिलाई अझ बलियो बनाउने एक चाखलाग्दो घटना हालैका वर्षहरूमा प्रकाशमा आएको छ । सन् २०१० मा अफगानिस्तानको एउटा गुफामा ५००० वर्ष पुरानो एउटा प्राचीन उड्ने यन्त्रको भग्नावशेष फेला परेको थियो । अमेरिकी सेनाले पत्ता लगाएको भनिएको यो यन्त्रले अलौकिक शक्ति भएको र यसले वातावरणमा अनौठो ऊर्जा उत्पन्न गरेको दाबी गरिएको छ । यसले प्राचीन हाम्रा ग्रन्थहरूमा उल्लेखित उड्ने विमानहरूको अस्तित्वलाई थप बल पुर्याएकोछ र आधुनिक विज्ञानलाई प्राचीन सभ्यताको गहिरो ज्ञानबारे पुनर्विचार गर्न बाध्य पारेको छ । यो भग्नावशेषलाई ’विमाना’ भनिएको छ र यसलाई विशेष धातु र अज्ञात ऊर्जा स्रोतले सञ्चालन गरेको विश्वास गरिन्छ ।             आधुनिक हवाइजहाजको विकास निःसन्देह २०औँ शताब्दीको एक ठूलो उपलब्धि हो, तर यसको जरा प्राचीन सभ्यता र ज्ञानमा गाडिएको रहेछ। वेद, पुराण र अन्य प्राचीन ग्रन्थहरूमा पाइने उड्डयनसम्बन्धी प्रसङ्गहरू, विशेषगरी ’पुष्पक विमान’ जस्ता विवरणहरूले प्राचीन समाजमा उड्ने यन्त्रहरूको अवधारणा र निर्माण प्रविधि पनि रहेको सङ्केत गर्छन् । अफगानिस्तानमा फेला परेको भनिएको ५००० वर्ष पुरानो विमानको भग्नावशेषले त प्राचीन ज्ञान र आधुनिक विज्ञानबीचको दूरीलाई कम गर्दै मानव सभ्यताको इतिहासमा एक नयाँ अध्याय नै खोलेको छ ।             मानव सभ्यताको इतिहासमा उड्ने र आकाशमा यात्रा गर्ने सपना सधैं मानव जातिको कल्पनाको केन्द्रमा रहिआएको छ । आज हामीले देख्ने अत्याधुनिक हवाईजहाजहरूको विकास पश्चिमी विज्ञानको देन र राइट दाजुभाइको आविष्कार होइन रहेछ भनेर भन्नमा अब हामीमा कमसेकम कुनै संकोच हुने छैन । संस्कृतका हाम्रा प्राचीन ग्रन्थहरूमा ’विमान’ र आकाशमा उड्ने रथहरूको बारम्बार उल्लेख हुनुले त्यसबेलाका मानिसहरूमा उड्ने साधनको कल्पना वा ज्ञान थियो भन्ने संकेत गर्दछ ।             ऋग्वेदमा, अश्विन कुमारहरूलाई ’त्रिमार्गी रथ’ (तीन मार्गमा चल्ने रथ) मा यात्रा गरेको वर्णन गरिएको छ, जसले आकाश, पृथ्वी र पातालमा यात्रा गर्न सक्थ्यो । “आ वामश्वासो वहतुः सुवृक्तिः सूरो रथो मघवा त्वेषाः । आ वां सजोषा उप याति यज्ञः सुदात्रो यजमानो धिष्ण्या च।। “यस श्लोकमा ’रथ’ को उल्लेख छ, जसलाई प्राचीन समयको विमानको रूपमा व्याख्या गरिन्छ । त्यसैगरी, यजुर्वेदमा पनि अग्नि देवले अन्तरिक्षमा यात्रा गरेको उल्लेख छ, “यदा ते वाता अभ्यवर्तन्त देवान्त्सीषधे यज्ञियेभिः । अग्ने विंश्वं विंश्वं विचरास्यग्ने तन्तुं तं नः ।। “यहाँ अग्निलाई ’सबैतिर विचरण’ गर्ने विमान भनी वर्णन गरिएको छ ।             प्राचीन पूर्वीय समाजले विज्ञान र प्रविधिमा हासिल गरेका उपलब्धिहरूलाई हेर्दा, उड्डयनको अवधारणाको विकास असम्भव लाग्दैन । धातुकर्म, गणित र खगोलशास्त्रमा उनीहरूको ज्ञान उच्च स्तरको थियो । यसैले, केही आधुनिक वैज्ञानिक र इतिहासकारहरूले हाम्रो प्राचीन समाजमा भएको विमानको अस्तित्वलाई सहजै स्वीकार गरेका छन् । उनीहरू भन्छन् कि वेद र पुराणहरूमा भएका वर्णनहरूले आधुनिक वैज्ञानिकहरुलाई तत् सम्बन्धमा खोज,  अनुसन्धान, निर्माण गर्नमा ठूलो सहयोग पुगेको छ ।             आज पश्चिमाहरु हाम्रा यी अमूल्य निधिमा आश्रित भएर अनेकौं अनुसन्धान गर्नमा व्यस्त छन्, यता हामी हाम्रो अमूल्य ग्रन्थहरूको ज्ञानबाट खोज अनुसन्धान त परै जाओस् अध्ययन गर्न मात्र पनि हिचकिचाहट गरी रहेका हुन्छौं । सबैको जय होस् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्