नेपालका ३५ जना सम्पादकहरूले पत्रकार दिलभूषण पाठकविरुद्ध विद्युतीय कारोबार ऐन प्रयोग गरी पक्राउ पुर्जी जारी गरिएकोमा गम्भीर आपत्ति जनाएका छन् । एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले फरक उद्देश्यले बनेको कानुनको दुरुपयोग गरी पत्रकारलाई पक्राउ गर्न खोज्नु खेदजनक भएको बताएका हुन् । जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रसारित सामग्रीका विषयमा चित्त नबुझे प्रेस काउन्सिल वा न्यायालयमा जान सकिने स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै सत्ताको बलमा प्रहरी परिचालन गर्नु निन्दनीय छ । सम्पादकहरूले पाठकविरुद्धको पक्राउ पुर्जी तत्काल खारेज गर्न र अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउने विद्युतीय कारोबार ऐनका प्रावधान संशोधन गर्न सरकार र संसद्सँग माग गरेका छन् । त्यसैगरी, बिजमान्डू र नेपालखबरजस्ता अनलाइनमा प्रकाशित समाचार हटाउन र प्रकाशनमा रोक लगाउन काठमाडौं जिल्ला अदालतले दिएका पछिल्ला आदेशप्रति पनि सम्पादकहरूले गम्भीर असहमति प्रकट गरेका छन् । सञ्चार संस्थालाई सुनुवाइको मौका नदिई समाचार हटाउन लगाउनु र प्रकाशनमा पूर्वप्रतिबन्ध लगाउनु संविधानप्रदत्त हकको उल्लंघन भएको उनीहरूको ठहर छ । ‘हामी यसतर्फ न्यायिक नेतृत्वको गम्भीर ध्यानाकर्षण गराउँछौं, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा अमित ढकाल, गुणराज लुइँटेल, सुधीर शर्मा, किरण नेपाल, शिव गाउँले, हरिबहादुर थापालगायत ३५ जना सम्पादकहरूको हस्ताक्षर रहेको छ । विज्ञप्तिमा हस्ताक्षर गर्ने सम्पादकहरू ः– १. अमित ढकाल, २. अमन कोइराला, ३. अरुण बराल, ४. आमोद प्याकुरेल, ५. उमेश चौहान, ६. उपासना घिमिरे, ७. कमला पन्थी, ८. किरण नेपाल, ९. कुन्द दीक्षित, १०. कृष्णज्वाला देवकोटा, ११. खगेन्द्र पन्त, १२. गुणराज लुइँटेल, १३. जनक नेपाल, १४. जेबी पुन मगर, १५. धर्मराज दाहाल, १६. नम्रता शर्मा, १७. पुनम पौडेल, १८. प्रतीक प्रधान, १९. प्रशान्त अर्याल, २०. बसन्त बस्नेत, २१. बिश्वास बराल, २२. मोहन मैनाली, २३. रामेश्वर बोहोरा, २४. रामजी दाहाल, २५. लक्ष्मण उप्रेती, २६. विजय पौडेल, २७. शिव गाउँले, २८. सञ्जीव शर्मा, २९. सन्त गाहा मगर, ३०. सुधीर शर्मा, ३१. सुजन ओली, ३२. सुजित महत, ३३. सुरेश राज न्यौपाने, ३४. सोनिया अवाले, ३५. हरि बहादुर थापा
