IMG-LOGO

एयर इन्डियाको विमान दुर्घटनामा परेका चालकदल

 मंगल, असार ३, २०८२  – एजेन्सीबाट

           बिहीबार लन्डन जाँदै गरेको एयर इन्डियाको विमान अहमदाबादमा दुर्घटनाग्रस्त भयो। एयर इन्डियाले विमानमा सवार २४२ यात्रु मध्ये २४१ जनाको मृत्यु भएको छ । एक भारतीय मुलका बेलायती नागरिक बाँचेको र उनको उपचार भइरहेको जनाएको छ । यो भारतको इतिहासमा सबैभन्दा दुःखद विमान दुर्घटनाहरू मध्ये एक हो । यसअघि १९९६ मा दिल्ली नजिकैको चरखी–दादरीमा दुई विमान हावामै ठोक्किएका थिए । जसमा तीन सयभन्दा बढीको मृत्यु भएको थियो । एयर इन्डियाको उडान १७१, बोइङ ७८७ ड्रीमलाइनर, अहमदाबादबाट लन्डनका लागि दिउँसो उडेको थियो । विमानमा सवार यात्रुहरू भारतका धेरै राज्यहरू र विदेशका नागरिक थिए । विमानमा रहेका चालक दलका कुनै पनि सदस्य बाँचेनन् । प्रमुख पाइलट र सह–पाइलटसहित सात चालक दलका सदस्य मुम्बईका थिए भने एक जना पिंपरी चिंचवडका थिए । तिनीहरू सबै अनुभवी रहेको जनाइएको छ । विमानमा चालक दलका सदस्यमा पाइलट सुमित सभरवाल, को–पाइलट क्लाइभ कुन्दर, अपर्णा महाडिक, मैथिली पाटिल, दीपक पाठक, रोशनी सङ्घारे र साइनिता चक्रवर्ती थिए । सुमित सभरवाल, पाइलट             ६० वर्षीय क्याप्टेन सुमित सभरवाल आफ्ना ८८ वर्षीय बुवा पुष्पराज सभरवालसँग मुम्बईको पवईस्थित ‘जलवायु विहार’ सोसाइटीमा बस्थे । सबरवाल आठ हजार घण्टाभन्दा बढी उडान अनुभव भएका अनुभवी पाइलट थिए । उनका एक छिमेकीले इन्डियन एक्सप्रेसलाई बताएअनुसार सुमित लामो करियर पछि अवकाश लिन लागेका थिए । उनले आगामी केही महिनामा अवकाश लिने र आफ्नो बुबासँग स्थायी रूपमा बस्ने योजना बनाएका थिए । तर त्यस्तो भएन । सुमित १९९४ देखि पाइलटको रूपमा काम गरिरहेका थिए । आफैँ पाइलट हुनुको अलावा उनले धेरै युवा पाइलटलाई तालिम पनि दिए । हालै कोरोना कालमा उनकी आमाको निधन भएको भयो । उनकी बहिनी दिल्लीमा बस्छिन् । उनकी बहिनीका दूई छोरा पनि पाइलट बनेका छन् र यस क्षेत्रसँग जोडिएका छन् । सबरवालका केही आफन्त उनको शव लिन अहमदाबाद गएका छन् । उनका वृद्ध बुबा आफ्नो छोरा गुमाउनुपर्दा गहिरोशोकमा डुबेका छन् । सुमुत सह–पाइलट             सुमित सबरवालका सह–पाइलट क्लाइभ कुन्दर थिए । सबरवालभन्दा कान्छा भए पनि उनीसँग यस्ता ड्रीमलाइनर उडाउने व्यावसायिक अनुभव पनि थियो । उनीसँग लगभग १,५०० घण्टा उडानको अनुभव थियो । क्लाइभको पनि यस विमान दुर्घटनामा मृत्यु भयो । अभिनेता विक्रान्त मेस्सी क्लाइभको परिवारसँग सम्बन्धित छन् । उनले इन्स्टाग्राममा यस घटनाप्रति शोक व्यक्त गरेका छन् । विक्रान्तले लेखे, ‘मेरो काका क्लिफर्ड कुन्दरले यस दुर्घटनामा आफ्नो छोरा गुमाउनुभयो । क्लाइभ कुन्दर यस दुर्भाग्यपूर्ण विमानमा प्रथम अधिकारीको रूपमा सेवा गरिरहेका थिए ।’ टाइम्स अफ इन्डियाको एक रिपोर्ट अनुसार क्लाइभको परिवार मूल रूपमा कर्नाटकको मंगलोरको हो । तर उनीहरू धेरै वर्ष अघि मुम्बई सरेका थिए । क्लाइभकी आमाले पनि एयर इन्डियामा क्याबिन क्रूको रूपमा काम गर्थिन् । मुम्बईमा अध्ययन गरेपछि क्लाइभले अमेरिकाको फ्लोरिडामा आफ्नो व्यावसायिक पाइलट तालिम पूरा गरे । उनले आफ्नो व्यावसायिक करियरको सुरुवातदेखि नै ११०० घण्टा उडान पूरा गरिसकेका छन् । क्लाइभका आफन्तहरूले दिएको जानकारी अनुसार उनका आमाबाबु हाल आफ्नी छोरी कहाँ अष्ट्रेलिया गएका छन् । मैथिली पाटिल, क्याबिन क्रू             मैथिली पाटिल पनवेलको न्हावा गाउँकी बासिन्दा हुन् । दुई वर्षअघि एयर इन्डियामा चालक दलको सदस्यको रूपमा सामेल भएकी थिइन् । विमान दुर्घटनाको खबर पाउने बित्तिकै उनकी आमा, काका र भाइ अहमदाबाद आएका छन् । मैथिलीको परिवारमा पाँच जना सदस्य थिए र उनी तीन दाजुभाइ दिदीबहिनीमध्ये जेठी थिइन् । मैथिली पाटिलका बुबा पनवेल नजिकै ओएनजीसीमा काम गर्छन् । उनले तीनै जना बच्चालाई धेरै कठिन परिस्थितिमा पढाएका छन् । यो घटनापछि उनी पनि स्तब्ध छन् । न्हावा गाउँको टी.एस. रहमान स्कूलमा १२ कक्षासम्म अध्ययन गरेकी मैथिलीको बाल्यकालदेखि नै एयर होस्टेस बन्ने सपना थियो । मैथिलीले धेरै साधारण परिस्थितिमा पढेकी छन् । दुई वर्षअघि उनले आफ्नो उड्डयन अध्ययन पूरा गरेर एयर इन्डियामा काम गर्न थालिन् ।             मैथिली पाटिलका आफन्त तथा न्हावा गाउँका पूर्व सरपंच जितेन्द्र म्हात्रेले बीबीसी मराठीलाई मैथिलीबारे जानकारी दिए । बीबीसी मराठीसँग कुरा गर्दै जितेन्द्र पाटिलले भने, ‘हाम्री छोरी कठिन परिस्थितिमा पढेर एयर होस्टेस बनिन् भन्ने घटनाले हामी स्तब्ध भएका छौं । हाम्री छोरीले धेरै कठिन परिस्थितिमा पढिन् र एयर होस्टेस बन्ने आफ्नो सपना पूरा गरिन् ।’ मैथिलीले अध्ययन गरेको विद्यालयकी प्रिन्सिपल डेजी पलले भनिन्,‘मैथिली केही दिनअघि विद्यालयमा आएकी थिइन् र विद्यार्थीहरूलाई उड्डयन क्षेत्रमा करियर बनाउने बारेमा मार्गदर्शन गरेकी थिइन् ।’ दीपक पाठक, क्याबिन क्रू             अहमदाबाद विमान दुर्घटनामा मारिएकाहरूमा बदलापुरका ३४ वर्षीय दीपक पाठक पनि छन् । उनी विगत ११ वर्षदेखि एयर इन्डियामा क्याबिन क्रूको रूपमा काम गरिरहेका थिए । दीपक पाठक बदलापुरका बासिन्दा थिए । यद्यपि, उनको बाल्यकाल मुम्बईको परेल क्षेत्रमा बित्यो । उनले आफ्नो स्कुले शिक्षा परेल क्षेत्रमा र कलेज शिक्षा आदर्श कलेज बदलापुरबाट गरे । दीपकको परिवारका अनुसार कलेज पछि दीपक उड्डयनमा करियर बनाउन चाहन्थे । त्यसै अनुसार उनले कदम चाले र आफ्नो मनपर्ने क्षेत्रमा प्रवेश गरे । उनी सधैं उडान उड्नुभन्दा पहिले घरमा फोन गर्थे र सधैं जस्तै लन्डन उड्नुभन्दा पहिले पनि घरमा फोन गरेका थिए । विमान उड्नुभन्दा केही मिनेट अगाडि उनले आफ्नो फेसबुक स्टेटस पनि अपडेट गरे । उनका बुबा घरको एक मात्र कामदार भएकाले सबै छोराछोरीलाई पढाउन र घर चलाउन धेरै गाह्रो थियो । दीपक पाठकका बुबा बालासाहेब पाठक रेलवेको माटुंगा कार्यशालामा काम गर्छन् ।             दीपक पाठकको चार वर्षअघि विवाह भएको थियो । उनकी श्रीमती कामको लागि नासिक गएकी थिइन् । उनी आफ्ना आमाबाबुसँग बदलापुरमा आएर बस्थे। हाल उनी र उनकी श्रीमती कामको लागि घाटकोपरमा भाडाको घरमा बस्दै आएका थिए । दीपकका दुई दिदीबहिनी पनि छन्। दुवै विवाहित छन्। घटनाको खबर पाउने बित्तिकै दीपकका दिदीबहिनी र आफन्तहरू अहमदाबाद आएका थिए । हाल, आमाबाबु र अन्य आफन्तहरू बदलापुरको घरमा छन् । तर उनीहरू कुरा गर्ने अवस्थामा छैनन् । दीपकका बाल्यकालका साथी सार्थक सुर्वे र दीपकका बुबा बालासाहेब पाठकका साथी शरद मातोन्डकरले बीबीसी मराठीलाई जानकारी दिए।सार्थक सुर्वेले यो धेरै दुर्भाग्यपूर्ण भएको बताए । दीपकका साथी सार्थकले भने, ‘हामीलाई विश्वासै लाग्दैन। दीपक धेरै मिलनसार थिए । उनी अहिलेसम्म आफ्ना सपनाहरूको लागि लडिरहेका थिए। उनलाई धेरै कुरामा रुचि थियो। उनी नाच्थे, गाउने गर्थे र रिल पनि बनाउँथे ।’ रोशनी संघारे, क्याबिन क्रू             अहमदाबाद विमान दुर्घटनामा डोम्बिवलीकी २७ वर्षीया रोशनी संघारेको पनि मृत्यु भएको छ । उनी आफ्नो परिवारसँग मुम्बई नजिकैको ठाणे जिल्लाको डोम्बिवलीमा बस्थिन् । उनको परिवारमा आमा, बुबा र कान्छो भाइ छन् । यो दुःखद घटनाबाट संघारे परिवार गहिरो स्तब्ध भएको छ । रोशनी संघारेका काका दत्त संघारेले बीबीसी मराठीलाई बताएअनुसार बाल्यकालदेखि नै रोशनीको सपना एयर होस्टेस बन्ने थियो । दत्ता संघारेले भनिन्,‘करिब पाँच वर्षअघि रोशनीले आफ्नो सपना पूरा गरिन् र घरेलु एयरलाइन्समा एयर होस्टेसको रूपमा काम गर्न थालिन् । तर उनी अन्तर्राष्ट्रिय एयरलाइन्समा पनि काम गर्न चाहन्थिन् । त्यसैले उनी लगभग दुई वर्षअघि एयर इन्डियामा सामेल भइन् ।’ रोशनीका मामा प्रवीणले रोशनीको संघर्ष १० बाइ १० कोठामा बस्नेदेखि अन्तर्राष्ट्रिय एयरलाइन्समा एयर होस्टेस बन्नेसम्मको रहेको बताए । उनका काकाले रोशनीको विवाहको बारेमा कुरा भइरहेको बताए । रोशनीको इन्स्टाग्राम प्रोफाइल अनुसार उनी एक ब्लगर थिइन् । ‘स्काई लभ्स हर’ उनको प्रोफाइलको नाम हो । रोशनी आफ्नो इन्स्टाग्राम प्रोफाइलमा धेरै सक्रिय छन् । इन्स्टाग्राममा उनका करिब ५७ हजार फलोअर्स छन् । अपर्णा महाडिक, क्याबिन क्रू             मुम्बईको गोरेगाउँकी निवासी अपर्णा महाडिक पनि लन्डन जाने एयर इन्डियाको उडानमा क्याबिन क्रू सदस्य थिइन् । उनीसँग धेरै वर्षको अनुभव पनि थियो र हाल उनी ‘वरिष्ठ क्रू सदस्य’ को रूपमा कार्यरत थिइन् । उनका पति अमोल महाडिक पनि सोही क्षेत्रमा पाइलटको रूपमा कार्यरत छन् ।४० वर्षीया अपर्णा विगत १० वर्षदेखि यस क्षेत्रमा काम गर्दै आएकी थिइन् । उनको परिवारमा उनकी ९ वर्षीया छोरी र श्रीमान् छन् । अपर्णा महाडिक सांसद तथा एनसीपी (अजित पवार) महाराष्ट्र प्रदेश अध्यक्ष सुनील तटकरेकी बहिनीकी बुहारी हुन् । त्यसैले विमान दुर्घटनाको खबर पाउने बित्तिकै राजनीतिक क्षेत्रसँग सम्बन्धित धेरै व्यक्तिहरू गोरेगाउँस्थित उनको घरमा पुगे । अदिति तटकरे र अनिकेत तटकरे पनि उनको घरमा पुगे । उनका आफन्तहरू स्तब्ध रहेकाले कसैसँग पनि सिधै कुरा गर्न सम्भव थिएन । राज्यमन्त्री तथा महाडिक परिवारका परिचित योगेश कदमले सञ्चारकर्मीलाई भने,‘यो घटना अत्यन्तै दुःखद छ । महाडिक र तटकरे दुवै परिवार शोकमा छन् । हामी उनीहरूसँगै छौ ं। परिवारको रूपमा र समाजको सदस्यको रूपमा ।’ सनिता चक्रवर्ती, केबिन क्रू             ३५ वर्षीया सनिता चक्रवर्ती लन्डन जाने एयर इन्डियाको उडानमा सबैभन्दा कान्छी चालक दलका सदस्यहरूमध्ये एक थिइन् । उनी मुम्बईको जुहू कोलिवाडामा बस्थिन् । सनिताले पहिले ‘गो एयर’ एयरलाइनमा काम गरेकी थिइन् र हालसालै ‘एयर इन्डिया’मा सामेल भएकी थिइन् । एक स्कुले साथीले इन्डियन एक्सप्रेसलाई दिएको जानकारी अनुसार सनिता मुम्बईमा हुर्किइन् ।उनले मानेकजी कूपर स्कुलमा अध्ययन गरेर मिठीबाई कलेजबाट थप अध्ययन गरेकी हुन् । इरफान शेख, क्याबिन क्रू             २२ वर्षीय इरफान शेख पनि एयर इन्डियाको विमानका चालक दलका सदस्य थिए । इरफान पहिले कामको सिलसिलामा मुम्बईमा बस्थे । उनको परिवार पिम्परीको सन्त तुकाराम नगरमा बस्छ । दुई वर्षदेखि उड्डयन क्षेत्रमा काम गर्दै आएका इरफान कामबाट फुर्सद हुँदा पिम्परी जान्थ े। उनी अन्तिम पटक केही दिन अघि बकरीदको अवसरमा घर गएका थिए । इरफानका आफन्तका अनुसार उनी ‘एयर विस्तारा’मा सामेल भएका थिए । तर त्यो कम्पनी ‘एयर इन्डिया’मा गाभिएपछि उनले ‘एयर इन्डिया’ मा काम गर्न थाले । यसअघि पनि उनले अन्तर्राष्ट्रिय उडानहरूमा काम गरिसकेका थिए । आवश्यकता अनुसार उनको कामको सूची परिवर्तन हुँदै गएको थियो। पिम्परीमा रहेका उनलाई लन्डनको लागि उडान लिनुपर्ने थाहा भएपछि  उनको परिवार पुणे विमानस्थलमा बिदाइ गर्न आएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्