भविष्य पुराण, हिन्दू धर्मका अठार प्रमुख पुराणहरूमध्ये एक हो, जसको शाब्दिक अर्थ ’भविष्यको इतिहास’ हो । यसले भविष्यका घटनाहरू, राजाहरू, र विभिन्न युगका महत्त्वपूर्ण व्यक्तित्वहरूको भविष्यवाणी गर्ने गर्दछ । यस पुराणको ’प्रतिसर्ग पर्व’ खण्डमा ’ईसा मसीह’ नामक एक व्यक्तिको उल्लेख भएको पाइन्छ, जसलाई केही विद्वानहरूले म्लेक्ष हरुका एक योगी येशू ख्रीष्ट हुन् भनेर उनैसँग जोड्ने गरेका छन् । आजकल सनातन हिन्दू धर्मको अध्येताहरुले यो विषयमा धेरै बहस र अनुसन्धान गरेका छन् । भविष्य पुराणको प्रतिसर्ग पर्वको तृतीय खण्डको, अध्याय ३ श्लोकसंख्या १९–३२ मा शक राजा शालिवाहन र एक दिव्य पुरुष जसलाई ईसा मसीह भनिएको छ, बीचको संवादको वर्णन गरिएको छ । यो संवाद राजा शालिवाहनले हिमालय क्षेत्रमा यात्रा गर्दा भएको मानिन्छ, जहाँ उनले एक उज्यालो वर्णका, सेतो वस्त्र धारण गरेका व्यक्तिलाई भेट्छन् । राजाले ती व्यक्तिलाई उनको परिचय सोध्दा, उनले आफूलाई ’ईसा पुत्र’ र ’कुमारी गर्भ सम्भव’ (कुमारीबाट जन्मेको) भनी चिनाउँछन् । स्मरण रहोस् क्राइस्ट विभिन्न श्रुतीहरुमा बताइए अनुसार कम्तीमा करिब १३ वर्षसम्म पश्चिमी दुनियाबाट लोप भएका थिए र यही समयमा कैलाश मानसरोवर वरिपरि हिमालय पर्वत श्रृङ्खलाका गुफा र कन्दराहरुमा हाम्रा ऋषि मुनीहरुसंग साक्षात्कार गर्दै योग र ध्यान सिक्नमा व्यस्त थिए । को भवानिति तं प्राह स होवाच मुदान्वितः । ईशापुत्रं च मां विद्धि कुमारीगर्भसम्भवम् । अर्थात्, राजाले सोधे, तपाईं को हुनुहुन्छ ? उनले आनन्दित हुँदै भने, ’मलाई ईशाको पुत्र र कुमारीको गर्भबाट जन्मेको जान्नुहोस् ।’ यसरी येशू ख्रीष्ट अर्थात् प्रभु पुत्रलाई ख्रीष्टियन हरुले भन्ने गरे अनुसार कुमारी आमाबाट जन्म भएको भनाइ संग मेल खान्छ । अर्थात् येशू ख्रीष्ट को बारेमा पनि हाम्रो पूर्वीय शास्त्र पुराणमा उल्लेख रहेछ । यसरी ख्रीष्टलाई ’ईशा (प्रभु) को पुत्र’ को रूपमा व्याख्या गरिन्छ, र ’कुमारीगर्भसम्भवम्’ ले कुमारी जन्मको अवधारणालाई समर्थन गर्दछ । यसै गरेर भविष्य पुराणको तेस्रो अध्याय अध्यायमा म्लेच्छधर्मस्य वक्तारं सत्यव्रतपरायणम् । इति श्रुत्वा नृपः प्राह धर्मः को भवतो मतः ।। ईशामसीहं च दश्यूनां प्रादुर्भूता भयाकरी । तामहं म्लेच्छतां प्राप्य मसीहत्वमुपागतः ।। अर्थात्, म्लेच्छहरूको धर्मको वक्ता, सत्यव्रतमा परायण । यो सुनेर राजाले सोधे, ’तपाईंको मतमा धर्म के हो?’ ईशा मसीह दश्यूहरू (अधर्ममा लिप्तहरू) मा भय उत्पन्न गर्ने गरी प्रकट भए। म म्लेच्छता प्राप्त गरेर मसीहत्वमा पुगेँ । यहाँ ’म्लेच्छ’ शब्दको प्रयोगले गैर–वैदिक वा विदेशीहरूलाई संकेत गर्दछ, जुन त्यस समयमा यहूदी वा रोमनहरूलाई बुझाउन प्रयोग भएको हुनुपर्दछ । पुराणमा वर्णित ’ईशामसीह’ नामको स्पष्ट उल्लेखले यो पात्र येशू ख्रीष्ट नै हो भन्ने बुझ्न कुनै कठिन छैन । उनले आफूलाई ’मसीह’ (अभिषिक्त) भनी चिनाएको कुराले क्रिश्चियन धर्मको केन्द्रीय अवधारणालाई प्रतिध्वनित गर्दछ । यसै गरी भविष्य पुराणको, प्रतिसर्ग पर्व तृतीय खण्ड अध्याय ३ को, श्लोक संख्या ३० र ३१ मा भनिएको छ, ईशामूर्तिर्हृदि प्राप्ता नित्यशुद्धा शिवङ्करी । ईशामसीह इति च मम नाम प्रतिष्ठितम् । इति श्रुत्वा स भूपालो नत्वा तं म्लेच्छपूजकम् । स्थापयामास तं तत्र म्लेच्छस्थाने हि दारुणे ।। अर्थात्, ईशाको मूर्ति हृदयमा प्राप्त भयो, जो नित्य शुद्ध र कल्याणकारी छ । ’ईशामसीह’ भनेर मेरो नाम स्थापित भयो । यो सुनेर ती राजाले म्लेच्छहरूद्वारा पूजित ती व्यक्तिलाई प्रणाम गरे र उनलाई त्यही भयानक म्लेच्छ स्थानमा स्थापित गरे । यी श्लोकहरूले ’ईशामसीह’ को शिक्षा र उनको नामको स्थापनाबारे बताउँछन् । यसले येशू ख्रीष्टले आफ्नो हृदयमा ईश्वरको शुद्ध रूपलाई धारण गरेको र म्लेच्छहरूका बीचमा आफ्नो शिक्षा फैलाएको कुरालाई संकेत गर्दछ । यद्यपि यी संस्कृत पदहरूले येशू ख्रीष्टको उल्लेख गरेको देखिन्छ, धेरै आधुनिक विद्वानहरूले भविष्य पुराणको यस खण्डको प्रामाणिकतामाथि प्रश्न उठाएका छन् । उनीहरूका अनुसार, भविष्य पुराणका धेरै खण्डहरू समय–समयमा परिमार्जन वा थपिएका हुन सक्छन् । विशेषगरी, ’प्रतिसर्ग पर्व’ मा आधुनिक इतिहासका घटनाहरू र व्यक्तित्वहरूको उल्लेख पाइन्छ, जुन पुराणको मूल रचनाकालभन्दा धेरै पछि भएका थिए । यसले यो खण्ड पछिल्लो समयमा, सम्भवतः १८ औं वा १९ औं शताब्दीमा, युरोपेली प्रभावपछि थपिएको हुन सक्ने संकेत गर्छ । केही विद्वानहरूले तर्क गर्छन् कि ’ईसा’ शब्दको अर्थ ’प्रभु’ वा ’शासक’ हुन सक्छ र यो येशू ख्रीष्टलाई मात्र नभई कुनै अन्य आध्यात्मिक व्यक्तिलाई पनि संकेत गर्न सक्छ । यद्यपि, ’ईसा मसीह’ र ’कुमारीगर्भसम्भवम्’ जस्ता विशिष्ट वाक्यांशहरूको प्रयोगले यो येशू ख्रीष्टलाई नै लक्षित गरेको भन्ने तर्कलाई बलियो बनाउँछ । भविष्य पुराणमा येशू ख्रीष्टको बारेमा उल्लेख हुनु एक रोचक विषय हो । यसले हिन्दू र क्रिश्चियन परम्पराहरू बीचको सम्भावित ऐतिहासिक वा आध्यात्मिक सम्बन्धबारे बहसलाई जन्म दिएको छ । संस्कृत पदहरूले ’ईसा मसीह’ नामक एक दिव्य पुरुषको स्पष्ट वर्णन गर्दछ, जसको जीवनका केही पक्ष येशू ख्रीष्टसँग मिल्दोजुल्दो छन् । यो उल्लेखले कम्तीमा पनि प्राचीन भारतीय ग्रन्थहरूमा विभिन्न संस्कृति र धर्मका प्रभावहरू कसरी प्रतिविम्बित हुन सक्छन् भन्नेबारे एउटा रोचक दृष्टिकोण प्रदान गर्दछ । सबैको जयहोस् ।
