IMG-LOGO

काभे्रपलाञ्चोक जिल्लाको जनसङ्ख्या ः सङ्क्षिप्त विवेचना

 मंगल, जेठ २८, २०८२  – प्रेमनारायण श्रेष्ठ, जनसङ्ख्या शास्त्री एवं समाजशास्त्री

     अब चर्चा गरौ माथिको जनसङ्ख्या पिरामिडको बारेमा । माथि प्रस्तुत गरिएको पिरामिडको उमेर समुह ००–००४ को जनसङ्ख्या दुवै लिंगको गरी जम्मा ६.८ प्रतिशत (पुरुषः ३.६ प्रतिशत र महिलाः ३.२ प्रतिशत) रहेको छ । उमेर समूहको जनसङ्ख्याले योजनाकार, नीति निर्मातालाई हाम्रो देशको ५ वर्ष मुनिको बालबालिकाको सङ्ख्या कति छ र उनीहरूको लागि खोपलगायत वस्तुमा कति लगानी गर्नु पर्ला, मातृ शिशु सेवामा कति लगानी गर्नु पर्छ भन्ने मोटामोटी खाका दिन्छ । बसरी नै माथिको पिरामिडले जनसङ्ख्याको आकार, बनावट र वितरणलाई प्रभाव पर्ने अर्को महत्वपूर्ण तत्व भनेको प्रजनन दर हो। विगतका राष्ट्रिय जनगणनाको तथ्याङ्क केलाउने हो भने कुल प्रजनन दरमा उल्लेख्य दरमा कमी आएको देखिन्छ । विसं २०३८ सालको जनगणना अनुसार त्यसबेला नेपालको कुल प्रजनन दर ६.३ थियो । यसको अर्थ प्रत्येक विवाहित महिलाले आफ्नो प्रजनन जीवनकाल भरिमा ६.३ जना बच्चा जन्माउँथे । सर्बसाधारणले बुभने गरी भन्दा १० जना प्रजनन उमेरका विवाहित महिलाले आफ्नो जीवनकालमा ६३ जना सन्तानको जन्म दिएका थिए भन्ने बुझ्नु पर्दछ । यो तथ्याङ्क विसं २०४८ मा ५.३. विसं २०५८ मा ४.१, विसं २०६८ मा २.६ र हालैको अन्तिम जनगणना विसं २०७८ मा कुल प्रजनन दर २.१ मा सीमित हुन पुगेको देखिन्छ । यसरी तुलनात्मक दृष्टिले हेर्दा ४ दशक अघिसम्म १० जना विवाहित महिलाले ६३ जना बच्चा जन्माउने गरेकोमा अहिले २१ जना मात्र बच्चा जन्माउने गरेका छन्, जुन प्रजनन दरमा आएको तिब्र कमी हो। यही हाराहारीमा काभ्रेपलाञ्चोक जिल्लाको प्रजनन दरमा पनि कमी आएको देखिन्छ । हालैको सम्पन्न जनगणनाले काभ्रेपलान्चोक जिल्लाको कुल प्रजनन दर १.९९ मात्र देखाएको छ, जुन राष्ट्रिय प्रजनन दर भन्दा पनि कम हो । यसरी प्रजनन दरमा कमी आउनुको पछाडि जिल्लाको स्वास्थ्य, शिक्षा, प्रतिव्यक्ति आयमा उल्लेख्य वृद्धि भइ जीवनस्तरमा सुधार हुनु, परिवार योजनाका साधनको उपलब्धता र उपभोगमा वृद्धि हुनु, केटाकेटी दुवैको विवाहको उमेरमा उल्लेख्य वृद्धि हुनु आदि कारकतत्त्व भएको देखिन्छ । सन् १९९४ मा इजिप्टको राजधानी कायरोमा सम्पन्न भएको “जनसङ्ख्या तथा विकाससम्बन्धी अन्तराष्ट्रिय सम्मेलन“ पछि महिलाको प्रजनन अधिकार, महिलाको शरीरमा स्वयंको नियन्त्रणको कुरा जोडतोडले उठ्यो र “बच्चा करले हैन रहरले जन्माऔं भन्ने नारा विश्वव्यापी बन्न पुग्यो र नेपालले पनि सो सम्मेलनको निर्णयहरूलाई आत्मसात् गरी महिला अधिकार र प्रजनन अधिकारमा जोड दिन थाल्यो, अनिच्छित गर्भलाई गर्भपतनका सेवाहरू सजिलै उपलब्ध हुन थाल्यो, फलतः प्रजनन दरमा व्यापक कटौती हुन थाल्यो । नेपालमा विद्यमान आर्थिक परिस्थितिले गर्दा धेरै जसो विवाह उमेरका केटाकेटीहरू रोजगारीको खोजीमा विदेशिने गरेकाले पनि प्रजनन दरमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव परेको देखिन्छ । विसं २०६८ सालको तथ्याङ्क अनुसार आजीवन विवाह नगर्ने जनसङ्ख्याको प्रतिशत पुरुष र महिलामा क्रमशः ३६.३ र २३.३ थियो भने अहिले २०७८ को जनगणनामा सो बढेर पुरुष र महिलामा क्रमशः ३७.७ प्रतिशत र २९.८ प्रतिशत पुगेको देखिन्छ । यसले पनि प्रजनन दरमा उल्लेख्य कमी ल्याएको देखिन्छ । विकसित देशमा प्रजनन दरमा कमी आउनु र नेपालमा कमी आउनुमा केही भिन्नता पाउन सकिन्छ । विकसित देशमा प्रजनन दरमा कमी त्यस देशमा भएको बिकासको प्रत्यक्ष प्रभाव देखिन्छ । त्यहाँ “म्भखभयिऊभलत ष्क तजभ द्यभकत ऋयलतचबअभउतष्खभक” भन्ने भनाइ प्रचलित थियो भने नेपालमा चाहिँ सरकारले बिबाहित दम्पतिलाई परिवार योजनाका साधन प्रयोग गर्नमा गरिएको जोडबलको मुख्य भूमिका देखिन्छ । अब सरकारले जनसङ्ख्या नीतिमा परिवर्तन गरी जनसङ्ख्या नियन्त्रणमा भन्दा जीवनस्तर गुणस्तरीय बनाउने र प्रजनन दर बढाउनेतर्फ ध्यान दिनुपर्ने देखिन्छ । यसरी बिभिन्न अन्तरनिहित कारणले प्रजनन् दरमा कमी आई समग्र रूपमा जिल्लाको जनसङ्ख्याको आकार, बनावट र वितरणमा पनि फरक आएको देखिन्छ ।      जनसङ्ख्यामा प्रभाव पार्ने अर्को महत्वपूर्ण तत्व भनेको मृत्यु दर हो । जहाँ मृत्यु दर बढी हुन्छ स्वाभाविक रूपमा त्यहाको जन्म दर पनि बढी हुन्छ । नेपालमा केही दशक अघिसम्म औलो, क्षयरोग, दादुरा, ठेउला, झाडापखाला जस्ता रोगको महामारी बेलाबेलामा फैलिन्थ्यो र एकै पटक हजारौका सङ्ख्यामा मृत्यु हुन्थ्यो । अहिले व्यापक रूपमा उपलब्ध स्वास्थ्य सेवा र सुबिधा, जीवनस्तरमा आएको सुधार, रोगसँग लड्न विभिन्न निरोधात्मक खोपको उपलब्धता, मानिसमा आएको खानपिनमा परिवर्तन, शिक्षा र सञ्चारमा पहुँच आदिले मृत्यु दरमा उल्लेख्य सुधार भएको छ। नेपालले अन्तराष्ट्रिय स्तरमा गरेको सहश्राब्दी विकास लक्ष्य र दिगो विकास लक्ष्य हासिल गर्न पनि महत्त्वपूर्ण काम गरेको छ । केही दशकभित्रै नेपालले उच्च रहेको मातृ मृत्यु दर र शिशु मृत्यु दरमा उल्लेख्य कमी ल्याई अन्तर्राष्ट्रिय पुरस्कार जित्नसमेत सफल भएको छ । मृत्यु दर यस्तो वस्तु हो जसलाई एउटा बिन्दुमा पुगे पछि त्योभन्दा तल झार्न सकिँदैन र आवश्यक पर्यो भनेर कुनै पनि उपाय गरेर वृद्धि गर्न पनि सकिँदैन । अहिले नेपालमा सरुवा रोगहरूमा ब्यापक कमी आएको छ, तर नसर्ने रोगहरू जस्तै मुटुसम्बन्धी रोग, मधुमेह आदि रोगहरूमा बढोत्तरी भएको देखिन्छ । मानिसको सरदर आयुमा भएको वृद्धिसँगै बुढेसकालमा आउने रोग र समस्या पनि बढ्दै गएको देखिन्छ । यसतर्फ केन्द्रीय, प्रदेश र स्थानीय सरकारले यथा समयमै ध्यान दिन जरुरी छ ।      राष्ट्रिय जनगणनाको तथ्याङ्क २०७८ अनुसार नेपालका ७७ जिल्लामध्ये ५८ जिल्लाको जनसङ्ख्या वृद्धिदर ऋणात्मक र बाँकी १९ जिल्लाको मात्र जनसङ्ख्या वृद्धि दर धनात्मक देखिन्छ । यसरी जनसङ्ख्या ऋणात्मक वृद्धि दर भएका जिल्लाहरूमा काभ्रेपलान्चोक जिल्ला पनि पर्दछ । जनगणना अबधिमा काभ्रे जिल्लामा जन्मनेको सङ्ख्या ३६२,७१०, बसाइँसराइ गरेर जिल्ला भित्रिनेको सङ्ख्या ४९,२२६ जना र यस जिल्लाबाट बसाईसराई गरेर बाहिर जिल्ला जानेको सङ्ख्या १५०,५९१ जना देखिन्छ । यसरी हेर्दा खुद बसाइँसराइ गर्नेको सङ्ख्या १०९,३६५ जना ऋणात्मक (–२७.९%) देखिन्छ । त्यसैले काभ्रेपलाञ्चोक जिल्लाको जनसङ्ख्या वृद्धि दरलाई ऋणात्मक बनाउन जिल्ला छोडेर बाहिर बसाइँसराइ गर्नेले प्रमुख भूमिका खेलेको छ । तल दिइएको तालिकाले नै के प्रष्ट पार्दछ भने काभ्रे जिल्लाको जनसङ्ख्या ज्यादै काम थियो । किनकि जनसङ्ख्यालाई स्थिर राख्न (प्रतिस्थापन तह) कम्तिमा जनसङ्ख्या वार्षिक वृद्धि दर २.१ प्रतिशत हुनु पर्दछ तर विसं २०४८ को जनगणनाको तथ्याङ्क देखिने यो दरमा बार्षिक वृद्धि कायम भएको देखिदैन भने विसं २०६८ र २०७८ को जनगणनामा त वृद्धि दर नै नकारात्मक देखिन्छ । चुनौती र अवसर      जनसङ्ख्याको आकार र बनोटमा अवसर मात्र छैन त्यतिकै चुनौतीहरू पनि थपिएका छन् । विवाह गर्नेको प्रतिशत घट्दै जानु, विवाहको उमेर बढ्दै जानु, रोजगारीको खोजीमा विवाहित दम्पतिसँगै बस्न नपाउनु जस्ता परिस्थितिले धेरै किसिमका समस्याहरू निम्तिएका छन् । जन्मदरमा आएको कमीले गर्दा सरकारको जनसङ्ख्या नीति नै परिवर्तन गर्नु पर्ने अवस्था आएको छ । यसअघि “दुई मात्र सन्तान ईश्वरका वरदान“ भन्ने भनाइलाई परिवर्तन गरी गुणस्तरीय जीवन व्यतित गर्न सकिने, आफ्नो क्षमताले पालनपोषण गर्न सक्ने जति बच्चा जन्माउन प्रोत्साहन गर्नु पर्ने अवस्था सिर्जना भएको छ । अहिलेको जटिल आर्थिक अवस्थाले गर्दा रोजगारीका लागि घर परिवार छाडी विदेश भासिनु पर्ने अवस्था रहेको छ, जसले गर्दा हाम्रो परम्परागत पारिवारिक संरचनामा बिखण्डन बढ्दै गएको छ, परिवारमा कलह थपिएको छ । देशमै रोजगारको अवसर नहुँदा युवाशक्ति सबै जना बाहिरिएका छन्, गाउँघर सुनसान भएका छन्, मर्दा पर्दा मलामी जाने, शुभकार्यमा भेला भई रमाइलो गर्ने कार्यमा ह्रास आएको छ । जिल्ला जिल्लामा हुने विकास निर्माणको कार्यमा सहभागी हुने जनशक्ति नहुँदा विकास निर्माण कार्य ठप्प हुन पुगेको छ । निर्माण कार्यका लागि बाहिरी जिल्लाबाट जनशक्ति ल्याउनु परेको अवस्था हाम्रो यथार्थ हो । यो अवस्था देशको र हाम्रो काभ्रेपलान्चोक जिल्लाको पनि यथार्थ हो ।      अहिले प्रजनन दर कम भएकाले शिघ्र जनसङ्ख्या वृद्धि भई जनसङ्ख्याको भार बढी हुने सम्भावना ज्यादै न्यून रहेको छ । जन्मदर कम हुनाका साथै बाल आश्रितको जनसङ्ख्या कम हुने भएकोले बालबालिकाको लगानी जस्तै विद्यालय, अस्पताल, मनोरञ्जन स्थल, पार्क, शिशुकक्षा निर्माण, शिक्षक नियुक्ति, पुस्तकको व्यवस्था आदिमा स्वतः लगानी घट्न जाने हुन्छ । अहिले बालबालिकाको स्वास्थ्यको लागि विभिन्न प्रकारका रोग निरोधक खोप कार्यक्रम एव्म मातृशिशु कार्यक्रमहरू सञ्चालन गरिएका छन् । अहिलेको जन्मदरमा आएको कमीले यस्ता कार्यक्रमको लागि गरिने खर्च पनि कम हुँदै गएको देखिन्छ । विवाहको मूल्य मान्यतामा पनि विस्तारै परिवर्तन हुँदै गएको देखिन्छ । कुनै समय उमेर पुगेका केटाकेटीहरूको विवाह अनिवार्य जतिकै थियो, तर अहिले विवाह गर्नेको उमेर र प्रतिशत दुवै घट्दै गएको र विवाहपछि धेरै बालबच्चा जन्माउने संस्कृतिमा परिवर्तन आई दम्पतीले एक दुईजना मात्र बच्चा जन्माउने गरेको भेटिन्छ । यसरी बचत हुन आएको बजेट सामाजिक तथा आर्थिक विकासमा खर्च बढाउने अवसरको रूपमा लिन सकिन्छ ।      अहिले बाल तथा शिशु मृत्यु दरमा निक्कै कमी आएको छ तथापि, सरकारले घोषणा गरेको लक्ष्य हासिल गर्न सकिरहेको छैन । पहिला पहिला रोकथाम गर्न सकिने विभिन्न रोगहरू र महामारीले गर्दा एकै पटक सयौको सङ्ख्यामा बालबालिकाको मृत्यु हुने भएको र नेपालको सामाजिक मूल्य मान्यता अनुसार बुढेसकालको सहाराको रूपमा र मरेपछि काजक्रिया गर्ने व्यक्ति विशेष गरेर छोरा जन्माउनु पर्ने मान्यताले धेरै सन्तान जन्माउँथे । तर अहिले जन्मेका एक दुई बच्चालाई ठुलो हुन्जेल हुर्काउन सकिन्छ भन्ने मनोबल बढ्दै गएको र छोरा–छोरी बीचको विभेदमा क्रमशः कमी आई रहेको छ । यसले गर्दा सरकारले यो क्षेत्रमा गर्ने लगानी विस्तारै घट्दै जाने देखिन्छ ।      काभ्रेपलाञ्चोक जिल्लाको जनसङ्ख्याको आकार र बनावट हेर्दा यस जिल्लाको विकासका लागि सबैभन्दा अनुकुल समय रहेको छ । यस जिल्लाको आर्थिक रूपले सक्रिय जनसङ्ख्या ६९ प्रतिशत रहेको छ । जिल्लाको जनसङ्ख्या लाभांश सूचकांक ८०.४ रहेको छ । यो काभ्रेपलान्चोक जिल्ला र समग्र देशको विकासको लागि सुवर्ण अवसर हो । जिल्लामा रहेको यो सक्रिय जनसङ्ख्यालाई जिल्लाकै विकास निर्माणमा लगाउने राम्रो अवसर छ । जिल्लाको औद्योगिकीकरण, कृषिमा क्रान्ति गरी जनताको जीवनस्तर उकास्ने यो उचित समय हो । यो अवसर कुनै पनि देशलाई २–३ सय वर्षमा मात्र प्राप्त हुने गर्दछ । नेपालको लागि यो अवसर अब मात्र २७ वर्ष बाँकी रहेको कुरामा जनसङ्ख्याविदहरू एक मत छन् । विश्वका धेरै देशहरूले यसरी जनसङ्ख्याको लाभांशको उचित प्रयोग गरी तीव्र विकास गरेका छन्, नेपालले यो अवसर कुनै हालतमा गुमाउनु हुँदैन । यसका लागि केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार, योजनाविद्, नीति निर्माता एकजुट भई लाग्नुपर्ने अपहार्यता छ, यसमा हामी चुक्यौ भने हाम्रो देशले कहिल्यै विकास गर्न सक्ने अवस्था रहँदैन । सबैजना सचेत बनौं । वर्ष २९ अंक १९ को बाँकी अंश स्रोत ः काभ्रेली गुञ्जन पुस्तकबाट    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्