IMG-LOGO

पत्रकारिता गर्दाको पिडा

 मंगल, जेठ २१, २०८२  – रमेश खकुरेल

     चालीस सालमा लोकेन्द्र बहादुर चन्दको प्रधान मन्त्रित्वमा मन्त्रीमण्डल गठन भएपछि प्रकाश लोहनी अर्थमन्त्री भएका थिए । उनी मेरी दिदीका (लक्ष्मण लोहनीका) भतिजा पनि भएकाले पारिवारिक सम्वन्ध राम्रो थियो । एक दिन मलाई उनले‘ मामाजी,हजुरजस्तो साहित्यिक व्यक्तित्वले यसै कारखाना र पसलमा मात्र सीमित भएर बसेर हुन्न । यौटा अखवार निकाल्नुहोस् । हामी मद्दत गर्छौं नि’ भने । मैले मलाई अखवार सम्वन्धी अनुभव छैन र आर्थिक हुति पनि छैन भन्दा पनि यी सबको चिन्ता लिनै पर्दैन । हामी छौं नि भनेर ढुक्क पारे । अनि आफ्नै प्रकाशन र सम्पादकत्वमा ’नारद’ साप्ताहिक निकाल्न थालें । त्यत्रो आठ पेजको अखवार निकाल्न मलाई यौटा पियन चाहिं दिइएको थियो अरू सारा खबर सङ्कलन,समाचार सम्पादन र लेख आदि आफै लेख्नु पथ्र्यो । त्यस बखतमा मलाई निःशुल्क लेख रचना दिएर सहयोग गर्नुहुने डा. हरि भट्टराई,जगदीश चन्द्र रेग्मी, राम कुमार पाँडे र भिक्टर प्रधानको म सधैं गुन सम्झिनेछु । मासिक १५०० सूचना विभागको हण्डी पनि मैले पाउँथें तर बाँकी सारा खर्च आफै हाल्नु पर्दा मलाई निकै बोझ हुन थाल्यो । कतै कसैलाई विज्ञापनका लागि पनि कसैले नभनिदिने र छापेका विज्ञापनका पनि भुक्तानी नपाइने हुँदा मुश्किल प¥यो । पत्रकारितामा मानिसलाई धम्क्याउने वा नचाहिंदो प्रसंशा गरेर पैसा बटुल्ने काम गर्न आफ्नो बानी र नैतिकताले नदिने हुँदा तीन महिना चलाएर यो अखवार पनि मैले छोडें । यस अवधिमा यस काममा मलाई छब्बीस हजारको नोक्सानी भएछ । यस नोक्सानीको पूर्ति गर्न र विष्णु पौडेलको पनि उद्धार गर्न मैले नयाँ ट्रक किश्ताबन्दीमा लिएको थिएँ ।      पसल र कारखानामा भाइ सुरेश हुञ्जेल म बाहिर जता पनि र जति दिन पनि फुक्काफाल भएर हिंड्न सक्थें । हुनपनि ऊ लेथ,वेल्डिङ्ग दुवैमा आफ्नै कारखानामा काम गरेर निपुण भएको थियो भने जस्तै जुन मोडेलको गाडीमा जे खराबी भए पनि पत्तो लाउन र ठीक गर्न गजबको कुशल थियो । मेरो बानेश्वरको घरमा नेपाल याक होटेल चलाउने अजय भट्टचनले वैदेशिक रोजगारीमा मानिस पठाउने काम पनि थालेका थिए र भाइले बहराइन जाने इच्छा ग¥यो र सजिलेसित जान पायो पनि । ऊ गएपछि मलाई यता छोडेर बाहिर जान अप्ठेरो हुन थाल्यो । यही अवधिमा ढुङ्गा अड्डामा घर बनाउने र कार्पेट ढुवानीको समेत काम बढेकाले ट्रकमा म पूर्णतया विष्णुकै निर्भर हुनु प¥यो । आफ्नो निगरानी हुन कम भएपछि मानिसलाई कामदारले अलिअलि यताउता गर्न पनि सजिलो हुने रहेछ । विष्णुले पनि केही यस्तै लटपट गर्न पनि थालेछन् । बढी भार लादेर कमको आमदानी देखाए पनि मैले पत्याउनै प¥यो । तर ट्रकले मानेनछ र क्राउन भाँच्ने रोग लाग्न थाल्यो । मैले विष्णुलाई केही नभनीकनै बरु ट्रकै बेचिदिएँ । उनीले तुरुन्तै कुलेश्वरका हाम्रा पुराना घरपतिसित पनि केही (डेढ लाख) सापट लिएर ट्रक किने र साहू भए । साहूजी छत्तीस प्रतिशतले महिनैपिच्छे ब्याज लिने गर्थे । केही महिना पछि विष्णुले साहुजीले साह्रै कचकच गरे भनेर मसित पैसा लिई साहुजीलाई तिरे । केही दिन त मलाई पनि ब्याज दिंदै थिए पछि त साउँ ब्याज सबै आजसम्म मुख देखेको छैन । यसरी ट्रकमा सापटी दिंदा ट्रक नै आफ्नै नाममा राखेर मात्र दिने चलन थियो, त्यसो नगर्नाले मेरो रकम डुबेको हो । यही हो संसारमा भलो गर्दा आफैलाई खान्छ वा होम गर्दा हात पोल्छ भनेको यही हो ।      चवालीस सालमा हामी दाजुभाइ भिन्न हुने वेला सुरेश घर आएको थियो । अब यसलाई यहीं रोकेर राख्नु प¥यो भनेर उसको विवाह पनि गराइ दिएँ तर ऊ त फेरि पनि सपरिवार बहराइनै गयो । हामी दुवै भाइको घर बनाएको कुरा त मैले हिजै लेखिहालें । यसपछि पनि फेरि यौटा पुरानो ट्रक किनेर राखें । यस पाला अशोक नामको केटालाई चालक राखेको थिएँ । पछि त्यो ट्रक पनि बेचेर पन्ना साहुसितै साझेदारीमा डबल ट्रिप अटाउने लामो च्यासिसको ट्रक बैंकबाट किस्ताबन्दीमा लिएँ । गलैंचा पनि हलुका सामान भएकाले अरू चौध फुट बडी भएका ट्रकमा कम(तौलमा) लोड हुन सक्थ्यो भने यसमा डबल ट्रिप लोड गर्न सकिन्थ्यो । बीरगञ्जबाट पनि हलुका सामानहरू यसमा धेरै लोड हुन सक्ने हुनाले यसको आमदानी बढी हुन्थ्यो ।यसरी मेरो काम राम्रैसित चलिरहेको थियो ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्