देशमा राजतन्त्र पुनस्र्थापनाको सपनादेख्ने राष्ट्रिय प्रजातन्त्र पार्टी र राजदरवारको जुठो–पुरोमा बाँचेका भृत्यहरुको समूहले राजतन्त्रको पुनस्र्थापनाको मांगगर्दै संघीय राजधानी शहरमा जेठ १५ गते आक्रामक जुलुस प्रदर्शन गर्ने भनिएको थियो त्यो पनि देखियो । सोही दिन एमालेले ११ बजे देखि २ बलेसम्म कब्जा गरेको देखियो तर समाचारमा २०८२÷०८३ को बजेटले अग्र स्थान पायो । देशका सामान्य जनता न संघर्षको बारेमा सूचित छन् , न शान्तिका बारेमा बिश्वस्तहुन सकेका छन् । ‘सामाजिक सञ्जाल’ नामको नवीनतम ‘संचार’ उद्योगमाथि आफ्नो बर्चस्व जमाएर बसेका सूचना उद्योगी र व्यवसायीहरु संघर्ष र शान्तिका बारेमा ग्राहकलाई उक्साउने, जोस्याउने र चिस्याउने काममा ब्यस्त रहेका छन् । तै पनि, खुशीको कुरा, सही–गलत जस्तो भएपनि सूचनाको प्रवाह जारी छ । खोला सुक्नु हुँदैन । हिलो–मैलो, फोहोर–सफा जस्तो भएपनि खोलामा पानी निरन्तर बहनु पर्दछ । कतिले अहिलेको झगडालाई संघीय लोकतान्त्रिक गणतन्त्र र निरंकुश राजतन्त्रबीचको विवादका रुपमा लिएका छन् । तर, यो लोकतान्त्रिक गणतन्त्रको विवाद होइन । लोकतन्त्र र निरंकुशतन्त्रका बीच चयन गर्नुपरे मानिसले लोकतन्त्रकै चयन गर्दछ । यो कुनै प्रश्न नै होइन । संसारमा साँचो अर्थमा राजतन्त्र एउटै देशमा छ । त्यो हो बेलायत । बेलायतमा पनि राजतन्त्र यस निम्ति टिकाउ छ कि त्यहाँ राजा निरंकुश हुनसक्ने अवस्था पनि छैन । व्यवस्था नै छैन । बेलायत र त्यसभेगका केही देशमा बाहेक अन्य सबै देशका राजतन्त्रहरु निरंकुश छन् । निरंकुश अर्थात छाडा । जे मनमा लाग्यो त्यही गर्ने । डच अर्थात नेदरल्याण्डको उप–निवेशका रुपमा रहेको इण्डोनेशियालाई दासताबाट मुक्त गराउने क्रान्तिकारी नेता सुकार्नोलाई इण्डोनेशियाका जनता राष्ट्रपिता मान्दछन् । सुकार्नो भन्दथे ः बितेका कुरा बिते । अतीतका दुःख र कष्ट सम्झेर तीतो नपोखौं । हाम्रा आँखालाई भविष्यदर्शी बनाऔं । सत्तामा पुगेका सुकार्नोले इण्डोनेशियालाई विश्वका देशहरुको मूल प्रवाहमा ल्याए । असंलग्न परराष्ट्र नीतिका निर्माता थिए उनी । वामपन्थी विचारप्रति अलिकति ढल्किएका सुकार्नो जीवनको पछिल्लो समयमा अलिकति ‘बिन्दास’ भए । उनलाई उनकै वंशज सुहार्तोले अपदस्थ गरे । नियालेर हेर्ने हो भने हाल गणतन्त्र नेपालका प्रवल मानिने नेताहरुमा सबैभन्दा जेठा शेरबहादुर देउवा र समकालीन नेताव्दय खड्गप्रसाद शर्मा ओली र पुष्पकमल दहाल ‘प्रचण्ड’ रहेका छन् । उनीहरुका बीच कथित ‘बैचारिक’ बाहेक अन्य सबै कुरामा समानता छ । शेरबहादुर देउवाले आफना दुबै ‘बैचारिक’ प्रतिव्दन्व्दी प्रचण्ड र ओलीलाई प्रधानमन्त्री बनाइ सक्नु भएको छ । अहिले पनि प्रधानमन्त्री बनाउने ‘चावी’ उहाँकै हातमा छ । देउवा अहिले ‘प्रतीक्षारत’ प्रधानमन्त्री हुनुहुन्छ र पनि, उहाँ ‘डेन्जर जोन’ मा हुनुहुन्छ । कथम्, ओली र प्रचण्डको अन्तरात्मामा माक्र्सवादी–माओवादी आत्मा हावी भयो भने उहाँ प्रधानमन्त्री बन्नुहुने सम्भावना रहँदैन । नेपाली कांग्रेसका नेता तथा विचारक सी.के. प्रसाई भन्नुहुन्थ्यो ः राजनीतिमा कोही कसैको स्थायी मित्र र स्थायी शत्रु हुँदैन । देउवा, ओली र प्रचण्ड पनि एकअर्काका स्थायी शत्रु होइनन् । तर, सत्ता स्वार्थका मामिलामा त्यसो नहोला । प्रधानमन्त्री ओलीले देउवालाई खुरुक्क प्रधानमन्त्रीको आसन सुम्पिएलान् । तर, हालका दिनहरुमा सत्ता हस्तान्तरण देउवाले सोचे जति सहज हुन नसक्ने संकेत पनि आइ रहेका छन् । डा. गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउन लाग्नु भएका देउवाका लागि डा. बिश्व पौडेलको नियुक्ति बाध्यता थियो । बजेट निर्माणमा अर्थमन्त्री बिष्णु पौडेललाई ‘प्रोफेसनल’ हैसियतले सघाइ रहनु भएका पौडेल असामान्य स्थितिमा गभर्नरमा नियुक्तहुनु भएको हो । यो असामान्य स्थितिलाई देउवाले कसरी सहज बनाउनु हुनेछ ? उहाँका लागि सजिलो छैन । यो गजबको संयोग हो – देउवा–ओली–प्रचण्ड, राजनीतिका यी तीनवटै ‘खेलाडी’ अहिले एकअर्काका संपूरक बन्नु भएको देखिन्छ । देउवालाई प्रधानमन्त्री बनाउने खेलमा प्रचण्ड सामेल हुनुभयो भने अहिलेको समीकरण बदलिन्छ । तर, सभापति देउवा एक्लैले गृहमन्त्री रमेश लेखकलाई ‘भिजिट भिसा’ मा लागेको चलखेलको ‘वात’बाट मोचनगर्नु त्यति सहज देखिदैन । एमालेका नेताहरुको आपसी कुराकानीबाट पनि यो थाह पाइन्छ – देउवाले नेपालको नोटमा एकजना महिलालाई हस्ताक्षरगर्ने अवसर दिनु भएको भए यतिबेला भिजिट भिसाको लफडा बाहिर आउने नै थिएन । ‘राजनीतिमा यस्तो त भइ रहन्छ’ भनेर चित्त बुझाउने हो भने कुरा अर्कै हो । होइन भने, देउवाको आन्तरिक राजनीतिक ब्यूहका धेरै धाँजा फाटी सकेका छन् । कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइराला नैतिकताको आधारमा गृहमन्त्री लेखकले राजिनामा दिनुपर्ने पक्षमा हुनुहुन्छ । डा. शेखरका बिरुद्ध अर्का सांसद तथा कोइराला परिवारका सदस्य डा.शशांक कोइराला देउवाको पक्षमा तमाशा देखाउन उभिनु भएकोछ । कोइराला परिवार–विघटनको पछिल्लो उदाहरण हो यो । अहिलेको संयोग कस्तो छ भने – राजनीतिक रुपले देउवा, ओली र प्रचण्ड तीनैजना ‘सर्वोच्च’ नेतासँग उनीहरुका पार्टीका प्रमुख नेता र कार्यकर्ताहरु खुशी छैनन् भन्ने पटक पटक सावित भै सकेकोछ । बाहिरी आवरणमा निकै सुदृढ देखिएपनि सांगठनिक हिसावले यी तीनैजना नेता भित्रभित्रै खोक्रिइ सकेका छन् । ‘जसोतसो’ आपूmलाई सर्वोच्च पदमा टिकाइ रहेका देउवा आपूm प्रधानमन्त्री भएपछि निर्वाचन र त्यसपछि मात्र कांग्रेस महाधिवेशन गराउने पक्षमा रहेको बताइन्छ । अध्यक्ष ओलीको पार्टीमा कार्यकर्ताहरु सर्वोच्च नेताको प्रत्यक्ष आलोचना गर्दैनन् । तर, उहाँको विरोधमा पार्टीभित्र ‘कैंची काट’ अभियान तिव्र रहेका संकेतहरु प्रसस्त भेटिन थालेका छन् । त्यही हालतमा हुनुहुन्छ माओवादी अध्यक्ष प्रचण्ड । उहाँले पूर्व उप–राष्ट्रपति नन्दकिशोर पुनलाई आपूmपछिको नेतामा भर्ती गरेपछि माओवादी केन्द्र एकताको बाटोमा होइन, अनेकताको ओरालोतिर लागेकोछ । पार्टीका कतिपय संघर्षशील नेताहरु आपूmहरुसँग नेतृत्वले अपमानजनक व्यवहार गरेको गुनासो गर्न थालेका छन् । सभापति देउवाको स्थिति अध्यक्ष ओली र अध्यक्ष प्रचण्डको भन्दा खराव देखिन्छ । लामो समयदेखि उहाँलाई निःशर्त सहयोगगर्दै आएका कांग्रेसी कार्यकर्ताहरु उहाँबाट उपेक्षित महसूसगर्न थालेका छन् । अहिले समर्थकहरुको निकै सानो घेरामा सीमित हुनु भएका देउवामाथि पारिवारिक स्वार्थमा लागेको आरोप लगाउनेहरु पनि थुप्रै छन् । देउवा ‘डल’ हुँदै गएपछि कांग्रेसका अधिकांश कार्यकर्ता डा. शेखर कोइरालातिर लहसिन थालेका छन् । अप्ठ्यारो अवस्थामा साथदिएका र देउवाका मित्रका रुपमा रहेका पुराना नेताहरु पनि देउवाबाट टाढिन थालेका छन् । आपूm प्रधानमन्त्री नभएसम्म कांग्रेसको अधिवेशन नगराउने देउवाको सोचको पार्टीभित्र तीखो आलोचना हुन थालेकोछ । यो गणतन्त्र दिवसपछि तीनवटै प्रमुख पार्टीका नेताहरुका बिरुध्द कार्यकर्ताहरु एकत्रितहुने सम्भावना बलियो देखिन्छ । माओवादी पार्टीमा दिनहूँ नयाँ समीकरणको चर्चा भइरहेको छ । एमालेका नेता र कार्यकर्ताहरु ओलीतन्त्रको उच्चाटलाग्दो व्यवहारबाट उक्ताउन थालेका छन् । देउवाको ‘प्यासिभ’ नेतृत्वबाट कांग्रेसका अधिकांश नेतामा निराशा छाउन थालेकोछ । यी तीनैजना नेतामा वर्तमान समयको कुनै चेतना देखिदैन । उनीहरु बिचारको पुरानै बृत्तमा खेली रहेका छन् । यिनीहरु न त बिद्या र बुध्दिका हिसावले बलिया छन्, न त राजनीतिक नेतृत्वका लागि चाहिने कौशल नै छ यिनीहरुमा । न व्यक्तित्वमा कुनै ओज छ, न आकर्षण । बैंकको मुद्दती खाताको ब्याजले जीवन चलाउने वर्गका मानिसहरुले जस्तै यी नेताहरु आफनो कथित ‘राजनीतिक योगदान’ को ब्याज खाइ रहेकाछन् । यिनीहरुकै कारण देशले अग्रगामी फड्को मार्न सकेको छैन । स्पष्ट शब्दमा भन्ने हो भने, नेपालमा संघीय गणतन्त्रलाई प्रभावकारी बनाउन यी नेताहरुले माखोमार्ने कामसम्म गरेका छैनन् । वैदेशिक रोजगारीमा जाने नेपालीले कमाएको पैसा गनेकै भरमा देशको विकासहुने भए अहिलेसम्म धेरै विकास भै सक्ने थियो । संघीय संसदमा अहिलेसम्म देशको बढदो आवश्यकताका बारे एकदिनपनि गम्भीर वहस भएको छैन । सत्ताको रमझममा रमाउने यी नेताहरुका लागि संघीय संसद ‘जुवाको अखडा’ बनेकोछ । सत्ता संचालनको गहनतम भूमिका बोक्ने पार्टीबाट बृध्द नेताहरुलाई अभिभावकको भूमिकामा थन्क्याएर सक्रिय राजनीतिबाट सम्मानपूर्वक ‘विदाइ’ नगरेसम्म नयाँ नेपाल निर्माणको सपना सपना मै सीमित रहनेछ । समुन्नत नेपालको निर्माणका लागि संघीय गणतन्त्रको बिकल्प छैन । तर, नयाँ जमाना र नयाँ जीवन नबुझेका नेताहरुको रजगज रहेसम्म परिवर्तन सम्भव छैन । हामी खुम्चिने कि फक्रिने ? मतदाताका बीच प्रभावशाली रहेका पार्टीका नेता, कार्यकर्ता र समर्थकहरुले सोच्ने समय यही नै हो ।
