प्राचीन समयमा भरत खण्ड ज्ञान–विज्ञानको उद्गमस्थल थियो, जहाँ कैयौँ ऋषि–मुनिहरूले आफ्नो गहन अध्ययन र अनुसन्धानद्वारा मानव कल्याणका लागि महत्त्वपूर्ण योगदान दिए। यिनै महान् विभूतिहरूमध्ये एक हुन् महर्षि सुश्रुत, जसलाई शल्य चिकित्साका पिताका रूपमा सम्मान गरिन्छ । यो भन्दा २ अंक अगाडि सुश्रुतको प्रजनन स्वास्थ्य सम्बन्धी सानो चर्चा गरिएको थियो। उनको कालखण्ड ईसापूर्व सातौं शताब्दी मानिन्छ, यद्यपि केही विद्वान्हरूले उनलाई अझ पुरानो समयको पनि मान्दछन् । सुश्रुतले चिकित्सा विज्ञान, विशेषगरी शल्यक्रियाको क्षेत्रमा जुन क्रान्तिकारी कार्य गरे, त्यो आज पनि विश्वका लागि प्रेरणाको स्रोत बनेको छ । उनको कालजयी ग्रन्थ सुश्रुत संहिता ले प्राचीन चिकित्सा पद्धतिको गहिराइलाई उजागर गर्दछ । महर्षि सुश्रुतले शल्यक्रियालाई एक व्यवस्थित र वैज्ञानिक स्वरूप प्रदान गरेका छन् । उनले अनुसन्धान र प्रयोगमा आधारित भएर शल्यक्रियाका विभिन्न पक्षहरूको विस्तृत व्याख्या गरेका छन् । सुश्रुत संहितामा शल्यक्रियाका आठ प्रकारहरू (अष्टविध शल्यकर्म) छेदन (काट्नु), भेदन (चिर्नु), लेखन (खराउनु), वेधन (छेड्नु), एष्य (फलो गर्नु), आहार्य (निकाल्नु), विस्रावण (रक्तश्राव गराउनु) र सीव्य (सिलाई) को वर्णन गरिएको छ । यी विधिहरू आज पनि आधुनिक शल्यक्रियामा प्रयोग हुने आधारभूत सिद्धान्तहरूसँग मेल खान्छन् । सुश्रुतले प्लास्टिक सर्जरीको अवधारणालाई पनि विकसित गरे, जसमा काटिएको वा क्षतिग्रस्त नाक, कान जस्ता अंगहरूलाई पुनः निर्माण गर्ने विधिहरू समावेश छन् । राइनोप्लास्टी (नाकको शल्यक्रिया) र ओटोप्लास्टी (कानको शल्यक्रिया) जस्ता विधिहरूको विस्तृत वर्णन सुश्रुत संहितामा पाइन्छ । यसले सुश्रुतको शल्यक्रियासम्बन्धी गहिरो ज्ञान र दूरदर्शितालाई प्रमाणित गर्दछ । सुश्रुतले शल्यक्रिया गर्नुअघि बिरामीलाई तयारी गर्ने, शल्यक्रियाका औजारहरूलाई जीवाणुरहित बनाउने (कतभचष्ष्शिबतष्यल) र शल्यक्रियापछिको हेरचाहका बारेमा पनि विस्तृत निर्देशन दिएका छन् । उनले १४ प्रकारका ब्यान्डेजहरू र ३०० भन्दा बढी शल्यक्रियाका औजारहरूको वर्णन गरेका छन् । यी औजारहरूले तत्कालीन समयमा शल्यक्रियाको उच्च स्तरलाई दर्शाउँछन् । सुश्रुत संहिता आयुर्वेदको एउटा महत्त्वपूर्ण ग्रन्थ हो, जुन मुख्यतः शल्य चिकित्सामा केन्द्रित छ । यो ग्रन्थ पाँच मुख्य खण्डमा विभाजित छ ः सूत्रस्थान, निदानस्थान, शरीरस्थान, कल्पस्थान र उत्तरतन्त्र. सूत्रस्थानमा चिकित्साका आधारभूत सिद्धान्तहरू, रोगीको जाँच विधि, शल्यक्रियाका उपकरणहरू र शल्यक्रियाका सामान्य नियमहरूको वर्णन गरिएको छ । निदानस्थानमा विभिन्न रोगहरूको कारण र लक्षणहरूको विस्तृत वर्णन छ । शरीरस्थानमा मानव शरीरको संरचना (एनाटोमी) र भ्रूण विकास (एम्ब्रियोलोजी) को विस्तृत जानकारी दिइएको छ । सुश्रुतले मृत शरीरको विच्छेदन गरेर मानव शरीरको आन्तरिक संरचनाको अध्ययन गर्ने विधि पनि सिकाएका छन्, जुन आधुनिक शरीर रचना विज्ञानको जग हो । कल्पस्थानमा विष विज्ञान (टक्सिकोलोजी) र विभिन्न विषहरूको प्रभाव तथा तिनको उपचारबारे वर्णन गरिएको छ । उत्तरतन्त्रमा आँखा, कान, नाक, घाँटीका रोगहरू (ईएनटी), स्त्री रोग, बाल रोग र मानसिक रोगहरूसहित अन्य विभिन्न चिकित्सा शाखाका विषयहरु समावेश छन् । सुश्रुत संहिताले शल्यक्रियाका लागि आवश्यक वातावरण, शल्यचिकित्सकका गुणहरू, र शल्यक्रियाको सफलताका लागि आवश्यक अन्य पक्षहरूमा पनि प्रकाश पारेको छ । यसले चिकित्सकको नैतिकता र कर्तव्यलाई पनि जोड दिन्छ। सुश्रुत संहिताका केही महत्त्वपूर्ण श्लोकहरूले उनको दूरदर्शिता र ज्ञानलाई प्रकट गर्दछन् । शल्यचिकित्सकका गुणबारे संहितामा यसो भनिएको छ, ध्येयः शल्यचिकित्सकेन अभ्यस्तकर्मणामेव कर्म सिद्धिः प्रजायते । यत्नेन, अर्थात्, शल्यचिकित्सकले ध्यानपूर्वक र निरन्तर अभ्यासद्वारा आफ्नो कर्ममा निपुणता प्राप्त गर्नुपर्छ, किनकि अभ्यासबाट मात्र कर्ममा सफलता प्राप्त हुन्छ । शल्यक्रियाको तयारीबारे चिकित्सकलाई यसरी सजक बनाइएको छ, पूर्वकर्मणि यदा सिद्धं तत्कर्म च विधातृभिः, तेनैव विधिना कुर्यात् तदवश्यं चिकित्सया । अर्थात्, पहिला नै सफलतापूर्वक गरिएका शल्यक्रियाहरूलाई ध्यानमा राखेर, चिकित्सकले त्यसै विधि र प्रक्रिया अनुसार आवश्यक उपचार गर्नुपर्छ । चिकित्सकको नैतिकता र कर्तव्यबारे पनि संहितामा उल्लेख छ, न च स्त्रीषु न बालकेषु न वृद्धेषु न दीनेषु च, न चार्थाथर्थी न च धर्मार्थी न मोक्षार्थी भवेत् भिषक् । अर्थात्, चिकित्सकले स्त्री, बालक, वृद्ध वा दीन–दुःखी कसैमाथि पनि भेदभाब गर्नुहुँदैन । ऊन त धनको लोभी हुनुपर्छ, न धर्मको लागि चिकित्सा गर्नुपर्छ, न मोक्षको लागि । उसको एकमात्र लक्ष्य रोगीको सेवा हुनुपर्छ । महर्षि सुश्रुत र उनको सुश्रुत संहिता केवल प्राचीन चिकित्सा विज्ञानको अमूल्य निधि मात्र होइन, यो मानव सभ्यताको इतिहासमा शल्यक्रियाको विकासको एउटा महत्त्वपूर्ण कडी पनि हो । उनले स्थापित गरेका सिद्धान्तहरू, विकसित गरेका विधिहरू र प्रयोगमा ल्याएका औजारहरू आधुनिक चिकित्सा विज्ञानको आधारशिला बनेका छन् । उनको योगदानले यो प्रमाणित गर्छ कि प्राचीन समयमा हाम्रो भूमि, यो हिमवत्खण्ड, भरतखण्ड विज्ञान र प्रविधिको क्षेत्रमा कति उन्नत थियो । सुश्रुतको शिक्षा आज पनि प्रासंगिक छ र यसले हामीलाई ज्ञान, अभ्यास र नैतिकताको महत्त्व सिकाउँछ । सबैको जयहोस् ।
