IMG-LOGO

छोटो त जिन्दगी फोटो खिचेर राख 

 मंगल, चैत ३, २०७७  नमुना लामा, फूपु दिदी

कानले जुन कुरा कहिलै सुन्न नपरोस भन्यो सुन्नु मात्रै होइन त्यहि भोग्नु र बेहोर्नु पर्दाे रहेछ मानिसले । जुनु र उनकी सानी छोरीले हामीलाई छोडेर गएको वर्ष दिन भइसक्यो तर, उनको माया र सम्झना झन गाढा बनेर मुटुभित्र विझिरहेको छ । सायद त्यहि भेट नै अन्तिम भेट रहेछ जुनुको र मेरो । जुन भेट बेथानचोक ५ का रहर दाइकी छोरी सुनिलाको विवाहको दिन थियो । त्यसपछि हामीले कहिलै पनि जुनुलाई भेट्न नपाउने गरी यो संसारबाट बीदा भइन् ।  सुनिलाको विवाहको दुई दिन अघि जुनुले फोन गरिन् –दिदी सुनिलाको विवाहमा साडी लगाउनुपर्छ है । अनि एउटै गाडीमा जानुपर्छ भनेकि थिइन् ।  तर, उनी र म एउटै गाडीमा जान पाएनौ  मेरो व्यस्तताको कारण ।  उनी र म फरक फरक गाडी चढेर माइतिघर पुग्यौँ ।  म भन्दा केहि समय अघि नै उनी माइतिघर पुगिसकेकी रहिछन् । म भने अलि पछि पुगेँ ।  त्यो दिन उनको र मेरो भेट हुन पाएन । म सिधै विवाह हुने घरमा गएँ । त्यहाँ जुनुकी आमा अर्थात् मेरो भाउजु आउनु भएको थियो । मैले जुनु खै त भनेर सोधें । ‘सन्चो नभएर घरमा सुतिरहेको खबर सुनाउनु भो भाउजुले ।  त्यो दिन त्यतिकै भयो । भोलीपल्ट बिहान १० बजे जुनु आफैं म भएको ठाउँमा आइपुगिन् ।  दुवै जनाले खुसी साटासाट ग¥यौं । उनले खुसी हुँदै भनिन् ‘दिदी मलाई त राम्रो साडी लगाउन आउँदैन त्यसैले तपाईंले चिटिक्क मिलाइदिनुहुन्छ कि भनेर आको । साडी लगाएर जन्ती हेर्न जाउँ ।’  त्यसपछि हामी सबै दिदीबहिनी साडी लगाएर सुनिलाको विवाहको जन्ती हेर्न गयौं । अनि भोज खाइसकेपछि तल बाटोमा बसेर सबैले सामुहिक फोटो खिच्यौं ।  सबै दिदीबहिनी सँगै भेट हुन गाह्रो हुन्छ भनेर फोटो खिचेका थियौं । तर, जुनुसँग भने अन्तिम भेट रहेछ । सबैजना बिहेको रमझममा रमाइरहेका थिए । सबैजना नाचिरहेका थियौं । तर, जुनु भने नाचिनन् । किन ननाचेको भनेर सोध्दा सन्चो छैन दिदी भनिन् । हामी रमाइलोमै व्यस्त भयौं । जुनुलाई झन गाह्रो भएछ र घरमा गएर सुतिछन् ।   भोलिपल्टको बिहान हामी काठमाडौं जाने तयारी गर्दै थियौं । घरमा गएर भाउजुलाई भेट्यौं । भाउजुले जुनु र छोरी दुबैलाई सन्चो नभएर सुतिरहेको बताउनुभयो । भित्र गएर भेटें जुनुलाई । उसले मलिन स्वरमा हुँदै भनिन् ‘दिदी ज्वरोले सिकिस्तै बनायो ।’ केहिबेर जुनुसँग गफ गरेर म फर्किएँ । त्यहि गफ नै अन्तिम गफ भयो । भक्तपुरमा सानो किराना पसल थियो मेरो त्यसैले त्यहि दिन जसरी पनि काठमाडौं जानु थियो र म निस्केँ ।  चैत ३ गते म पसलको सामान झार्दै थिएँ । मोबाइलमा कसैको फोनको लामो घण्टी बजिरहेको थियो । मैले हत्तपत्त फोन उठाएँ । माइलाबुबाको छोरा सञ्जय दाइले गर्नुभएको रहेछ । अरु बेला भन्दा दाइको स्वर भिन्नै थियो मलिन र दुःखको । मैले हेलो भन्न नपाइ दाइले मलिन स्वरमा सोध्नुभयो  ‘मायाँ तिमी कहाँ हो ?’  म पसलमा छु दाइ घरतिरको केहि खबर सुनेकी छौ ? खतमै भो नी  एकसासमा दाइले यति भन्नु भो  दाइको कुरा राम्रोसँग बुझेकी थिइन त्यसैले आत्तिँदै सोधेँ दाई के भयो भन्नु न  ‘जुनु र उसको छोरीलाई पनौतिमा टिपरले हानेछ छोरीको उत्तिखेरै ज्यान गएछ जुनु गम्भीर छ रे  । ’ यति भनेर दाइले लामो सास फेर्नुभयो ।  म एकाएक उभिएको ठाउँबाट थचक्क बसें । सपना हो कि विपना हो भनेर आफैंलाई चिमोटेँ । तर, त्यो विपना नै थियो । छोरीलाई जे नहुनु थियो भइसक्यो जुनुलाई केहि नहोस् भनेर भगवानसँग प्राथना गरेँ ।  हातखुट्टा लुगलुग कामिरहेको थियो । होस हवास उडिसकेको थियो । मोबाइलमा जुनुको नम्बर हेरेँ । आँखा तिरमिराइरहेको थियो । बल्लबल्ल भेटाएँ नम्बर र थिचेँ फोन ।  उनको मोबाइलबाट केटा मान्छेको स्वरले हेलो भन्यो । त्यो स्वर हिराकाजी दाइको रहेछ । मैले दाइसँग जुनुको गम्भीर अवस्थाको बारेमा सोधीखोजी गरेँ । हिराकाजी दाइले फोन जुनुका भाइ बुद्धलाई दिए । बुद्धले दिदी पनि नरहेको खबर सुनाए । त्यसपछि उनले फोन काटिदिए ।  मैले पत्याउन सकिन त्यो घटना । विदेशमा भएको भाइलाई र दिदीलाई सुनाएँ । तर, कसैले मेरो कुुरा पत्याएनन् । त्यसपछि उसलाई लगेको अस्पताल पुगेँ । प्राणपखेरु उँडिसकेको जुनुको शरीर मात्रै थियो त्यहाँ ।  आजको दिनसम्म पनि मलाई सपना हो कि जस्तो लाग्छ । तर, त्यो विपनै थियो । प्यारी भदैनी र उसकी छोरीको स्वर्गमा बास होस भनेर कामना गर्नु बाहेक हामीसँग अर्काे कुनै विकल्प छैन ।   हामीसँग अब बाँकी त उसँग बिताएका रमाइला पल, सम्झना र मायाँ मात्रै हो  । शरीर त जलेर खरानी पो भइसकेछ । जुनुले त हामीलाई छोडेर गइन् तर, उनको मायाँ र सम्झनालाई कहिलै पनि बिर्सन सक्दैनौं र मायाँ मार्न सक्दैनौ । त्यसैले त भन्न मन लाग्छ मर्न बरु गाह्रो हुन्न तिम्रो मायाँ मार्न सकिन । बेथानचोक–५, काभ्रे  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्