केही अंक अगाडि १५ औं अंकमा महर्षी कणादको गुरुत्वाकर्षण सिद्धान्तका बारेमा छोटो चर्चा गरिएको थियो, आज तिनैको तर अर्को वैज्ञानिक योगदानको सप्रमाण सानो चर्चा गरौं । हुन त सर आइजक न्युटनले सत्रौँ शताब्दीमै गतिका नियमको बारेमा संसारलाई अवगत गराएका थिए। तर न्युटनले महर्षी कणादका सूत्रहरूलाई नियमबद्ध मात्र गरेका हुन् भनेर भन्दा फरक नपर्ला । सर आइजैक न्यूटन द्वारा प्रतिपादित गतिको तीन नियमको बारेमा विद्यालय शिक्षामा भौतिक विज्ञान पढेका प्राय सबैलाई कण्ठस्थ नै होला । गतिका ती तीन नियमहरुलाई भौतिकशास्त्रमा एउटा मौलिक सिद्धान्त भनेर मानिन्छ यिनै नियमका आधारमा कुनै पनि वस्तुको गतिशीलता, स्थिरता र निहित सामर्थताको बारेमा मापन गर्ने गरिन्छ। तर आधुनिक भौतिक विज्ञानमा हामीले भन्ने गरेका न्युटनका गतिका नियमहरूको आविष्कारक भने बुद्धकालभन्दा पनि पहिलै आजभन्दा करिब २६०० वर्ष अगाडि अर्थात् ईसापूर्व छैठौ शताब्दीका महान वैज्ञानिक, महर्षि कणाद हुन् जसलाई परमाणु सिद्धांत र भौतिक शास्त्रका जनक भनेर पनि चिनिन्छ । प्राचीन समयका ऋषि एबम् दार्शनिक, महर्षि कणादले नै अणु परमाणुको अवधारणा विकसित गरेका हुन् र यिनैले आधुनिक भौतिक शास्त्रमा हामीले पढ्ने गरेको गतिका नियम सम्बन्धी सिद्धांतको विकास हजारौं वर्ष पहिले गरेका हुन्। वस्तुको गति, प्रवेग, बल, पदार्थको बनोट र यसको गुणका बारेमा महर्षी कणादको व्याख्याले नै ब्रह्मांडमा हुने मूलभूत घटनाहरू सम्झनलाई ठूलो योगदान दिएको छ । महर्षि कणाद द्वारा वैशेषिक सूत्रमा गति अर्थात् चालका तीन नियमका बारेमा यसरी व्याख्या गरिएको छ, वेगः निमित्तविशेषात कर्मणो जायते । पहिलो नियम, ‘गतिमा परिवर्तन प्रभावित बलका कारण हुन्छ ।’ अर्थात् कुनै पनि वस्तुमा बाहिरी बल नलगाएसम्म स्थिर अवस्थाको वस्तु स्थिर अवस्थामै रहन्छ र गतिशील अवस्थाको वस्तु गतिशील अवस्थामै रहन्छ । वेगः निमित्तापेक्षात कर्मणो जायते नियतदिक क्रियाप्रबन्धहेतु । दोश्रो नियम, कुनै वस्तुको चालमा हुने परिवर्तन सो वस्तुमा लगाइने बलसंग समानुपाती हुन्छ र बाल लगाएकै दिशातिर वस्तुले ठाउँ फेर्छ अर्थात् बढी बल लगाए छिटो हिँड्छ र कम बल लगाए ढिलो हिँड्छ । वेगः संयोगविशेषविरोधी । तेस्रो नियम, क्रियाको प्रतिक्रिया हुन्छ तर विपरीत दिशातिर । महर्षी कणादका यिनै योगदानका आधारमा वैदिक सनातन दार्शनिक परम्परामा उनलाई वैदिक भौतिकशास्त्रका अग्रणी विद्वान् भनिएको हो । उनले परमाणुवादको सिद्धान्त प्रस्तुत मात्र गरेनन्, अपितु गति सम्बन्धी केही महत्वपूर्ण नियमहरू पनि प्रतिपादित गरेका रहेछन् भन्ने जानकारी दिनु आजको आलेखको उद्देश्य हो । महर्षि कणादका गतिसम्बन्धी नियमहरू आधुनिक भौतिकशास्त्रसँग मिल्दोजुल्दो छन् । उनी वैज्ञानिक चिन्तनका प्रमुख स्रोत थिए र उनका दर्शनशास्त्रीय विचारहरूले प्राचीन समयमा विज्ञान र तर्कशास्त्रलाई महत्वपूर्ण योगदान पुर्याए । कणादका सिद्धान्तहरू न केवल भौतिकशास्त्रमा महत्व राख्छन्, अपितु दर्शन, ब्रह्माण्डशास्त्र तथा जीवनको प्रकृति बुझ्न मद्दत गर्छन् । महर्षि कणादका गति सम्बन्धी नियमहरूले आधुनिक विज्ञानमा महत्वपूर्ण प्रभाव पारेका छन् । उनले प्रतिपादित वैशेषिक दर्शनले पदार्थको संरचना, गति, तथा बलको सम्बन्धलाई परिभाषित गरेको थियो । यद्यपि उनका सिद्धान्तहरू दार्शनिक दृष्टिकोणबाट प्रस्तुत गरिएका थिए, तर तिनीहरू आधुनिक भौतिकशास्त्रसँग मेल खान्छन् । ती सबैको जयहोस् ।
