काभ्रेपलाञ्चोक जिल्ला देशको राजधानी काठमाडौंबाट नजिक पर्ने बागमती प्रदेशको एक महत्वपूर्ण जिल्ला हो । तात्कालीन राजा महेन्द्रको पालामा विसं २०१८ साल वैशाख १ गते नेपाललाई १४ अञ्चल ७५ जिल्लामा बिभाजन गर्नुपूर्व यसलाई पूर्व १ नम्बर भनेर चिनिन्थ्यो, जसअन्तर्गत हालको सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जिल्ला पर्दथ्यो र यसको सदरमुकाम चौतारा थियो । काभ्रेपलाञ्चोक जिल्लाको नामकरण यसका दुईवटा प्रमुख धुम काभ्रे र पलाञ्चोक मिलाएर गरिएको देखिन्छ । यसको सदरमुकाम धुलिखेल रहेको छ । यो जिल्ला समुद्र सतहबाट २८० मिटरदेखि ३०१८ मिटरसम्म फैलिएर रहेको छ । यो जिल्लाको पूर्वमा दोलखा र रामेछाप जिल्ला, पश्चिममा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला, उत्तरमा सिन्धुपाल्चोक जिल्ला र दक्षिणमा मकवानपुर र सिन्धुली जिल्ला पर्दछन् । शुरुमा यस जिल्लालाई ९९ वटा गाउँपञ्चायतमा प्रशासनिक विभाजन गरिएको थियो भने विसं २०३७ साल मंसिर १७ गते ६८ वटा गाउँपञ्चायतमा विभाजन गरियो । यसको लगत्तै अर्थात् २०३८ सालमा पुनः ९७ गाउँपञ्चायतर १ नगरपञ्चायत कायम गरिएको थियो । विसं २०४६ सालको राजनैतिक परिवर्तनपछि सबभन्दा तल्लो प्रशासनिक इकाइको रूपमा गाउँपञ्चायतको नाम गाउँ विकास समिति (गाबिस) र नगरपञ्चायतको नाम नगर विकास समिति रहन गयो । त्यसपछि यस जिल्लालाई ५ नगर विकास समिति र ७५ गाविसमा विभाजन गरिएको थियो र राज्यको पुनर्सरचनासँगै २०७३ साल फागुन २७ गते १३ वटा स्थानीय तह (जसमा ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका) मा विभाजन गरिएको छ । जनसङ्ख्याको आकार, बनावट र वितरण ः– विसं २०७८ सालको जनगणना अनुसार यस जिल्लाको जनसङ्ख्या ३,६४,०३९ जना देखिन्छ जसमा पुरुषको सङ्ख्या १७८,९०९ र महिलाको सङ्ख्या १८५,१३० जना देखिन्छ । यस जिल्लाको लैंगिक अनुपात ९६.६४ अर्थात् १०,००० जना महिला बराबर ९,६६४ जना पुरुष रहेको छ । महिलाको तुलनामा पुरुषको जनसङ्ख्या ६,२२१ जनाले कम रहेको छ । शहरी जनसङ्ख्या र ग्रामीण जनसङ्ख्याको तुलना गर्दा यस जिल्लामा २,५०,२०९ जना अर्थात् ६९ प्रतिशत जनसङ्ख्या शहरी क्षेत्रमा बसोबास गर्दछन् भने बाँकि १,१३,८३० जना अर्थात् ३१ प्रतिशत जनसङ्ख्या ग्रामीण क्षेत्रमा बसोबास गर्दछन । यदपि नेपालको सहरी क्षेत्रको परिभाषा अन्तराष्ट्रिय परिभाषासँग तुलना योग्य नभए तापनि शहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या भनेर सरकारले घोषणा गरेका नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा बसोबास गर्नेलाई जनसङ्ख्या सम्झनु पर्ने हुन्छ । काभ्रेपलाञ्चोक जिल्लाको ५ वर्ष उमेर समूह अनुसारको जनसङ्ख्याको बनावट ः– जनसङ्ख्या वितरणले देशका योजनाकार र नीति निर्माताहरूलाई देशको सामाजिक तथा आर्थिक विकाससम्बन्धी योजना, नीति, रणनीति र कार्यक्रमहरू बनाउन महत्त्वपूर्ण दस्तावेजको रूपमा काम गर्ने हुन्छ । उमेर समूहको संरचनाले जनसङ्ख्याको नक्साको रूपमा काम गर्दछ । उमेर र लिंगको आधारमा तयार गरिएको ग्राफिक प्रस्तुतिलाई जनसङ्ख्याको पिरामिड भनिन्छ । यो एउटा चित्रले नै धेरै कुराको बारेमा व्याख्या गर्न सहयोग गर्दछ । माथि ५ वर्षको उमेर समूह र लिङ्ग अनुसार काभ्रेपलाञ्चोक जिल्लाको विसं २०७८ को जनगणनाको तथ्याङ्क दिइएको छ । सोही तथ्याङ्कलाई आधार मानी सोको प्रतिशत निकालेर तयार गरिएको जनसङ्ख्याको पिरामिड पनि प्रस्तुत गरिएको छ । सामान्यतया जनसङ्ख्याको विवरण बनाउँदा ५ वर्ष उमेर समूह मिलाएर बनाउने प्रचलन रहेको प्रत्येक वर्षको जनसङ्ख्या विवरण राख्दा लामो लिष्ट हुने र अध्ययन गर्नेलाई पनि सहज नहुने भएकाले यसरी समूह विभाजन गरी जनगणनाको तथ्याङ्क प्रस्तुत गर्ने गरिएको हुन्छ । सामान्य अवस्थामा पहिलो समूह अर्थात् ००–०४ वर्ष समूहको बार चार्ट सबभन्दा लामो हुनु पर्ने र त्यस पछिका चार्ट बारहरू क्रमशः छोटो छोटो हुँदै गई टुंगिनु पर्ने हो। किनकि यसै उमेर समूहमा तोकिएको समय अवधिभित्र तोकिएको भौगोलिक क्षेत्रभित्र जन्मेका सबै बालबालिका गणना गरेर यसमा राखिन्छ र उमेर बढेसँगै जन्मेका सबै बालबालिकाहरू मध्ये केहीको मृत्यु हुन्छ र बाँचेका माथिल्लो उमेर समूहमा प्रवेश गर्दछ र यो क्रम जन्मेका सबै नमरेसम्म कायम रहन्छ । अनि एउटा बिन्दुमा पुगेपछि सबैजनाको मृत्यु हुन पुग्दछ र सो समूहका जनसङ्ख्या शून्यमा पुग्दछ । जनसङ्ख्याको अध्ययनमा कुनै भौगोलिक सीमामा विशेषमा कुनै तोकिएको समयावधिभित्र जन्मने भन्दा मर्ने धेरै भएमा जनसङ्ख्या घट्ने हुन्छ र त्यसको विपरित मर्ने भन्दा जन्मने धेरै भएमा जनसङ्ख्या वृद्धि हुने हुन्छ । यसरी जन्म र मृत्युको आधारमा जनसङ्ख्या वृद्धि वा कमी हुने क्रमलाई जनसङ्ख्याको प्राकृतिक वृद्धि भनिन्छ । तर जनसङ्ख्यामा घटबढ गराउने महत्वपूर्ण तत्वको रूपमा बसाइँसराइले ठुलो काम गर्दछ । नेपालमा गत तीन दशकदेखि नै जन्मदरमा कमी आएको देखिन्छ र यो अवस्थामा परिवर्तन नभएमा अझै कम्तिमा ३ दशकसम्म जन्मदर कमीको स्थिति कायम हुने निश्चित छ । सबैभन्दा बढी जनसङ्ख्या १५–१९ उमेर समूहमा (३३,१६२ जना अर्थात् ९.१ %) देखिन्छ र त्यसपछि क्रमशः घट्दै गएको देखिन्छ । ९५ वर्ष र सोभन्दा माथि जेष्ठ नागरिकको सङ्ख्या २६३ जना (पुरुषः ९७ र महिला १६६ जना रहेको छ । साधारणतया ०५–१६ वर्ष उमेर समूह भनेका विद्यालय जाने समूहका बालबालिका हुन्छन, जसलाई सरकार र अभिभाबकले शिक्षामा धेरै लगानी लगाउनु पर्दछ । १५ देखि ४९ वर्ष समूह भनेको प्रजनन उमेरका युवा युवतीको हो र यसको सङ्ख्या धेरै हुनु भनेको प्रजनन दर धेरै हुनु र भविष्यमा जनसङ्ख्या वृद्धि तिब्र हुने सम्भावना रहन्छ । नेपालमा अहिले १५ देखि ६५ वर्षसम्मका जनसङ्ख्यालाई आर्थिक रूपले सक्रिय जनसङ्ख्या मानिन्छ र १५ वर्ष मुनिका (००–१४ उमेर समूह) जनसङ्ख्यालाई बालआश्रित जनसङ्ख्या भनिन्छ भने ६५ र सो भन्दा माथिको जनसङ्ख्यालाई ज्येष्ठ नागरिक आश्रित जनसङ्ख्या भनिन्छ । अहिलेको सन्दर्भमा काभ्रेपलाञ्चोक जिल्लाको बाल आश्रित जनसङ्ख्याको प्रतिशत २२.५ रहेको छ भने ज्येष्ठ नागरिक आश्रित जनसङ्ख्या ८.५ प्रतिशत रहेको छ । यसरी कुल आश्रित जनसङ्ख्याको प्रतिशत ३१ र बाँकी सक्रिय जनसङ्ख्याको प्रतिशत ६९ रहेको छ । विशेष गरेर बाल र बृद्ध आश्रित जनसङ्ख्यालाई राज्यले स्वास्थ्य, शिक्षा, पोषण, खेलकुद, बाल गृह, पार्क, मनोरञ्जन, वृद्धाश्रम आदिमा लगानी गर्नु पर्ने हुन्छ भने यो आश्रित जनसङ्ख्यालाई पालन पोषण गर्ने जिम्मा सक्रिय जनसङ्ख्याको हुन्छ । यसैले अहिले काभ्रे जिल्लाको जनसङ्ख्यामा सक्रिय जनसङ्ख्याको प्रतिशत बढी भएकोले आर्थिक उन्नतिको राम्रो अवसर रहेको छ । मुख्यतयाः जनसङ्ख्या वृद्धिलाई प्रभाव पार्ने तत्वमा जन्मदर, मृत्युदर, विवाह, सम्बन्धविच्छेद र बसाइँसराइ पर्दछन् । यी तत्त्वहरूको अन्तरक्रियाबाट सम्बन्धित ठाउँको जनसङ्ख्या घट्छ कि बढ्छ भनी अनुमान गर्न सकिन्छ । विशेष गरी जुन ठाउँमा जन्मदर बढी हुन्छ र मृत्यु दर कम हुन्छ त्यस ठाउँको जनसङ्ख्या वृद्धि हुने हुन्छ तर त्यसलाई त्यो ठाउँमा हुने बसाइँसराइले असर गरेको हुन्छ । अपवादमा बाहेक जहाँ मृत्युदर कम हुन्छ त्यस ठाउँ विकसित अवस्थामा छ, खानपिन, स्वास्थ्य सेवासुविधा, प्रतिव्यक्ति आय, साक्षरता प्रतिशत राम्रो छ भन्ने मानिन्छ । सबै सेवा सुबिधा सम्पन्न भएको ठाउँमा बसाइँसराई गरेर भित्रिनेको सङ्ख्या पनि बाहिरिने भन्दा धेरै हुन्छ । यस्तो अवस्थामा जनसङ्ख्या वृद्धि धनात्मक हुने हुन्छ । बाँकी अर्को अंकमा... श्रोत ः काभ्रेली गुञ्जन पुस्तकबाट
