IMG-LOGO

बालबालिका घट्दै, बुढ्यौली समूह बढ्दै

 मंगल, बैशाख ३०, २०८२  – सुरेन्द्र काप्mले

     काठमाडौं ः २०६८ सालमा मुलुकमा ६० वा सोभन्दा बढी उमेर समूहको जनसंख्या ८ दशमलव १ प्रतिशत थियो । तर, ०७८ मा यो समूहको जनसंख्या १० दशमलव २ प्रतिशत पुग्यो । ०७८ को राष्ट्रिय जनगणनाले मुलुकमा बुढ्यौली सूचकांक बढ्दै गएको देखाएको छ । वि .सं । २१११ सम्ममा देश बुढ्यौली समाजमा रूपान्तरण हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदन अनुसार मुलुकमा बालबालिकाको जन्मदर भने घट्दै गएको छ । तथ्यांकअनुसार ०४८ देखि बुढ्यौली उमेर समूह लगभग तीनगुणाले बढेको छ । यसले मुलुकको जनसंख्या युवा बहुल अवस्थाबाट वृद्धावस्थामा परिवर्तन हुँदै गएको देखाएको छ ।      मुलुकमा जन्मदर र मृत्युदर घटिरहेको छ । त्यसैकारण जनसंख्या संक्रमणकालतर्फ तीव्र गतिले प्रवेश गरिरहेको छ । अर्थात् जनसंख्या पिरामिडले युवा बहुल अवस्थाबाट वृद्धावस्थामा परिवर्तन हुँदै गएको देखाएको छ । मृत्युदर र जन्मदरमा आएको कमी र समुद्रपारतर्फको प्रवासनका कारण जनसंख्यामा यस्तो अवस्था आएको राष्ट्रिय तथ्यांक कार्यालय उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले जानकारी दिए ।      जन्मदर घट्दै गएका कारण बालबालिकाको संख्यामा पनि कमी आएको छ । काम गर्ने उमेर समूहको जनसंख्या पनि घट्दै गएको छ । जसले आश्रित जनसंख्याको अनुपातलाई अझै वृद्धि गरेको छ । २०६८ र २०७८ को जनगणना अवधिको बीचमा पहाडी क्षेत्रको बुढ्यौली जनसंख्या उल्लेखनीय वृद्धि भएको छ । २०६८ सालमा पहाडमा बुढ्यौली जनसंख्या २५.७ प्रतिशत थियो तर १० वर्षको अन्तर अर्थात् २०७८ मा ४३.६ प्रतिशत पुगेको छ । हिमाल र तराई क्षेत्रमा पनि यसरी नै बुढ्यौली जनसंख्या वृद्धि भएको छ । ०४८ यता बुढ्यौली जनसंख्यामा करिब तीनगुणाले वृद्धि भएको देखिन्छ जसले जनसख्या पिरामिडको शीर्ष भागलाई फराकिलो पार्दै लगेको प्रतिवेदनमा उल्लेख छ । बालबालिकाको जनसंख्या घट्दो      तथ्यांक कार्यालयको प्रतिवेदनअनुसार २०४८ सालको जनगणनामा १४ वर्षसम्मका बालबालिकाको जनसंख्या ४२.४ प्रतिशत थियो । हाल त्यो घटेर २७ .८ प्रतिशत पुगेको छ । १५ वर्षदेखि ५९ वर्षसम्म उमेरको जनसंख्या ५१.८ प्रतिशत थियो । ०७८ को जनगणना अनुसार यो संख्या ६२ प्रतिशत पुगेको छ । ३० वर्ष अघि ६० वर्ष माथिका जनसंख्या ५.८ प्रतिशत रहेकोमा २०७८ मा दोब्बरले बढेर १०.२ प्रतिशत पुगेको छ । बागमतीमा धेरै वृद्ध      बागमती प्रदेशमा बुढ्यौली (६० वर्ष र सोभन्दा माथि ) को संख्या सर्वाधिक छ । सहरी क्षेत्रले विशेषत युवा पिँढीका जनसंख्यालाई बसाइँसराइका लागि आकर्षित गर्दछ, जसले गर्दा ग्रामीण क्षेत्रको तुलनामा बुढ्यौली जनसंख्या सहरमा कम अनुपातमा रहेको देखिएको छ । बुढ्यौली सूचांक २०६८ देखि २०७८ मा करिब १३ प्रतिशत विन्दुले ग्रामीण र सहरी क्षेत्र दुवैतर्फ वृद्धि भएको देखिएको छ । ६० वर्ष वा सोभन्दा माथिको उमेर समूहमा पर्ने समग्र बुढ्यौली सूचांक २०६८ मा २३.३ थियो । २०७८ को जनगणनामा ३६ .७ पुगेको देखिएको छ ।      गण्डकी प्रदेशका जिल्लाले उच्चतम बुढ्यौली सूचांक प्राप्त गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ । गण्डकी प्रदेशको पनि मनाङ जिल्लाको सूचांक २०६८ मा ५२ .८ थियो भने २०७८ मा ९० .३ पुगेको छ । जाजरकोटमा २०६८ मा ११ .४ थियो भने २०७८ मा १८ .७ छ । जाजरकोटले सबैभन्दा कम सूचांक प्राप्त गरेको छ । जुम्ला र बाजुरामा २०६८ मा बुढ्यौली सूचांक क्रमशः १३ .३ र १७ .२ रहेकोमा २०७८ मा क्रमशः २१.४ र २५.१ पुगेको देखिन्छ । जसले कर्णाली र सुदूरपश्चिमको प्रादेशिक प्रवृतिलाई नै पछ्याएको अवस्था छ ।      पूर्वका झापा र मोरङले पनि वृद्धिउन्मुख बुढ्यौली सूचांक प्रस्तुत गरेका छन् । मोरङमा यो मान २०६८ मा २६.२ थियो भने २०७८ मा ४१ .९ पुगेको छ । २०६८ मा झापाको २९.७१ थियो, भने ०७८ मा ४५.२३ पुगेको छ । काठमाडौंमा बुढ्यौली सूचांक २०६८ मा २५.४ र २०७८ मा ४३.३ छ । ललितपुरको २०६८ मा ३२.५ र २०७८ मा ६२.८ पाइएको छ । सहरी क्षेत्रमा मध्यम गतीले यो प्रवृतिमा वृद्धि भएको देखिएको छ । तराईका जिल्लामा पनि मध्यम गतिकै वृद्धिको प्रवृत्ति रहेको प्रतिवेदनमा छ ।  विश्वव्यापी अवस्थाः सन् २०५० मा १ अर्ब ३० करोड      विश्वका मानिसहरूको औसत आयुमा सन् १९९० को ६४.२ वर्षबाट सन् २०१९ मा ७२.६ वर्ष पुगेर उल्लेखनीय वृद्धि भएको छ । सन् २०५० मा ७७.१ वर्षसम्म पुग्ने पूर्वानुमान गरिएको छ । यस अवधिमा सामान्यभन्दा अत्यधिक प्रगति भएको देखिएको भए तापनि असमानताहरू अझै पनि कायम छन् । यस्ता असमानताहरू अल्पविकसित देशहरूमा बढी देखिएका छन् । यस्तो अवस्था उच्च मृत्युदर र स्वास्थ्य चुनौती भएका देशहरूमा देखिएको छ । सन् २०५० सम्म विश्वभरि प्रत्येक छ जनामा एक जना बुढ्यौली जनसंख्या अर्थात् ६५ वर्ष र सोभन्दा माथिका हुने अनुमान गरिएको छ । विश्वमा २५ वर्षपछि १ अर्ब ३० करोड मानिस बुढ्यौली हुनेछन् । उत्तर अफ्रिका, पश्चिमी एसिया र ल्याटिन अमेरिकामा बुढ्यौली जनसंख्याको वृद्धिको गति तीव्र भइरहेको छ । अबको सय वर्षसम्म बाँच्ने व्यक्तिहरूको सख्या तीनगुणाले बढ्ने अनुमान गरिएको छ । आश्रित अनुपात ६१.४ प्रतिशत      प्रतिवेदनअनुसार राष्ट्रियस्तरमा ६० वर्ष र सोभन्दा माथिको जनसंख्याको समग्र आश्रित अनुपात ६१.४ प्रतिशत छ । प्रदेशगत रूपमा मधेस प्रदेशमा सबैभन्दा धेरै ७३.४ प्रतिशत आश्रीत जनसंख्या छ । त्यसपछि कर्णालीमा ६९ .७, सुदुरपश्चिममा ६७.९ छ । उमेर समूहको समग्र आश्रित अनुपात सबैभन्दा कम (४८.८) वागमति प्रदेशमा छ । तीव्रतर गतिमा वृद्धि भइरहेको बुढ्यौली जनसंख्या हुँदाहँुदै पनि बागमति प्रदेशका अधिकांश जिल्लामा आर्थिक काम गर्न सक्षम जनसंख्या अधिक छ ।      गण्डकी, कोशी र लुम्बिनी प्रदेशको मध्यम स्थानमा छ । कोशीमा बुढ्यौली जनसंख्याको आश्रित अनुपात ५९.२ छ । जुन राष्ट्रिय औसत निकट देखिएको छ । बुढ्यौली जनसंख्याको समग्र आश्रित अनुपात उच्चतम अछाम जिल्लाको ९१.० छ । जसलाई डोटी (८४.७), बझाङ (८४.४), कालीकोट (८१ .४)ले पछ्याएको छ । सबैभन्दा कम आश्रित अनुपात भएका चार जिल्लामा मनाङको ३९.८, काठमाडौंको ३९.३, ललितपुरको ४१.७८ र भक्तपुरको ४१.८३ छ । पुरुषभन्दा महिलाको आयु बढी       मुलुकमा पुरुषभन्दा महिलाको बाँच्न सक्ने उमेर (आयु)बढी देखिएको छ । महिलाहरूको बाँच्नसक्ने दर ८४.७ प्रतिशत छ भने पुरुषहरूको ७५.१ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । हिमाली प्रदेशका मानिसहरूको अधिकतम बाँच्न सक्ने दर राष्ट्रिय औसतभन्दा अलिकति माथि अर्थात् ८०.६ प्रतिशत छ । जसमा पुरुषहरूको मान ७७ प्रतिशत र महिलाहरूको मान ८४.३ प्रतिशत रहेको देखिन्छ । तीनवटै भौगोलिक क्षेत्रलाई तुलना गर्दा पहाडमा ६० वर्षभन्दा बढी बाँच्न सक्ने दर ८१.२ प्रतिशत छ । जसमा महिलाको ८६.४९ प्रतिशत र पुरुषको ७५.९ प्रतिशत रहेको छ । तराईमा यो दर सबैभन्दा न्यून अर्थात् ७९.० प्रतिशत छ । जसमा महिलाको ८३.५० र पुरुषको ७४.४ प्रतिशत छ ।      प्रदेशस्तरमा हेर्दा बागमतीमा बढी बाँच्ने दर सर्वाधिक (८२.६प्रतिशत) छ । जसले काठमाडौं जिल्लाको ऑकडालाई पनि समेटेको छ, जहाँ सुधारका संकेतहरू देखिएको प्रतिवेदनमा उल्लेख छ । यस्तो दर न्यून रहेको प्रदेश लुम्बिनी ७६.८ प्रतिशत हो । जिल्लास्तरमा हेर्दा बढी बाँच्ने दर अधिकतम ८९.१ प्रतिशत मुस्ताङ जिल्लामा छ भने त्यसपछिका दुईवटा जिल्ला क्रमशः हुम्ला ८६.१ प्रतिशत र काठमाडौं ८४.९प्रतिशत देखिएको छ । यो मान कम हुने तीनवटा जिल्लाहरूमा क्रमशः कपिलवस्तु ७४.८ प्रतिशत, बाँके ७४.४ प्रतिशत र पाँचथर ७३.१ प्रतिशत छन् ।      २०७८ को जनगणनाअनुसार शेष जीवनप्रत्याशा सबैभन्दा कम जुम्लामा १६.३ वर्ष छ । ओखलढुंगामा सबैभन्दा बढी २३.८ वर्ष रहेको देखिन्छ । यसले स्पष्टत ७.५ वर्षको अन्तर विद्यमान रहेको देखाएको छ । ओखलढुंगा, रामेछाप, गोरखा, दार्चुला, रसुवा, खोटाङ धादिङलगायतका केही जिल्लाहरूको अधिकतम शेष जीवनप्रत्याशा देखिएको छ । यी सबै जिल्लाहरूको शेष जीवनप्रत्याशा २१ वर्ष भन्दा बढी छ । त्यस्तै पाँचथर, मोरङ, बाँके, भक्तपुर, रुपन्देही,सुनसरी, काठमाडौं र जुम्ला जस्ता जिल्लाको न्यूनतम शेष जीवन प्रत्याशा रहेको दखिएको छ । यी जिल्लाको शेष जीवनप्रत्याशा १७.६ वर्षभन्दा कम छ ।      अर्कोतिर, विगतमा नेपालमा संयुक्त परिवारको संस्कृति थियो । धेरैजसो वृद्ध व्यक्तिहरू परिवारसँगै बस्थे । तर, पछिल्लो समयमा जन्मदरमा आएको कमी र विदेश प्रवासनको कारणले वृद्ध व्यक्ति एक्लै वा केवल पति र पत्नी मात्रै बस्ने वृद्ध व्यक्तिको संख्या बढ्दै गएको छ । वृद्ध महिलाहरू आर्थिक आवश्यकताहरूका कारण आ–आफ्नो रोजगारीमा नै रहेको देखिएको छ । त्यस्तो रोजगारी भने कृषि क्षेत्रमा संलग्न रहेको देखाएको छ । हाल वृद्धहरूमा धेरै जसो महिला निरक्षर छन् । राष्ट्रियसो्रतमा हेर्ने हो भने ५२.२ प्रतिशत पुरुष निरक्षर छन् भने ८४.९ प्रतिशत निरक्षर छन् । पुरुषको तुलनामा महिलाको निरक्षरतादर निकै नै माथि देखाएको छ । यो दर ६० वर्ष वा सोभन्दा माथिको हो । ५१ प्रतिशत वृद्ध आर्थिक क्रियाकलापमा सक्रिय      लगभग ५१ प्रतिशत वृद्ध जनसंख्या अझै पनि आर्थिक रूपमा सक्रिय रहेको तथ्यांकले देखाएको छ । ती मध्ये अधिकांश कृषि क्षेत्रमा संलग्न छन् । वृद्ध व्यक्तिहरूको श्रम मुख्यतः पूर्वाधारको न्यून पहुँच भएका ग्रामीण क्षेत्र र विपन्न वर्गहरूका माझ उपयोग भएको पाइएको छ । यो समूह न त पराम्परागत रोजगारीको क्षेत्रमा न नेतृत्वकारी भूमिका नै छ । बरु उनीहरूले स्वरोजगार हुनुलाई प्राथमिकतामा राख्ने गरेका छन् । अवकाश पश्चात्को सेवासुविधाको अभाव र सामाजिक सुरक्षाका अवसरहरूको अभावका कारण यो समूहको ठूलो हिस्सा प्राय आफनो जीविका चलाउन काम गर्नै पर्ने बाध्यतामा छ । वृद्धमध्ये ६.९ प्रतिशत अपांगता      २०७८ सालको जनगणनाअनुसार कुल वृद्ध जनसंख्यामध्ये ६.९ प्रतिशत अपाङ्गता भएका व्यक्तिको संख्या छ । जसमा सबैभन्दा बढि शारीरिक अपांगता देखिएको छ । प्रदेशगत अपांगताको विद्यमानातादरमा भिन्नता देखिएको छ । कर्णाली प्रदेशमा सबैभन्दा उच्च अपांगता विद्यमानतादर भेटिएको छ । देशमा आधाभन्दा बढि वृद्धहरूको मृत्यु नसर्ने रोगहरूका कारण भएको पाइएको छ । सर्ने रोगहरू युवावस्थाका समूहमा बढि भएको पाइएको छ । दुर्घटना, हिंसा र आत्महत्या युवावस्थामा बढी हुनु सामान्य जस्तो नै छ । विशेष गरी उमेर बढ्दै जाँदा प्राकृतिक प्रकोपहरूले वृद्ध व्यक्तिहरूको जनसंख्यालाई ठूलो प्रभाव पारेको देखिन्छ ।      मुलुकको जनसंख्या बुढ्यौली उन्मुख हुँदै गएको छ । जसले आश्रित जनसंख्याका लागि अतिरिक्त भार सिर्जना गर्ने देखिएको छ । यसले स्वभावतः आवास व्यवस्था, स्वास्थ्य हेरचाह, सामाजिक सुरक्षा र आर्थिक भरणपोषणमा विशेष चुनौती सिर्जना गर्नेछ । महिलाहरूको जीवनप्रत्याशा पुरुषको तुलनामा बढी भएको कारणले एकल महिलाको जनसंख्याको अनुपात पनि निरन्तर बढिरहेको छ । प्रदेश, भौगोलिक क्षेत्र र जिल्लास्तरमा बुढ्यौलीको दरमा उल्लेखनीय रूपमा भिन्नता हरेकाले क्षेत्र केन्द्रित वृद्ध लक्षित नीतिको आवश्यकता दर्शाएको लामिछाने बताउँछन् । एकीकृत रणनीति आवश्यक      मुलुकले बुढ्यौली उन्मुख जनसंख्या व्यवस्थापनका लागि एकीकृत रणनीति विकास गर्न पर्ने देखिएको छ । भविष्यका आपतकालीन (भैपरी आउने) अवस्थाहरूका लागि दिगो आर्थिक र सामाजिक सहयोग प्रणाली तयार गर्नुपर्ने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सामाजिक सुरक्षा विस्तार गर्दै वित्तीय कठिनाइलाई कम गर्न निवृत्तभरण योजनालाई सुदृढ गर्ने सुझाएको छ ।      स्वास्थ्यसेवा सुदृढीकरण गर्दै ग्रामीण र अर्धसहरी क्षेत्रमा बुढ्यौलीलक्षित स्वास्थ्यसेवामा सुधार गर्ने गर्नु देखिएको छ । आर्थिक अवसरको विस्तार गर्दै वृद्ध जनसंख्याका लागि गैरशारीरिक श्रमबाट आर्थिक उपार्जन हुने विकल्पहरूको सिर्जना गर्ने पर्ने देखिन्छ । आवास र पूर्वाधार सुधार अन्र्तगत वृद्धवृद्धाका लागि सुरक्षित र सुविधायुक्त आवासीय बन्दोबस्त र आधारभूत सेवाहरूमा पहुँच सुनिश्चित गर्ने अवस्था सिर्जना हुँदै छ । ज्येष्ठ नागरिक सहयोग प्रणाली स्थापना गर्न आवश्यक देखिएको छ । ज्येष्ठ नागरिकहरूले अनुभूत गर्नसक्ने एक्लोपन समस्यालाई सम्बोधन गर्न समुदायको संलग्नता बढाउने अभियान सञ्चालन गर्नु पर्ने सुझाव पनि राष्ट्रिय तथ्यांक कार्यालयले सुझाएको छ । श्रोतः अन्नपूर्णपोष्टबाट

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्