IMG-LOGO

विक्रम सम्वत् र राजा विक्रमादित्य

 मंगल, बैशाख २, २०८२  माधव रेग्मी बेलायत

       विक्रम सम्वत् र राजा विक्रमादित्यको सम्बन्धको विषयमा लेख्नका लागि, हामीले इतिहास, परम्परा, र सांस्कृतिक महत्त्वलाई बुझ्नुपर्छ । विक्रम सम्वत् हिन्दू परम्परामा आधारित एक प्राचीन पात्रो हो, जसको सुरुवात राजा विक्रमादित्यद्वारा भएको मानिन्छ । यो सम्वत् हिन्दू परम्परामा आधारित छ, जसको सुरुवात आजभन्दा करिब २१०० वर्षअघि अर्थात् ५७ ईसा पूर्वमा भएको मानिन्छ । यो सम्बत नेपाल, भारत, र अन्य दक्षिण एशियाली देशहरूमा प्रचलित छ। विक्रम सम्वत् सूर्यको गति र चन्द्रमा अनि ग्रह–नक्षत्रहरूको आधारमा तयार गरिएको छ । यस पात्रोले धार्मिक, सांस्कृतिक, र ऐतिहासिक महत्त्व राखेको छ । यो सम्वत् अत्यन्त वैज्ञानिक र प्रामाणिक छ । भारतीय उपमहाद्वीपका केही स्थानहरूमा यसलाई चन्द्रमा र ग्रह नक्षत्रहरूको गतिको आधारमा गणना गरेको पाइन्छ । जसअनुसार वर्ष परिवर्तन चैत्र शुक्ल प्रतिपदाको दिनलाई आधार मानेर नयाँ वर्ष को सुरुवात गरिएको छ ।  नेपालमा पनि पक्ष र तिथिहरु त्यही आधारमा नै गणना गरिन्छ तर वर्ष परिवर्तनको आधार भने वैशाख संक्रान्तिलाई मानिएको छ जुन दिन सूर्य मेष राशिमा प्रवेश गर्दछन् । हामी कति वैज्ञानिक क्यालेन्डर प्रयोग गर्छौं भन्ने कुरा त हाम्रा महिनाहरू को नाम किन र के आधारमा राखियो भन्ने कुराले पनि प्रमाणित गर्दछ । जस्तो कि चित्रा नक्षत्रमा चैत्र शुक्ल पूर्णिमा तिथि पर्नु वैशाख पूर्णिमाको तिथि विशाखा नक्षत्रमा पर्नु, त्यस्तै गरेर मंसिर पूर्णिमाको तिथि मृगसिरा नक्षत्रमा पर्नु यी त साना प्रमाणहरु मात्र हुन् यस्ता प्रामाणिक तथ्यहरूको बारेमा कुनै अर्को आलेखमा चर्चा गरौंला तर आजको यो आलेख विसं र राजा विक्रमादित्यको बारेमा मात्रै समर्पित हुनेछ ।      राजा विक्रमादित्यको बारेमा त्यति धेरै चर्चा गरिरहन पनि हामीमध्ये धेरैलाई थाहा पनि होला किनभने उनी आजभन्दा करिब २१०० वर्ष अगाडि अर्थात् झण्डै झण्डै गौतम बुद्धकै समकालीन समयका भारतीय उपमहाद्विपका एक महान चक्रवर्ती राजा थिए, जसले उज्जैनलाई राजधानी बनाएर तत्कालीन समयमा शासन गरेका थिए । उनी वीरता, न्यायप्रियता, र परोपकारका लागि प्रसिद्ध थिए । विक्रमादित्यको नामले धेरै किंवदन्तीहरू र कथाहरू जोडिएका छन् । उनी गन्धर्व सेनका पुत्र तथा कवि भर्तृहरिका भाइ थिए । विक्रमादित्यको शासनकालमा कला, साहित्य, र विज्ञानको विकास भएको थियो ।            विक्रम सम्वत् राजा विक्रमादित्यको शासनकालसँग जोडिएको छ । यो पात्रोको सुरुवात विक्रमादित्यले आफ्नो विजयको स्मरणमा गरेका थिए। विक्रमादित्यले आफ्नो राज्य विस्तार गर्दै उज्जैनलाई सांस्कृतिक र धार्मिक केन्द्र बनाएका थिए । विक्रम सम्वत् ज्योतिषविद् र वैदिक परम्पराको आधारमा तयार गरिएको छ । विक्रम सम्वत् र विक्रमादित्यको सम्बन्धलाई पुष्टि गर्ने विभिन्न ऐतिहासिक प्रमाणहरू छन् । ज्योतिषविदाभरण नामक ग्रन्थमा विक्रम सम्वत् ५७ ईसा पूर्वमा सुरु भएको उल्लेख छ । साथै, स्कन्द पुराणको हिमवत्खण्डमा विक्रमादित्यको शासनकाल र धार्मिक कार्यहरूको वर्णन पाइन्छ । नेपालमा पनि विक्रम सम्वत् प्रचलित छ, जसले राजा विक्रमादित्यको प्रभावलाई देखाउँछ । विक्रम सम्वत् हिन्दू धर्मको महत्वपूर्ण अंग हो । यसले धार्मिक पर्वहरू, उत्सवहरू, र अनुष्ठानहरूको समय निर्धारण गर्दछ । विक्रम सम्वत् राजा विक्रमादित्यको योगदानलाई सम्मान गर्ने माध्यम हो । यसले परम्परा र इतिहासलाई जीवित राख्न मद्दत गर्दछ । विक्रम सम्वत् र राजा विक्रमादित्यको सम्बन्धले इतिहास, परम्परा, र सांस्कृतिक महत्त्वलाई उजागर गर्दछ । विक्रमादित्यको योगदानले दक्षिण एशियाली सभ्यतामा गहिरो प्रभाव पारेको छ । विक्रम सम्वत् केवल एक पात्रो मात्र होइन, यो परम्परा, संस्कृति, र इतिहासको प्रतीक पनि हो ।      स्कन्द पुराणको हिमवत्खण्डमा विक्रमादित्यको शासनकाल र धार्मिक कार्यहरूको वर्णन पाइन्छ । त्यहाँ यस सम्बन्धमा केही महत्त्वपूर्ण तथ्यहरू उल्लेख गरिएको छ । उक्त ग्रन्थका अनुसार विक्रम संवत् नेपालको प्राचीन संवत् हो भन्ने मान्यता छ । हिमवत्खण्डमा विक्रमादित्यको शासनकाल र धार्मिक कार्यहरू वर्णन गरिएको छ । विक्रम सम्बत हिमवत्खण्ड नेपालको आदि र मौलिक सम्बत भएकाले यसले युगौदेखि कुनै पनि प्रकारको औपनिवेसिक प्रभावमा नपरीकन विशुद्ध पौराणिक, एबम् विभिन्न नक्षत्रिय अवस्थितिको आधारमा बनाइएको एक प्रामाणिक पात्रो हो । त्यसैले विक्रम सम्बत नेपालको गौरवमय पहिचान पनि हो । केही विद्वानहरूले विक्रमादित्यलाई भारतको उज्जयनका राजा भएको मान्छन् भने कोही उनलाई नेपालका राजा भएको मान्छन् । के होस् तत्कालीन समयमा हिमालय पर्वत देखि समुद्रतटसम्म भरतखण्ड भएकाले र स्कन्द पुराणको हिमवत्खण्ड पुस्तकमा उल्लेख भएबाट यसको प्राचिनतालाई कम आंकलन गर्न मिल्दैन । विक्रमादित्यले विभिन्न धार्मिक कार्यहरू गरेको वर्णन पुराणहरूमा पढ्न पाइन्छ । यिनै चक्रवर्ती राजाले नेपाललाई विस्तार गर्दै कासीसम्म पुगेका र कासीमा विश्वनाथको मन्दिर स्थापना गरेका थिए भन्ने कुरा स्कन्द पुराणको हिमवत्खण्ड पुस्तकमा उल्लेख छ ।      यी सबै तथ्य र प्रमाणहरूबाट के पुष्टि हुन्छ भने विक्रमादित्य राजाले हिमपत श्रृङ्खलादेखि समुद्र तटसम्म राज्य गर्दथे या उनको प्रभाव फैलिएको थियो । उनी एक महान वैज्ञानिक, ज्योतिषीय गणनाका ज्ञाता र कुशल प्रशासक थिए । उनैले हामीलाई चन्द्रमा, सूर्य र नक्षत्रीय गतिका आधारमा एउटा राम्रो वैज्ञानिक एवं सरल संवत्सर एबम् पात्रो दिएर गए जो आज पर्यन्त निरन्तर प्रयोगमा आइरहेको छ । यस्ता व्यक्तिलाई नयाँ वर्षको अवसरमा सतत् नमन छ । सबैजनहरूमा नयाँ वर्ष २०८२ विक्रम सम्वतको हार्दिक मङ्गलमय शुभकामना छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्