नेपालमा २०३६ सालको विद्यार्थी आन्दोलनले राजा वीरेन्द्रलाई जेठ ९ गते जनमत संग्रह घोषणा गर्न बाध्य बनायो । २०३७ साल वैशाख २० गते (२ मे १९८०) मा जनमत संग्रह भएको थियो । परिणाम सुधारिएको पञ्चायतको पक्षमा ५४.९९ प्रतिशत र बहुदलीय व्यवस्थाको पक्षमा ४५.२ प्रतिशत मत प्राप्त भएकाले बहुदलवादीहरू निराश थिए । यो निराशालाई तोड्न होला विराटनगरमा मनमोहन अधिकारीले भाइ भरतमोहन अधिकारीलाई केही मानिसहरू भेला भएर जनमत संग्रहको समीक्षा गर्ने मनसाय राख्नु भएकाले २०३७ साल जेठ महिनाको एकदिन भरतमोहन आफ्नो घर गहेलीबाट मेरो डेरा पाञ्चाली आउनु भयो । केही बेर सल्लाह गरेर हामीले भेला गर्ने ठाउँ र बोलाउने मानिसहरूको नाम मोटामोटी तय ग¥यौं । जेठ महिना विराटनगरमा गर्मी निकै थियो । हामीले केही मिटिङ बरगाछी पश्चिम चाँदनी चोकको एउटा पिपलबोट मुनि गरेका थियौं त्यही ठाउँमा हाम्रो मिटिङ गर्ने निधो भयो र बोलाउने मानिसहरू एकदर्जन जति हामीले तयार पारे बमोजिम खबर ग¥यौं । बोलाइने मानिसहरूमा वामपन्थी खेमाका मात्र थिए तर माले समूहलाई बोलाइएको थिएन कारण मालेले जनमत संग्रह बहिष्कार गरेको थियो । मनमोहन समूह, पुष्पलाल समूह, चौथो महाधिवेशन समूह र केही स्वतन्त्र वामपन्थीहरूलाई बोलाइएको थियो । तोकिएको दिन र समयमा त्यो भेलाका लागि हामी तीनजनामात्र जम्मा भयौं मनमोहन अधिकारी, भरतमोहन अधिकारी र म अरु कोही पनि आएनन् । आधीघन्टा चाँदनी चोकको पिपलबोट मुनि बसेपछि हाम्रो मिटिङ हुने छाँटकाँट देखिएन । मनमोहनदाइ भरतमोहन भाइतिर हेरेर अलि रिसाउनु भएको अनुभूति देखाउनु भयो । खै त तिमीहरूले बोलाएका मान्छेहरू आएनन् त ? भरतमोहनले बोलाएको त हो तर जनमत संग्रहमा बहुदलको पराजय, विराटनगरमा जेठको गर्मी र तत्काल पञ्चायत विरोधी कार्यक्रमको शायद औचित्य नभएर होला साथीहरू आउनु भएन हाम्रो के दोष भन्नु भयो । मनमोहन अधिकारीको चित्त बुझेन वहाँ भरतमोहन अधिकारी प्रति अलि कडा भएर विराटनगरमा एउटा मिटिङ बोलाउँदा एकदर्जन मानिस पनि जम्मा गर्न नसक्ने भयौं त हामी, यो तिमीहरूको कमजोरी हो भनेर भरतमोहन अधिकारीलाई ¥याख¥याखती पार्न थाल्नु भयो । भरतमोहनले अब त्यहाँ गालीमात्र खानु बाहेका केही नरहेकाले घर फर्कने भन्नु भयो । मनमोहन अधिकारी पनि पाइन्टको धुलो टकटक्याउँदै उठ्नु भयो र हामी तीनै जना बरगाछीतिर लाग्यौं । बाटामा पनि मनमोहनले भरतमोहनलाई गनगन गर्न छाड्नु भएन त्यही बेला भरतमोहनले मेरो पाखुरा समातेर अलि पछाडि लगेर मनमोहनलाई तपाईं लानुस् म चिरञ्जीवीकोमा पसेर अलि पछि आउँछु भन्नु भयो । कांग्रेसी नेता चिरञ्जीवी रिजालको घर वरगाछीको दक्षिण–पश्चिममा थियो भरतमोहन त्यतै लाग्नु भयो । अब मनमोहन अधिकारीको सबै गाली खाने जोखिम लिएर म मनमोहनको पछिपछि लागें । केही समय हिंडेपछि हामी चाँदनी चोकबाट मूलसडक वरगाछी आइपुग्यौं । मनमोहनले रिक्सामा जाउँ बाबु भन्नु भयो र हामी वरगाछीको छाहारीमा रिक्सा कुर्न थाल्यौं । हामी रिक्सा कुरिरहेका थियौं वरगाछीको पूर्वपट्टीको एउटा घरको माथिल्लो तल्लामा रहेको झ्यालबाट वामे–वामे भनेको आवाज सुनियो । हामीले त्यो आवाज आएको झ्यालमा दुईजना केटाहरू बसेर हामीलाई देखेपछि वामे–वामे भनिरहेका थिए । मनमोहन त्यो दिन मिटिङ नहुँदा तात्तिनु भएको थियो केटाहरूको त्यो हर्कतले वहाँले झन् नमिठो अनुभूति गर्नु भयो । वहाँलाई चिनेर वा महेन्द्र मोरङ आदर्श क्याम्पसमा मेरो अनेरास्ववियुको आवद्धता पहिचान गरेर उनीहरूले वामे भनेका थिए उनीहरू नै जानून् । त्यहीबेला एउटा रिक्सा पायौं र हामी रिक्सा चढेर बजारअड्डा चोकतिर लाग्यौं । विराटनगरको महेन्द्र चोकमा हिमालेश्वरानन्द वैद्यको चिनियाँ पुस्तकहरू पाइने सगरमाथा पुस्तक पसल थियो त्यो मनमोहन अधिकारीको पनि अड्डा थियो त्यहीं रिक्साबाट ओर्लेर हामी पसलमा पस्यौं । वैद्यजीले चिया मगाउनु भयो चिया खानेबेलामा पनि मनमोहन भरतमोहनलाई भुतभुताइरहनु भएको थियो । म त्यो दिन चाँडो मनमोहनलाई छाड्न चाहन्थे र मैले चिया सकिएपछि म घर जान्छु भनेर उठें वहाँ पनि उठ्न ुभयो र म मेरो डेरा पाञ्चालीतिर लागें वहाँ घर तीन टोलिया तिर । भरतमोहन अधिकारीसँग पछि भेट हुँदा यो घट्ना सम्झेर हामी खुब हाँस्थ्यौं । मनमोहन र भरतमोहन मालेसँगको एकतापछि एमाले हुनु भयो, विराटनगर छाडेर काठमाडौँ बढी बस्न थाल्नुभयो । वैचारिक विविधताले समयसँगै हाम्रा भेटहरू पातलिए । वामपन्थीहरूलाई गैरवामपन्थीले वामे सम्बोधन गर्नु सामान्य प्रक्रिया हो जस्तो लाग्छ मलाई । शायद विराटनगरको बगरगाछीमा वामे सम्बोधनले हामीलाई सम्वेदनशील बनाएको थियो होला अहिले म यसलाई सहज रूपमा लिन्छु । समयको अन्तरालमा वामपन्थीहरूको विरोधमा बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले नवउदारवादको वकालतमा वामपन्थीहरूलाई गर्नु गाली गरेको दुनियाँलाई थाहा भएकै हो । थ्याचरले त आफ्ना कतिपय भाषणहरूमा वामपन्थीहरूलाई लेफ्टिस्ट नभनेर वामे (लेफ्टी) भन्थिन् । एक समय थियो चीनका धेरै विद्यार्थी सोभियत संघको मस्को स्थित सन्यात सेन विश्वविद्यालयलमा अध्ययन गर्थे, तेङ सियाओ पिङ र चु तेह पनि त्यही विश्वविद्यालयका कुनैबेला विद्यार्थी थिए । सन्यात सेन विश्वविद्यालयमा अध्ययन गर्ने चिनियाँ विद्यार्थीहरूलाई मस्कोमा व्यङ्ग्य गरेर वामे भनेजस्तै मस्कभिन भन्ने गर्थे । विश्वमा वामपन्थीलाई व्यङ्ग्य गर्ने धेरै शब्दावली प्रयोग भएका छन् लालझन्डे, लालसिपाही, शब्दसिपाही, जुलुसबाज, ओकनाथ, कोमी, पिंको, युटोपिया आकान्टेन्ट, युटोपिया युनिकर्न, एसजेडब्ल्यु, लिबटार्ड, पिपुल्स ब्युरोक्र्याट, मेमे मार्सिस्ट, कामरेड, आदि । मनमोहन अधिकारी नेपालको पहिलो वामपन्थी प्रधानमन्त्री हुनु भयो, भरतमोहन अधिकारी पटक–पटक उप–प्रधानमन्त्री । मनमोहन अधिकारी अलि रिजर्भ कम बोल्ने स्वभावको हुनुहुन्थ्यो भने भरतमोहन अधिकारी अति सहज, वहाँको जनसम्पर्क गजबको थियो । आज नेपालमा एउटा वामे देशका कार्यकारी प्रमुख छन् अर्का वामे प्रतिपक्षका प्रमुख तर नेपालमा वामपन्थी कार्यक्रम र योजना केही छैन, हाम्रो नेपालमा ।
