काठमाडौं । कवि तथा सञ्चारकर्मी छविरमण सिलवालको कविताकृति ‘डोरम्याट’माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा उत्पला क्याफे बौद्धमा उक्त परिचर्चा कार्यक्रम सम्पन्न भएको हो । वरिष्ठ कवि कृष्ण बाउसेले डोरम्याटलाई नेपाली जनताको बिम्बको रुपमा कविता बुनिएको बताए । उनले भने(‘ कृतिमा सुन्दर पर्या कविताहरु पनि केही थान परेका छन् । पर्यावरणीय दृष्टिचेतका कविता हुनु राम्रो हो ।’ उनले आगामी संस्करणमा कृतिको आवरण प्रतिकात्मक होस भन्ने सुझाव पनि दिए । कवि एवं सम्पादक विमल भौकाजीले डोरम्याट आयातित शब्द हो तर यसलाई नेपाली बोलीचाली र भाषा साहित्यले ग्रहण गरिसक्यो भन्दै यो वर्ष पढेका कविता कृति मध्ये डोरम्याट सरल,सुललित भाषा,सरल बिम्बहरु प्रयोग गरी समसामयिकतालाई ध्यान दिएको कविता कृति भएको बताए । कवि आरएम डंगोलले कृतिमाथि चर्चा गर्दै सामान्यतया कथ्य एउटै भए पनि त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कविको आफ्नै शैली हुने बताए । कवि तथा साहित्यकार नवराज रिजालले पाठकीय टिप्पणी प्रस्तुत गर्दै भने (‘कविता जीवनसँग जोडिनुपर्दछ । गलत कुराहरुको सपना देखाइ जनताको भावनामा शोषण हुनेगरी गलत कृयाकलापप्रति कविको व्यँग छ । कविताहरुले परिवर्तन र पहिचान प्रति खवरदारी गरेका छन् ।’ उनले अगाडि भने (‘हरेक कविता जीवनसँग जोडिएको छ ।’ कृतिकार एवं सभाध्यक्ष छविरमण सिलवालले लेखकिय मन्तव्य व्यक्त गर्दै समाजका अवयबहरुले कविता कोर्न आफूलाई प्रेरित गरेको बताए । विभिन्न घट्नाहरुले प्रभाव पारेर कविता सिर्जना हुने बताउँदै परिष्कृत र परिमार्जित रुपमा ल्याउन आफु तत्पर भएको बताए । यसअघि कवि विष्णु थापा, विश्व सिग्देल र पूर्ण बहादुर श्रेष्ठले कवि सिलवालका कविताकृति डोरम्याटका कविताहरु बाचन गरेका थिए । होमशंकर बास्तोलाले स्वागत गरेको उक्त कार्यक्रममा केशव पराजुली,बेदराज पौडेल, लगायतले आफ्ना धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव साहित्यकार प्रदीप सापकोटाले गरेका थिए । मिडिया पार्टनर इखवर नेट डटकम रहेको उक्त कार्यक्रम आफु विरुद्धको आफैंको सहकार्यमा भएको हो । डोरम्याट भुँडीपुराण प्रकाशनद्धारा प्रकाशित भएको हो ।
