दुरदराजमा एउटा झिल्के थियो । सोझासाझा गाउँलेलाई उसले देखाउनु थियो, ऊ अब लरतरो मानिस होइन । ऊ ठान्थ्यो गाउँका त सब ठिनेमिने, उसको प्रतिभाको बखान राजप्रसादमा पनि हुने गरेको छ । दुई चार जना उसका लाउके न भएका पनि होइनन् । “हजुरको ख्यातिले त देश देशवारमा समेत उधुम मचाएको छ ।” अब भने उसका खुट्टा न भुइँमा न भारमा । यथा प्रजा तथा राजा । सम्राट झन् सुपर झिल्के । अघिल्लो दिन मात्रै उनले प्रजाको नाममा सम्बोधन गरेका थिए, ’धन्दा न मान, म आएँ अब सारा पाप पखाल्न !” चौतारीमा बसेर झिल्के गाउँलेलाई गफ दिदैथ्यो, “सम्राटले बडो आँट देखाए तर उनले गाँठी कुरा छुटाएका छन् । भाई भारदारको राम्रो हेरबिचार गर्नु पर्छ । दुनियाँदारालाई रिझाई राख्नु पर्दछ । देश देशावारमा शान्ति सुव्यस्था बहालको निम्ति पहल गर्नु पर्दछ । सम्राटले यस्ता मसिना कुरामा सुझाव दिन राजप्रसादमा म जस्ता विज्ञहरुको बन्दोबस्त मिलाउनु पर्दछ ।” एउटा झुत्रे झाम्रे बुढा कुनामा बसेर यो सब सुनि रहेका थिए । उनि पढेलेखेका त होइनन् तर जीवनमा उनले धेरै घाम पानी झेलेका छन् । उनले भोगेका छन्, गुड्डरी हाँक्नु जस्तो फुरौला आकाशबाट मफ्फतमा खस्दैनन् । उनले मनमनै सोचे ः “आफ्नैलाई सम्झाउन सकिएको छैन, अर्कालाई अर्तिबुद्धि दिएर हुन्छ के ? ! चाकरी त होला तर जब कि ऊ ठान्छ, कौन पुछे खेसारी का दाल । बरु अनुसरण गर्नु के राम्रो हुन्छ भने, आफ्नो पोको बलियो बनाउनु साथीलाई चोर दोष नलगाउनु ।”
