IMG-LOGO

अलविदा प्रिय मित्र माथवर्सिह बस्नेत

 मंगल, चैत ११, २०८१  – हरिप्रसाद अधिकारी

     मेरा अनन्य मित्र, नेपालको प्रजातान्त्रिक आन्दोलनका एक योद्धा, निर्भीक पत्रकार, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहका विश्वासप्राप्त सहयोगी भक्तपुर सूर्यविनायक निवासी माथबरसिंह बस्नेतको ७५ वर्षको उमेरमा आज बिहान निधन भयो । बस्नेतलाई अस्ति राति मष्तिश्कघात भएको थियो ।       हामी दुई स्कुल पढ्दादेखि नै साथी थियौँ । उनी भक्तपुरकै पद्म हाइस्कूलमा र म विद्यार्थी निकेतनमा पढ्ने भए पनि कसरी हो सम्झना छैन, मिल्ने साथी बनेका थियौँ । किशोर वयको त्यो मित्रता २०३७ सालमा आएर प्रगाढ बनेको थियो जब मैले  राजद्रोहको अभियोगमा करीब ६ वर्ष राजबन्दीको जीवन बिताएर राष्ट्रिय जनमत सङ्ग्रहका सन्दर्भमा राजा वीरेन्द्रले दिएको आममाफीमा छुटेर घर आएका माथबरलाई ‘एउटा हैसियतका साथ राजनीतिमा सक्रिय भइरहन सहयोग पुग्ने उपकरणू का रूपमा ुपुनर्जागरणु पत्रिका दर्ता गरेर मित्रताको चिनो दिएको थिएँ । त्यस समय म भक्तपुर जिल्ला प्रशासन कार्यालयको सहायक प्रमुख जिल्ला अधिकारी थिएँ र थोरै समयका लागि कायम मुकायम प्रमुख जिल्ला अधिकारी भएको बेलामा त्यो पत्रिका दर्ता गरिदिएको थिएँ । मैले गरेको त्यो हलुका मित्रलाभको प्रयास मेरो सरकारी जागिरको अन्त्यको आरम्भ बन्न पुगेको थियो ।      माथबरले भने मलाई कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहसँग परिचय गराइदिएर मैले लगाएको गुन तिरेका थिए । मलाई गर्व छ, म कालान्तरमा ती दुवै महान् नेताको विश्वासप्राप्त र भरोसा गरिएको कार्यकर्ता बनेको थिएँ । यसलाई मैले मेरो अकिञ्चन जीवनको सौभाग्यको रूपमा लिएको छु ।      माथवर र मैले संयुक्त रूपमा प्रयास गरेर २०३८ सालमा साहित्यिक पत्रकार संघको तत्वावधानमा वीपी कोइरालाको अभिनन्दन पनि गर्न सकेका थियौँ । हुन त म साहित्यिक पत्रकार संघको उपाध्यक्ष मात्र थिएँ तर अध्यक्ष अच्युतरमण अधिकारीलाई जिताउन प्रजातन्त्रवादी साहित्यिक पत्रकारहरूलाई गोलबद्ध गराउन अहम् भूमिका खेल्न सकेकोले संघमा मेरो बोली बिक्दथ्यो ।      माथबर, घनेन्द्रपुरुष ढकाल र म मिलेर साप्ताहिक पत्रिका विश्वसन्देश चलाउँदा गणेशमान सिंहको जीवन कहानी उहाँकै मुखबाट सुन्ने र त्यसलाई विश्व सन्देशमा धारावाहिक छाप्ने परिकल्पना पनि हामी दुवैको थियो । त्यसको रेकर्ड र ट्रान्स्क्राइब गर्ने जिम्मा माथबरले लिएका थिए । उनले त्यो जिम्मेवारी बडो दक्षताका साथ निर्बाह गरे । आज गणेशमान सिंहको मेरो कथाका पानाहरूलाई कल्ट क्लासिकको दर्जा पाएको आत्मकथाका रूपमा लिइने गरेको छ ।      अलविदा प्रिय मित्र ! प्रशिद्ध पाकिस्तानी शायर निसार काज्मीको लोकप्रिय गजलका दुई पंक्ति उद्धृत गर्दै श्रद्धासुमन अर्पण गर्दछु । ‘शोर बर्पा है खाना–ए–दिल में   कोई दिवार सी गिरी है अभी’    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्