महर्षी नागार्जुन रसायन बिज्ञानको क्षेत्रमा एक महान प्राचीन वैज्ञानिक थिए । उनको योगदानले आधुनिक युगको रसायन शास्त्रमा पनि भिन्न भिन्न किसीमका रसायनिक क्रिया प्रतिक्रियाहरूमा प्रेरणा मिलेको छ । महर्षी नागार्जुनले रसायन शास्त्रको क्षेत्रमा आफ्ना महत्वपूर्ण रचना र सिद्धान्तहरु प्रस्तुत गरेका थिए । उनको रसायनशास्त्र सम्बन्धी ग्रन्थमा रसायन धातु, अधातु, रासायनिक क्रिया प्रतिक्रिया र विभिन्न रसायनहरुको जोड घटाउको बारेमा अद्वितीय ज्ञानको भण्डार प्राप्त गर्न सकिन्छ । महर्षी नागार्जुनले आयुर्वेदिक रसायन को क्षेत्रमा पनि आफ्नो ज्ञान बाँडेका छन् । यिनले रसायन शास्त्रमा औषधि विज्ञान सम्बन्धी ज्ञानलाई पनि प्रस्तुत गरेका छन् । महर्षी नागार्जुनले रचना गरेको रसायनशास्त्र सम्बन्धी अद्वितीय ग्रन्थको नाम हो ‘रस रत्नाकर’ । यस ग्रन्थमा उनले रासायनिक पदार्थहरू जस्तै धातु, अधातु एवं रासायनिक क्रिया प्रक्रियाहरूको बारेमा राम्रोसँग विस्तार र विमर्श गरेका छन् । महर्षी नागार्जुनको रसरत्नाकर भन्ने रसायन शास्त्रसम्बन्धी ग्रन्थमा लेखिएको यो श्लोकले पनि उनीले रसायन शास्त्रमा कति दखल राख्दथे र हाम्रो पूर्वीय दर्शनमा रसायनशास्त्र सम्बन्धी कति गहिरो अध्ययन हुन्थ्यो भन्ने कुराको जानकारी लिन सकिन्छ । ‘यथा कुंजरप्रस्तारे सौवर्चं विद्युतो यथा । तथा रसायनादौ तु सिद्धिः कार्या यथाविधि ॥’ अर्थात् जसरी हात्तीको टाउकोबाट, पानीको प्रवाहबाट विद्युत उत्पन्न हुन्छ अथवा जसरी सौवर्च अर्थात् क्रिस्टलबाट प्रकाश उत्पन्न हुन्छ ठिक त्यसरी नै रासायनिक प्रक्रियाहरूमा हुने सफलताहरुबाट पनि विधिपूर्वक ती चिजहरू प्राप्त गर्न सकिन्छ । ‘सर्वं द्रव्यं यथा दोषैः संस्कार्यं रसरूपता। तथा तत्त्वे स्वकर्माणि संस्कुर्वीतादौ पुरुषः’ जसरी सबै द्रव्यहरु अर्थात् पदार्थहरू रासायनिक क्रिया प्रतिक्रिया द्वारा आफ्नो दोष अर्थात् अशुद्धतालाई हटाएर शुद्ध हुन्छन् ठिक त्यसै गरेर व्यक्तिले पनि आफ्ना कर्महरूलाई शुद्ध बनाउनको लागि आफू स्वयंलाई शुद्ध बनाउनु पर्दछ । यसबाट यति जान्न र बुझ्न सकिन्छ कि रसायनशास्त्रमा पदार्थहरूको शुद्ध गर्ने प्रक्रिया र जीवनमा आफ्नो कर्महरुलाई सुधारेर जीवन शुद्ध बनाउने प्रक्रियाको बीचमा एउटा राम्रो समीकरण रहेछ । यसरी हाम्रा महान वैज्ञानिक नागार्जुनले भौतिक विज्ञान पदार्थ विज्ञान र हाम्रो सनातन हिन्दु दर्शन र आत्मा शरीर को शुद्धताको विज्ञानको बीचमा एउटा राम्रो समीकरण रहेको देखाएका छन् । महर्षी नागार्जुन केवल पदार्थ विज्ञान अर्थात् रसायनशास्त्रका मात्र ज्ञाता थिएनन् अपितु सनातन हिन्दु दर्शन शरीर र आत्माको शुद्धतालाई अध्ययन गर्ने अध्यात्म विज्ञान का पनि एक महान ज्ञाता थिए । महर्षी नागार्जुनको सिद्धान्त अनुसार पञ्चमहाभूतबाट निर्मित यो शरीर को शुद्धताले आत्माको शुद्धता निखार्दछ भन्ने ज्ञानको अनुभव गराउँछ। यसरी पदार्थ विज्ञान को सुधारबाट र शुद्धताबाट अहिलेको युगमा उनको सिद्धान्तले रसायन विज्ञानका क्षेत्रमा पनि प्रेरणा मिलेको हुनुपर्दछ । रसायनशास्त्रको कुनैको सिद्धान्तको आधारमा नै आज विभिन्न रासायनिक अध्ययन र अनुसन्धान भइरहेको छ भन्दा पूर्वीय दर्शनका हामी अध्यताहरुलाई गर्व महसुस हुन्छ । महर्षी नागार्जुन केवल रसायन शास्त्रका मात्र विद्वान थिएनन् उनको योगदान आयुर्वेदमा पनि देख्न सकिन्छ । आयुर्वेदका क्षेत्रमा उनी एक महान योगी र वैद्य थिए । उनको योगदान आयुर्वेदिक चिकित्साशास्त्रमा पनि अद्वितीय छ । रसायन शास्त्रसम्बन्धी उनको पुस्तक रसरत्नाकरमा रसायन विज्ञान, व्याकरण, चिकित्सा शास्त्र, आयुर्वेद शास्त्रका, अनेकानेक आयामहरूका बारेमा प्रशस्त वर्णन गरिएको छ । उनको दृष्टिकोणमा योग्य र सौन्दर्यपूर्ण जीवन जिउनको लागि केही भिन्न तरिकाको जीवनशैली अपनाउनुपर्छ भन्ने विचारले महत्वपूर्ण स्थान पाएको छ । महर्षी नागार्जुनले रसायन विज्ञानमा अनेकौं चमत्कारिक प्रयोगहरू गरेर देखाएका छन्। उनले एउटा धातुबाट अर्को धातुको निर्माण गरेका छन् । जसलाई आज पनि एउटा धातुलाई विकिरण गराएर अर्को धातु निर्माण गरिन्छ। यसै गरेर दुई वा दुईभन्दा बढी धातुहरूको मिश्रण जसलाई आजको विज्ञानमा एलोय भनिन्छ, सो सम्बन्धी पहिलो विधि विश्वलाई दिने उनी प्रथम वैज्ञानिक हुन् । नागार्जुनले नै विभिन्न रासायनिक मिश्रणहरूको प्रयोग गरेर चिकित्साको क्षेत्रमा अचुक औषधिहरूको निर्माणमा महत्वपूर्ण योगदान दिएका थिए। महर्षी नागार्जुन स्वर्ण भस्म निर्माण, जलप विधिका जनक पनि हुन्, यिनकै विधिलाई अनुसरण गरेर अहिले विभिन्न अन्य धातुहरुमा सुनको जलप लगाएर नक्कली गहना बनाउने चलन अत्यधिक बढेको छ । यस्ता महान वैज्ञानिक एवं चिकित्सकलाई हाम्रो अभिनन्दन छ ।
