IMG-LOGO

जंगबहादुरको श्राद्ध

 मंगल, चैत ४, २०८१  – केदार सिटौला

       राणा शासनका संस्थापक श्री ३ जंगबहादुर राणाको मृत्यु भएको १४८ वर्ष भइसक्यो । तर, नेपाल सरकारले अझै पनि उनको श्राद्ध गर्दै आएको छ । हरेक वर्ष फाल्गुण शुक्ल द्वादशीको दिन काठमाडौं, थापाथलीस्थित कालमोचन घाटमा उनको श्राद्ध निरन्तर हुँदै आएको छ । प्रत्येक वर्ष जंगबहादुरको श्राद्धमा जेरी, स्वारी, मालपुवा, पेड़ा, बर्फी गरी पाँचथरी मिठाइ र १५ कटौरा दही पण्डितहरूलाई बाँड्ने चलन छ । त्यस्तै, श्राद्धमा पण्डितहरूलाई केही सय दक्षिणा पनि दिने चलन छ । यसको अलावा सोह्र श्राद्धको द्वादशी तिथिमा पनि जंगबहादुरको श्राद्ध गरिँदै आएको छ । जंगबहादुरको श्राद्ध गर्ने काम २०२० सालदेखि नेपाल सरकारको गुठी संस्थान कार्यालयले गर्दै आएको छ । यसअघि कौसीतोषखानाले यो काम गर्ने गर्थ्यो ।        यस बेला हाम्रो सरकार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्ष जस्ता पूर्वविशिष्ट पदाधिकारीहरूलाई सुविधा दिने कानुन बनाउन तत्पर भएर लागेको छ । हाम्रा पूर्वविशिष्ट पदाधिकारीहरूलाई आजीवन मासिक भत्ता, घर भाडा/घर मर्मत खर्च, सवारीसाधन, सचिवालयमा कर्मचारी र सहयोगी राख्ने लगायतका आजीवन सुविधा दिने गरी सरकारले कानुन तर्जुमा गर्दैछ । यो कामलाई नेपाली जनताले कुनै अन्यथा रूपमा लिनु हुँदैन । वास्तवमै भन्ने हो भने, हाम्रा नेताहरूलाई यी सुविधाहरू पनि अपर्याप्त छन् । अहिलेसम्म हाम्रा शासकहरूले शासनमा रहुन्जेल सत्ता सुख भोग्छन् । बिरामी पर्दा स्वदेश र विदेशमा उपचार सुविधा पाउँछन् । सत्ताबाट बेदखल भएपछि पनि अकूत सेवा सुविधा पाउँछन् । र मरेपछि राजकीय अन्तिम संस्कार र उनीहरूको नाममा अनेकौं प्रतिष्ठानहरू खुल्ने गरेका छन् । अब हाम्रा शासकहरूले पाउन बाँकी भनेको जंगबहादुरको जस्तै श्राद्धको व्यवस्था मात्र हो ।        हाम्रा नेताहरू जसले सम्पूर्ण जनताका लागि जेल, नेल र अनेकौं यातना खपेर देशमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र ल्याए । भूपी शेरचनको प्रख्यात कविता “शहिदहरुको सम्झनामा“ मा भनेझैं – “हामीले खाने प्रत्येक गाँसमा, हामीले फेर्ने प्रत्येक सासमा, हाम्रो मुटुको प्रत्येक चालमा, हाम्रो खुशीको प्रत्येक पलमा छ योगदान हाम्रा नेताहरूको । “यस्ता जिउँदा सहिद जस्ता नेताहरूको लौकिक मात्र होइन, परलोकिक शान्तिको बारेमा सोच्नु सम्पूर्ण देशको कर्तव्य हुन आउँछ । त्यसैले सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूलाई सुविधा दिने विधेयकमा श्राद्धको पनि व्यवस्था गर्नु उचित हुनेछ । नभुलौं, सत्तावृत्तमा जंगबहादुरहरूको निरन्तर जन्म भइरहन्छ, तिनको मृत्यु कहिल्यै हुँदैन ! जंगबहादुरहरू अमर रहून् !

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्