IMG-LOGO

दलहरू सच्चिने कि सकिने ?

 मंगल, चैत ४, २०८१  – नरेन्द्रजंग पिटर

       पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाडौँ फर्की निर्मल निवास पसे  । तर, यो फर्काई सामान्य नभई विशेष थियो । सपना देख्न सबै स्वतन्त्र हुन्छन्, उनमा पनि तेस्रो पटक राजा बन्ने रहर जाग्नु अस्वाभाविक थिएन । सपना अतृप्त अपेक्षाको खेल हो । तर त्यस सपनाका आधार, अवस्था र परिवेश एकाएक हुँदैनन् । बन्छन् वा बनाइन्छन् । तर भिडलाई जुलुस सोच्नेहरू भने छक्किन्छन् ।        परीक्षित शक्तिलाई कसैले नपत्याउने भएकाले नयाँ पात्र र नारा अगाडि सारिन्छ । त्यसै कारण दुर्गा प्रसाईं अगुवा पात्र बने । प्रसाईंजस्ता विवादास्पद पात्रको उदय व्यावसायिक लाभका लागि धार्मिक–राजनीतिक आन्दोलन प्रयोग गर्ने प्रवृत्ति हो । ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्रीको फोटो ब्यानरमा जगमान गुरुङ, गंगा थारू र पी खरेलका पछाडि कमल थापा, राजेन्द्र लिङ्देन, धवल शमशेर र रवीन्द्र मिश्रहरू प्रसाईंको पछि लाग्दै जानु स्वाभाविकै हुन्थ्यो । आयोजक देखिए पनि मूल प्रायोजक पर्दाभित्रै रहेकाले बहसलाई बहुकोणीय बनायो ।        संघारमा पुग्दा सबैले कित्ताकाट गर्नै पर्छ, कोही तटस्थ बस्नै सक्दैन । अझ छेपाराले सक्कली रूप देखाउँनै पर्छ । ज्ञानेन्द्र शाहलाई अझै राजा मान्ने समूह जुलुसमा मात्रै हैन, सामाजिक सञ्जालमा पनि देखिन्छन् । भिडको शक्ति  र सामाजिक चेतना नियाल्न अहिले सामाजिक सञ्जाल सन्दर्भ स्रोत बन्दैछ । यो अवस्थाको कारक पक्ष के हो, त्यो ननियाली विषय बुझ्न सकिँदैन । हरेक विषयको महत्वपूर्ण आन्तरिक पक्ष हुन्छ भने सहायकमा बाह्य । क्रियाको प्रतिक्रिया स्वाभाविक हुन्छन् भने कतिपय प्रायोजित । गुमेको स्वर्ग फर्काउन चाहने वर्गले त्यही मनोभाव उराल्छ ।        सामाजिक चिन्तन चञ्चल हुन्छ । समाज यथास्थितिमै रहन चाहँदैन, तर परिवर्तन कुन दिशातर्फ हुन्छ भन्ने मुख्य हो । परिवर्तनलाई सहजै स्विकार्न सकेका हुँदैनन् पुराना राजनीतिक शक्तिले । ती षडयन्त्रको मौका ढुकिरहेका हुन्छन् । परिवर्तनका वाहक नै आदर्शमा टिक्न नसकेपछि त्यसले प्रतिगामीलाई माहौल अनुकूल बनाइदिन्छ । चौरासी व्यञ्जनमा एक साँझ        प्रायः साँझ नयाँ बानेश्वरको चौरासी व्यञ्जन होटलमा पुग्थेँ । त्यहाँ एक जना नियमित पाहुना देखिन्थे । सेतो चिटिक्कको लुगा, अत्तरको सुवास, ब्रान्डेड सुट, आरामदायी गाडी, दुई–तीन वटा महँगा फोन, गलामा सुनको मोटो चेन र हातमा सुनकै बाला । हेर्दै सम्भ्रान्त, नवधनाढ्य वा शक्ति निकट कुनै व्यापारीजस्तो देखिन्थे । उनको तुजुकयुक्त हाउभाउ र आत्मविश्वासले भरिएको चालडाल र होटलमा आउने उनको निरन्तर उपस्थिति जिज्ञासाको विषय बन्दै गयो ।        अक्सर आफ्नो कुनामा बसेर कम्प्युटरमा अक्षरसँग खेलिरहेको हुन्थेँ, उनीचाहिँ अर्कोतिर फ्रेस जुसमा समय बिताइरहेका हुन्थे । उनीलाई म चिन्दिनथेँ । एक साँझ उनी सिधै मेरो टेबलमा आए । मलाई चिन्दा रहेछन् ! मेरो प्रोफाइल सर्लक्क सुनाए । त्यसपछि उनले गम्भीर हुँदै अचानक प्रस्ताव राखे । “के म कमरेड प्रचण्डलाई भनेर तपाईंलाई कुनै नियुक्ति दिलाइ दिऊँ?” म आश्चर्यमा परेँ । यो पनिः लोकतान्त्रिक संस्कृतिको अभावले संकटमा गणतन्त्र        चौथो महाधिवेशनकाल देखिका प्रचण्ड (त्यति बेलाका ‘विश्वास’) र ‘बादल’ चितवन भन्डारादेखि नै मेरा परिचित थिए ।        तर त्यो रवाफिलो व्यक्तिलाई मैले कुनै नियुक्तिको कुरा गरेको थिइनँ । न कसैसँग गरेको नै छु । न म कुनै पद खोज्दै थिएँ, न उनले मेरो कुनै अनुरोध सुनेका थिएँ । तर किन र कसरी यस्तो प्रस्ताव? म अनिश्चित र आश्चर्यचकित भएँ ।        त्यसपछि पुराना पत्रकार हेमबहादुर विष्टलाई सोधेँ, “यी को हुन् ?” विष्टले जवाफ दिए, “उनी झापाको मेडिकल कलेजका मालिक, दुर्गा प्रसाईं ।”        तीन हप्ताभित्रै, दुर्गा प्रसाईंको एउटा तस्वीर मिडियामा भाइरल भयो । त्यो तस्वीर नेकपा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी ओलीसँगको राजनीतिक ‘मार्सी भोज’को थियो । त्यसको केही समयपछि सत्तासमीकरण फेरियो । सरकार गठनको गणित उल्टियो । दुर्गा प्रसाईं राजनीतिक ‘डिल मेकर’को भूमिकामा देखिन थाले । दुर्गा प्रसाईं माओवादीका सामान्य सदस्य थिए । तर क्याम्प परिवर्तन गरी सिधै नेकपा एमालेको केन्द्रीय सदस्य बने । हुँदाहुँदा राजावादीको आन्दोलनको प्रमुख अभियन्ता भए । ज्ञानेन्द्र शाहलाई पुनः गद्दीमा आसीन गराउने योजनाका देखिने पोस्टर र सूत्रधार बने । कसरी प्रसाईं प्रवृत्ति शक्तिनजिक पुग्छ ? उपयोग गर्छ र कालान्तरमा त्यसैको दुस्मन बन्न पुग्छ? व्यापारी कसरी राजनीतिक खेलाडीसँग सम्बन्ध गाँस्छन् ? मौकामा चौका हानेर समय र सम्भावनामा खेल्दै धेरै माथि चढ्छन् ?                             विश्व र हामी        बीजेपीको ग्वालियर राजघरानासँग नाता जोडिएका राप्रपा महामन्त्री धवलशमशेर राणाले ससुराली  पुगेर राजनीतिक भेटघाट गर्दै, कुम्भ हुँदै गृहनगर नेपालगन्ज फर्किएपछि खास मान्छेसँग १५ दिनमा नेपालमा राजनीतिक उथलपुथल हुन्छ भन्दै हिँडे । अस्वस्थ राणा–राप्रपाको आन्दोलन परिचालन समतिको अध्यक्ष पनि बने । कतिपय ठाउँमा मोटरसाइकल र्‍याली गराए । अर्को आन्दोलन चैत १ देखि हुने बताए । विश्वमा हामी छौँ, विश्व हामीमा पनि छ । हाल विश्वको राजनीतिक व्याकरण परिवर्तनशील अवस्थामा छ । राजनीति क्रमशः दक्षिणपन्थी ध्रुवीकरणतर्फ ढल्कँदै छ र कर्पोरेट शासन व्यवस्थाले फासीवादको स्वरूप लिँदैछ ।        अमेरिकाले मोदी सरकारलाई कूटनीतिक अपमान व्यहोर्न बाध्य पारिरहेकै बेला, भारतले आन्तरिक असन्तोषलाई ढाकछोप गर्न नयाँ न्यारेटिभ निर्माण गर्दैछ । बांग्लादेशको पछिल्लो विद्रोहलाई ठोस रूपमा समेट्न नसकेपछि, छिमेकी मुलुकमाथि प्रभाव जमाउने रणनीति भारतले लिएको देखिन्छ । शक्तिशालीसँग हेपिएकाहरू कमजोरलाई दबाबमा राखेर मनसुख हुन चाहन्छन् ।        अखण्ड भारतको नारा दिने राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को नेपाल शाखा अब धार्मिक उत्तेजना फैलाउने अभियानमा बदलिएको छ । हिन्दू राष्ट्र पुनर्स्थापना र राजसंस्थाको पक्षमा जनलहर उठाउने रणनीति तीव्र बनाइएको छ । राजनीतिमा धर्म घोलेर धार्मिक कट्टरता बनाउने काम भइरहेका छन् ।        नेपालको भू–राजनीतिक संवेदनशीलता भू–संवेदनशीलता केवल भौगोलिक विषय होइन, राजनीतिक र सामाजिक अस्थिरता पनि हो । यूएसएडजस्ता अन्तर्राष्ट्रिय परियोजना सिर्फ आर्थिक वा पूर्वाधारसँग मात्र जोडिएका थिएनन्, तिनले भाष्य निर्माण गर्ने शक्तिकेन्द्रलाई प्रभाव पार्ने लक्ष्य राखेका थिए । एनजीओ केन्द्रित समाज अब मर्माहत बनेको छ । यो पनिः रैती हो, मलाई राजा बनाऊ        परिवर्तनका लागि लडेका शक्तिले आफ्नो आदर्श जोगाउन नसक्दा नै प्रतिगामी सलबलाउन थालेका हुन् । दुस्मन उही रणनीति बारम्बार प्रयोग गर्दैनन् । एक पटक सफल भएको रणनीति अर्को पटक दोहोर्‍याउँदा असफल हुन सक्छ । त्यसैले, प्रतिगामी नयाँ रणनीति र मानसिक भ्रम सिर्जना गर्दै जनतालाई दिशाहीन बनाउन केन्द्रित छन् । अहिले सडकमा पोखिएको भीड राजतन्त्रप्रतिको आकर्षण होइन । यो १८ वर्षदेखि चलिआएको ओली, देउवा र दाहालको राज्यलूट सिन्डिकेटप्रतिको विकर्षण हो । हल्ला र षड्यन्त्रका खेल        सात सालतिर घोरमुखा (घोडाको टाउको भएको राक्षस)को डरले महिनौँसम्म केटाकेटीलाई घरबाहिर जान दिइन्थेन । अझै पनि कतिमाथि त्यो हल्लाको प्रभाव बाँकी छ । त्यस बेला घोरमुखाको त्रासले चार भन्ज्याङ आसपास राणाविरोधीमा डर र अस्थिरता फैलाउने प्रयत्न गरिन्थ्यो ।        नेपाली राजनीतिमा हल्ला, न्यारेटिभ निर्माण र जनताको भावनात्मक शोषण बारम्बार दोहोरिएका छन् । अहिलेको डिजिटल युगले यो प्रवृत्तिलाई झन् सरल, तीव्र र प्रभावकारी बनाइदिएको छ । डिजिटल प्रविधिमार्फत अहिले घोरमुखाहरू जनतालाई सताइरहेका छन् । घोरमुखा केबल षड्यन्त्र सिद्धान्त हो । अफवाह र षड्यन्त्र सिद्धान्त हो । षड्यन्त्र सिद्धान्त कार्यान्वयन गर्न निश्चित चरण अपनाइन्छन्‌ः        पहिलो चरणमा हल्ला फैलाएर ‘धुवाँको पर्दा’ खडा गरिन्छ र जनताको नाडी छामिन्छ । दोस्रो चरणमा इतिहासको चक्र उल्टाउन चाहने शक्ति धार्मिक तथा सांस्कृतिक ‘मास हिस्टेरिया’ सिर्जना गर्छन् । तेस्रो चरणमा, सिन्डिकेटले उग्रधार्मिक समूहलाई प्रयोग गर्दै अन्धविश्वास फैलाउँछ, सत्ताच्युत अभिजात वर्गले नयाँ न्यारेटिभ निर्माण गर्छ । वित्तीय शक्तिकेन्द्र (थैली शाहहरू) संलग्न हुन्छन् र साइबर सेना भ्रम तथा निराशा छर्ने काममा जुट्छ । यसरी, हल्ला र षड्यन्त्र केवल कल्पना नभई रणनीतिक रूपमा प्रयोग गरिने प्रभावशाली अस्त्र बन्न पुग्छ ।   क्रान्ति र यसको नियति        क्रान्ति अत्यन्तै निर्मम हुन्छ । यसले आफ्नै नायकलाई महत्त्वाकांक्षाका ग्रन्थि जगाएर खलनायकमा परिणत गरिदिन्छ । तर इतिहासको यात्रा सधैँ पुनरागमन होइन, अग्रगमनतर्फ नै उन्मुख हुन्छ । पश्चगामी शक्ति अंशमा टिकेर समग्रमा आक्रमण गर्छन् । अस्थिर मध्यमवर्ग भ्रमित हुँदै भिडमा रूपान्तरण हुनसक्छ । परिवर्तनका संवाहक जब नैतिक मूल्य गुमाएर भ्रष्ट बन्छन्, तब तिनी स्वयं आलोचनाका शीर्षक बन्छन् ।        क्रान्तिका नायकले जब आफ्नो क्रान्तिकारी चरित्र र दायित्व बिर्सन्छन्, प्रतिक्रान्तिकारी शक्ति त्यही कमजोरीलाई आधार बनाएर सत्तामा पुनः कब्जा गर्न चाहन्छन् । यसको अर्थ, क्रान्ति सफल भइसकेपछि पनि नेतृत्व वर्ग भ्रष्टाचार, स्वार्थ, परिवारवाद र विलासितामा फस्छ भने प्रतिक्रान्तिकारी तत्त्वले जनताको असन्तुष्टिलाई हतियार बनाएर सत्तामा फर्कने प्रयास गर्छन् ।        २००७ सालको क्रान्तिपछि बीपी कोइराला अपराधी करार गरिए । २०३६ सालको जनमतसंग्रहपछि प्रजातन्त्रवादी विभाजित भए । २०६२/६३ पछि जनयुद्धका नायक आफ्नै आदर्श जोगाउन असमर्थ रहे । प्रतिकूलताका आदर्श चकनाचुर भए, परिणामस्वरूपः नयाँ शक्ति होइन, पुरानै संरचनाभित्र यदुवंशीहरू जन्मिए । जब त्यागीकै त्याग  हराउँछ, आलोचना अनिवार्य बन्छ ।        परिवर्तनको राप रहुन्जेल प्रतिक्रान्तिकारी शक्ति विभिन्न दल र विचारधारामा आवरणमा रहन्छन् । जब परिवर्तनको आवेग सेलाउँदै जान्छ, भेष फेरेका साधु पुनः गृहस्थ फर्कन्छन् । आइतबार पनि त्यस्तै दृश्य काठमाडौँमा देखियो—रैती बन्न पाऊँ भन्नेहरू सडकमा उत्रिए । निराश, आक्रोशित जनमत, धार्मिक भावना र सत्ताच्युत अभिजात वर्ग मिलेर एउटा सिन्डिकेट बन्यो ।        फ्रान्सेली क्रान्ति (१७८९) ले ‘स्वतन्त्रता, समानता र बन्धुत्व’को आदर्श बोकेको थियो । तर, जब रोब्सपिएरले क्रान्तिको मर्मभन्दा आतंकलाई शासनशैली बनाए, तब जनतामा निराशा फैलियो । त्यही कमजोरीको फाइदा उठाउँदै नेपोलियन बोनापार्टले सत्ता कब्जा गरेर आफूलाई सम्राट् घोषित गरे ।        राजनीतिमा अभिजात वर्ग सधैँ आफ्नो ‘गुमेको स्वर्ग’ फिर्ता ल्याउन खोज्छ । तर इतिहासको गति पछाडि होइन, अगाडि मात्र जान्छ । पश्चगामी तत्त्व अंशमा टिकेर समग्र परिवर्तनलाई आक्रमण गर्छन् । यस्ता अस्थिर घडीमा मध्यमवर्ग अत्यधिक प्रभावित हुन्छ । भ्रमित भएर उनीहरू भिडमा परिणत हुन सक्छन् । नायकले इतिहासको रक्षा गर्न नसके पनि इतिहास सधैँ अग्रगामी नै हुन्छ ।        ख्याल के गर्नुपर्छ भने परिवर्तनप्रति एकाएक भ्रम सिर्जना हुँदैन । भ्रम उत्पन्न गर्न पनि आधार चाहिन्छ । जब नवशासकमा भ्रष्टाचार, आपसी कलह र अस्थिरता बढ्छ, छिमेकी शक्तिराष्ट्रहरूको भूमिका महत्त्वपूर्ण बन्छ । ती राष्ट्रले आफ्ना स्वार्थअनुसार प्रतिक्रान्तिकारी शक्तिलाई समर्थन गर्न सक्छन्, अथवा देशको अस्थिरता नियन्त्रणमा सहयोग पनि गर्न सक्छन् ।        क्रान्ति स्वभावैले कठोर हुन्छ । यसले आफ्नै नायक बदल्न सक्छ । तर, यदि परिवर्तनका संवाहकले नैतिक बल गुमाए भने प्रतिक्रान्तिकारी शक्ति पुनः सत्तामा फर्कने अवसर खोज्छन् । इतिहासको गति भने कहिल्यै पछाडि फर्कँदैन—सधैँ अगाडि नै बढ्छ ।        हरेक समाजमा उसका प्रतिनिधि पात्र हुन्छन् । तिनका भूमिका व्यक्तिगत देखिए पनि एउटा चिन्तन समूहको हुन्छ । अहिले ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईं तिनका अगुवा पात्र बनेर राप्रपा र पश्चगमनका  पोस्टर म्यान बने । तर यो विश्व दक्षिणपन्थको नेपाली संस्करण मात्र हो । अब राजनीतिक दलसामु ध्वस्त हुने कि सुध्रिने भन्ने परीक्षा खडा भयो ।        कार्यपालिका, न्यायपालिका र संसद्को स्वतन्त्र भूमिका हुन दिने कि नदिने? जबकि यी लोकतन्त्रका तीन आधारभूत तत्त्व हुन् । पार्टीभित्रको आन्तरिक लोकतन्त्र मजबुत गराएर नेतृत्वको पुस्तान्तरण गर्ने कि नगर्ने? यो भ्रष्टतन्त्र (क्लेप्टोक्रेसी)बाट उम्कने कि नउम्कने ?        शासनशक्ति बालुवाटार केन्द्रीकरण हुँदा निक्लने परिणाम के कसो हुन्छ? सबै कुरा सधैँ आदेशमा चल्दो रहेनछ भन्ने ज्ञान ज्ञानेन्द्र शाहले हामी सबैलाई दिएकै छन् । तर यतिका वर्षपछि तिनै शाह किन हौसे र कसले उनलाई उकास्यो ? यो अवस्था किन आयो भनेर माओवादी, एमाले र कांग्रेसको नेतृत्वले सामूहिक समीक्षा गर्नै पर्छ! सुध्रिने या ध्वस्त हुने ? ज्ञानेन्द्रको ताउरमाउर चेतावनीको घण्टी हो । समयमै चेत भया ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्