IMG-LOGO

गार्गी– एक ऋषिका, मिथिलाकी अत्यधिक श्रद्धेय विदुषी

 मंगल, फागुन २७, २०८१  माधव रेग्मी बेलायत

     भर्खरै मात्र अन्तर्राष्ट्रिय महिला दिवस नामको एउटा उत्सव संसारभरिका महिलाहरूले मनाए । यस्तो दिवस नेपालमा पनि केही कार्यक्रमहरू गरेर मनाएको सुन्न र देख्न पाइयो । यसरी महिला दिवस मनाइरहँदा हाम्रा प्राचीन ऐतिहासिक महिलाहरूको योगदान र विद्धतालाई कमै मात्र स्मरण गरेको सुनिन्छ । आजको यो सानो आलेखामा हाम्रै धरामा जन्मिएकी एक महान दार्शनिक ज्योतिषी एवं ऋषिकाको बारेमा सानो चर्चा गर्न खोजिएको छ ।      हामीमध्ये कतिले सुनेको र पढेको हुनुपर्छ हिमवत खण्डको फेदमा प्राचीन नेपालको समयमा उद्भव भएको राज्य विदेह राज्य, जहाँ राजा जनकले राज्य गर्दथे, जसको राजधानी जनकपुर आज पनि हामी सबैको अगाडि जीवितै छ, का राजा जनकको एउटा राजसभामा आफ्नो विद्वतालाई परखेर ऋषि याज्ञवल्क्यलाई परास्त गरेकी थिइन् एउटी बिदुषीले जसको नाम थियो गार्गी । वैदिक साहित्यमा गार्गीलाई प्राकृतिक दार्शनिक र धर्मशास्त्रको ज्ञाताका रूपमा सम्मान गरिन्छ । उनलाई वेद र ब्रह्मवादीनीको व्याख्याताको रुपमा पनि चिन्ने गरिन्छ जसले ब्रह्मज्ञान प्राप्त गरेकी थिइन् । बृहदारण्यक उपनिषद्को छैठौं र आठौं खण्ड जसलाई ब्राह्मणम् खण्ड पनि भनिन्छ । यस खण्डमा राजा जनकद्वारा आयोजित दार्शनिकहरुको विमर्श ब्रह्मयज्ञको बारेमा चर्चा गरिएको छ । स्मरण रहोस्, राजा जनकको समय भन्नाले हाम्रै धर्तीपुत्री माता जानकी अर्थात् सीता का पिता र हाम्रा आराध्यदेव मर्यादा पुरुषोत्तम भगवान रामको समयको सभा विमर्ष र ब्रह्मयज्ञ मा हुने शास्त्रार्थलाई बुझ्नुपर्दछ । विदुषी गार्गी जीवनभर ब्रह्मचारी रहिन् र वैदिक संस्कृतिका अनुयायीहरूका बीचमा उनी निकै नै आदरणीय पनि थिइन् । ऋषिका गार्गीले ऋग्वेदका केही ऋचाहरू रचना गर्नमा पनि भूमिका खेलेकी थिइन् भनेर हाम्रा प्राचीन धर्मग्रन्थहरूमा पढ्न पाइन्छ ।      ऋषिका गार्गीको जन्म एक प्रसिद्ध दार्शनिक र ज्योतिषी गर्गमुनिको छोरीको रूपमा भएको थियो । यिनी तिनै गर्गमुनि हुन् जसले भगवान कृष्णको ज्योतिषीय भविष्यवाणी गरेका थिए । पुराण र महाभारतमा याज्ञवल्क्यको नाम धेरैपटक धेरै प्रसङ्गहरूमा उल्लेख छ । यिनै ऋषि याज्ञबल्क्यसँगको राजा जनकको राजसभामा भएको शास्त्रार्थमा विदूषी गार्गीले याज्ञबल्क्यलाई हराएको पढ्न पाइन्छ । भनिन्छ सानै उमेरदेखि गार्गीको झुकाव वैदिक शास्त्रप्रति थियो र उनले चाँडै नै वेद उपनिषद् र दर्शनशास्त्रमा निपुणता हासिल गरिन् । ऋषिका गार्गी अन्य दार्शनिकहरूसँग पनि वैदिक कालमा बौद्धिक छलफलका लागि हरदम तयार रहने गर्थिन् । बृहदारण्यक उपनिषद्का अनुसार राजा जनकले एक दिन राजसूय यज्ञ गरेका थिए । उनले तत्कालीन समयमा उपलब्ध सबै विद्वान, ऋषिमुनि, राजा, रानी, विदुषीहरुलाई उक्त यज्ञमा भाग लिन आमन्त्रण गरे । राजा जनक पनि स्वयं एक ऋषि विद्वान थिए । उनले उक्त यज्ञमा ब्रह्मज्ञानको बारेमा बहस चलाए । बहसमा खरो उत्रन सक्ने विजेतालाई १० हजार गाई र हरेक गाईकासाथमा एक एक वटा सुनको असर्फी सिक्का समेत पुरस्कारमा दिने घोषणा गरे । यस्तो सुन्ने बित्तिकै याज्ञवल्क्यले आफ्ना एक शिष्यलाई गाईको बथान खोलेर लैजान आदेश दिए । ऋषिलाई शास्त्रार्थ बहसमा हराउन कसैले सक्दैन भन्ने घमण्ड थियो । उपस्थित अन्य ऋषिहरूले याज्ञबल्क्यलाई चुनौती दिन चाहेनन् । उनीहरुलाई थाहा थियो कि शास्त्रार्थमा याज्ञवल्क्यलाई हराउन सकिँदैन । यस्तैमा त्यहाँ उपस्थित एकमात्र महिला विदुषी गार्गीलाई लाग्यो कि बहसमा निष्पक्ष सहभागिता बिना पुरस्कार लैजानु उचित होइन । त्यसैले बहसमा भाग लिन उनी तयार भइन् । गार्गीले अनेकौं प्रश्नहरू सोधिन् सबै प्रश्नका जवाफ ऋषिसँग थिएन । अन्तमा ऋषिले आफ्नो हार स्वीकार गरे । यस संबंधी प्रसंग एबं विदुषी गार्गी र ऋषि याज्ञवल्क्यका संवाद बृहदारण्यक उपनिषदको तेस्रो अध्यायको आठौं ब्राह्मणम् मा पाउन सकिन्छ ।  उक्त ब्राह्मणम् को पहिलो श्लोक यस्तो छ,      अथ ह वाचक्नव्युवाच ब्राह्मणा भगवन्तो हन्ताहमिमं द्वौ प्रश्नौ प्रक्ष्यामि तौ चेन्मे वक्ष्यति न वै जातु युष्माकमिमं कश्चिद्ब्रह्मोद्यं जेतेति पृच्छ गार्गीति ॥३.८.१॥      अर्थात् वाचकनु कि छोरी (गार्गी) ले भनिन् पूज्य ब्राह्मणहरू म वहाँलाई दुईवटा प्रश्न सोध्छु । यदि उहाँले मलाई यी प्रश्नहरूको जवाफ दिनुभयो भने यहाँहरु मध्ये कसैले पनि वहाँलाई ब्रह्मन् को चर्चामा हराउन सक्नुहुन्न । ब्राह्मणहरूले भने हे गार्गी सोध !      यसरी गार्गीले ऋषिलाई शास्त्रार्थमा चुनौती दिएका प्रशस्त उद्धरणहरू हाम्रा प्राचीन धर्मग्रन्थहरुमा पढ्न पाइन्छ । गार्गीले एकपछि अर्को गर्दै बहस गरिन् । आत्माको शाश्वत स्थितिका विषयहरू चन्द्रमा, तारा, सूर्यको, ब्रह्माण्ड, देवता, इन्द्र र प्रजापति जस्ता प्रश्नहरूको श्रृङ्खला जारी राखिन् । अन्तरिक्ष, पृथ्वी, हावा, यज्ञ, पूजा, तपस्या नाशवान, अविनाशी अनेकौं प्रश्नहरूका विषयमा शास्त्रार्थ भयो । यी सबै शास्त्रार्थहरू र प्रश्नहरूका बारेमा बृहदारण्यक उपनिषदमा यी दुईको शास्त्रार्थका प्रसस्त उद्दरणहरु छन् । जब गार्गीले अविनाशीहरूको संसारको बारेमा शास्त्रार्थ सुरु गरिन् याज्ञबलक्यले असहज महसुस गर्छन् र अगाडि नबढ्न आग्रह गर्दै आफ्नो हार स्वीकार्न पुगेका हुन्छन् । यस्ता महान विदुषीहरू हाम्रा पूर्वजहरू थिए र हामी तिनैका सन्तान हौँ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ज्ञात अज्ञात हाम्रा पूर्वीय दर्शनका विदूषी महिलाहरूप्रति हार्दिक नमन । सबैको जयहोस् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्