IMG-LOGO

लिखुरे ज्यान लिएर दौड प्रतियोगितामा 

 मंगल, माघ ६, २०७७  हरि मञ्जुश्री —

  एक साँझ त्यो मेरो घरभित्र लुसुक्क पस्यो र बैठककोठामा गएर सोफामा ढसमस्स बस्यो । मैले त्यसलाई त्यो बेला केही भनिनँ । त्यसको हालचाल सोधिनँ । वास्तै गरिनँ । भोलिपल्ट बिहान पूजाआजा सकेर म बैठककोठामा पस्ता त्यो त्यसै गरी फ्यात्त बसिरहेको थियो । गएर त्यसलाई उठाएँ । बोकेँ । काखमा राखेँ । सुमसुम्याएँ । ओल्टाइपल्टाइ गरेँ । हेरेँ । अलिअलि पढेँ । त्यसभित्रका अङ्ग-प्रत्यङ्गहरू केलाएँ । मनमा केही गुनेँ । केही निफनेँ । यसलाई ख्वाउँछु भन्ने लाग्यो । त्यसले अक्षर खाने गर्छ । त्यसैले ल्यापटपका अगाडि बसेँ । त्यसलाई ख्वाउनका लागि पकाउनुपर्ने । पकाउनका लागि फकाउनुपर्ने । फकाएर बकाउनुपर्ने । त्यही गर्न थालेँ । अहिले आफैँ बक्तैछु । भारी बोक्तैछु ।   पोहोर साल पनि त्यो त्यसै गरी मकहाँ आइपुगेको थियो । त्यसको सामान्य चिरफार गरेको थिएँ । एक वर्ष पुगेछ । त्यो फेरि आयो । पहिले पनि दुई-तीनचोटि आएकै थियो । म डाक्टर होइन । म त कहिलेकाहीँ लेखिटोपल्ने । तैपनि अक्षरजीवीजस्तै । शब्दयात्री भने पनि हुने । वाक्य र अनुच्छेदको स्नेही । त्यसैले आएको होला त्यो भन्ठान्छु । वर्षमा एकचोटि त्यसलाई भोजन गराउँदा पनि रमाइलै हुन्छ ।  त्यो । को त्यो ? त्यो भनेको ‘काभ्रे टाइम्स’ । ‘काभ्रे टाइम्स’ भनेको काभ्रेपलान्चोक जिल्लाबाट छापिने पत्रिका । साप्ताहिक । अनेकथरि मिष्टाक्षर बोकेर आउँछ । मकहाँ आइपुगेको ‘काभ्रे टाइम्स’ चाहिँ २०७६ साल माघ ७ गतेदेखि २०७७ साल पुस २८ गतेसम्मको चाङ थियो । एक मुठो ।  आँखा चिम्लिएँ । ‘काभ्रे टाइम्स’ २५ वर्षको लक्का जवान भएछ । तर कोरोनाले गर्दा होला लुतेरोग लागेछ । व्यवसाय चौपट भएकाले होला विज्ञापनमा कमी आएछ । अक्षरहरू पनि कम-कम हुँदै गएछन् । स्तम्भहरू पनि खिइएछन् । धेरैवटा अङ्कमा पृष्ठ पनि घटेछ । सबै पत्रिकाको हविगत एउटै । सुकेनास लागेर लखतरान भएका सबै पत्रिका । यस्तो बेलामा पनि ‘काभ्रे टाइम्स’ ले धन्न ४७ अङ्कचाहिँ पुर्‍याएछ । यतिमा पनि दङ्ग पर्नुपर्ने । स्याबासी दिनुपर्ने । यस्तो दिन पनि आयो नि ! ‘काभ्रे टाइम्स’ ले अनेकौँ उकाली चढ्यो होला । अनेकौँ ओराली झर्‍यो होला । धेरै जन कमायो होला । धेरै जन गुमायो होला । धेरै जनलाई ल्यायो होला । धेरै जनलाई पठायो होला । पत्रिकामा यस्तै हुन्छ । पत्रकार मित्रहरूसँग मेरो सङ्गत भएको ३७ वर्ष पुगेछ । यस अवधिमा मैले यस्तै देखेको छु । ‘काभ्रे टाइम्स’ पनि यसको अपवाद बनेन होला भन्ठान्छु ।  समाचार, विचार, अन्तर्वार्ता र जानकारीमूलक सामग्रीहरू दिएको देखिन्छ ‘काभ्रे टाइम्स’ ले । स्तम्भहरूलाई सकेसम्म नियमित बनाउने प्रयास गरेको भेटिन्छ ‘काभ्रे टाइम्स’ ले । सकेसम्म कुनै राजनीतिक दलको मुखपत्र नबनूँ भन्ने प्रयास गरेको पाइन्छ ‘काभ्रे टाइम्स’ ले ।  नेपालमा अहिले कुनै पनि राजनीतिक दलको कार्यकर्ता भएर बाँच्न सजिलो छ । ‘नेपाली’ मात्रै भएर बाँच्न गाह्रो छ । पत्रिकामा पनि त्यस्तै हो । ‘पर्चाकारिता’ गर्न सजिलो छ । पत्रकारिता गर्न गाह्रो छ । दलको मुखपत्र बन्न सजिलो छ । जनताको मुखपत्र बन्न गाह्रो छ । अझ केन्द्रीय राजधानीभन्दा बाहिर बसेर स्वतन्त्र पत्रकारिता गर्न त फलामको चिउरा नै चपाउनुपर्छ । कार्यकर्ताहरूका लागि फलामको चिउरा चपाउनु असम्भव छ । ‘नेपाली’ मात्रै बनेका मान्छेहरूचाहिँ फलामको चिउरा चपाउन पनि आँट गर्छन् । सक्ने-नसक्ने उनीहरूको कुरो हो । कुरो ‘काभ्रे टाइम्स’ को हो । यो वर्ष यसको रजतवर्ष । यतिखेर त यसको आकार भुसतिघ्रे हुनुपर्ने हो । तर कोरोना महामारीले थङ्थिलो बनेको लिखुरे ज्यान लिएर दौड प्रतियोगितामा भाग लिइरहेको छ यो । सबै पत्रिका थकित छन् । गलित छन् । खुइखुइ सुस्केरा हाल्दै घिस्रिँदैछन् । कस्तो दौड प्रतियोगिता पत्रकारिताको यो ! नेपालको नियति ! अधमरो बनेर बल्लबल्ल सास अड्याउनुपर्ने बाध्यतामा बाँचेको नेपाली पत्रकारिता ! त्यसको एउटा अङ्ग ‘काभ्रे टाइम्स’ । सम्झ्यो कि सुस्केरा आउँछ खुइय !  अब त्यो उठ्यो । मेरो काखबाट बाहिर निस्कियो । टेबलमा अडियो । कोही लिन आयो भने पठाउँछु भन्ने मनमा आयो । हिजो पनि दुईजना आएका थिए । एउटा प्राकृतिक व्यक्ति । अर्को कानुनी व्यक्ति । ‘काभ्रे टाइम्स’ कानुनी व्यक्ति । यो आफैँ हिँड्दैन । अर्काले बोकेर यसलाई हिँडाउनुपर्छ । तैपनि प्राकृतिक व्यक्तिको चिनारी यसैले दिन्छ । सहरको चिनारी यसैले दिन्छ । जिल्लाको चिनारी यसैले दिन्छ । ‘काभ्रे टाइम्स’ सँग काभ्रेपलान्चोक जिल्लाको चिनारी पनि जोडिएको छ । आफ्नो चिनारी दिने पत्रिकाको इज्जत जोगाउनु काभ्रेपलान्चोक जिल्लाको पनि त कर्तव्य होला नि !

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्