अहिले सडक र सञ्जालमा भै रहेको रमाईलो राजा ल्याउनको लागि हुँदै हैन, राजा चाहने जनताहरुको आडमा नेपाललाई अस्थिर र अशान्त बनाउने खेल मात्रै हो । साँच्चै राजा चाहने जनता सडकमा ओर्लिएका हुन भने रबिन्द्र मिश्र,राजेन्द्र लिङदेन या कमल थापाहरु कै आह्वानमा अथवा तपाई जस्ता विद्वानहरुको अगुवाईमा आन्दोलनमा आउने थिए । आउनु पर्थ्यो ! अर्को स्वतः स्फूर्त सडकमा जनता उर्लिएर त्यहाँ कोहि नयाँ भुइँ मान्छे नेता जन्मिन्थ्यो र उसको नेतृत्वमा यो अभियान अगाडि बढ्थ्यो भने अवश्य यसले नतिजा ल्याउथ्यो । स्वंयम् पूर्व राजाको नेतृत्वमा जनता गाउँ शहरबाट जाग्न थालेको भए पनि केही हुने छाँटकाट देखिन्थ्यो । कोहि नपाएर माओवादी हुँदै एमालेको चरम अवसरवादी चतुर र पहुँचवाला कार्यकर्ताको रुपमा पालै पालो बार्गेनिङ्ग गरेर दुनो सोझिने नदेखे पछि उग्र विद्रोही बनेर आफ्ना पूर्व भगवानहरुलाई खुइल्याउदै भुत्ल्याउँदै चरम राजवादी बनेका व्यापारीले राजा प्रति भावनात्मक आस्था राख्ने जमातको सानो हिस्सालाई प्रभावित गरेर राजा ल्याईदिन्छु भनेर आफ्ना पूर्व मालिकहरुलाई धम्की पूर्ण घुर्कि लाउँदैमा २०४७ को संविधान फर्किन्छ र ? बरु यो स्वार्थ र घुर्किको खेलमा पूर्व राजाको साख र छबि बिग्रिन्छ । अझ यस्ता अजिब नौटङ्की खेल भित्र ‘राजा आउ’ भन्दै ‘राजा भिरको बाटो जाउ’ गर्ने षड्यन्त्र लुकेको पो छ कि ?
