IMG-LOGO

कुम्भ मेला सिहावलोकन

 मंगल, फागुन २०, २०८१  माधव रेग्मी बेलायत

      झन्डै डेढ महिनाको अन्तरालपछि अन्तत प्रयागराजमा चलिराखेको कुम्भ मेला सकिएको छ। पौष शुक्ल पूर्णिमाको दिन अर्थात् जनवरी १३ मा शुभारम्भ भएर तीनवटा पक्ष माघ कृष्णपक्ष माघ शुक्लपक्ष र फाल्गुण कृष्णपक्ष को शिवरात्री अर्थात् फेब्रुअरी २६ तारिखसम्म चलेको थियो। सम्भवत यो संसारकै सबैभन्दा लामो पर्व हुनुपर्छ । यस्तो हिन्दू तीर्थयात्रा उत्सव जहाँ विभिन्न तथ्याङ्कहरूमा दाबी गरिएअनुसार करिब ६६ करोड भन्दा बढी तिर्थालु भक्तजनहरूले त्रिवेणी संगममा डुबुलकी लगाए । सूर्य चन्द्रमा र बृहस्पतिको खगोलीय अवस्थिति एउटै राशिमा रहने अवस्था पुन १४४ वर्षपछि आएको हो। यस सम्बन्धी सानो चर्चा यसभन्दा अगाडिको लेखमा पनि गरिसकिएको छ । यद्यपि यस्तो कुम्भ मेला कहिले कसरी भयो भन्ने अनेकौं किम्वदन्तीहरु छन् तर पनि समुद्र मन्थनबाट सृजित अमृतको घडामा देवता र दानवहरूको बीचमा १२ दिनसम्म लुच्छाचुडी हुँदा झरेको अमृतको थोपा खसेको ठाउँमा कुम्भ मेला लाग्ने गरेको हो भन्ने पौराणिक कथा नै बढी प्रामाणिक ठहरिएको छ । देवलोकको एक दिन बराबर पृथ्वी लोकमा एक वर्ष हुने भएको भएर १२ दिन को १२ वर्ष हुन गएको हो ।        कुम्भ मेलालाई युनेस्कोले पनि अमूर्त एबम् अद्वितीय सांस्कृतिक सम्पदाको अंश र संसारकै सबैभन्दा ठूलो शान्तिपूर्ण मानिसहरूको जमघटको रूपमा मान्यता दिएको छ । अन्तर्राष्ट्रिय पत्रपत्रिकाहरूले दिएको तथ्याङ्कलाई आधार मान्ने हो भने यसपटकको कुम्भ मेलाले भारतीय अर्थतन्त्रमा ठूलो टेवा दिएको छ । विशेष गरेर भारतको उत्तर प्रदेश राज्यमा। उत्तर प्रदेश राज्यले कुम्भ मेला सम्पन्न गर्नको लागि करिब ७४० मिलियन अमेरिकी डलर खर्च गरेको तथ्याङ्क छ भने यसबाट करिब २३ बिलियन अमेरिकी डलर राजस्व उठाएको अनुमान गरिएको छ । उत्तर प्रदेश सरकारले यो कार्यक्रम सम्पन्न गराउनको लागि ४० किलोमिटर वर्ग क्षेत्रफलमा अस्थायी सहर नै निर्माण गरेको थियो। प्रयागराजले शहरी जीवनयापन बढाउन स्मार्ट सिटी प्रविधिहरू पनि अँगालेको थियो। तीन नदीको संगम वरिपरि २५ वटा विभिन्न क्षेत्रहरूमा करिब १२ किलोमिटर लम्बाईका त भक्तजनहरूलाई स्नान गर्नको लागि घाटहरूको निर्माण गरिएको थियो । यसरी विभक्त गरिएका विभिन्न २५ वटा ठाउँहरूमा करिब डेढ लाख पालहरू टाँगेर त्यति नै संख्यामा शौचालयको व्यवस्था गरेर करिब १० हजार सेवाकर्मीहरूलाई व्यवस्थापनको जिम्मा दिई भक्तजनहरुलाई बस्न र विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न व्यवस्था मिलाइएको थियो ।       यातायातको प्रवाहलाई निरन्तर चलाउनको लागि करिब २० किलोमिटर वर्ग क्षेत्रफलमा पार्किङ स्थल बनाइएको थियो भने निर्वाद आवागमन सञ्चालनका लागि ४५० किलोमिटर सडक लम्बाई बढाइएको थियो । उता भारतीय रेल सेवाले पनि कुम्भ मेलाको लागि नै भनेर प्रयागराज एक्सप्रेस र लखनउ एक्सप्रेस नामका रेलसेवाहरू सञ्चालन गरेको थियो । व्यवस्थापन यति चुस्त थियो कि भक्तजनहरूले डुबुल्की मार्दा कतै खराब पानीमा डुबुल्की मारेर स्वास्थ्यमा समस्या पर्छ कि भनेर करिब १० हजारकै सङ्ख्यामा स्वास्थ्यकर्मीहरु परिचालन गरिएको थियो र डुबुल्की मार्न मिल्ने छ कि छैन भनेर हरेक दिन परीक्षण गर्ने गरिन्थ्यो। उता सुरक्षा व्यवस्था यति चुस्त पारिएको थियो कि करिब डेढ महिनासम्म ४० हजार प्रहरी र अर्धसैनिकहरू परिचालित थिए भने त्यसको झन्डै डबल सङ्ख्यामा भैपरि आउन सक्ने संकटको लागि भनेर सुरक्षाकर्मीहरूलाई तमतयार पारिएको थियो । घाट वरिपरि र कार्यक्रम स्थलहरूमा झण्डै साढे २ हजारको सङ्ख्यामा त सिसिटिभी जडान गरिएको थियो। करोडौँको भिडमा कोही कतै डुबुल्की मार्दा केही भइहाल्छ कि भनेर साढे ३०० फिट गहिरोसम्म पुग्न सक्ने ड्रोनहरूको व्यवस्था पनि गरिएको थियो। कार्यक्रम स्थलहरूको सुरक्षाको लागि सयौंको सङ्ख्यामा अग्नि नियन्त्रकहरू, हजारौँ फिट उचाइमा स्वचालित क्यामेराहरू राखेर र कृत्रिम बौद्धिकता (एआई) र स्वचालित सन्देश प्रवाह (च्याटबट) जस्ता अतिआधुनिक प्रविधिको प्रयोग गरेर कुम्भ मेलालाई अद्वितीय र अत्याधुनिक बनाइएको थियो ।       यसरी सजाइएको र बनाइएको प्रयागराजको त्रिवेणी संगम मा भएको महाकुम्भ मेला मा विशेष गरेर अमृत स्नान गर्ने दिनहरुमा अलि बढी भिड लाग्ने गरेको थियो। करिब डेढ महिनाको यो महाकुम्भ मेला मा पाँच मुख्य दिनहरूमा अमृत स्नान गर्ने चलन छ। पहिलो अमृत स्नान कुम्भ मेलाको पहिलो दिन अर्थात् सूर्य मकर राशिमा प्रवेश गर्ने दिन, मकर संक्रान्तिको दिन जसलाई शाही स्नान पनि भनिन्छ, त्यस्तै गरेर  अमावश्या अर्थात् औंशीको दिन दोस्रो अमृत स्नान, तेस्रो अमृत स्नान बसन्त पञ्चमीको दिन, चौथो अमृत स्नान माघ पूर्णिमाको दिन र पाँचौं अमृत स्नान शिवरात्रीको दिन ।       केही सामान्य घटनाहरू र हताहत बाहेक सामान्यत महाकुम्भ मेला शान्तिपूर्ण नै रहेको भनेर विश्वसञ्चार माध्यमहरुले पनि भन्ने गरेका छन् । ग्यास सिलिन्डर विस्फोट हुँदा लागेको आगलागीले मैदानमा रहेका करीब १८ वटा अस्थायी पालहरू नष्ट पारेको घटना, तीर्थयात्रीहरू बोकेर महोत्सवमा गइरहेका सवारी साधनको दुर्घटनामा करिब दुई दर्जन जति हताहत हुनुका साथै महोत्सव मैदानमा भएको भीडको किचाइले थप ३० जनाको ज्यान गएको घटना समेत गर्दा ज्यान गुमाउनेको संख्या ७९ भएको दाबी गरिएको छ । करोडौँको सङ्ख्यामा भएको उपस्थितिमा केही दर्जन हताहत हुनुलाई भने सामान्य ढङ्गमा लेखिएको छ । र केही आलोचकहरूले यसलाई व्यवस्थापकीय कमजोर भनेता पनि अनेकौँ विसङ्गतिहरूका बावजुद उत्तर प्रदेश सरकारले महाकुम्भ मेलालाई अत्यन्तै व्यवस्थित तरिकाले सम्पन्न गरेको कुरा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन् । महाकुम्भ मेलामा ४० करोड तिर्थालुहरूको उपस्थितिको अपेक्षा गरिएकोमा झन्डै डबल श्रद्धालु तीर्थलु हरूले यसपटक तीर्थाटन गरेका छन् । विभिन्न संचार माध्यमहरूमा बताइए अनुसार युरोप अमेरिका अस्ट्रेलिया एसिया अफ्रिका महादेशका करिब ७७ वटा मुलुकबाट कूटनीतिक नियोगका प्रमुखहरू, कूटनीतिज्ञहरूले प्रयागराजको त्रिवेणीमा डुबुल्की लगाएका थिए । भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदि, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, भारतका उपराष्ट्रपति जगदीप धनखर, पूर्वराष्ट्रपति, उपराष्ट्रपतिहरू, विधायकहरु, नायक नायिकाहरू, अरबपति मालिकहरू, अखडाका महन्तहरू, जगतगुरुहरु, धर्माचार्यहरु, छिमेकी मुलुक नेपालबाट समेत नेता, नायक, नायिकाहरू, त्रिवेणी संगममा डुबुलकी मार्न पुगेका थिए ।       यस्तो संगम र उपस्थिति अब १४४ वर्षपछि मात्र हुनेछ । सम्भवत कुनै पनि धार्मिक अनुष्ठानहरू यति ठूलो संख्यामा श्रद्धालु भक्तहरूको उपस्थिति भएर सनातन हिन्दु धर्म भन्दा बाहेक अन्य कुनै धर्ममा भएको देखिएको छैन । संसारमा धर्म र आस्था एउटा यस्तो अमूर्त चिज हो जसले अनेकौं वर्गका सम्प्रदायका र राजनीतिक पृष्ठभूमिका करोडौं मान्छेहरूलाई एक ठाउँमा समाहित गराउँछ त्यस्तो दृश्य यसपटकको प्रयागराज महाकुम्भमा देखियो । सबैको जयहोस् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्