IMG-LOGO

निर्धो जेलेन्स्किको के दोष ?

 मंगल, फागुन २०, २०८१  – नारायण गाउँले

        जेलेन्स्कीले सके जति गरे ! सक्नेभन्दा अलि बढी नै गरे !       तीन दिनमा सकिने अनुमान गरिएको विदेशी आक्रमणलाई विश्वभर रोई कराई तीन वर्ष लम्ब्याए !       भारतविरुद्ध सुरुङ्ग युद्ध लड्ने भन्दै सेन्टिमेन्ट उराल्‌ने हामीले युक्रेन र जेलेन्स्कीलाई अर्तिउपदेश दिनु बेकार छ । जेलेन्स्की सन् २०१९ मा राष्ट्रपति बनेका हुन् । रसियाले त्यसभन्दा पाँच वर्षअघि नै सन् २०१४ मैं क्रिमिया कब्जा गरेको थियो ! डोनबासमा सेना पठाएर पूर्वी क्षेत्र कब्जा गरेको थियो !       जेलेन्स्की निर्वाचित भएपछिको युद्ध होइन यो । बरु उनले रसियासित युद्धविराम गरेका थिए । आफ्‌नो भू–भाग कब्जा गरेर बसेको छिमेकीसँग मेलमिलाप गर्ने भन्ने सुझाव दिन मात्रै सजिलो हो । उनी निर्वाचित हुँदै गर्दा देशभर राष्ट्रिय अखण्डता र सुरक्षाका लागि मान्छे चिन्तित थिए । रसिया युक्रेनी जमीन कब्जा गरेर बसेको थियो र थप भू–भागमाथि आक्रमण गर्ने ठूलो भय थियो । युक्रेन देश नै होइन भन्ने शक्तिशाली छिमेकीले जतिसुकै बेला निल्न सक्ने त्रास थियो ।       यस्तोमा जेलेन्स्की राष्ट्रपति बनेका थिए । उनले देशको रक्षा जसरी हुन सक्छ जस्तो लाग्यो, त्यस्तै गरे । ‘ तपाईंले क्रिमिया लिनुभयो, ठीक गर्नुभयो । पूर्वी युक्रेनको औद्योगिक करिडोर रहेको डोनबास क्षेत्र पनि चाहेजस्तै लैजानुहोस् ’ भनेर रसियासँग आत्मसमर्पण गर्ने जन–म्यान्डेट उनलाई थिएन । एक्लै रसियासित लड्ने शक्ति युक्रेनसँग थिएन । गुम्न बाँकी भाग जोगाउनका लागि पनि कसैको शरण पर्नुपर्ने बाध्यता उसलाई थियो । नेटोको सदस्यतालाई युक्रेनले एकमात्र सुरक्षाकवच देखेको थियो । उनी राष्ट्रपति बन्दा त संविधानमैं नेटोमा जाने प्रस्तावना थियो । अरूले जस्तै उनले पनि कोसिस गरे । तर बीस वर्षदेखि जे बहानामा सदस्यता दिइएको थिएन, त्यही बहाना अहिले पनि थियो ।       रसियाको माग अनुसार निःशस्त्र बन्ने, सेना विघटन गर्ने र तटस्थ बस्ने उपाय थियो । सेना र शस्त्र हुँदा त रसियाले भू–भाग कब्जा गरेको थियो, निःशस्त्र हुँदा राष्ट्रिय सुरक्षाको हाल के हुन्थ्यो होला ! एउटा राष्ट्रपतिलाई देशलाई नै निःशस्त्र गर्ने डेन्जरस अधिकार हुने कुरो पनि भएन । हिजो सुरक्षाको जिम्मा लिएका अमेरिका र रसियाले आज केकस्तो व्यवहार देखाएका छन्, हेर्नुभएकै छ ! फेरि रसियाको माग नेटोसँग जोडिएको थियो । नेटोको सदस्यता लिइसकेका पूर्वी देशले सदस्यता त्याग्नुपर्ने माग मुख्य थियो । जुन आफैले कोसिस गर्दा पनि सदस्य बन्न नसकेको युक्रेनले पूरा गर्न सक्दैनथ्यो ।       जेलेन्स्कीले गर्नपर्ने के थियो त ? रसियासँग के गर्नुपर्थ्यो ? कि बुझाउने कि डिफेंड गर्ने, यत्ति होइन र ? उनले हतियार बोकेर लड्न गएको, क्रिमिया फर्काउने भन्दै युद्ध घोषणा गरेको त होइन । अमेरिका र पश्चिमी देशले सहयोग गर्छौं भनेर वचन दिएका थिए । अमेरिका त सम्झौताले नै बाँधिएको थियो । सहयोग पाउँदासम्म देशका लागि लड्ने नै त होला । नत्र सेना केका लागि ? देश बचाउन सकिन्छ कि भन्दै सहयोग माग्नु गलत नहोला । क्यान्सर नै लागे पनि हामी उपचार त गर्छौं नै । निको हुने नहुने त हाम्रो हातमा मात्रै हुँदैन ।       तीन वर्ष टिक्छ भन्ने पत्याएको भए दिनेले पनि समयमैं राम्रो हातहतियार दिने थिए । पत्याउने बनाउन तीनचार महिना लाग्यो । उनी पहिलो दिन नै या त भाग्छन् या मारिन्छन् भन्ने थियो । भागेको भए युक्रेन रहन्नथ्यो भन्ने त सबैलाई लागेकै छ । देशको लागि लग्जरियस लाइफ छोडेर, ज्यानको बाजी राखेर उनी लडे ! एउटा राष्ट्रपतिले गर्ने त्यही होइन र ? टाउको माथि बम खस्दै गर्दा उनले भिडियोमैँ आएर युद्धको प्रतिरोध गर्दै थिए ।       एउटा शक्तिशाली छिमेकी उद्योग र मलिलो माटो भएको पूर्वी भाग कब्जा गर्न चाहन्छ । सके पूरै देश निल्न चाहन्छ । नसकिए पनि समुद्री किनार जति कब्जा गर्ने त घोषणा नै गरेको छ । अर्को शक्तिशाली देश खनिज र मिनरल कब्जा गर्न चाहन्छ । पुस्तौं पुस्तालाई चुस्न चाहन्छ । हामी युद्ध र यो हालको दोष निर्धो जेलेन्स्कीलाई दिइरहेका छौं । उनी महान् नेता होइनन् । तर गद्दार पनि होइनन् । भगौडा पनि होइनन् । र सबैभन्दा ठूलो कुरा, युद्ध उनले सुरु गरेका पनि होइनन् ।       उनको कारुणिक अनुहार पढ्नुभयो भने, आम युक्रेनी नागरिकलाई सोध्नुभयो भने एउटा मात्रै चिन्ता देख्न सकिन्छ । त्यो हो राष्ट्रिय सुरक्षा । देश बच्छ भने अरू जे पनि सहन तैयार देखिन्छन् ती । भोलि फेरि आक्रमण नहुने र देश बच्ने ग्यारेन्टी भए युक्रेनलाई पुग्छ । त्यही हारगुहार गर्दै छ । जे जति मिनरल छ, लैजाऊ तर सुरक्षाको ग्यारेन्टी देऊ ! उसले भनेको यत्ति हो । ट्रम्पले अमेरिकाको अपमान गर्‍यो भनेको यसैलाई हो ! देश बच्ने ग्यारेन्टी नै नभए मिनरल किन दिन पर्‍यो र ?       जेलेन्स्कीले यो खेल नजित्न पनि सक्छन् । अब त उनको जीवन थप सङ्कटमा देखिन्छ । उनी ढिलोचाँडो मारिन सक्छन् । पुटिनले रसियाको एउटा कुनाबाट अमेरिकाले खोजेको कुरा दिए भने शायद युक्रेन नरहन पनि सक्छ । विश्वको ५० % भन्दा बढी भण्डार रसियासँगै छ । क्यानडा या ग्रीनल्याण्डमाथि अमेरिकी सेना उत्रियो भने रसियाले नबोलिदिए पनि पुग्छ । तर यदि मिराकल भयो र युक्रेन बच्यो भने त्यसको सबैभन्दा ठूलो श्रेय जेलेन्स्कीलाई नै जान्छ !       युक्रेनको भविष्य अनिश्चित छ । एकछिन पर्खिनुस् । जुन दिशातिर विश्व जाँदै छ, त्यसले युक्रेनमात्रै होइन, विश्वका सबै जसो कमजोर र साना देशको भविष्य अनिश्चित देखिँदै छ ! आज जेलेन्स्कीले भोगेको यति ठूलो अपमान, हप्की र पीडा भोलि धेरैको अनुहारमा झल्किन सक्छ !       आत्मनिर्भर भन्ने मायावी शब्द हो ! आणविक भारतसँग भुटान कसरी आत्मनिर्भर बन्न सक्छ ? यस्तो साँढे जस्तो देखिएको विश्वशक्ति अमेरिकासँग क्यानडा कसरी आत्मनिर्भर बन्न सक्छ ? विश्वको ठूलो आणविक शक्ति रसियासँग मोल्दोवा या कजाकस्तान कसरी आत्मनिर्भर बन्ने ? काल पल्कियो भने हामी पनि अजर अमर छैनौं !    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्