नेपाललाई फेरेको तर इतिहासमा विरूप हुन पुगेको दिन । त्यस बेला प्रज्वल शम्सेर प्रधान सेनापति थिए । सिंहदरबारमा रहेको प्रधान मंत्री कार्यालयको मिटिंग हल, जहाँ प्रायसस् प्रमले प्रतिनिधी मंडलहरूबाट ज्ञापन पत्र आदि बुझ्ने काम गर्दथे, त्यस दिन मंत्रीको रूपमा हामी केही बोलाईएका थियौं । म संचार मंत्री थिए । सेनापतिको ब्रिफिंग थियो । धेरै कुराहरू भनियो, बताईयो । सेनाले निर्धारण गरेको क, ख, ग र घ गरी माओवादी प्रभाव बिस्तारको चार क्षेत्र बारे विवरण दिईदैथ्यो । चार जिल्लाको ‘क’ क्षेत्रमा सिमीत पारिएको माओवादीको बिस्तार दुई वर्ष पुरा नहँुदै पच्चीस जिल्लामा भैसकेको रोचक विवरण सेनाको तर्फबाट सचित्र बताईएको थियो । माओवादीलाई हरेक उल्लेखमा ‘आतंककारी’ सम्बोधन गरिएर यी सब भनिईदै गर्दा प्रम गिरिजा बाबुको मौनता थियो । उहाँ ध्यानपूर्वक सुनिरहनु भएको थियो । तत्कालिन प्रधान सेनापतिले माओवादीले रचेको सैन्यब्यूहको सविस्तार चर्चा गरिरहेका थिए । अपरिष्कृत हातहतियार तथा विस्तारित आधार क्षेत्रको सहयोगमा दुई वर्ष नबित्दै ‘चार जिल्ला’बाट ‘पच्चीस जिल्ला’मा फैलिएको माओवादीलाई नियन्त्रण गर्न सेनाले केही विषयहरूमा बडो जोड दिईरहेको थियो । माओवादी बिरूद्धको प्रत्याक्रमण सेना कै एकल नेतृत्वमा हुनुपर्ने, अत्याधुनिक हातहतियार तथा फौजी बन्दोबस्तीका समानहरूका लागि सरकारले निर्बाध सहयोग गर्नुपर्ने, सेनाको संख्यामा यथेष्ठ बढोत्तरी हुनुपर्ने र सेनाको परिचालन सेनाको परमाधिपत्ति राजाको आदेशबाट हुनुपर्ने कुरा उनले बुझिने भाषामा बोलिरहेका थिए । प्रम गिरिजा बाबु तिर हेर्दै जननिर्वाचित सरकारले सेना परिचालनका लागि राजालाई सिफारिश गर्नुपर्ने कुरा तथा राजनीतिक पार्टीहरूका बीच यस निम्ति सहमति हुनुपर्ने कुरा बोल्दा प्रमले हामी तिरपनि हेर्नु भएको थियो । यसको अर्थ थियो । छलफल शुरू भयो । मैले सेनापतिलाई सोधेको थिए, तपाईले भनेको ‘आतंक’ को यत्रो तीब्र बिस्तारको अन्तरनिहीत प्रेरक तत्व के होला त ? थप प्रष्ट्याउदै भने माओवादी मध्य पश्चिमांचलको चार जिल्लालाई सघन प्रभाव क्षेत्रमा बदल्न लगभग एक दशक लाग्यो । अनि ती चार जिल्लाबाट थप पच्चीस जिल्लामा सघन कारवाहीको बिस्तार गर्न जम्मा दुई बर्ष मात्र लाग्यो । यसर्थ, मैले जान्न खोजेको यति तीब्र रफ्तारमा माओवादी बिस्तारको प्रेरक बिषय के हुन सक्छन् त ? मलाई लाग्यो, सेनापति त यसको जवाफ दिन पूर्व विचारित र तम्तयारै थिए । हत्केलाका औलाहरूको रेखाको गिन्ती गर्दै उनले भने एक सुरमा भने – मुलुकमा सुशासन नहुनु, चरम भ्रष्टाचार हुनु, कुनै पनि सरकारले पुरा समय काम गर्न नसक्नु, राजनीतिक अस्थिरता आदि त हो नि यसका कारण ! त्यहाँ सेनापतिसंगको प्रतिसंवाद ठिक थिएन । दरबारीया अखबारहरूले माओवादीलाई समर्थन गर्दै लगभग यस्तै कारणहरू लेखिरहेका हुन्थे त्यस बेला । मैले प्रम गिरिजा बाबु तिर लक्ष्य गरी कुरा राखे ०४८ देखि ०५१ सम्म त यि माओवादीहरू संसद मै थिए । ०५२ को फागुण १ देखि यिनीहरू जनयुद्धको थालिनी नै गरे । के संसदीय कालको पहिलो तीन वर्षको शासनबाट सिर्जित अव्यवस्था नै माओवादी जनयुद्धको प्रेरक तत्व रहेको निष्कर्षमा हामी पुग्न सक्छौ र ? म त्यस बैठकमा कतिपयबाट चक्षु प्रश्नको घेरामा परिसकेकोले थप बोल्नै पर्योस – मध्य पश्चिमांचलका चार जिल्लामा केन्द्रीत माओवादीको दुई वर्ष नबित्दै पच्चीस जिल्लामा विस्तारको कारण केही सामाजिक र अर्थ राजनीतिका मुद्दाहरू हुनसक्छ, जस्ले बृहद् संख्याका मानिसलाई हतियार उठाउन हौस्याएको छ । मैले उठाएको आर्थिक–सामाजिक मुद्दाका बारेमा प्रमले सोध्नु भएपछि मात्र मैले भने कि सामाजिक विभेद, जातीय उत्पीडन र राज्यबाट नागरिकको सामुदायिक पहिचानको सवाललाई पनि माओवादीले उठाएका छन् । विभिन्न जातीय समुदायहरूको मुक्तिका सवाल पनि माओवादीले उठाएका छन् । यसको पनि खोजी गर्ने हो कि ? मिटिंग सकियो । कारणको खोजी र तेसको निदान तेस बैठकको उद्देश्य थिएन, ब्रिफिंग बैठक थियो त्यो । मलाई गिरिजा प्रसाद कोईरालाको विश्वास पात्र भनिन्थ्यो । यद्यपि यसको केही दिन पछि नै म संचार मंत्रीबाट सारिएर अन्तै पु¥याईए, मलाई कृषि मंत्रालयको पदभार दिईयो । यस पछि यौटा अर्को घटना तर्फ मेरो अन्तरमन गयो । म संचार मंत्री रहेकै बेला, शायद यस घटनाको केही साता अघि बुद्ध एयरबाट बिराटनगरबाट काठमांडू आउदै थिए । अघिल्लो दिनसम्म जिल्लाका कार्यक्रमहरूमा ब्यस्त रहेकोले पत्रपत्रिका तर्फ धेरै ध्यान दिन सकेको थिईन । प्लेन उडन लाग्दा अखबार दिईयो, कांतिपुर दैनिक थियो । बडो चाख एवं विश्मयका साथ पढन लागे, मुख्यपृष्ठको प्रमुख समाचार नै थियो–’संचार मंत्री गुप्ता राष्ट्रिय सुरक्षा समितिबाट हटाईने । मुलुकको सुरक्षा मामिलाका बारेमा प्रमको अध्यक्षतामा यो एक समिति वा परिषद थियो । प्रमका अतिरिक्त रक्षा मंत्री, गृहमंत्री र प्रमले चाहेका १,२ मंत्री, प्रधान सेनापति तथा सुरक्षा निकायका मानिसहरू यसमा रहन्थे । अरू बेला यस समितिका बारेमा धेरै केही सुनिन्न । तर, त्यो द्वन्दको बेला थियो, यसको बढी चर्चा थियो । द्वन्दको समयमा संचार क्षेत्रको भूमिकाको कारणले होला म पनि त्यसमा मनोनित गरिएको थिए । यस समितिमा केही भएको थियो । केही विचारोत्तेजक कुराहरू, शायद मै बाट । यद्यपि यो समाचार अनायास आएको थियो, त्यो पनि कांतिपुरमा । म सोचमग्न हुदै काठमांडू ओर्लेर सोझैं बालुवाटार गए । केही समय पछि प्रमलाई भेटेर मलाई तेस समितिमा नराख्न अनुरोध गरे । उहाँले भन्नु भयो, हो यो सेनाले तिमीलाई, खुमबहादुरलाई तथा गोबिन्दलाई(जोशी)लाई मन पराउदंैनन् । यिनैले दरबारलाई पनि अनापसनाप भनेका छन् । राजाले पनि यस्तै कुरा गर्छन् । तर, आजलाई यति भन्नु ठिकै होला कि सेनालाई म मन परेको थिईन । सूचना तथा संचार मंत्रीको रूपमा केन्द्रीय सुरक्षा समितिमा म रहिन । त्यहाँ मेरो भूमिका मन परेको थिएन । गोबिन्द राज जोशीका कुराहरू पनि तिनीहरूलाई मन नपरेको देखिन्न्थ्यो । म संचार मंत्री नरहेपछि सुरक्षासँग सम्बन्धित बैठकहरूबाट मेरो किनारा भैसकेको थियो । तर, माओवादी जनयुद्ध भनौं वा जे भनौं, यसमा व्यापक जन सहभागिताको उत्प्रेरक तत्व गंभीर र विचारणीय रहेकोले यसको खोजि हुनु पर्नेमा म प्रतिवद्ध नै थिए । राज्यले विचारशील भएर यसको खोजि गर्नुपर्ने मेरो मत थियो । आज पनि मेरो मान्यता रहेको छ । चन्द्र शम्सेरले इस्तिहार जारी गरेर विश्वयुद्ध ताका नेपाली युवाहरूलाई अनिवार्य रूपमा बेलायती सेनामा भर्ना हुन लगाएको जस्तो उर्दी यसको अन्तर्निहित कारण होईन । यो रोजगारीको सवाल वा अराजकता मच्चाउने तत्कालिन युवाहरूको चाहना मात्र थिएन । पहिलो संविधान सभाको कक्ष भित्र देखिएको वैचारिक, सामुदायिक, जातीय, क्षेत्रीय, भाषिक, पहिचानको आकांक्षा आदिको सशक्त उपस्थिति यसको अकाट्य उदाहरण थियो । तर, दुर्भाग्य भनौं– माओवादी र मधेसीले समेत यसलाई प्राण वायु दिन सकेन । मलाई लाग्दछ, जनयुद्ध पश्चात यसका परिणामहरूलाई संस्थागत गराउन न सकेकोले नै आजको दिनसम्म आई पुग्दा यत्रो ठूलो अभियान अतितको अपराधीक व्याख्यामा रूपान्तरित हुन गयो । आज सामाजिक संजालमा फागुण १ गतेलाई सार्वजनिक बिदा दिईने भनिएपछिको तरंग तथा अदालतबाट तेसमा रोक लगाईनुबाट यस्तै देखिएको छ । आज माओवादी जनयुद्ध युरोपीयनहरूको ईसायीकरणको वाहक, भारतको तानाबाना, राजाको षडयन्त्र, बौद्धिकता बिहीन कर्म, फगत हिंसात्मक उद्यम, लुटपाटको प्रवृति, नेपालको लागि भारतको भूराजनीतिक षड्यन्त्रको बल र तत्कालिन अक्षम शासन व्यवस्थाको परिणाम र केही चतुरहरूको धूर्तकर्म आदि जे भनिएपनि यो पूर्ण सत्य भने होईन । यी सब त स्वयं माओवादीले नै त्यस जनयुद्धको स्वामित्व परित्याग गरेपछिको स्वतः उत्पन्न हुने प्रतिकृयाहरू हुन् । माओवादी पार्टी ‘राज्यको रूपान्तरण खोज्नेहरूको पार्टी न रहेर सत्ता लम्पटहरूको पार्टी हुन गएको आजको यस अवस्था यसो हुनु वा देखिनु स्वभाविक नै हो । जे होस्, यति ठूलो अभ्यास एवं परिणामको यति छिटो स्वखस्लनको अर्को उदाहरण बिरलै भेटिएला । तर, दुर्भाग्य नै हो यो कि यसको मूल्यांकनसम्म गर्न कोही माओवादी आज बाँकी रहेनन् ।
