भारतीय उपमहाद्वीप को प्रयागराजमा भएको कुम्भ मेला अर्थात महाकुम्भको बारेमा सानो चर्चा गरौं । आखिर यो कुम्भ मेला भनेको के हो कहिले कहाँ कस्तो कस्तो अवस्थामा लाग्ने गर्दछ र कस्तो कुम्भ मेलालाई महाकुम्भ भनिन्छ ? अहिले भारत उत्तर प्रदेशको प्रयागराज भन्ने सहर मुण्डमय, कुम्भमय, ऋषिमय भएको छ । गएको जनवरी १३ तारिख अर्थात् माघे संक्रान्ति देखि सुरु भएको यो मेला महाशिवरात्री अर्थात् फेब्रुअरीको २६ तारिखसम्म निरन्तर चलिरहन्छ । सम्भवत यो संसारको सबैभन्दा धेरै व्यक्ति भेला हुने पर्व हो। हुन त भारतकै पश्चिम बङ्गाल कलकत्तामा हुने दुर्गा पूजा लाई संसारको सबैभन्दा धेरै मान्छे जम्मा हुने पर्व अथवा गतिविधिको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्ड र संयुक्त राष्ट्र संघले समेत प्रमाणित गरेको छ । तर पनि करिब ४५ करोड मान्छेहरू जम्मा हुने प्रयागराजको यो पर्वलाई पनि कम्ती आक्न सकिँदैन । धार्मिक संगमको हिसाबले संसारमा सबैभन्दा धेरै मान्छे जम्मा हुने पर्व नै हालैको प्रयागराजमा भइरहेको महाकुम्भ हुनुपर्छ जहाँ नेपाल, बंगलादेश, मलेसिया, श्रीलंका, दक्षिण अफ्रिका, अस्ट्रेलिया, अमेरिका, युरोप लगायतका मुलुकहरूबाट करोडौंको सङ्ख्यामा श्रद्धालु भक्तजनहरू गङ्गा, यमुना र सरस्वती नदीको त्रिवेणी संगममा महाकुम्भ स्नान गर्न गएका छन् । यो एक किसिमको सनातन हिन्दू धर्मावलम्बीहरूले अपनाउने गरेको धार्मिक अनुष्ठान हो। यस्तो अनुष्ठान जहाँ भक्ति, संस्कृति र उत्सवको अनुपम समिश्रण देख्न पाइन्छ । यो यस्तो मेला हो जुन १४४ वर्षपछि फेरि लागेको छ । अर्थात् महाकुम्भ । कुम्भ मेला भने हरेक १२ वर्षमा लाग्ने गर्दछ । यस्तो कुम्भ मेला भारतकै चार पवित्र स्थानहरू प्रयागराज, हरिद्वार, उज्जैन र नासिकमा घुमीफेरी लाग्दछ । प्रयागराजमा गंगा यमुना र सरस्वती नदीको संगमस्थलमा, हरिद्वारमा गंगा नदीको किनारमा, उज्जयनमा सीप्रा नदीको किनारमा र नासिकमा गोदावरी नदीको किनारमा मेलाको आयोजना हुने गर्दछ । कुम्भ मेला कहिले कहाँ हुने भन्ने कुराको निक्र्योल खगोलिय ज्योतिष गणनाको आधारमा तय गरिएको छ। सनातन हिन्दू धर्मावलम्बीहरूको ऐतिहासिक धर्मग्रन्थ विष्णुपुराणमा समेत यस विषयमा उल्लेख गरिएको छ । कुम्भ मेला एउटा प्रमाणित ऐतिहासिक धार्मिक संगम हो । सूर्य मेष राशिमा र बृहस्पति कुम्भ राशिमा प्रवेश गरेको वर्ष हरिद्वारमा कुम्भ मेलाको आयोजना गरिन्छ । यस्तो संयोग ज्योतिषीय गणना अनुसार हरेक १२ वर्षमा हुने गर्दछ । यसैगरी जब सूर्य र बृहस्पति दुवै सिंह राशिमा प्रवेश गर्दछन् नासिकमा कुम्भ मेला लाग्ने गर्दछ । त्यसरी नै जब सूर्य मेष र बृहस्पति सिंह राशिमा प्रवेश गर्दछन् त्यतिबेला उज्जैनमा कुम्भ मेला लाग्दछ । यस्तो संयोग पनि हरेक १२ वर्षमा एकपटक हुने गर्दछ। प्रयागराजमा चाहिँ सूर्य मकर राशि र बृहस्पति वृषभ राशिमा भएको बेलामा कुम्भ मेला लाग्ने गर्दछ । जुन मकर संक्रान्ति अर्थात् माघे संक्रान्तिको दिन सुरु भएर महाशिवरात्रीको दिन सकिन्छ । अब चर्चा गरौं यी चार ठाउँमा नै यस्तो बेलामा किन कुम्भ मेला लाग्ने गरेको होला ? यसको पछाडि सनातन हिन्दू धर्मको पौराणिक र ऐतिहासिक प्रमाणहरू छन् । हाम्रा पौराणिक कथनहरू खास गरेर विष्णुपुराण, श्रीमद्भागवत महापुराण र महाभारतमा उल्लेख भए अनुसार देवताहरू र दानवहरूको बीचमा युद्धको दौरान उनीहरुलाई सम्झौता गराउँदा समुद्र मन्थनको एउटा काम लगाइएको थियो। यस्तो सम्झौता हुनुको पछाडि पनि एउटा रोचक पौराणिक इतिहास छ । जस अनुसार एक दिन महर्षि दुर्वासा सँग देवताहरूका राजा इन्द्रको भेट हुन्छ । इन्द्रले यसरी बाटामा भेटिएका महर्षी दुर्वासालाई प्रेमपूर्वक सबक्ति आदर प्रकट गर्दै प्रणाम गर्दछन् । इन्द्रको सत्कारबाट खुसी भएर महर्षि दुर्वासाले आफ्नो गलाबाट एउटा माला निकालेर इन्द्रलाई उपहार दिन्छन् । तर इन्द्रले यसरी दिएको माला आफ्नो ऐरावत हात्तीको मस्तकमा राखिदिन्छन्। ऐरावत हात्तीले मस्तकबाट माला निकालेर भुइँमा कुल्चिदिन्छ । यस्तोमा दुर्वाशा ऋषि रिसाउँछन् र इन्द्रलाई राक्षसहरूसँग युद्ध गर्नुपर्ने श्राप दिन्छन् । इन्द्र युद्धको लागि शक्तिआर्जन गर्न भगवान ब्रह्मा र शिवको शरणमा पुग्दछन् । यी दुबैले भगवान विष्णुको प्रार्थना गर्नको लागि सल्लाह दिन्छन् । भगवान विष्णुले इन्द्रलाई क्षिरसागर मन्थन गरेर अमृत निकाल्ने सल्लाह दिन्छन् र त्यसरी निकालिएको अमृत पान गरेपछि दिगविजयी भइने आशीर्वाद दिन्छन् । भगवान विष्णुको सल्लाह अनुसार सम्पूर्ण देवताहरू दैत्यको साथमा सन्धि गर्न पुग्छन् र क्षिरसागर मन्थन गरेर अमृत निकाल्ने काममा लाग्दछन् । समुद्र मन्थनको लागि मन्दराचल पर्वतलाई मदानी, नागराज बासुकीलाई डोरी बन्नको लागि आग्रह गर्दछन् । फलस्वरूप भगवान विष्णुले पनि आफूलाई कछुवाको रूप धारण गरी समुद्र मन्थनको लागि मन्दराचल पर्वत अडिने ठाउँ बनाइदिन्छन् । यसरी क्षिरसागर मन्थनबाट सबैभन्दा पहिले हलाहल विष अनि पारिजात, ऐरावत हात्ती, उश्चैश्रवा घोडा, रम्भा कल्पवृक्ष शङ्ख, गदा, धनुष, कस्तुभमणि, चन्द्र मद कामधेनु र अमृत कलशले सज्जिएकी धन्वन्तरी प्रकट हुन्छिन् । हलाहल विषलाई भगवान शिवले आफ्नो घाँटीमा राखेर जगतलाई बचाइदिन्छन् । उता अमृतको घडा निस्कने बित्तिकै देवताहरुले इन्द्रका छोरालाई इशारा गर्छन् र इन्द्रको छोराले अमृतको घडालाई लिएर आकाशमा उडिदिन्छन् । अमृतको घडा पाउनको लागि राक्षस र देवताहरूको बीचमा घमासान १२ दिनसम्म युद्ध हुन्छ । यसरी युद्ध हुँदा अमृतको घडा छिनाझप्टी गर्दा चार अलगअलग ठाउँमा अमृतको थोपा खसेको पौराणिक कथन एवं ऐतिहासिक प्रमाणहरू सनातन हिन्दु धर्मका ग्रन्थहरुमा पढ्न पाइन्छ । यिनै चार ठाउँहरू प्रयागराज, हरिद्वार, नासिक र उज्जयन हुन् भन्ने मान्यता छ । त्यसकारण यिनै चार ठाउँहरूमा हरेक १२ वर्षमा मेला लाग्ने गर्दछ । यसपटक प्रयागराजमा भएको कुम्भ मेलालाई महाकुम्भ भनिएको छ । किनभने यस्तो संयोग १४४ वर्षपछि अर्थात् १२ औं पूर्ण कुम्भ को बेलामा हुने गर्दछ । यो एउटा दुर्लभ खगोलिय अवस्था हो अर्थात् चन्द्रमा सूर्य र बृहस्पति एउटै राशिमा १४४ वर्षपछि मात्र पर्न आउँछन् । यसबाट पनि के प्रमाणित गर्न सकिन्छ भने हाम्रा ज्योतिषीय गणनाहरू कति बैज्ञानिक रहेछन् । यस्ता खगोलिय पिण्डहरूको अवस्थितिलाई प्राचीन हाम्रा वैज्ञानिक ऋषिमुनिहरूले आदिम समयदेखि गणना गरेर भविष्यमा हुने अनन्तसम्मको यात्रालाई पहिले नै तय गरिदिईसकेका थिए । हरेक १२ वर्षमा प्रयागराजमा पूर्ण कुम्भ मेला लाग्दछ र बाह्रौँ पूर्ण कुम्भ मेला नै महाकुम्भ हो । यहाँ प्रश्न उठ्न पनि सक्छ, किन १२ वर्षमा नै यस्तो मेला लाग्ने गर्दछ ? यसको पनि वैज्ञानिक र प्रमाणित आधारहरु छन् । सामान्य जनले बुझ्ने भाषामा भन्नुपर्दा देवलोकमा एक दिन बराबर पृथ्वी लोकमा ३६५ दिन अर्थात् एक वर्ष हुन्छ । देवताहरू र दैत्यहरूको बीचमा भएको १२ दिनको युद्ध पृथ्वी को १२ वर्ष बराबर हो । त्यसैले युद्ध अन्त्य भएर देवताहरूले विजयी भएको खुसियालीमा हरेक १२ वर्षमा अमृत थोपा खसेका चार ठाउँमा खुसीको मेला लागेको हो भनेर पनि भन्न सकिन्छ । यस्तो वैज्ञानिक समय सारिणी हाम्रा प्राचीन ऋषि मुनि वैज्ञानिकहरूले पहिले नै प्रमाणित गरिसकेका थिए, यसका लागि ग्यालिलियो या अन्य आधुनिक वैज्ञानिकहरुले तय गरेको विभिन्न ग्रहहरूको समयलाई आधार मान्नुपर्ने जरुरी थिएन । आजभन्दा पाँच सात हजार वर्ष पहिले लेखिएका हाम्रा वेद पुराणहरूले यी तथ्यहरूलाई पहिले नै उजागर गरिसकेका थिए, अथवा पश्चिमाहरूकै भाषालाई सापटी लिएर हाम्रा धर्मग्रन्थहरू ३५०० वर्ष अगाडि नै लेखिएका हुन् भने पनि त्यतिबेला यी तथ्यहरु प्रकाशित भइसकेका थिए । जसको लागि आजभन्दा दुई अढाई सय वर्ष अगाडि जन्मिएका पश्चिमा वैज्ञानिकहरूको सहारा लिनु पर्दैन थियो ।
