IMG-LOGO

कमानसिं लामा ः सम्झनाका प्रसङ्गहरुमा ..

 मंगल, मंसिर ३०, २०७७  — मोहनदुवाल

 कमान मेरा पुराना आत्मीय मित्र । करिव २०३२-२०३३ साल देखिका मेरा सहयोद्धा अर्थात् नजिकका साथी । नेपाल कम्युनिष्ट पार्टीका (चतुर्थ महाधिवेशन) जिल्ला पार्टी संगठन काभ्रेमा गठन गर्दा ताकाका सहयात्री । फरासिला, स्पष्ट वक्ताका रुपमा प्रसिद्धि कमाएका लामा कम्युनिष्ट पार्टी गठनताका बनेपामा आइरहन्थे । मेरा घरका सबै परिवारले मित्रका रुपमा थाहा पाएका मेरा अनन्य मित्र कमानसिंको अवसान भएको समाचारले हामी सबै परिवारजन स्तब्ध भयौं । थुप्रै छन् कमानसँग बिताउन पाएका स्मरण गर्न लायकका क्षणहरु । हामी एउटै पार्टीका काभ्रे जिल्लाका सक्रिय कम्युनिष्टहरु, हामी सङ्लग्न र सक्रिय भयौं चतुर्थ महाधिवेशन नामक नेपाल कम्युनिष्ट पार्टीमा । जिल्ला कमिटीमा सेक्रेटरीसम्म भई सेवा-कर्ममा सक्रिय छँदा कमानजी मेरा पार्टीको विश्वाशिला मित्र कामरेड । पार्टीमा सङ्लग्न रहँदा-रहँदै हामी नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेमा सक्रिय रहन पाएका आत्मीय मित्रहरु हौं । २०३६ सालको तदर्थ समितिका अध्यक्ष म छँदा कमानसिंह पनि जिल्ला कमिटीका सक्रिय सदस्यभई सेवा गरेका मित्र हुन् । शिक्षक सङ्घर्षमा पनि दिलोज्यानले लागेका कमानसँग संगठन मार्फत् भएको सङ्घर्षमा पनि सँगसँगै लागेर यात्रा गरेका थुप्रै सम्झनाका प्रसङ्गहरु अविस्मरणीय छन् ।      कम्युनिष्ट पार्टीमा छँदाका मेरा पुराना सङ्घर्षशील मित्र कमानसिं लामासँग उनैका गाउँ मादनकुँडारी पुगेर पार्टी कमिटीको बैठक बस्दा, बनेपा/धुलिखेल/नालामा पुगेर जिल्ला कमिटीको बैठकमा सँगसँगै कामगर्दा मात्र होइन धेरै वर्षको कम्युनिष्ट अभियान र आन्दोलनमा उनी थकाई मारेर चूपचाप लागेका मलाई थाहा छैन । पछि संयुक्तजनमोर्चा नेपालमा पनि सदस्य रहेर वैधानिक चुनाव अभियानमा लाग्दा पनि यिनको सक्रियता र योगदान देखिंदो मात्र होइन उल्लेख गर्न लायकका छन् । बनेपामा भएको नगरपालिकाको चुनावमा वि.सं. २०४९ मा मेयर पदमा उम्मेदवारी दिंदा मेरो चुनाव अभियानमा सघाइ दिएको र मेरो उम्मेदवारीमा मलाई जिताउन उनले खेलेको भूमिका पनि सम्झिन लायकका छन् । यसैगरी नेराशिसंको आन्दोलनमा शिक्षकहरुको हक, हीतका लागि भएका सङ्घर्षमा यिनले खेलेको सकृयता जिल्लाले बिर्सि पठाउन गार्‍हो छ । एउटा घटना र प्रसङ्ग सधैं याद आइरहन्छ, शिक्षक संगठन मार्फत् संगठन विस्तारका लागि कमानसिं लामा, शङ्कर काफ्ले र म घर्तिछाप, डाँडापारी गएको र त्यहाँका शिक्षकहरुलाई संगठनको सदस्यता दिलाउने कार्य गरेका क्षणहरु हालसम्म पनि सम्झना  आइरहन्छ । अनकंटार बाटो मात्र नभई रुख-रुखबाट जूका खसेर रगत चुसाउँदै हिंड्नुपर्ने डाँडापाखाका डरलाग्दा बाटोमा कमान हिंडेको हिंड्यै गर्ने, हामीदुबैलाई हिंड्न गार्‍हो परेर सकस पर्ने क्षणमा पनि सिटी र थपडी बजाउँदै डाँडा काट्दै गरेका ती क्षणहरु सधैं सम्झनामा आइरहन्छ ।      पञ्चायतकालमा ‘नेराशिसं’ नै पार्टीजस्तो सोच्ने बेलामा संगठनका मान्छे भनेर चिनाउँदा गाउँका पञ्चहरुले पनि लखेट्ने डर बोकेर हामी घर्तिछाप पुग्यौं । त्यहाँका प्रधानपञ्चका पिँढीमा बस्यौं र उनका जुवाईं शिक्षकसँग चलाखीपूणर् ढङ्गले मितलगाएर कमानले आफ्नो चातुर्यता देखाएको क्षण बिर्सिन गार्‍हो छ । यसै आधारमा घर्तिछाप, वनखु र डाँडापारीका ठाउँ-ठाउँका शिक्षकहरुलाई संगठनमा आवद्ध गराइयो । कमानसिंह लामा राजनीतिमा जस्तै शिक्षक संगठन र आन्दोलनमा पनि आफूसक्दो परिश्रम पोखेर शिक्षकमा लागि परेका भरोसा लाग्दा मित्र बन्न सफल उनको इतिहास हाम्रो माझ साँक्षी छ । त्यही इतिहास-वृत्तमा राखेर कमानजी सँग मित्रता साट्न पाएका र सङ्घर्षमा जुट्न पाएका अनेकौं प्रसङ्गहरु छन् ।शिक्षकआन्दोलनका मुख्यनारा-कर्ता अर्थात् जुलुस-हड्तालका अगुवा  कमान कहिल्यै आन्दोलनमा थाकेको मैले देखिनँ । त्यसैले भन्नुपर्छ; शिक्षकहरुको हक-हीतका लागि आफ्नो शिक्षण पेशालाई धरौटी राखेर सङ्घर्षमा खटिरहेका अर्थात् सङ्घर्षमा खटेका यिनी काभ्रेका शिक्षक अगुवा पनि हुन् ।      एकताका यिनीसँग उत्तर कोरियामा पुगेको मलाई सम्झना छ । चीनको बाटो हुँदै  उत्तर कोरियाको राजधानी प्योङयाङमा पुग्दा एकजना दोभाषे कोरियनलाई कमानजीको परिचयमा ‘सांसद’भनि चिनाइदिएको प्रसङ्गमा कोरियन मित्रले ‘सुन ओसारपसार गर्ने सांसद हो ?’ भनी सोधेको त्यो क्षणमा उत्निखेर नै कमानले जवाफमा भनेका थिए- “म सुन ओसारपसार गर्ने सांसद पनि होइन, देशकालागि केही गरेर देखाउन सकेका सांसद पनि होइन ।” भनेको सम्झना आइरहन्छ । १० दिनउत्तर कोरियामा ४ दिन चीनमा रहँदा पनि कमानसँगको मेरो मित्रतामा गाढापन बढ्दै जानु बाहेक घटेन । उत्तरकोरियामा कमानजीले मलाई ५५५ चुरोट १ कार्टुन उपहार दिंदै ‘हाम्रो टोलीका चेन स्मोकर दुवालजीलाई उपहार’ भनि चुरोटको कार्टुन हातमाथम्याई दिएको बुझिलिएँ तर मनमाएकखालको व्यङ्ग्यजस्तो प्रतीत भएकै कारणले भोलिपल्ट नै मैले चुरोट फिर्ता गरिदिएर ‘अबदेखि चुरोट नपिउने’ प्रण गरेको घटना यादआइरहन्छ । थुप्रै घटना-प्रसङ्गहरु छन् कमानजीसँग मेरा । उनी मेरा मित्र, उनका म मित्र ।      स्थानीयचुनावमा मेरो हार भएपछि एकसुरले साहित्यिकसिर्जना, साहित्यिकप्रकाशन, साहित्यिक पत्रकारिता मात्र होइन वाङ्मयसेवीहरुको सम्मानमा पनि आफू सक्रिय रहेकै कारणले म साहित्यिक यात्रामा निरन्तर संवेदनशील भएर लागेको लाग्यै गर्‍यौं र राजनीतिलाई मबाट पर पन्छाइ दियौं । कमानजी र मेरो बाटो फरक-फरक हुनगयो ।उनी राजनीतिका जुझारु योद्धा, म साहित्यिक क्षेत्रका सक्रियपथगामी । तर सम्झनामा हामीदुबै एक छौं । आ-आफ्नो यात्रामा हामी दुबै तल्लीन भएकै कारणले हाम्रो सम्बन्ध, सम्पर्क गाढा हुन पाएन । मायाले हो कि, मित्रताका गाढापनले हो किदुई महिना नै भएको छैन कालो कारमा मेरो कार्यालय अगाडि कमानसिं लामा देखा परे । आफ्नी बुहारीसँग कमानजी देखा परेपछि पुरानो सम्झना रिलझैं घुम्न थाल्यो । माथि बैठकमा कमानजी र म रह्यौं । बुहारी र भारती जनमत कार्यालयमा रमाएर कुराकानीमा रमे । मैले मेरा साहित्यिक अभियानका अनगिन्ती कुराहरु सुनाएँ, कमानजीलाई केही पुस्तकहरु, जनमतका केही अङ्कहरु बुझायौं । पुस्तक बुझिलिंदै उनले भने - “पुस्तक सित्तै पढ्नु हुँदैन, रु.५००।- भएपनि दिन्छु र तपाईंको यात्रामा साथदिन जनमतको संरक्षक पनि बन्छु, रकम पछिल्लो भेटमा बुझाउँछु ।” यतिभनेर उनले भारती र मसँग विदावारी मागे; झल्झली सम्झना आइरह्यो; मेरा मित्र कमानजीले भनेको ‘साहित्यिक क्षेत्रमातपाईंबाट भइरहेको योगदान उल्लेखयोग्य भइसक्यो, हामी गौरव गर्छौं ।’अल विदा मित्र कमानजी तपाईंको यात्रा राजनीतिमा उल्लेख्य छ । कम्युनिष्ट पार्टीका केन्द्रीय समितिका सदस्य रहेर सेवा पुर्‍याउँदै गरेका तपाईं दक्षिण कोरियाका राजदूतब नेर राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो अनुहार देखाउन सफल छन् । तपाईंबाट भएका कार्यहरु स्तुत्य छन् । कमानजीलाई सम्झनामा राखेर श्रद्धाञ्जली भनिरहेछु ।  ०००

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • kavretimesw@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्