IMG-LOGO

समीक्षकहरूको कठघरामा ‘त्यसरी त कहिल्यै सोचिएन’

 मंगल, माघ १५, २०८१  मुरहरि रायमाझी

     २०८० साल पौष १४ गते निर्भीकजंग रायमाझीको ‘त्यसरी त कहिल्यै सोचिएन’ शीर्षकको कवितासङ्ग्रह प्रकाशित भएको थियो । प्रकाशित भएको एक वर्षमा यस सङ्ग्रहमाथि प्रशस्त समीक्षा तथा समालोचनाहरू प्रकाशित भए । यस लेखमा उक्त पुस्तकमाथि म आफ्नो धारणा व्यक्त गर्न गइरहेको छैन । मात्र उक्त पुस्तकमाथि आएका प्रतिक्रियाहरूको सार र विस्तार प्रस्तुत गर्दैछु । समीक्षकहरूको कठघरामा उभिएको यो पुस्तकमाथिको दलिलहरूको चर्चा गर्दैछु ।      नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति कवि भूपाल राई, कवि मोमिला र कवि श्यामलले ‘त्यसरी त कहिल्यै सोचिएन’ संयुक्त रूपमा विमोचन गर्नुभएको थियो ।  त्यसअघि एक वर्ष अगाडि २०७९ मंसिर २६ मा काठमाडौंकै मण्डला थिएटरमा एकल कविता वाचन गर्दै निर्भीक गुन्जिएका थिए। जहाँ उनले डेढ दर्जन कविता सुनाए । तिनै कवितासहित २०७१–२०८० सालसम्म लेखिएका पचास थान कविता यस पुस्तकमा संग्रहित छन् ।      कवि श्यामलले देवकोटा, भूपि र हरिभक्तमाझैँ ‘क्रिएटिभ पागलपन’ निर्भीकमा रहेको र कुनै पनि गहन सृजना रचनाका लागि पागलपन जरूरी हुने भन्दै ‘त्यसरी त कहिल्यै सोचिएन’ पछिल्लो समयको बलियो हस्तक्षेप भएको बताएका थिए । कवि भूपाल राईले विगत एक दशकदेखि ईष्र्यालाग्दो लेखन र पत्रकारितामा खरिलो प्रश्न गर्ने निर्भीकजङ्गप्रति आफू प्रभावित भएको बताउँदै कविताहरू राजनीतिक तथा प्रेमिल दुवै भएको चर्चा गरेका थिए । कवि मोमिलाले निर्भीकका कविता थोरै शब्दमा धेरै भाव अटाउने सामथ्र्य भएको र पढ्दा समय खेर होइन बरू कविता सेलिब्रेट गरिरहेका छौं भन्ने महसुस हुने बताइन् ।      २०८१ जेठ १९ को गोरखापत्रमा वरिष्ठ समीक्षक महेश प्रसाईंले ‘अनुभूतिको सजलतामा उनिएका कविता’ शीर्षकमा निर्भीकजंग रायमाझीको ‘त्यसरी त कहिल्यै सोचिएन’ कविताको कृतिको विस्तृत रूपमा ओजिलो समीक्षा गरेका छन् । उनले कवितामा रूप, अलङ्कार, प्रेम–प्रणय, प्रकृतिबोध वा सौन्दर्य चेतनाका अवयवलाई जीवनदर्शनको एक विशिष्ट अङ्ग ठह¥याउने कवि निर्भीकको काव्यचेतना समाजमा देखा परेका विकृति, बेथिति र विसंगतिका विरूद्ध एक विप्लवी स्वर प्रस्तुत भएको बताए ।      स्वाभिमानी र स्वाधीनता प्रेमी समकालीन नेपाली कवितामा नौलो प्रयोग र मौलिक चिन्तन गर्ने उनको स्वर आफ्ना पुस्तालाई उछिनेर जानेक्रममा अग्रभाग ओगट्न पुगेको अनुभव हुन्छ भन्दै भारतीय साहित्यकार शमशेर बहादुर सिंह र हेमन्त कुकरेती वा जर्मन कवि हान्स म्याग्नस एत्सेन्सबर्गरकाझैँ कविताको समग्र चेतनालाई हेर्ने दृष्टिकोण रायमाझीको सूक्ष्म र अनुसन्धेय रहेको बताए ।      कवि निर्भीक पछिल्लो चरणमा उदाएका एक प्रखर शक्तिशाली कवि हुन् भन्दै उनले प्रयोग गरेका विम्ब, चेतना र प्रतीकीय शैली व्यञ्जना नितान्त नवीन र मौलिक हुन् । गहिराइमा परख र प्रयोग गर्ने अद्भुत क्षमता सङ्ग्रह भित्रका अधिकांश कविताले पुष्टि गरेको प्रसाईंले बताएका छन् ।      कवि अविरल ओझेलका अनुसार निर्भीकजंग रायमाझीको ‘आँखीझ्यालबाट संसार हेर्दा’ शीर्षकमा ‘त्यसरी त कहिल्यै सोचिएन’को समीक्षा जतिचोटी पढ्दा पनि उस्तै लाग्ने, समाचार वा सूचना हुने अनि कविताले प्रत्येकचोटी नयाँ क्षितिज खुलाउन सक्ने हुनुपर्ने र यो क्षमता निर्भीकका कविताले राख्छन् । जहाँ हराएर जान लागेका हाम्रो समृद्ध संस्कृतिका अवयव पाइन्छन् भनेका छन् । उनका प्रायः बृहत् अर्थदिने छोटा र उत्कृष्ट कविता छन् भनेर कवि ओझेलले ‘जनमत’ मासिक पत्रिकामा उल्लेख गरेका छन् ।      ‘अरूले सोचेको जस्तो, खोजेको जस्तो, अरूले चाहेजस्तो भन्दा आफूले सोचेजस्तो अनुभूत गरेको कुरा लेख्ने कविको म मुक्तकण्ठले प्रशंसा गर्दछु। जसमध्ये निर्भीक एक हुन् । परिपक्वता सहितका उनका कविता पढ्दा–सुन्दा म आफैँ पुनर्जीवित भएको महसुस गरिरहेको छु’, भनी कवि तुलसी दिवसले बताएका छन् । त्यसैगरी कवि विप्लव प्रतीकले ‘निर्भीक हृदय, व्यवहार र जीवनशैलीले कवि हो, उसमा कञ्जुस्याइँ र उग्र महत्वाकाङ्क्षा छैन । ऊ जीवनको रस, क्षमता र सामथ्र्यले पिइरहेछ’ भन्दै स्नेह, करूणा, भाइचारा र भावनासहितको संवेदनशील कविताहरू रचेको बताए । सफलता गौण हो किनभने असल मानिस सफल पनि हुनसक्छ तर सफल मानिस असल नै हुन्छ भन्ने ग्यारेन्टी हुँदैन भन्दै जीवन र यात्रा असल रहोस् भन्ने शुभकामना पनि दिँदै कलम रोके ।      ‘त्यसैगरी निर्भीकजंग कस्तो कवि हो भनेर अथ्र्याउने काम कविताका पारखीहरूको हो । लहडमा जे मनमा आयो त्यही लेखेर मानिस कवि हुँदैन । अरूले विश्वास गरेपछि मात्र सर्जक कवि मानिन्छ । निर्भीकको धेरै कवितामध्ये ‘चटारो’ शीर्षकको कविता म पटक–पटक पढिरहन्छु। राम्रो कविताको शक्ति यही हो । ‘चटारो’ कवितालाई मैले विश्वविख्यात चिनियाँ कवि जिया माजिदीका छोटा कवितासँग तुलना गर्दै आफ्नो पुस्तक ‘क्वारेन्टिनबाट कविता’मा प्रेमपूर्वक समेटेको छु’ भनेर कवि समीक्षक तथा गीतकार श्रवण मुकारूङले लेख्नुभएको छ ।      पुस्तक समीक्षाकै सन्दर्भमा कवि÷समीक्षक ज्योती जङ्गलले ‘कवि निर्भीकजंग रायमाझीले शिल्पका अनेक निर्मल कोणहरू प्रतिपादन गरेर सङ्ग्रहभरि नयाँ आँखाहरू निर्माण गरेका छन् । जहाँबाट संसारभरका एक्ला मानिसहरू, मजदुरहरू, उपन्यासका पात्रहरू, प्रकृतिका यावत्  कृतमण्डल र हृदयभित्रका अनेकन सूक्ष्म बनोटहरू दृश्यमा आउँछन्। शालीन शैलीमा कविताको गाढा भाषामा कवि बडो सचेतनापूर्वक कलाको कारिगरी निखार्छन् जसको पठनपछि भावकको मनमा एउटा तिखो भावना उठ्छ र मस्तिष्कमा कविताकै नशा भरिएर आउँछ’ भन्ने भाव व्यक्त गरेका छन् ।      ‘एकै दिनको पदयात्रामा यात्रीले अनेक दृश्य, फरक भूगोल, कैयन् घुम्ती र मोड भेटे जस्तो निर्भीकका कविता पढिरहँदा पाठकलाई विविधता र बहुआयामिकताको अनुभूति हुन्छ । काव्यिक भाषा–सरल र सम्प्रेषणीय तर गहन भन्नुपर्ने कुराहरू । कविको संवेदनशील उडान तर जीवन र समाजको नजिक रहेका यी कविताहरू ।      शब्दलाई अत्यन्त मितव्ययी किसिमले प्रयोग गर्ने उनी सानो संरचनामा धेरै कुरा अटाउँछन् र थोरै शब्दले बृहत् कुरा भन्ने सामथ्र्य राख्दछन् । एक तरूणले समाज र संसारसँग गरेको अन्तरक्रियाको अभिलेख त यहाँ छ नै तर आजको मानिसका जिज्ञासा, विषमता र खोजीको उद्बोध–कलात्मक, सरस र सुरूचिपूर्ण छ’ भन्ने निष्कर्ष कवि÷समीक्षक रमेश क्षितिजले निकाल्नुभएको छ ।      युवाकवि विवेक विवश रेग्मी हिमालप्रेसमा लेख्छन् – ‘पाठकले सहजै बुझ्ने कविता भएका कारण पनि निर्भीकको संग्रह वजनदार बनेको छ । भद्दा र पट्यारलाग्दा शब्द नरहेको, आवेगमा नलेखिएको, गुनासो र कुण्ठा नभएकाले पनि कविताको वजन छ।उनले प्रेमलाई सुन्दर ढंगबाट चित्रण गरेका छन्। थुप्रै प्रेम कविताहरू समेटेका उनको संग्रहमा नरम र सरल कविता समावेश छन् ।’      कथाकार सङ्गीता स्वेच्छा लेख्छिन् – ‘निर्भीकको कुनै कविता पढेपछि  सोचमग्न पनि हुन पुगेँ अनि यो विषयमा ’त्यसरी त कहिल्यै सोचिएन’ भन्दै एकक्षण सोचिरहेँ । सङ्ग्रह पठनीय छ । कवि खुपेन सुनुवारका अनुसार निर्भीकले आफ्ना उदासीनता, नैराश्य र  कोमल भावनाका बहावलाई प्रकृतिको अनुपम सौन्दर्य मार्फत फुकाएका छन् ।’ सुनुवार लेख्छन् – ‘यो साँचो हो कि कवि र प्रकृति एकअर्काका परिपूरक हुन् । हामी धेरै पटक अरूलाई प्रश्न गर्छाैँ, अरूको निन्दा र आलोचना गर्छाैँ तर आफूले आफ्नो मूल्याङ्कन कमै मात्र गर्छाैँ । मलाई लाग्छ निर्भीकको शीर्ष कविता ‘त्यसरी त कहिल्यै सोचिएन’ कविता आत्मालोचनात्मक चेतको उपज आएको निष्ठापूर्वक अभिव्यक्ति हो ।’      मुरहरि रायमाझी र माता गंगादेवीका पुत्र साबिक काभ्रेपलाञ्चोक जिल्ला भीमखोरी–९ च्याँख्ले गाउँमा जन्मिएका निर्भीकजंग रायमाझी विगत एक दशकभन्दा अघिदेखि कविताको गद्य र पद्य दुवै विधामा सक्रिय रहेका छन् । फुटकर लेखन र पत्रकारितामा संलग्न रायमाझीका कविता, लेख, समीक्षा कथा निबन्ध लगायतका रिपोर्टिङहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित छन् । ‘त्यसरी त कहिल्यै सोचिएन’ उनको एकल पहिलो कविता संग्रह हो। जो हाल प्रवासमा रहेर पनि साहित्यिक गतिविधिमा सक्रिय रूपमा संलग्न छन्। हामी उनको उज्ज्वल साहित्यिक जीवनको कामना गर्दछौं ।    

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्